
काठमाडौं । माइतीघरबाट जाँदा होस् वा भक्तपुरबाट काठमाडौं आउँदा चारै दिशाबाट ठोक्किन आइपुगिने ठाउँ हो ‘नयाँबानेश्वर चोक’ । यो चोक आइपुगेपछि सधैं ट्राफिक अस्तव्यस्तताका कारण केही समय त्यहीँ सवारीसाधन नरोकी सुखै थिएन । त्यही रुट प्रयोग गर्ने सवारीका चालक तथा यात्रुलाई नयाँबानेश्वर चोक पुगेर बस्ने बानी नै परेको थियो ।
यी त भए पुराना कुरा । अब गरौं, आजको कुरा ।
नयाँबानेश्वर चोकको त्यो विद्रुप अवस्था अहिले एक्कासि परिवर्तन भएको छ । ‘आँधीबेहरीपछिको सन्नाटा’ भने झैं अहिले नयाँबानेश्वर चोक सुन्दर र शान्त भएको छ । यसको रूप यसरी परिवर्तन भयो कि अहिले चोक वरिपरि नै बसिरहुँजस्तो बनेको छ।
न पहिलेजस्तो सडकमा गञ्जागोल छ, न ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । ट्राफिक प्रहरी पनि आरामसँग सहजै सवारीसाधन आवागमन गराइरहेका हुन्छन् । सडक सफा, चिटिक्क र सवारीसाधनले पनि लेन मिचेर जान नपाउने बनाइएको छ ।
आखिर यो कसरी सम्भव भयो त ?
अहिले माइतीघरबाट बबरमहल हुँदै नयाँबानेश्वर चोक पुग्नै लाग्दा र कोटेश्वरबाट तीनकुने हुँदै सिभिल अस्पताल पुग्नै लाग्दा सडकमा ट्राफिक व्यवस्थापनका निमित्त आधुनिक लेन निर्माण गरिएको देख्न पाइन्छ । अर्थात, नयाँ लेन निर्माणपछि लेन मिचेर अर्काको लेनमा सवारीसाधन लानै मिल्दैन ।
तपाईंले पक्कै पनि नयाँबानेश्वर चोक पुग्दा त्यो सडकको लेनमा राखिएको सानो फुटपाथजस्तो स्पेस (खाली भाग) तथा पहेँलो रङ दलिएको बार (डिभाइडर) याद गर्नुभएको होला । आधुनिक तरिकाले तयार गरिएको लेन निर्माणसँगै अहिले नयाँबानेश्वर चोकको सडकले मुहारै फेरिएको छ ।

रङ लगाइएको लेनमा सानो पर्खाल, अनि फलामको आकारजस्तो बलियो प्लास्टिकबाट निर्मित पहेँलो रङको डिभाइडर (लठ्ठी) ले गर्दा एकअर्काको लेन मिच्नै सकिँदैन । जसले ट्राफिक व्यवस्थापन सहज हुनुका साथै तीनकुनेबाट आउने सवारीलाई दायाँतर्फ पुरानो बानेश्वरतिर मोडिन मद्दत पुर्याएको छ ।
सडकमा एकाएक आएको परिवर्तन देख्दा जो कोहीलाई लाग्न सक्छ यस्तो राम्रो सडक लेन कसले बनायो होला ? धेरैको मनमा उब्जिन सक्ने प्रश्न– काठमाडौं महानगरपालिका, सडक विभाग वा अन्य सरकारी निकाय र सडक लेन महानगर तथा सडक डिभिजनले नभई जापान सरकारले बनाइदिएको हो ।
जापनिज सरकारअन्तर्गतको जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) को सहयोगमा अर्बन ट्रान्सपोर्ट म्यानेजमेन्ट सिस्टम (यातायात व्यवस्थापन प्रणाली) कार्यक्रममार्फत उक्त लेन बनाउने काम भएको छ ।
काठमाडौं महानगरपालिका, सडक विभाग, नेपाल ट्राफिक प्रहरी कार्यालय र काठमाडौं उपत्यकका विकास प्राधिकरणसँग समन्वय गरेर जाइकाले उक्त लेन निर्माण गरेको हो । सडक व्यवस्थापनमा सहजता ल्याउनका लागि जाइकाको सहयोगमा लेन तयार भएको सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक इकाइका प्रमुख प्रकाश भण्डारीले बताए ।
‘पहिला बानेश्वर चेकको सडकमा दायाँ मोडिने लेन थिएन, जसले गर्दा चोकको व्यवस्थापनमा समस्या हुँदै आएको थियो,’ उनले भने, त्यसलाई व्यवस्थित गर्नका लागि चोक सुधार गरेको हो ।’ चोकको दुवै ठाउँमा करिब २००/१३० मिटर परबाट लेन बनाउने काम गरिएको छ । उनका अनुसार व्यवस्थित चोक बनाउनका लागि लेनको काम गरिएको हो ।
जाइकाकै लगानीमा तयार भएको उक्त लेन बानेश्वरमा बनाइसक्दा करिब तीन करोड रुपैयाँ लगानी भएको काठमाडौं महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले बताए । ‘जाइकाले लामो समयदेखि बानेश्वरमा त्यो योजना अगाडि बढाउनका लागि अध्ययन गर्दै आएको थियो, सरकारी निकायसँग समन्वय गरेर काम भएको हो,’ उनले भने ।
थापाका अनुसार जाइकाले उक्त पाइलोट प्रोजेक्टका रूपमा अगाडि बढाएको थियो । सोही योजनाअनुरूप तयार भएको उक्त लेनपश्चात् काठमाडौंका विभिन्न चोकमा त्यस्तै प्रकारका लने बनाउने तयारी भइरहेको छ ।

बानेश्वरको काम सकिएता पनि त्यसले पारेको सकारात्मक तथा नकारात्मक विषय तथा ट्राफिक व्यवस्थापनमा पुर्याएको मद्दतका विषयमा अध्ययन भइरहेको थापाले बताए । अध्ययनको क्रम अन्तिम चरणमा पुगेको पनि थापाले जानकारी दिए ।
‘जाइकाले काम पछिको प्रभावकारितालाई पनि उत्तिकै ध्यान दिँदो रहेछ, उक्त प्रोजेक्ट अगाडि बढाउनुअघि विभिन्न सरकारी निकायका कर्मचारीहरू पनि सोही क्रममा जापान पुगेका थिए,’ उनले भने, ‘अध्ययन सम्पन्न भएको केही महिनापछि अर्को ठाउँमा काम सुरु हुन्छ ।’
थप ४३ ठाउँमा त्यस्तै लेन बनाइने
काठमाडौंभित्रका बढी ट्राफिक जाम हुने चोकहरूमा सोही प्रकारका लेन बनाउने तयारी अहिले भइरहेको छ । जसका लागि डिजाइन तयार तथा प्राविधिक कामहरू भइरहेको थापाले बताए । बानेश्वर एरियापश्चात् विभिन्न ४३ चोकमा लेन बनाउने तयारी भइरहेको हो ।
अध्ययनपछिको दोस्रो काम लैनचौर चोकमा हुने बताइएको छ । जसका लागि बजेट व्यवस्थापन भइसकेको इकाइका प्रमुख भण्डारीले बताए । उनका अनुसार लैनचौरमा लेन निर्माणको लागि जाइकाको अनुमानमा ९० लाख रुपैयाँ रकम लाग्ने देखिएको छ ।
अब भने लेनको काम गर्दा सरकार आफैंले लगानी गर्नुपर्ने भण्डारीले बताए । ‘अबको बन्ने योजनामा सरकारको लगानी हुन्छ, यसमा सकारकारी कार्यालयले पनि रकम हाल्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘योजनामा कति खर्च हुन्छ भन्ने विषयका लागि त्यसको डीपीआर भएपछि मात्र थाहा हुन्छ । अन्य आयोजनाका लागि बजेट व्यवस्थापन भइसकेको छैन ।’
निर्देशक थापाका अनुसार बाँकी ४२ वटाको काम क्रमिकरूपमा हुने छ । कुन–कुन ठाउँमा कस्ता लेन बनाउने हो त्यसको निर्णय भने भइसकेको छैन । बजेटको व्यवस्थापन गर्दै लेनको काम अगाडि बढाउन सकिने थापाको भनाइ छ । जाइकासँग प्रविधि तथा डिजाइनको सहयोग भने निःशुल्क लिन सकिने पनि थापाले बताए ।
