विकासन्युज

सर्वोत्तम सिमेन्टमा ३६ लाख कित्ता सेयर माग, कट अफ मूल्य ४०१ नजिक

काठमाडौं । पहिलो पटक बुक बिल्डिङमार्फत् निष्काशन गरिएको सर्वोत्तम सिमेन्टको आईपीओमा ३६ लाख कित्ता सेयरका लागि आवेदन परेको छ । सोमबार बिहान ८ बजे खोलिएको बोलपत्रमा ४१ वटा योग्य संस्थागत लगानीकर्तारूले ३६ लाख १९ हजार १९० कित्ता सेयरका लागि आवेदन दिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । साथै, नेप्सेका अनुसार बोलपत्र पेश गरेका संस्थागत लगानीकर्ताहरूमध्ये सबैभन्दा बढी मूल्य प्रतिकित्ता ४०६ रुपैयाँसम्म परेको छ । कुमारी क्यापिटल र कुमारी क्यापिटलले संचालन गरेका २ वटा म्युचुअल फण्डले सबैभन्दा ४०६ रुपैयाँमा बोलपत्र पेश गरेको नेप्सेले जनाएको छ । कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ता सेयरका लागि बोलपत्र पेश गरेका छन् । यस्तै, नागरिक लगानी कोषले प्रतिकित्ता ४०५ रुपैयाँमा ४ लाख कित्ता सेयरका लागि बोलपत्र पेश गरेको छ । नेप्सेका अनुसार अधिकांश योग्य संस्थागत लगानीकर्ताहरूले प्रतिकित्ता ४०१ रुपैयाँमा नै बोलपत्र पेश गरेका छन् । पछिल्लो विवरण अनुसार ४०१ रुपैयाँ कट अफ मूल्य पर्याे भने सर्वसाधारणलाई प्रतिकित्ता ३६१ रुपैयाँमा आईपीओ निष्काशन गरिनेछ । किनभने संस्थागत लगानीकर्तालाई तोकिएको कट अफ मूल्यभन्दा १० प्रतिशत घटाएर सर्वसाधारणलाई बिक्री गरिने छ । कम्पनीले मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूका लागि जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बोलकबोलमार्फत् बिक्री खुला गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म तोकिएको थियो । बोलपत्रलाई रुजु गर्ने काम भइरहेको छ । सबै जाँच प्रक्रिया सकिएपछि कट अफ मूल्य तोकिने नेप्सेले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार प्रतिकित्ता ४०१ रुपैयाँ कटअफ मूल्य तोकिने सम्भावना रहेको नेप्सेले जनाएको छ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र बाँडफाँट गरिने छ । कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कममा आवेदन दिएका योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिने छैन ।

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात, कोदो र आलुमा पनि भारतकै भर

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै रु ३८ करोड ३१ लाख ८७ हजार दुई सयबराबरको व्यापार घाटा भएको छ । नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा छन् । यीमध्ये सबैभन्दा बढी रु नौ करोड ५४ लाख ७२ हजार मूल्यबराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिए। यसैगरी तरकारीमा गोलभेँडा रु पाँच लाख १२ हजार मूल्यबराबरको २६ मेट्रिक टन र रु पाँच लाख ८९ हजार मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ । १९ करोड बढीको गोलभेँडा आयात चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा मात्रै रु १९ करोड ३७ लाख ४० हजार मूल्यबराबरको नौ हजार छ सय ८७ मेट्रिक टन आयात भएको छ । सोही अवधिमा भारतबाट रु दुई करोड सात लाख ८० हजार मूल्यबराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र रु तीन करोड ७१ लाख ८० हजार मूल्यबराबरको एक हजार आठ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ । तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ । कोदो र आलुमा पनि भारतकै भर नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा रु २३ करोड ६१ लाख ६० हजार मूल्यबराबरको चार हजार नौ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । सोही अवधिमा भारतबाटै रु ९९ करोड ८९ लाख चार हजार मूल्यबराबरको ४१ हजार छ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । ती महिनामा रु एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार मूल्यबराबरको ३६ हजार सात सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ । यसैगरी उक्त अवधिमा रु दुई करोड ५९ लाख ९२ हजार मूल्यबराबरको तीन सय ६१ मेट्रिक टन चना, रु नौ करोड २२ लाख चार हजार मूल्यबराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, रु १२ करोड ८६ लाख मूल्यबराबरको एक हजार दुई सय ८६ मेट्रिक टन लसुन र रु ९८ लाख ५६ हजार मूल्यबराबरको छ सय १६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट चालु आवको तीन महिनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसाला बाली र बीउबिजन गरेर कुल रु पाँच अर्ब १० करोड ६० लाख ३१ हजार मूल्यबराबरको आयात भएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताए । सोही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसोलगायतका कुल रु पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्यबराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायतका मुलुकमा निर्यात भएको उनले जानकारी दिए । रासस

आइशरद्वारा सर्भिस क्याम्पको घोषणा, मर्मतमा २५ प्रतिशत छुट

काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकलले ४ दिने सर्भिस क्यामको सुरुवात गरेको छ । कम्पनीले विभिन्न १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको सुरुवात गरेको हो । यी केन्द्रहरुमध्ये दुई वटा काठमाडौं उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् भने उपत्यकाबाहिर बिर्तामोड, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढीमध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवा लिन सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशुलीबाट पनि ग्राहकहरूले सर्भिस क्याम्पको सेवा लिन सक्नेछन् । यस ४ दिने क्याम्पमा आइशरका ५०० भन्दा बढी व्यवसायिक गाडीहरुको प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने छ भने जाँच गराउन आउँदा सवारीधनीहरुले स्पेयर्स पार्ट्समा १० प्रतिशत, लुब्रिकेंट्समा १५ प्रतिशत छुट, विशेष मर्मतमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । यसैगरी, सर्भिस क्याम्पमा नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक–अप निशुल्क रुपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरु पनि प्राप्त गर्नेछन् । ‘बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित आइशरले कमर्सियल भेहिकल सर्भिस क्याम्पको आयोजना गरेको हो । भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्व बजारमाआइशर ग्राहकको पहिले रोजाइ बन्दै आइरहेको छ ।’ आइशर कमर्सियल भेहिकलका सर्भिस–जनरल म्यानेजर शरदकुमार मिश्रले भने । विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमाआत्याधिक लोकप्रिय ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ । सर्भिस क्याम्पको बारेमा थप जानकारी तथा प्रि–बुकिङ गर्न १६६०१११५५५, ९८०१५७५१११ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

‘नबिल एसएसई’ कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव

काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ (नविल स्कूल अफ सोसियल इन्टरपेनरसिप) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् । दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीहरूले यो कार्यक्रममा सहभागिता जनाएको नबिल बैंकले जनाएको छ । जसमध्येबाट ५२ वटा उद्यम जन्मँदा ८६९ जनाले रोजगारी पाएका छन् । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमको कारण सामाजिक वित्त प्रवद्र्धनमा बैंकको भूमिका थप बढेको बताए । ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवद्र्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौं,’अध्यक्ष पौड्यालले भने । उनले जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिक उद्यमीहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको जनाए । उनले यस कार्यक्रममा सहभागी हुने नबिल बैंकका कर्मचारी, विज्ञहरू, साझेदार, तथा विद्यालय प्रतिनिधिहरूलाई विशेष धन्यवाद दिए । ‘हामी दिगो बैंकिङ र सामाजिक उद्यमशीलता मार्फत हाम्रो समाजमा उल्लेखनीय परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं’ उनले भने । नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच, र सामाजिक उद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नको लागि यो कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन् । नबिल एसएसई कार्यक्रम अन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् । नबिल एसएसई फेलोहरूको सफलताका कथाहरू अहिले सबैका लागि प्रेरणादायी बनेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाले सुझाएका छन् । यस कार्यक्रममा सहभागीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित पुरस्कार पाउन सफल भएका छन् भने उद्यमशीलता विकासमा उदाहरणीय काम गरेका छन् । यसै कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आइसिटी अवार्ड २०२२ र स्टार्ट अप वल्र्डकप जित्न सफल भएका छन् । महर्जनले नबिल एसएसई टोलीप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘कार्यक्रममा भर्ना भएपछि मैले आफ्नो व्यावसायिक विचार, ब्रान्डिङ्, मार्केटिङ र नेटवर्किङका अवसरहरूमा ध्यान केन्द्रित गर्न सिकेँ, जसले मलाई धेरै मद्दत ग-यो।’ यमबहादुर कार्की, दिव्या महर्जन लगायतले पनि उदाहरणीय काम गरेका छन् । उनीहरूले किसानहरूलाई सहयोग गर्ने प्रकारका कार्यक्रम र नवीन शैलीबाट सौन्दर्यका सामाग्री उत्पादनमा महत्त्वपूर्ण योगदान गरेका छन् । उद्यमशीलतालाई बढावा दिन, सामाजिक उद्यमशीलता मार्फत समाजमा अर्थपूर्ण योगदान गर्न नबिल एसएसई कार्यक्रम प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता बीमा बापत ८ करोडको बीमा रकम भुक्तान

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका ४,५०० ग्राहकहरुलाई ८ करोड रुपियाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ । बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीहरु मार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ । बैंकको तथ्यांक अनुसार यस योजना अन्तरगत सहरि तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबि रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा  भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक, ५४ प्रतिशत रकम  भुक्तानी गरेको छ । कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रुपियाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरु माझ लोकप्रिय रहेको बैंकले जनाएको छ । बैंकले  आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

पिज्जा हटको थिन क्रस्ट पिज्जा अब नेपालमा

काठमाडौं । पिज्जा हट नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । जसले पिज्जा हटको मेनुमा नौलो स्वाद उपलब्ध भएको छ । ४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जा देशभरका ग्राहकका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको ब्रान्डले जनाएको छ । ब्रान्डका अनुसार ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको र १२ जुनदेखि विभिन्न टोपिङहरूमा उपलब्ध रहेको छ । ग्राहकहरूले डाइन–इन वा टेक–अवेका लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन् भने भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरबाट पनि डेलिभरिका लागि अर्डर गर्न सकिने छ । ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना गरि अगाडी बढेको छ । पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरूमा ताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरिन्छ ।

नवलपुरमा बजेट अभाव हुँदा खानेपानी योजना अलपत्र

त्रिवेणी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु गरिएका योजनाले अझैसम्म पूर्णता पाउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ भन्ने नीतिअनुरूप जिल्लामा सुरु भएका योजनामा पर्याप्त बजेट नहुँदा काम सम्पन्न हुनसकेको छैन । ढोडेनी खानेपानी योजना, झ्याल्टुङ्गडाँडा खानेपानी योजना, भागर खानेपानी योजनालगायतका आयोजना सम्पन्न हुनसकेका छैनन् । बजेट अभाव र निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण योजना सम्पन्न हुन नसकेको झ्याल्टुङ्गडाँडा खानेपानी योजना, मध्यविन्दु–१० का अध्यक्ष हेमबहादुर थापाले बताए । करिब दुई सय घरपरिवारलाई खानेपानीको व्यवस्थाका लागि पाँच वर्षअघि सुरु भएको योजना पूरा हुन नसकेको उहाँले बताए । आर्थिक वर्ष २०७६÷७७ मा काम सुरु भएका योजना डेढगाउँ, कावासोती डिग्री कलेज, कावासोती–१७, अग्यौली, वौनाहा, आपचौर, मैनाघाट, देवचुली, अमरापुरी खानेपानी योजना सञ्चालनमा आउन सकेका छैनन् । नवलपुरमा सञ्चालित अन्य योजनामा जिल्ला अस्पताल, आरुङ्गखोला, कावासोती, मगरकोटका खानेपानी योजनासमेत बजेट अभावले सम्पन्न हुनसकेका छैनन् । गण्डकी प्रदेश सरकारमार्फत सुरु भएको खानेपानी योजनाका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा सम्पन्न गर्न समस्या परेको कावासोती–१७, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण ढुङ्गानाले बताए । नवलपुरमा चालु आवमा अधिक रु चार करोडदेखि न्यूनतम रु छ लाख ८० हजारसम्मका योजना सञ्चालनमा छन् । धेरै लागत अनुमान रहेका योजनामा न्यून बजेट विनियोजन गर्दासमेत योजना सम्पन्न हुन धेरै समय लाग्ने गरेको छ । नवलपुरमा चालु आवका लागि रु १८ करोड १८ लाख बजेट विनियोजन गरिएको छ । विभिन्न शीर्षकमा जिल्लामा एक सय एकवटा आयोजना सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, एकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताए । जिल्लामा सञ्चालित महत्त्वपूर्ण खानेपानी योजना लामो समयसम्म सम्पन्न नहुँदा उपभोक्ता मारमा परेका छन् । ओभरहेड ट्याङ्की बनाउनुपर्ने योजना न्यून बजेट विनियोजन भएका कारण अघि बढाउन मुस्किल रहेको खानेपानी एकाइ नवलपुरका प्रमुख आचार्यले बताए । पुराना कतिपय योजना बजेट अभावका कारण आफूहरूले अगाडि बढाउन नसकेको उनले बताए । निर्माणका चरणमा रहेका योजना सम्पन्न गराउन आवश्यक बजेटका लागि आफूहरूले मन्त्रालयमा पहल गरिरहेको उनले बताए । जिल्लामा खानेपानी डिभिजन कार्यालय नहुँदासमेत काम गर्न थप समस्या भएको यहाँका सरोकारवालाको भनाइ छ । तनहुँस्थित खानेपानी डिभिजन कार्यालयले नै नवलपुरमा खानेपानी योजनाहरू हेर्दै आएको छ । जिल्लामा एकाइ कार्यालय स्थापना गरिएको भए पनि सबै काम तनहुँबाट हुने गर्दछ । जिल्लामा सञ्चालित लिफ्टिङ खानापानी योजनाका लागि विद्युतीकरणमा ढिलाइ हुँदासमेत समस्या हुने गरेको छ । रासस

कञ्चनपुरमा बीमा प्राधिकरण, बीमा कम्पनी र किसानहरूबीच संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । कञ्चनपुरको पुुनर्वास नगरपालिकामा बाली बीमा सहज रुपमा प्रबर्द्धन र परिचालन गर्नका लागि कृषि बिकास शाखा, नेपाल राष्ट्रिय समाज कल्याण संघ कंचनपुर, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी र किसानहरूबीच संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सरकारले कृषि पशुपन्छी तथा जडीबुटी बीमामा शतप्रतिशत छुटको व्यवस्था गरेको छ । नेपालको कृषि क्षेत्रलाई व्यवसायिक बनाउन सरकारले कृषि बीमाको परिकल्पना गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा आर्थिक बर्ष २०७०÷७१ देखि कृषि बीमाको शुरुवात भएको हो । बीमा कम्पनी तथा कृषकलाई बीमामा आकर्षित गर्न सरकारले अनुदानको व्यवस्था गरेको हो । कृषि तथा पशुपक्षि व्यवसायमा हुन सक्ने जोखिम र अनिश्चितता कम गर्न वा आर्थिक क्षति निराकरण गर्न बीमा आवश्यक रहेको नगर कृषि विकास शाखा प्रमुख कर्ण बहादुर शाहीले बताए । कृषकहरुलाई कृषि बीमा तर्फ आकर्षण गर्न, उत्पादनमा वृद्धि गर्न, आत्मानिर्भर बढाउन, बेरोजगारी घटाउन, व्यापार घाटा कम गर्न, खाद्य सुरक्षा हासिल गर्न कृषि बीमाको महत्वपूर्ण भूमिका बारे अन्तरक्रिया कार्यक्रम गरिएको हो । बालीनालीमा लाग्ने किरा, अतिबृष्टि, खडेरी, बाढी, सलह, आदिको जोखिम तथा पशुहरुमा लाग्ने रोग, जगली जानवारबाट हुने क्षती आदिको जोखिम विरुद्ध गरिने बीमालाई बाली तथा पशु बीमा भनिन्छ । कृषि तथा पशुपालमा लागेका कृषक तथा व्यवसायीका लागि यो बीमा अतिनै उत्तम भएका हुनाले बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा अनिवार्य रहेको पुनर्वास नगरपालिकाकी नगर कृषि बिकास शाखा प्रमुख शाहीले बताए । पुनर्वासमा साउन अन्तिम साताको बाढीपछि दोदा नदी किनारमा पर्ने पुनर्वास–५ ,७ ,८ र ९ मध्ये ५ र ७ मा ठूलो मात्रामा धानबाली र उखुुबालीमा क्षति पुगेको छ । धान र उखु बाली नष्ट भएसँगै त्यहाँका किसान चिन्तित छन् । तर बिडम्बना उक्त क्षेत्रमा कुनै पनि किसानले बाली बिमा गरेका छैनन । बीमा कम्पनीहरुको नियामक बीमा समितिले २०६९ देखि कृषि बीमा सुरु गरे पनि धेरै किसानलाई कहाँ कसरी बाली तथा कृषि बीमा गरिन्छ भन्ने जानकारी नै नभएको बताए । बाली तथा पशुपन्छी बीमा बारे ज्ञान नहुदा आफुहरुले निकैनै दुुःख पाएको बताए । नेपाल कृषि प्रधान देश, कृषि प्रधान देश भएपनि पछिल्लो समयमा भनेजस्तो कृषि क्षेत्रको विकास भने हुन सकेको छैन । निकै अवसर र सम्भावनाका बिचमा पनि आइतबार कृषि पेशा प्रति आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो । तसर्थ कृषि व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले कृषि बीमा सुरु गरेको छ । बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले मुलुकका ७७ जिल्लामा कम्तीमा १ बीमा कम्पनीको उपस्थिति अनिबार्य हुने गरी तोकेको नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेशका सहायक निर्देशक छबिलाल लामिछानेले जानकारी दिए । सहायक निर्देशक लामिछानेका अनुुसार सुदूरपश्चिम प्रदेशमा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुरमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड. बझाङ्, डोटी, कैलालीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड,र अछाम र बाजुुरामा यूनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड. लाई बाली तथा पशुपन्छी बीमा गर्ने जिम्मा दिइएको बताए । बाली तथा पशुुपन्छि बीमामा कृषि क्षेत्रलाई विस्तार एवम् प्रवद्र्धन गर्ने, कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितीबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा कृषकहरुका लागि एकदमै लाभदायी रहेको वडाथ्यक्ष डम्मर थापा ले बताए । उनले गरी कृषकहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न सहयोग गर्ने, कृषि क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने प्रमुुख उदेश्यहरु रहेको बताए । नगर प्रमुख तोय प्रसाद शर्माले भने सरकारले न्यून बर्गीय कृषकले पनि बीमाको सुविधा लिन सकोस भनीे अनुदानको व्यवस्था गरेको हो । तर, लक्षित बर्गले यसको सुविधा लिन सकेको छैन ।उनका अनुसार कृषि बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । त्यस्तै, अहिले स्थानिय सरकारले २० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेका छन् । दुवै सरकारले दिएको अनुदान पछि कृषकहरुले शत प्रतिशत छुटमा बीमा गर्न सक्ने उनले बताए । बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बीमा गराउदा चाहिने क्षेत्रफलको मापदण्ड सरकारले तोकि दिएको छ । जस अन्तर्गत बीमाका लागि तराईमा कम्तीमा एक कट्ठा र पहाडमा कम्तीमा आठ आना अर्थात आधा रोपनी जग्गामा खेती गरेको हुनु पर्दछ । बाली तथा पशुुपन्छी बीमाले आगलागी, चट्याङ, भूकम्प, बाढी÷डुवान÷खडेरी, पहिरो÷भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक÷दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हुने हानी–नोक्सानीको जोखिम सुरक्षण गर्छ । बाली तथा पशुपक्षी बीमा अन्तर्गत कृषि बीमा भित्र अन्नबाली, दलहन, तेलहन, तरकारी, च्याउ, फलफूल, सुख्खा फल, कन्दमूल, चिनीजन्य बाली, पेय, मसाल, फूल, घाँसेबाली, किरा (वनस्पति वर्गमा राखिने किरा वर्ग), खाद्यन्न, अन्य वनस्पतिको बीमा गरिन्छ । पशुपन्छीमा गाईभैसी, भेडाब्राख्रा, घोडा वर्ग, सुँगुर वर्ग, घरपालुवा जनावर, पन्छी, माछा, किरा, अन्य पशुपन्छीको बीमा गरिन्छ भने जडिबुटी अन्र्तगत रुख वर्ग, झाडी वुट्यान वर्ग र झार वर्ग पर्छन् ।