संरक्षण अभावमा जीर्ण बन्दै राणाकालीन गर्भा दरबार
कैलाली । चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकैलाली । चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेका छन् । स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन । स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनको भनाइ छ । दरबार जीर्ण हुँदै जाँदा भवनमा पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको उनको भनाइ छ । राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । हावापानी, मौसम र भौगोलिकरूपमा उपयुक्त भएकाले राणाहरुले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीयको छ । मास पिसेर त्यसबाट चुना लगाई निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको सो दरबार तीन खण्ड र तीन तले छ । दरबारभित्र सुरुङसमेत बनाइएको छ । सुरुङ अहिले पुरिएको छ । राणाहरु खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ । ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न सकेको छैन । चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए। दरबार संरक्षणका लागि पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिँदै आएको उनको भनाइ छ । प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा रु ६० लाख आव २०७६/७७ मा रु ५० लाख बजेट विनियोजन गरे पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वन हुन नसकेको बताए। उनले सो दरबार पुरातत्व विभाग अन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणका लागि विभागको टोली ल्याएर संरक्षणका लागि स्थलगत अवलोकन गराएको बताए । रासस
सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौंको टेकुमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको टेकुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा उक्त स्थानमा सञ्चालनमा ल्याएको हो । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । टेकुमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे । सुविधा सम्पन्न यस शाखा मार्फत लकर सेवा, एटीएम सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकको छ । बैंकले हाल १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक सञ्चालनमा ल्यायो फिनपीओएस प्रविधि
काठमाडौं । माछापुच्छ्रे बैंकले पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि (फिनपीओएस) को शुभारम्भ गरेको छ । बैंकले नेपालमै पहिलो पटक यो प्रविधि प्रयोगमा ल्याएको हो । नेपालभरका फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (साउन्ड) बाट पनि भुक्तानीको सुचना दिने गरी बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका फिनपीओएस मर्चेन्टहरु कार्ड, क्यूआर(नेपाल पे वा फोनपे) र एम स्मार्ट एनएफसी मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी मार्फत हुने बताइएको छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिनपीओएस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै, अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखि उक्त सेवा सजिलै जडान गर्न सक्नेछन् । यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ । हाल बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
पुस ६ गतेदेखि ट्रेड एक्स्पो गर्दै मोरङ व्यापार संघ, स्वदेश तथा विदेशी उत्पादनहरुको प्रदर्शनी हुने
काठमाडौं । मोरङ व्यापार संघले आगामी पुस ६ गतेदेखि पुस १६ गतेसम्म एक्स्पो गर्ने भएको छ । विगतका वर्षझैं संघले विराटनगरमा ‘ मोरङ व्यापार संघ एक्स्पो २०२३’ (अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी)को आयोजना गर्ने तयारी गरेको हो । मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेशी उद्योग/व्यवसायको प्रवद्र्धन, नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका यस प्रदेशका अधिकांश वस्तुहरु सहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरुबीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना, यस प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार लगायत कैयौँ प्रवर्द्धनात्मक कार्यहरु गराउने प्रमुख उद्देश्यका साथ संघले सो एक्स्पो सञ्चालन गर्न लागेको हो । साथै, यस वर्षको एक्स्पोले नयाँ र विद्यमान उत्पादन र सेवाहरु प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरु प्रदर्शन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाहरु बारे छलफल गर्ने छ । त्यस्तै, उत्पादक तथा वितरकहरुलाई आफ्ना उत्पादन र सेवाहरुको प्रदर्शनी एवं देश र विदेशमा आफ्नो बजार विस्तार र विविधीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । मोरङ – सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने मुख्य उद्देश्यले आयोजना गरिने यस पटकको मेलामा नेपालमै सबैभन्दा ठूलो जर्मन प्रविधिको ह्याङगर र २५० अक्टानम स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला-संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ताबीच सम्बन्ध कायम गराइने छ । उक्त एक्स्पो संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, कटहरी र बुढिगंगा गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ, विराट व्यापार संघ, मोरङ अटोमोवाइल डिलर्स एशोसिएशन लगायत विभिन्न स्थानीय व्यवसायिक संघ/संस्थाहरु लगायतका निकायहरुको समन्वय तथा सहयोगमा सञ्चालन हुन लागेको हो ।
सुनको मूल्यमा दैनिक रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?
काठमाडौं । पछिल्लो समय सुनको मूल्यले दैनिक रेकर्ड ब्रेक गरिरहेको छ । सोमबार पनि रेकर्ड ब्रेक गरेको उक्त मूल्य मंगलबार पनि थप बढेर अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको छ । जुन सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य सोमबारको तुलनामा मंगलबार स्थिर रहेको छ । यससँगै मंगलबारको बजारमा चाँदी प्रतितोला १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार, दैनिक कामकाजमा सहज
भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपकारण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ । ‘विद्युत् बल्न थालेपछि दैनिक जीवन सहज बनेको छ’, उनले भने, ‘पारि भोजपुर सदरमुकाम झलमल्ल हुँदा हाम्रो ठाउँ अँध्यारो हुन्थ्यो । वडाको पहलमा हाम्रो ठाउँमा विद्युत् बल्यो धेरै खुसी लागेको छ ।’ विद्युत्ले जीवन गुजारा गर्न सहजता थपिएको स्थानीयवासी रुपमान श्रेष्ठले बताए । विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै सूचनाको पहुँचमा जोडिन सहज भएको उनको भनाइ छ । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै आफ्नै घरमा बसेर देश–विदेशको जानकारी लिने गरेको उनले बताए। ‘लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ’, उनले भने, ‘विद्युत् विस्तारपछि इन्टरनेटसँगै रेडियो, टिभीको माध्यमबाट देश–विदेशका सूचना थाहा पाउन सहज भएको छ । वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुसी छौँ ।’ भौगोलिकरूपमा विकट रहेका यी स्थानमा लामो समयको मेहनतपछि विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए। वडाको कुनै पनि ठाउँमा विद्युत् नपुगेको अवस्थामा वडा केन्द्रसम्म विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ । ‘हाम्रो वडा भौगोलिकरूपमा निकै विकट छ’, वडाध्यक्ष राईले भने, ‘विद्युत् नहुँदा स्थानीयलाई धेरै नै समस्या छ । अहिले हामीले पहिलो प्राथमिकतामा राखेर विद्युत्को काम अघि बढाएका छौँ । अथक प्रयासपछि दुई स्थानका स्थानीय अहिले विद्युत्को पहुँचमा जोडिएका छन् ।’ सीमित स्रोतसाधनको अधिकतम् उपयोग गर्दै जनतालाई दिएको बचन पूरा गरिरहेको वडाध्यक्ष राईको भनाइ छ । यहाँका सबै घरपरिवारमा आगामी वर्षभित्र विद्युत् विस्तार गरिसक्ने लक्ष्य रहेको उनले बताए । विद्युत् विस्तारका लागि वडाले रु १२ लाख बजेट विनियोजन गरेर तार खरिद गर्ने तयारी गरेको वडाध्यक्ष राईले बताए । ‘जनतालाई दिएको बचनअनुसारको काम अघि बढाएको छु’, उनले भने, ‘कतिपय काम वडाको एक्लो प्रयासले मात्र गर्न पनि सम्भव छैन । बजेट सीमित छ । तर पनि वडाको बजेटसँगै स्थानीयसँग आफैँ श्रमदानमा जोडिएर हालसम्म ४० प्रतिशत बढी जनतालाई विद्युत् बाल्ने वातावरण तयार गरेका छौँ । आगामी वर्षभित्र सबै क्षेत्रमा विद्युत् पुर्याउने मेरो लक्ष्य छ ।’ अहिले बाक्चखा र भञ्याङमा विद्युत् विस्तारको कामभइरहेको वडाध्यक्ष राईको भनाइ छ । आगामी माघसम्ममा यहाँका एक सय ५० घरपरिवारमा विद्युत् विस्तार गरिसक्ने अध्यक्ष राईले जानकारी दिए । यो वडामा जम्मा तीन सय ५६ घरपरिवार रहेका छन् । वडा कार्यालयले सडक, कृषि खानेपानी, रोजगारीको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष राईले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक तालिमसँगै पाँच सय दन्तेओखरको बिरुवा वितरण गरेको उनको भनाइ छ । पन्ध्र जनालाई हाउसवायरिङ र २५ महिलालाई सिलाइकटाइसम्बन्धी तालिम दिइएको छ । किसानलाई व्यावसायिक तरकारी खेती तथा बाख्रापालनसम्बन्धी तालिम दिएको वडा कार्यालयले जनाएको छ । तालिम पाएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको उनको भनाइ छ । स्थानीयको आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । रासस
लुम्बिनीका स्थानियहरु आन्दोलित, चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग
काठमाडौं । लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानियहरु आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदुषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदुषण न्युनिकरण गर्न मिलसँग माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् । सुनवलका स्थानीय जनताले लुम्बिनी चिनी उद्योग प्रदुषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी दिएका हुन् । वि.स. २०४६ सालमा तत्कालिन श्री ५ सरकार र चीन सरकारबीबच भएको सम्झौताअनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण भएदेखि झनै प्रदुषणको अवस्था बढ्दै गएको स्थानीयहरु बताउँछन् । चिनी मिल सञ्चालकले मिलको प्रदुषण न्युनिकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुँवा, खरानीले बजार प्रदुषित बनेको उनीहरुको भनाइ छ । डिष्टिलरीबाट निस्किने दुषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पारीरहेको संघर्ष समितिका उप संयोजक टेकप्रसाद न्यौपानेले बताए । चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदुषण न्युनिकरणका लागि विभिन्न सहमति सम्झौता गरेपनि हालसम्म कार्यान्वय गरेको छैन । मिल सञ्चालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर दुषित पानी न्युनिकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलबासी त्यसको प्रत्यक्ष मारमा परिहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए । उनले, मिलले प्रदुषण न्युनिकरण नगरे मिल चलाउन नदिने भन्दै आगामी दिनमा थप दबाब दिन विभिन्न दबाबमुलक कार्यहरु गर्ने चेतावनी दिए । ८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छ । मिलबाट निस्किने धुवाँ र खरानी उडेर घरहरुमा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहोर हुनुका साथै श्वास लिन समेत अफ्ठ्यारो बनाएको उनीहरुको भनाइ छ । उता डिस्टिलरीबाट निस्किने प्रदुषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित हुँदै गएको संघर्ष समितिको आरोप छ । चिनी मिलबाट पालिकाको वडा १,३,४ र ६ वडा प्रत्यक्ष मारमा परेको र यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेका छन् । प्रदुषण रोकथामका लागि संघर्ष समितिले पटक पटक मिल र सरोकारवालाहरु संग समन्वय सहकार्य गरेपनि कुनै सुनुवाई नभएकाले संघ समितिल आन्दोलन थप सशक्त बनाउने जानकारी दिएको हो ।
बीमामा गुनासाका चाङ : दाबी गर्न झन्झटदेखि विपद् कोषमा कम्पनीहरुको योगदान शून्यसम्म
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले बीमाको पहुँच विस्तारका लागि बीमा कम्पनीहरू शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रसम्म पुग्नुपर्ने र बीमा सम्बन्धी जनचेतना अविृद्धिमा जोड दिनुपर्ने बताए । मुख्यमन्त्री शर्माले बीमा गर्न चाहनेले सहजै बीमा गर्न पाउने र बिना झन्झट समयमा नै दाबी भुक्तानी पाउने सुनिश्चित गर्न आग्रह गर्दै बीमाबाट कसरी लाभ प्राप्त गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकारले बीमा सम्बन्धी नीति ल्याउनुपर्ने र सेवासँग बीमालाई जोडेर बीमाको दायरा विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले बीमा मार्फत थोरै रकमबाट धेरै आर्थिक सुरक्षण हुने भएकाले घर तथा सम्पत्तिको बीमा गर्नुपर्ने र ठेक्कापट्टाका क्रममा मात्र नभई निर्माण सम्पन्न भएपछि पनि भौतिक पूर्वाधारहरूको बीमा गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । प्रदेश सरकारले लक्षित स्थान र समूह पहिचान गरी बीमामा अनुदानको व्यवस्था गर्नु उचित हुने सुझाव दिँदै अध्यक्ष सिलवालले कर्णाली प्रदेशको आवश्यकताका आधारमा बीमाको व्यवस्था गर्न प्राधिकरण तयार रहेको जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रको विकास तथा बीमाको दायरा विस्तार गर्ने, बीमा सम्बन्धी सचेतना बढाउने र बीमा सम्बन्धी समस्याहरूको समाधान गर्ने सन्दर्भमा प्राधिकरणले प्रदेश सरकार र स्थानीय सरकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेकी थिइन् । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले पशुबीमा गर्न ध्यान नदिएको, सुँगुरको बीमा नगरेको, बीमा कम्पनीहरू जिल्लाको सदरमुकाममा मात्र केन्द्रित हुने गरेको, गाउँ गाउँमा बीमा कम्पनीहरू नपुगेको, कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको भूमिका निर्वाह नगरेको, कम्पनीका क्रियाकलापबाट बीमा नाफा मात्र नभई सेवा पनि हो भन्ने नदेखिएको, बीमा दाबी गर्न धेरै ठाउँ धाउनुपर्ने बाध्यता रहेको, कृषि बीमामा धेरै समस्या रहेको, कर्णालीमा भूकम्प पश्चात् पनि विपद् कोषमा बीमा कम्पनीहरूको योगदान नभएको जस्ता गुनासाहरू आउने गरेको जानकारी दिए । कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव, कर्णाली प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले गरेका थिए ।