विकासन्युज

कोशी प्रदेशको बजेट विधेयक पारित, सञ्चित कोषबाट रकम विनियोजन र खर्च गरिने

विराटनगर । कोशी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेट विधेयक पारित भएको छ । कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतले पारित गरेको हो । ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०‘ र कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ लाई पारित गर्न मुख्यमन्त्री केदार कार्कीले पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । प्रस्तावित प्रस्तावलाई सभाध्यक्ष हाजी इसराई मन्सुरीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मले पारित भएको हो । यही मङ्सिर ९ गते सदनमा पेश भएको सो प्रस्तावमाथि लगातार दुई दिन ३१ प्रदेशसभाका सदस्यले छलफलमा भाग लिई आ-आफ्ना सुझाव दिएका थिए । सो प्रस्तावमा खर्च कटौतीका लागि आठ प्रदेशसभा सदस्यले दर्ता गरेका प्रस्तावमा सामान्य मत राखि उक्त प्रस्ताव फिर्ता लिएका थिए । खर्च कटौतीका लागि रेवतीरमण भण्डारी, विदुरकुमार लिंथेप, किशोरचन्द्र दुलाल, तिलचन्द पाठक, कमला दर्नाल, भक्तिप्रसाद सिटौला, गोपालबहादुर विश्वकर्मा र निरन राईले दिएका मन्तव्यमा मुख्यमन्त्री कार्कीले सङ्घीयतालाई दरिलो र कसिलो बनाउन संसद्मा गहन बहस र छलफल हुनु आवश्यक रहेको बताए । उनले विनियोजन विधेयकमा कुनै समस्या वा त्रुटि देखिएमा त्यसलाई सुधार गर्ने सरकारसँग सुविधा रहेको प्रतिबद्धता जनाएपछि खर्च कटौतीको प्रस्ताव फिर्ता भएको थियो । यसैगरी, कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ९४(१)(ख) बमोजिनम ‘स्थानीय सेवाको गठन सञ्चालन तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘संशोधनसहित दफावार छलफलका लागि न्याय, प्रशासन तथा विधान समितिमा पठाइएको सभाध्यक्ष मन्सुरीले जानकारी दिए । कोशी प्रदेशसभाको अर्को बैठक यही मङ्सिर १९ गते दिउँसो १ बजे बस्नेछ । रासस

सेरेस मिनी ईभीको डेलिभरी सुरु, २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य

काठमाडौं । विद्युतीय सवारी साधन उत्पादित कम्पनी सेरेसले नेपालमा सेरेस मिनी ईभीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो शोमा शुभारम्भ र प्रदर्शनपश्चात् सेरेसले नेपाली बजारबाट औपचारिक डेलिभरी सुरु गरेको हो । सेरेस मिनी ईभी शहरी क्षेत्रको बढ्दो आवश्यकतालाई ध्यानमा राखी बनाइएको छ । यो मिनी ईभी आफ्नो गतिशीलता र पार्किङको सहजताका लागि उत्कृष्ट छ जसले यसलाई साँघुरा शहरी इलाकाहरूमा नेभिगेट गर्नको लागि एक विकल्पको रूपमा उभ्याइएको कम्पनीले जानकारी गराएको छ । सेरेसले सन् २०२३ मा विश्वकै सबैभन्दा छिटो गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको कम्पनीको भनाई छ । यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिवद्धता रहेको कम्पनीले जानकारी गराएको छ । सेरेसको बारेमा : सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ स्थान बनेको छ । सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ । संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिवद्धता प्रदर्शन गर्दछ । नेपालमा सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध छन् । जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ । सेरेस मिनी ईभी तीन भेरियन्टमा छ । लो ट्रिम-१८० किमी बेस अप्सन, मिड ट्रिम-१८० किमी फुल अप्सन, र टप ट्रिम-२२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार रुपैयाँ रहेका छन् ।

अल्फाबिटाले मनायो ‘क्यानडा एजुकेसन डे’, एकैदिन पाँच सय विद्यार्थीले लिए परामर्श

काठमाडौं । पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको चाप बढ्न थालेको छ । यही अवस्थालाई मध्यनजर गर्दै काठमाडौंको नयाँ बानेश्वरमा रहेको अलफाबिटाले ‘क्यानडा एजुकेसन डे’ मनाएको छ । बुधबार भएको उक्त एजुकेशन डेमा क्यानडाका १५ वटा प्रख्यात विश्वविद्यालयका प्रतिनिधिहरुले नेपाली विद्यार्थीहरुलाई परामर्श दिएका छन् । उनीहरुले क्यानडाको शैक्षिक अवस्था, अवसर र लागतबारे विद्यार्थीहरुलाई जानकारी गराए । उक्त कार्यक्रममा पाँच सय विद्यार्थीहरुले क्यानडाको शैक्षिक अवस्थाबारे परामर्श लिएका छन् । प्लसटु पास गरिसकेका र बिदेशमा गएर पढ्न चाहने नेपाली विद्यार्थीहरुले क्यानडाबाट आएका प्रतिनिधिहरुसँग भेटेर त्यहाँको शिक्षण विधि र विषयका बारेमा चासो राखेको अल्फाबिटाले जनाएको छ । बुधबारनै ५० प्रतिशत छुटसहित क्यानडा उच्च आयोगका अधिकारीहरुबाट अध्ययन अनुमति प्रक्रियाको बारेमा जानकारी लिएको अल्फाबिटाका सीईओ द्धिराज शर्माले बताए । शर्माका अनुसार अध्ययनको सिलसिलामा क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । पहिले क्यानडा सरकाले नेपाली विद्यार्थीलाई आफ्नो देशमा पढाइको अनुमति दिएको थिएन । अहिले क्यानडामै १५, २० हजार विद्यार्थी अध्ययन गरिरहेका छन्, उनले भने- ‘बाहिर पढ्न जाने विद्यार्थीमा शैक्षिकज्ञान त हुने नै भयो त्योभन्दा अरु बाह्य ज्ञान पनि हुन्छ । ’ त्यस्तै, अल्फाबिटाले तीन तीन महिनाको फरकमा नेपालमा क्यानडा एजुकेसन डे मनाउँदै आएको छ ।

‘अस्थायी आवास बनाउन दिइने ५० हजार रुपैयाँ एकैपटक दिऔं’

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ । बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संघीय गणतन्त्र बिरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो । संविधानको कार्यान्वयन नभएकाले संघीय गणतन्त्रमाथि टिक्काटिप्पणी हुने गरेकाले त्यसको पूर्ण कार्यान्वयनको पक्षमा क्रियाशील हुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए । उनले भने- ‘नेपाली काँग्रेस हामी आफनै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको पक्षमा छौं । र, यो संविधानको पूर्ण कार्यान्वयन नभईकन यसका बारेमा टिकाटिप्पणी गर्नु उपयुक्त होइन भन्ने निष्कर्ष छ । र, आज हामी त्यही निष्कर्षमा पुगेका छौं । र, अहिले संविधान कार्यान्वयनमा देखिएको जेजे समस्याहरु छन, त्यसलाई नै हामीले राजनीतिक रुपमा उठेका प्रश्न भनेका छौं । संघीयताका कुराहरु, संघीयतामा प्रदेशलाई अधिकार दिने कुराहरु, केही कानुनहरु निर्माण गर्न बाँकि छन् । संविधानको पक्षमा नेपाली काँग्रेस प्रतिवद्ध छ । यसलाई कार्यान्वयनमा क्रियाशील भएर लाग्छ भन्ने आजको बैठकले निष्कर्ष निकालेको छ । ’ त्यसैगरी बैठकले पश्चिम नेपालका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एकै किस्तामा बजेट दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई सुझाव दिइएको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । बैठकमा पार्टी उपसभापति समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खडका र अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावितहरुको राहतका लागि सरकारले गरेका कामबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा काँग्रेस नेताहरुले भूकम्प प्रभावित क्षेत्रका मानिसहरुको चिसोले ज्यान जाने क्रम शुरु भएकाले त्यसो हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले भने- ‘भूकम्प प्रभावित क्षेत्रमा रकम पठाईसकिएको, तर अझै पनि स्थानीय तहमा र पीडितको हातमा रकम नपुगेको कुरामा हामी गम्भिर भएका छौं । र, चाँडै नै पठाउँछौं, पुग्दैछ भन्ने कुरामा जानकारी भयो । तर पार्टीको तर्फबाट त्यो रकम दुई किस्तामा दिने भनिएकोमा त्यो रकम एकै पटक दिनुपर्छ भनेर सरकारलाई भनिएको छ । त्यसैगरी सुत्केरी, गर्भवती महिलाहरु चिसोबाट प्रभावित भएका छन् । वृद्धवृद्धाहरुको मृत्यु नै भएको छ । त्यसमा आवश्यक व्यवस्था सरकारले गरोस् भन्ने कुरा भएको छ ।’ बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेण्डाबारे पनि छलफल भएको थियो ।

वर्तमान प्रणाली कमजोर छैन, अप्ठ्याराहरु पन्छाउँदै छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन् । बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीहरुले सोचेको भन्दा बलियो रहेको बताए । उनले राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताए । उनले लोकतान्त्रिक मूल्य र मान्यता र कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध रहेको बताए । ‘अप्ठ्याराहरु त देशमा धेरैखाले छन् । त्यो अप्ठ्याराहरुलाई हामीले पन्छाउँदै हिँडिरहेका छौँ । राजनीतिमा त अप्ठ्यारा आउँछन् । त्यसलाई सल्ट्याउँदै अघि बढ्ने हो । नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य र मान्यता कानूनी शासनमा विश्वास गर्दछ । त्यसलाई संरक्षित गर्दै त्यसको सम्पूर्ण रुपमा प्रत्याभुति दिँदै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध छ । विभिन्न बहानामा यो धेरै ठूलो मेहनतले आएको स्थापित सिस्टम हो । यसमाथि प्रश्न उठाउने लक्ष्यका साथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर गर्ने कोशिस विभिन्न कोणबाट, गुटमा प्रकट भएकै छन् । तर जनताबाट स्थापित यो सिस्टम यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ । जसले जानिजानि बेठाउँमा लगानी गर्ने, दुरुपयोग गर्ने र तिर्दिन भन्नेलाई छुट दिन सकिँदैन तर गर्दा कोशिस गर्दै पनि समस्यामा परेका छन् भने त्यसलाई राज्यले हेर्नुपर्छ ।’ उनले भने । अर्थमन्त्री महतले बैठकमा आसन्न महासमितिको बैठकको तयारीको बारेमा छलफल भएको बताए ।

रास्वपाको विचार ‘उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक’ हुने

फाइल तस्बिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी उदारवादी अर्थराजनीतिमा विश्वास गर्ने पार्टी हुने भएको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको पार्टीको बैठकले विधानको प्रस्तावना पास गर्दै पार्टीले लिने विचार स्पष्ट गरेको हो । स्थापनादेखि रास्वपाको राजनीतिक र आर्थिक विचारको विषयमा विभिन्न अनुमान हुँदै आएकोमा पार्टी विधान पास गर्दै रास्वपाले उदारवादी अर्थराजनीतिको बाटोलाई अंगाल्ने स्पष्ट गरेको छ । १७ जनाको प्रतिनिधिमण्डल पार्टीको विधान लेखन प्रकृयामा जुटिरहेको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको विधानको पास गरेको हो भने विधानको अन्य भाग पास हुने क्रममा रहेको रास्वपाले जनाएको छ । रास्वपाको विधानको प्रस्तावना

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

काठमाडौं । लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई अव उप्रान्त आधिकारिक रुपमा बिक्रीवितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रुपमा नियुक्त गरेको हो । आधिकारिक विक्रेतामा नियुक्त भएसंगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ । आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका सिईओ हेमन्त पुरानिकका अनुसार गुणस्तरिय र उच्च प्रविधीयुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरुप मोटुलसंग सहकार्य गरिएको हो । ‘मोटुलजस्तो विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसंग जोडिएर व्यावसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौ । साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्ध समेत छौ’ उनले भने । लुब्रिकेन्ट्स जगतमा मोटुल एकदमै कहलिएको नाम हो । १७० वर्ष पुरानो यो फ्रेन्च ब्रान्ड विशेषतः हाई पर्फमेन्स इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ । टु–ह्विलरदेखी हेभी ड्यूटी कमर्सियल भेहिकलसम्ममा प्रयोग गर्न मिल्ने बिभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सवै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई ग्रुपको भनाई छ ।

गाजामा भोकमरीको सङ्कट उच्च छ : राष्ट्रसङ्घ

रोम । गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ । डब्लुएफपीले इजराइल र हमासबीच चार दिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ । पछिल्लो समय मङ्गलबार दुई दिनका लागि युद्धविराम थपिएको छ । युद्धविरामका लागि धन्यवाद दिँदै डब्लुएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भने- ‘हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदैछौँ, हामीले जे देखिरहेका छौं, त्यो विनाशकारी छ ।’ डब्लुएफपीले अनुमान गर्दै भनेको छ- ‘यदि डब्लुएफपीले निरन्तररूपमा खाना पुर्याउन सकेन भने गाजाको जनसङ्ख्या र विशेषगरी महिला तथा बालबालिका भोकमरीको उच्च जोखिममा पर्नेछन् ।’ खाद्यान्नको निर्बाध र नियमित आपूर्तिका लागि आह्वान गर्दै उसले युद्धविरामका लागि छ दिन कुनै सार्थक प्रभाव पार्न पर्याप्त नभएको बताएको छ । गाजामा सङ्कट सुरु भएपछि डब्लुएफपीले सात लाख ५९ हजार ८२ मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेको छ । रासस/एएफपी