बहुवर्षीय ठेक्काका लागि ६८ आयोजना छनोट
काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१मा बहुवर्षीय ठेक्का लगाउन ६८ योजना छनोट गरेको छ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिरको आइतबार भएको उद्घाटन कार्यक्रममा मन्त्री जुग्जालीले सडकका ३५ र सडक पुलका ३३ वटा योजनालाई बहुवर्षीय ठेक्का लगाउन सिफारिस गरिएको जानकारी दिए । “२०७४/७५ मा ठेक्का लागेका अधिकांश योजना यही वर्ष सकिँदैछन् । सम्पन्न हुन नसक्ने योजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छौँ”, उनले भने, “यस वर्ष सडक र सडक पुलका ६८ वटा नयाँ योजनाको बहुवर्षीय ठेक्का लगाउन मन्त्रालयले निर्णय गरिसकेको छ ।” मन्त्री जुग्जालीले चालु आवमा प्रत्येक निर्वाचन क्षेत्रमा ५/५ करोड रुपैयाँ बराबरको सडक आयोजनाको पनि बहुवर्षीय ठेक्का लगाउने तयारी गरेको जानकारी दिए । चालु आवमा विनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको २० प्रतिशत मानेर स्रोत सुनिश्चिततन र बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनको तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिए । म्याग्दीमा ५ करोड रुपैयाँ बजेट विनियोजन भएको दरवाङ–मुना–ढोरपाटन सडकलाई २५ करोड रुपैयाँ, ४/४ करोड रुपैयाँ बजेट रहेको दरवाङ–बिम–दिच्याम र बेनी–तोरीपानी हुँदै पाखापानी सडकलाई २०/२० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वानको तयारी भएकोे छ । २/२ करोड रुपैयाँ बजेट रहेको दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोलेमुसुङ–बाग्लुङ र पखेर–बरंजा सडकका लागि पनि १०/१० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता भएको मन्त्री जुग्जालीले बताए । म्याग्दीका ६ वटा स्थानीय तहको ४५ मध्ये धवलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जा मात्र सडक सञ्जालमा जोडिएको छैन । गुर्जालाई सडक सञ्जालमा जोड्न प्रदेश, सङ्घीय सरकार र गाउँपालिकाले २/२ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित दरखोला र मालिका गाउँपालिका–७ को शिवरात्री खोलामा मोटरेबल पुलको योजना बुहवर्षीय ठेक्का लगाउन छनौट भएको मन्त्री जुग्जालीले बताए । मालिका गाउँपालिका–३ र ४ को सिमाना अदिभारा र बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिकाको वडा नम्बर ३ अर्चेखोलामा मोटरेबल पुल निर्माणको ठेक्का सम्झौता भइसकेको छ ।
कार्तिक शुक्ल पूर्णिमा : गुरु नानक जयन्ती
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् उनले गराए । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्थे ।
नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउछौैं : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत बुधबार राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानी गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट / रासस काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्नका लागि नेपाललाई ‘मेडिकल एजुकेसन हब’ बनाउन लागेको बताए । नेपाल चिकित्सक सङ्घको आयोजनामा आज तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले नर्सिङ तथा प्यारामेडिकल विषय पढ्नका लागि धेरै पैसा देशबाहिर गइसकेकाले विद्यार्थीलाई रोक्नका लागि नेपालमै चिकित्सक विषय पढाउनुपर्ने बताए । त्यस्तै मन्त्री बस्नेतले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपर्ने बताए । उनले भने, “संविधानमा नागरिकले निःशुल्क उपचार पाउने व्यवस्था छ । त्यसैले सरकारी अस्पतालमा १० प्रतिशत छुटसहित गरिब बिरामीलाई पैसाको अभावले उपचारबाट वञ्चित हुन पर्ने छैन ।” त्यस्तै उनले हरेक प्रदेशमा तीन÷तीनवटा मेडिकल कलेज खोल्ने व्यवस्था मिलाउन लागेको बताए । बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले सरकारले नागरिकलाई सरल र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा सरकार र निजी क्षेत्रको सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा भएको समस्यालाई सुधार गर्दै लैजानुपर्ने बताए । उनले भने, “बागमती प्रदेश सरकारले पिछडिएको वर्गलाई एक लाख बराबरको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ ।” त्यस्तै उनले काठमाडौँका सबै सरकारी अस्पतालमा निःशुल्क रगतको व्यवस्था गर्न लागेको बताए । उक्त शिखर सम्मेलन सोमबारसम्म चल्नेछ ।
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
काठमाडौं र पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे । “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भने, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।” कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ । प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए ।
सूर्योदय वोमी लघुवित्तका दुई संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे ६० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी गोविन्द शर्माको नाममा रहेको ३१ हजार २६६ कित्ता, र सरस्वती जोशीको २९ हजार ३५१ कित्ता गरी कूल ६० हजार ६१७ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले सर्वसाधारण लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ । यदि सो अवधिभित्र बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गर्ने लघुवित्तले बताएको छ ।
सगरमाथा जलविद्युतको सीईओमा संदिप अधिकारी नियुक्त
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संदिप अधिकारी नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईंले जानकारी दिए । साथै, सञ्चालक समितिले सुदत्त लामालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
नेप्सेमा २ बैंकको बोनस सेयरमूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो । यी दुई बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २८०.९५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ३५२.९४ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता ३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १५औं वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको छ ।
युनिलिभरको १५८० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सोमबार एक कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १ हजार ५८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ३०औं वार्षिक साधारणसभा मंसिर २६ गते होटल याक एण्ड यति काठमाडौंमा दिउँसो साढे ४ बजे बोलाएको हो ।