विकासन्युज

भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा

रुकुमपश्चिम । रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो । जिल्ला विपत् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ता वापतको रकम पठाउने निर्णय गरेको हो । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि-२०८० (दोस्रो संम्शोधन समेत) परिच्छेद २ को ३ ९१० बमोजिम उक्त रकम निकासा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जानकारी दिए । उनका अनुसार पहिलो किस्तामा एक घरपरिवारले पाउनुपर्ने रु २५ हजार रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पहिलो किस्तामा १६ लाख रकम पठाइने छ । अस्थायी आवास पूर्ण निर्माण भएपछि बाँकी रकम पठाइने उनको भनाइ छ । भूकम्पबाट घर क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि सरकारले रु ५० हजार राहत उपलध गराउने निर्णय गरिसकेको छ । त्रिवेणी बाहेक अन्य पालिकाबाट कुन-कुन घर परिवारले रकम पाउने भन्ने विवरण नआइसकेकाले ती पालिकाका लागि रकम निकासा भने हुन सकेको छैन ।

नेपाली हस्तकला : विदेशी हेर्छन्, स्वदेशीले किन्छन्

काठमाडौं । ‘विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्’, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आएका रामकृष्ण सिटौलाले भने, ‘अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।’ मुख्य पर्यटकीय सिजनमा वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बाक्लो भए पनि हस्तकलाका सामग्रीको व्यापार भने सन्तोषजनक छैन । पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रुपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको उनको भनाइ छ । उनको अनुसार केही समयपछि उनका अधिकांश ग्राहक स्वदेशी पर्यटक हुने गरेका छन् । कोभिड–१९ महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्कँदैछ । विदेशी पर्यटकको सङ्ख्या पनि बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६ सय ७८ पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय ६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल मात्रै नभइ चर्चित पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण क्षेत्र, खुम्बु क्षेत्र तथा चर्चित तीर्थस्थलहरुमा विदेशी पर्यटकको बाक्लो चहलपहल देखिन्छ । उपत्यकाका वसन्तपुर, ठमेल, पाटन दरबार क्षेत्र, भक्तपुरदरबार क्षेत्र स्वयम्भू, पशुपतिनाथलगायत तीर्थस्थलमा पनि बाक्लै सङ्ख्यामा पर्यटक पुगेका छन् । पर्यटकको पहिलो रोजाइमा पर्ने नेपाली उत्पादन अर्थात् हस्तकलाका सामग्रीको व्यापार भने सोचेजस्तो नभएको व्यवसायीको भनाइ छ । हस्तकलाका सामान खरिद बिक्रीको लागि अहिले उपयुक्त समय पनि हो । असोज, कात्तिक र मङ्सिर महिनामा बढी विदेशी आउने भएकाले उनीहरुले सामान खरिद गरेर लैजाने गरेको व्यवसायीको भनाइ छ । वसन्तपुरमा दैनिक १५ देखि २० हजार व्यापार गर्ने सिटौला अहिले मुस्किलले एउटा सामान बिक्री हुने गरेको बताए । ‘कोभिडपछि अझै बजार लिइसकेको छैन । पर्यटकीय सिजनमै व्यापार सन्तोषजनक छैन । पहिले विदेशीको रोजाइ हुन्थ्यो अहिले नेपालीले बढी किन्ने गरेका छन्’, व्यवसायी सिटौलाले भने । सिटौलाले वसन्तपुर दरबार परिसरको फुटपाथमा हस्तकलाका सामानको व्यापार गर्दै आएका छन्। उक्त स्थानमा धेरै सङ्ख्याका व्यापारीले यस्तो व्यवसाय सञ्चालन गरिरहेका छन् । वसन्तपुर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म हस्तकलाको व्यापार हुन्छ । दैनिक मानिसको भिडभाड भइरहन्छ । विदेशी पर्यटकले विशेषगरी नेपालमा उत्पादित परम्परागत हस्तकलाका सामान लैजान्छन् । बुद्धको मूर्ति, खट, खुकुरी मालालगायत सामग्री खरिद गर्नेगरेको व्यवसायीले बताए । व्यापार सुस्त रहेको र नयाँ पुस्ताले चासो नदिएकाले पुख्र्यौली पेसाको अस्तित्वनै समाप्त हुने होकी भन्ने व्यवसायी सिटौलाको चिन्ता छ । उनले भने, ‘छोरा नातिले यो व्यवसायप्रति चासो दिँदैनन् । विदेशतिर लागिसके अब, यो पेसा नै लोप हुने होकी भन्ने चिन्ता छ ।’ सिटौलाको पसलमा रु पाँच सयदेखि १५ हजारसम्मका हस्तकलाका सामान छन् । सोही क्षेत्रमा विगत २५ वर्षदेखि व्यापार गर्दै आएका सिन्धुपाल्चोकका हरि कार्कीको अनुभवमा पनि व्यापारमा उत्साह छैन । व्यापार राम्रो भएका बेला कहिलेकाहीँ दैनिक रु १५ हजारसम्म आम्दानी हुन्छ । उनले थपे, ‘यो सिजनमा व्यापार ठीकै छ, कोरोनाकाल भन्दा त धेरै राम्रो छ । सिजनमा राम्रो व्यापार हुन्छ । अहिले सिजन हो तर, विदेशी पर्यटक बढे पनि ग्राहक भने नेपाली नै हुने गरेका छन् ।’ कार्कीको पसलमा रु पाँच सयदेखि १२ हजारसम्मका सामान छन् । विदेशीले ‘सिङ्गिङ बल’, मालालगायतका सामग्री बढी रुचाउन्छन् । प्रमुख पर्यटकीय क्षेत्रमा विदेशीले भन्दा नेपालीले समान किन्ने गरेको व्यावसायीले बताएका छन् । कोभिड पहिले दैनिक रु २० हजारसम्म कमाइ गर्ने कार्कीले अहिले पाँचदेखि १० हजार आम्दानी गरिरहेका छन् । वसन्तपुर दरबार क्षेत्र, ठमेल, स्वयम्भू, बौद्ध, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रमा हस्तकलाका सामानको व्यापार हुन्छ । सबैभन्दा धेरै किनमेल वसन्तपुरमै हुन्छ । होलसेलमै सस्तो सामान पाइने भएकाले विदेशीको पहिलो रोजाइ वसन्तपुर क्षेत्र हुने गरेको व्यवसायीको भनाइ छ । झापाका किशोर दर्नाल २५ वर्षदेखि वसन्तपुर क्षेत्रमा व्यापार गर्छन् । पर्यटकीय सिजन भए पनि व्यापार उत्साहजनक नभएको उनले बताए । उनी भन्छन्, “व्यापार काम चलाउ मात्रै छ । पर्यटक आए पनि सामान किन्दैनन् । नेपालीले नै बढी किन्छन् । आशातित रुपमा सिजन मै व्यापार छैन ।’ भक्तपुरकी धनमाया तामाङको पनि व्यापार राम्रो छैन । ‘कहिले हुन्छ, कहिले हुँदैन । भएको बेला रु पाँच हजारदेखि १० हजार कमाइ हुन्छ । पर्यटक आएका छन् तर बिक्री भने खासै छैन’, उनले भने, ‘तामाङको पसलबाट उपभोक्ताले माने, मुकुण्डोलगायतका सामान बढी लैजान्छन् ।’ वसन्तपुरमा सामान खरिद गर्दै गरेकी ललितपुरकी सृष्टि श्रेष्ठले यो क्षेत्रमा सस्तो सामान पाइने भएकाले आएको बताए । ‘वसन्तपुरमा सामान किन्न रमाइलो लाग्छ’, भाउजु रेखा श्रेष्ठसँगै वसन्तपुर घुम्न आएकी श्रेष्ठले भने, ‘पाटनमा सामान पाइने भए पनि नानीबाबुसँगै घुम्न पनि पाइने र सामान पनि किनिने भएकाले यहाँ आएका हौँ ।’ वसन्तपुरका व्यवसायी मात्रै होइन प्रमुख पर्यटकीय क्षेत्र ठमेलको हस्तकलाको व्यापार पनि राम्रो छैन । विगत १५ वर्षदेखि सो क्षेत्रमा व्यापार गर्दै आएका मनाङ ह्याण्डिक्राफ्टका सञ्चाल वाङ्गेल गुरुङले सिजनमै व्यापार खासै राम्रो नभएको बताए । उनले भने, ‘कोभिडपूर्व व्यापार राम्रै थियो । अहिले भाडा तिर्नसमेत समस्या छ । पर्यटक आउँछन् सामान हेर्छन् जान्छन् । नेपालीले फाट्टफुट्ट किन्छन् ।” ठमेलमा विगत २२ वर्षदेखि व्यापार गर्दै आएका भारतका ओसिम आक्रामले पनि व्यापार राम्रो नभएको सुनाए। उहाँ ‘माउनटेन टिसर्ट ब्याग’मार्फत विदेशीलाई नेपाली उत्पादन बिक्री गर्दै आएका छन्। ठमेलमा बुद्धिष्ट माला इन्टरप्राइसका सञ्चालक इन्द्रसिंह लामाले पर्यटक घुमिरहे पनि व्यापार सन्तोषजनक नरहेको बताए । रासस

नेशनल लाईफ इन्स्योरेन्स बन्यो विमस्टेक राष्ट्रकै उत्कृष्ट कम्पनी, भारतले गर्यो सम्मान

काठमाडौं । इण्डियन चेम्बर अफ कमर्शले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । इन्स्योरेन्स गत मंसिर ७ गते इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको हो । उक्त संस्थाले विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा क्षेत्रकै उत्कृष्ट कम्पनी भन्दै जीवन कम्पनी नेशनल लाईफ इन्स्योरेन्स ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड’ बाट सम्मानित गरेको हो । भारतको मुम्वईस्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक समारोहबीच उक्त इन्स्योरेन्सलाई सम्मान गरेको हो । विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो । उक्त सम्मान कम्पनीका सहायक महा प्रबन्धक प्रज्वल सायमीले ग्रहण गरेका हुन् ।

 भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै, एक लाखले अवलोकन गर्ने अपेक्षा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३’ को आयोजना गर्ने भएको हो । नवौं संस्करणको सो मेला नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको हो । महासंघका अनुसार मेला मंसिर १४ गतेदेखि सञ्चालन भई १८ गतेसम्म चल्ने छ । उक्त मेलाका लागि अधिकांश स्टल बुकिङ भैसकेको महासंघले बताएको छ । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहने छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने बताइएको छ । मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरू रहने छन् । २१० वटा स्टलहरू मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । सभामुख देवराज घिमिरे प्रमुख आतिथ्यतामा आयोजना हुने सो मेला नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना हुँदै आएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए । उनका अनुसार मेलाले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि मदत पुर्याउने छ । सो अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बीच छलफल एवं बिजनेस मार्केटिङ कार्यक्रम समेत राखिएको छ । उक्त छलफल कार्यक्रममा कृषि, जडीबुटी, औषधी, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुने महासंघको भनाई छ । महासंघले मेला अवधिभर एक लाखले अवलोकन गर्ने अपेक्षा गरेको छ । मेलामा १० देखि १२ करोड रुपैयाँसम्मको कारोबार हुने बताइएको छ । आइएमइ पे फोनमा डाउनलोड गर्नेहरूका लागि प्रवेश निःशुल्क छ भने नगरी प्रवेश गर्नेहरूलाई ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।

ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको एक प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २०८.९१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता २११ रुपैयाँ थियो । यससँगै बुधबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २०८.९१ रुपैयाँलाई आधार मानेर हुने छ ।

जलवायु परिवर्तनले विश्व अर्थतन्त्रबाट अर्बौँ डलर कम गरिरहेको छ : प्रतिवेदन

पेरिस । जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौँ डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप– २८ जलवायु शिखर सम्मेलनअघि मंगलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ । डेलावेयर विश्वविद्यालयको प्रतिवेदनले जनसंख्याको आधारमा मूल्यांकन गर्दा मानवजनित जलवायु परिवर्तनको असरले गत वर्ष विश्वव्यापी आर्थिक उत्पादन ६.३ प्रतिशतले घटेको अनुमान गरेको छ । उक्त आँकडाले कृषि र उत्पादनमा अवरोध र उच्च गर्मीबाट उत्पादकत्वमा कमीका साथै विश्वव्यापी व्यापार र लगानीमाथिको प्रभावजस्ता जलवायु परिवर्तनका दुवै प्रत्यक्ष परिणामहरूलाई प्रतिबिम्बित गर्दछ । ‘जलवायु परिवर्तनका कारण विश्व खर्बौँ डलरले गरिब भएको छ र यसको अधिकांंश भार गरिब मुलुकहरूमाथि परेको छ,’ डेलावेयर विश्वविद्यालयका मुख्य लेखक जेम्स राइजिङले भने, ‘यो जानकारीले धेरै मुलुकले सामना गरिरहेका चुनौती र तिनीहरूलाई सम्बोधन गर्न उनीहरूलाई तत्काल आवश्यक पर्ने सहयोगलाई स्पष्ट पार्न सक्छ भन्ने मलाई आशा छ ।’ औसत व्यक्तिले सामना गर्ने प्रभावहरूलाई ध्यानमा नराखी गणना गर्दा सन् २०२२ मा विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को घाटा कुल गार्हस्थ्य उत्पादनको १।८ प्रतिशत अर्थात् करिब १५ खर्ब अमेरिकी डलर थियो । ‘ती दुई संख्याबीचको भिन्नताले कम आम्दानी भएका मुलुक र अत्यधिक गर्मी हुने क्षेत्रहरूमा केन्द्रित प्रभावहरूको असमान वितरणलाई प्रतिबिम्बित गर्दछ, यी मुलुकमा सामान्यतया उच्च जनसंख्या र कम जिडिपी छन्,’ लेखकहरूले एक विज्ञप्तिमा भनेका छन् । अतिकम विकसित मुलुकहरूमा जनसंख्या–भारित जिडिपीमा ८।३ प्रतिशतको नोक्सान भएको छ । यसबाट दक्षिणपूर्वी एसिया र दक्षिण अफ्रिकी मुलुकहरू विशेष रूपमा प्रभावित भएका छन् । यिनीहरूको जिडिपीमा क्रमशः १४।१ प्रतिशत र ११।२ प्रतिशतले नोक्सान भएको छ । अर्कोतर्फ केही विकसित मुलुकहरूले फाइदा लिएका छन् । कम जाडोका कारण युरोपमा गत वर्ष जिडिपीमा करिब पाँच प्रतिशतको शुद्ध लाभ देखिएको थियो । यद्यपि, तातो गृष्मकालले हल्का जाडोसँग सन्तुलन गर्ने भएकाले यस्तै प्रकारको लाभ ‘समाप्त हुने दिशातर्फ अग्रसर’ हुने भन्दै प्रतिवेदनमा चेतावनी दिइएको छ । गत वर्ष इजिप्टमा कोप– २७ शिखर सम्मेलनमा कमजोर मुलुकहरूलाई जलवायु प्रकोप र चरम मौसमबाट हुने ‘नोक्सान र क्षति’सँग सामना गर्न सहयोग गर्नका लागि एउटा समर्पित कोष स्थापना गर्न सहभागी मुलुकहरू सहमत भएका थिए । केही विवरणमा हालै सहमति भए पनि कोष र विशेष रूपमा यसमा कसले योगदान गर्ने र कति गर्ने भन्नेबारे बिहीबारदेखि सुरु हुने यो वर्षको कोप– २८ शिखर सम्मेलनमा छलफलको एउटा प्रमुख बिन्दु हुनेछ । प्रतिवेदनअनुसार पछिल्लो ३० वर्षमा न्यून र मध्यम आम्दानी भएका मुलुकहरूको पुँजी र जिडिपीमा संयुक्त रूपमा २१ खर्ब डलरको नोक्सान भएको छ । यो विकासोन्मुख विश्वको कुल २०२३ जिडिपीको करिब आधा हो । विश्लेषणमा गैरबजार घाटा र प्रभावहरूको गणना नगरिएको भन्दै लेखकहरूले नोक्सान ‘परम्परागत अनुमान’ भएको बताएका छन् । रासस

जाइकाको ३ करोड लगानीमा बन्यो बानेश्वरमा आधुनिक लेन, थप ४३ स्थानमा बनाइने

काठमाडौं । माइतीघरबाट जाँदा होस् वा भक्तपुरबाट काठमाडौं आउँदा चारै दिशाबाट ठोक्किन आइपुगिने ठाउँ हो ‘नयाँबानेश्वर चोक’ । यो चोक आइपुगेपछि सधैं ट्राफिक अस्तव्यस्तताका कारण केही समय त्यहीँ सवारीसाधन नरोकी सुखै थिएन । त्यही रुट प्रयोग गर्ने सवारीका चालक तथा यात्रुलाई नयाँबानेश्वर चोक पुगेर बस्ने बानी नै परेको थियो । यी त भए पुराना कुरा । अब गरौं, आजको कुरा । नयाँबानेश्वर चोकको त्यो विद्रुप अवस्था अहिले एक्कासि परिवर्तन भएको छ । ‘आँधीबेहरीपछिको सन्नाटा’ भने झैं अहिले नयाँबानेश्वर चोक सुन्दर र शान्त भएको छ । यसको रूप यसरी परिवर्तन भयो कि अहिले चोक वरिपरि नै बसिरहुँजस्तो बनेको छ। न पहिलेजस्तो सडकमा गञ्जागोल छ, न ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । ट्राफिक प्रहरी पनि आरामसँग सहजै सवारीसाधन आवागमन गराइरहेका हुन्छन् । सडक सफा, चिटिक्क र सवारीसाधनले पनि लेन मिचेर जान नपाउने बनाइएको छ । आखिर यो कसरी सम्भव भयो त ? अहिले माइतीघरबाट बबरमहल हुँदै नयाँबानेश्वर चोक पुग्नै लाग्दा र कोटेश्वरबाट तीनकुने हुँदै सिभिल अस्पताल पुग्नै लाग्दा सडकमा ट्राफिक व्यवस्थापनका निमित्त आधुनिक लेन निर्माण गरिएको देख्न पाइन्छ । अर्थात, नयाँ लेन निर्माणपछि लेन मिचेर अर्काको लेनमा सवारीसाधन लानै मिल्दैन । तपाईंले पक्कै पनि नयाँबानेश्वर चोक पुग्दा त्यो सडकको लेनमा राखिएको सानो फुटपाथजस्तो स्पेस (खाली भाग) तथा पहेँलो रङ दलिएको बार (डिभाइडर) याद गर्नुभएको होला । आधुनिक तरिकाले तयार गरिएको लेन निर्माणसँगै अहिले नयाँबानेश्वर चोकको सडकले मुहारै फेरिएको छ । रङ लगाइएको लेनमा सानो पर्खाल, अनि फलामको आकारजस्तो बलियो प्लास्टिकबाट निर्मित पहेँलो रङको डिभाइडर (लठ्ठी) ले गर्दा एकअर्काको लेन मिच्नै सकिँदैन । जसले ट्राफिक व्यवस्थापन सहज हुनुका साथै तीनकुनेबाट आउने सवारीलाई दायाँतर्फ पुरानो बानेश्वरतिर मोडिन मद्दत पुर्याएको छ । सडकमा एकाएक आएको परिवर्तन देख्दा जो कोहीलाई लाग्न सक्छ यस्तो राम्रो सडक लेन कसले बनायो होला ? धेरैको मनमा उब्जिन सक्ने प्रश्न– काठमाडौं महानगरपालिका, सडक विभाग वा अन्य सरकारी निकाय र सडक लेन महानगर तथा सडक डिभिजनले नभई जापान सरकारले बनाइदिएको हो । जापनिज सरकारअन्तर्गतको जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) को सहयोगमा अर्बन ट्रान्सपोर्ट म्यानेजमेन्ट सिस्टम (यातायात व्यवस्थापन प्रणाली) कार्यक्रममार्फत उक्त लेन बनाउने काम भएको छ । काठमाडौं महानगरपालिका, सडक विभाग, नेपाल ट्राफिक प्रहरी कार्यालय र काठमाडौं उपत्यकका विकास प्राधिकरणसँग समन्वय गरेर जाइकाले उक्त लेन निर्माण गरेको हो । सडक व्यवस्थापनमा सहजता ल्याउनका लागि जाइकाको सहयोगमा लेन तयार भएको सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक इकाइका प्रमुख प्रकाश भण्डारीले बताए । ‘पहिला बानेश्वर चेकको सडकमा दायाँ मोडिने लेन थिएन, जसले गर्दा चोकको व्यवस्थापनमा समस्या हुँदै आएको थियो,’ उनले भने, त्यसलाई व्यवस्थित गर्नका लागि चोक सुधार गरेको हो ।’ चोकको दुवै ठाउँमा करिब २००/१३० मिटर परबाट लेन बनाउने काम गरिएको छ । उनका अनुसार व्यवस्थित चोक बनाउनका लागि लेनको काम गरिएको हो । जाइकाकै लगानीमा तयार भएको उक्त लेन बानेश्वरमा बनाइसक्दा करिब तीन करोड रुपैयाँ लगानी भएको काठमाडौं महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले बताए । ‘जाइकाले लामो समयदेखि बानेश्वरमा त्यो योजना अगाडि बढाउनका लागि अध्ययन गर्दै आएको थियो, सरकारी निकायसँग समन्वय गरेर काम भएको हो,’ उनले भने । थापाका अनुसार जाइकाले उक्त पाइलोट प्रोजेक्टका रूपमा अगाडि बढाएको थियो । सोही योजनाअनुरूप तयार भएको उक्त लेनपश्चात् काठमाडौंका विभिन्न चोकमा त्यस्तै प्रकारका लने बनाउने तयारी भइरहेको छ । बानेश्वरको काम सकिएता पनि त्यसले पारेको सकारात्मक तथा नकारात्मक विषय तथा ट्राफिक व्यवस्थापनमा पुर्याएको मद्दतका विषयमा अध्ययन भइरहेको थापाले बताए । अध्ययनको क्रम अन्तिम चरणमा पुगेको पनि थापाले जानकारी दिए । ‘जाइकाले काम पछिको प्रभावकारितालाई पनि उत्तिकै ध्यान दिँदो रहेछ, उक्त प्रोजेक्ट अगाडि बढाउनुअघि विभिन्न सरकारी निकायका कर्मचारीहरू पनि सोही क्रममा जापान पुगेका थिए,’ उनले भने, ‘अध्ययन सम्पन्न भएको केही महिनापछि अर्को ठाउँमा काम सुरु हुन्छ ।’ थप ४३ ठाउँमा त्यस्तै लेन बनाइने काठमाडौंभित्रका बढी ट्राफिक जाम हुने चोकहरूमा सोही प्रकारका लेन बनाउने तयारी अहिले भइरहेको छ । जसका लागि डिजाइन तयार तथा प्राविधिक कामहरू भइरहेको थापाले बताए । बानेश्वर एरियापश्चात् विभिन्न ४३ चोकमा लेन बनाउने तयारी भइरहेको हो । अध्ययनपछिको दोस्रो काम लैनचौर चोकमा हुने बताइएको छ । जसका लागि बजेट व्यवस्थापन भइसकेको इकाइका प्रमुख भण्डारीले बताए । उनका अनुसार लैनचौरमा लेन निर्माणको लागि जाइकाको अनुमानमा ९० लाख रुपैयाँ रकम लाग्ने देखिएको छ । अब भने लेनको काम गर्दा सरकार आफैंले लगानी गर्नुपर्ने भण्डारीले बताए । ‘अबको बन्ने योजनामा सरकारको लगानी हुन्छ, यसमा सकारकारी कार्यालयले पनि रकम हाल्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘योजनामा कति खर्च हुन्छ भन्ने विषयका लागि त्यसको डीपीआर भएपछि मात्र थाहा हुन्छ । अन्य आयोजनाका लागि बजेट व्यवस्थापन भइसकेको छैन ।’ निर्देशक थापाका अनुसार बाँकी ४२ वटाको काम क्रमिकरूपमा हुने छ । कुन–कुन ठाउँमा कस्ता लेन बनाउने हो त्यसको निर्णय भने भइसकेको छैन । बजेटको व्यवस्थापन गर्दै लेनको काम अगाडि बढाउन सकिने थापाको भनाइ छ । जाइकासँग प्रविधि तथा डिजाइनको सहयोग भने निःशुल्क लिन सकिने पनि थापाले बताए ।

त्रिशुली जलविद्युतको आईपीओ सूचीकृत, न्यूनतम मूल्य ८९.३८ रुपैयाँ

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको एक करोड ८५ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको सेयर भोलि अर्थात बुधबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि नेप्सेले प्रतिकित्ता सेयर न्यूनतम ८९.३८ रुपैयाँदेखि अधिकतम २६८.१४ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ । यससँगै बजारमा कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । जसको स्टक सिम्बोल भने ‘टीभीसीएल’ दिइएको छ । यससँगै कम्पनीले सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा नक्सालमा रहेको उक्त क्यापिटल मार्फत हुने छ ।