विकासन्युज

दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे

कोरिया । दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३ थियो । यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो । साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो । कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ । त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुई वटा घर छन् । जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ । यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६ प्रतिशत हिस्सा ओगटेको छ । अमेरिकीसँग कूल विदेशी भूमि स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा ५३ दशमलव चार प्रतिशत छ । त्यसपछि चिनियाँसँग सात दशमलव आठ प्रतिशत, युरोपेलीसँग सात दशमलव एक प्रतिशत र जापानीसँग छ दशमलव दुई प्रतिशत रहेको छ । रासस

बबई लिफ्टिङका लागि पाइप विस्तार सुरु

तुलसीपुर । दाङको तुलसीपुरमा खानेपानी आपूर्तिका लागि निर्माण थालिएको बबई लिफ्टिङ आयोजनाअन्तर्गत पाइप बिछ्याउन थालिएको छ । आजदेखि पाइप विस्तार सुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सीताराम शर्माले जानकारी दिए । अध्यक्ष शर्माका अनुसार बबई नदीबाट तुलसीपुर बजार ल्याउन लागिएको उक्त पानीका लागि मुख्य लाइनको पाइप विस्तार सुरु भएको हो । त्यहाँबाट टरिगाउँ एयरपोर्टस्थित ट्याङ्की र तत्कालीन अञ्चाल प्रहरी कार्यालय नजिकको ट्याङ्कीमा पानी ल्याइनेछ । त्यसपछि अन्य सहायक ट्याङ्कीमा पानी वितरण हुने अध्यक्ष शर्माले बताए । पाइप विस्तार कार्यको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले शिलान्यास गरे । ट्याङ्की निर्माणकार्य अन्तिम चरणमा पुगिसकेकाले पाइप विस्तारको कार्यलाई अघि बढाइएको हो । सल्यानरोडस्थित खानेपानी कार्यालय परिसरमा रहेको ट्याङ्की र बबई नदीमा ट्याङ्की निर्माण भइसकेको छ भने मोतिपुर, कबर्डहल र एयरपोर्टको ट्याङ्की निर्माण भइरहेको छ । सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम हालसम्म ३५ प्रतिशत पूरा भएको छ । रु ५६ करोड ८० लाख २४ हजार छ सय ३० रुपैयाँको लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो । सरकारले रु ३८  करोड ८३ लाख, १७ हजार दुई सय ४१ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रुपैयाँ लाग्छ । उपभोक्ताको तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ । नगर विकास समितिबाट रु १४ करोड २२ लाख ५६ हजार एक सय ५८ ऋण लिएको र बाँकी दुई करोड ८४ लाख ५१ हजार दुई सय ३१ रुपैयाँ उपभोक्ताले तिरेका छन् । तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर तीन वटा सम्पवेल (इनारजस्तै पानी सङ्कलन गर्ने प्रविधि) बन्नेछ । त्यसको तीन सय  मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ । जहाँ र्यापिड स्यान्ड फिल्टर दुई वटा शीतलपुरमा र मल्टिग्रेड प्रेसर फिल्टर ६ वटा निर्माण हुनेछन् । मल्टि ग्रेड फिल्टर जहाँ ट्याङ्की निर्माण हुन्छ, त्यही स्थानमा निर्माण हुनेछन् । त्यस्तै शीतलपुरमा आरभिटी कलेक्सन चेम्बर पाँच सय घनमिटर, इन्टर मिडियट आरभिटी टकी सङ्तनिरङकारी नेर तीन सय घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटि तीन सय घन मिटर बन्नेछ । त्यस्तै चारवटा ओभरहेड ट्याङ्की निर्माण हुनेछन् । शिखर कोलेनीमा चार सय ५० घनमिटर, झुमरेमा चार सय ५० घनमिटर , मोतिपुरमा दुई सय २५ घनमिटर, इन्द्रनगरमा चार सय ५० मिटर घनमिटर ओभरहेड ट्याङ्की पनि निर्माण हुनेछन् । दुईवटा अन्डर ग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् । डुम्रिगाउँमा छ सय घनमिटर र खानेपानी कार्यालय परिसरमा तीन सय घनमिटर अन्डरग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् । त्यस्तै प्रसारण पाइपलाइन २८ दशमलव ३१५ किलोमिटर हुनेछ भने पानी वितरण पाइप एक सय २५ दशमलव ७५२ किलोमिटर हुनेछ । साथै सातवटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण हुनेछन् । बबई लिफ्टिङबाट डिपबोरिङबाट प्रतिसेकेन्ड ६०/६० लिटर पानी आपूर्ति गर्न सकिनेछ । त्यस्तै ६ वटा डिपबोरिङ निर्माण हुनेछन् । गोलौरा, सन्तनिरङ्कारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, सीप विकास कार्यालय नजिक, इन्द्रनगर र पहिलेको सङ्घीय प्रहरी कार्यालय गरी विभिन्न ६ स्थानमा डिपबोरिङ पनि निर्माण हुनेछन् । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन गरिनेछ । तुलसीपुर खानेपानीका अहिलेसम्म आठ हजार दुई सय २६ धारा रहेका छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा पाँच हजार पाँच सय धारा थप हुनेछन् । हाल  तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे,  पहर र लाहुरेचौर गरी आठ वटा ग्राभेटी मुहान छन् । त्यस्तै  कार्यालय परिसरमा डिपबोरिङ,  डुम्रिगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेड्क्रस परिसरमा भूमिगत मुहानस्रोत रहेका छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् । रासस

नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त भएकी छिन् । घिमिरे नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक घिमिरेले सञ्चालक समितिका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

मौद्रिक नीतिको समीक्षा : बैंकदर घट्ने, लघुवित्तलाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले यसै साताभित्र मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यका अनुसार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यही साता सार्वजनिक गर्ने तयारी छ । अहिलेसम्म कुन दिन सार्वजनिक गर्ने भनेर एकिन नभए पनि शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ । साथै, राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गर्न बाँकी रहेकाले स्वीकृत हुने बित्तीकै तत्काल सार्वजनिक गर्ने उनले बताए । राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्याङ्क अनुसार अर्थतन्त्र ठिकठाक भए पनि पूर्णरुपमा सहज नभएकाले पहिलो त्रैमासमा कस्तो मौद्रिक नीति ल्याउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । व्यापार व्यवसाय सुस्त नै रहेका बेला अर्थतन्त्र माथि उकास्न राष्ट्र बैंकले कस्तो कदम चाल्छ भन्ने विषय पनि बहसका रूपमा लिइएको छ । साथै, मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नु पर्ने कामबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर ५ गते नीजि क्षेत्रसहित विज्ञहरुसँग छलफल गरेका थिए । छलफलमा उठेका विषयहरुलाई त्रैमासिक समीक्षामा समावेश हुने अपेक्षा अधिकांशले गरेका छन् । छलफलपछि सरकारले पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवा ब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा राष्ट्र बैंकमार्फत सहजीकरण गर्ने निर्णय गरेको थियो । साथै, बैंकदर घटाउन सरकारले राष्ट्र बैंकसँग सहजीकरण गर्ने बताएको थियो । यस आधारमा राष्ट्र बैंकले त्रैमासिक समीक्षामा बैंकदर घटाउन सक्ने सम्भावना छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता हुँदा पनि बैंकहरुले लगानी गर्न सकिरहेका छैनन् । त्यसैले कर्जा प्रवाहलाई जोड दिन ब्याजदर बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्ने गरी मौद्रिक नीतिको समीक्षा ल्याउन सक्ने राष्ट्र बैंक स्रोत बताउँछन् । राष्ट्र बैंक स्रोतका अनुसार पहिलो त्रैमासिक समीक्षामा धेरै विषयहरु परिवर्तन हुने छैनन् । अधिकांश नीति निर्देशनलाई यसपटक निरन्तरता दिन सक्ने उनको भनाइ छ । ‘मूल्य स्थिती, वित्तीय क्षेत्र स्थायीत्व, कर्जा प्रवाहको दिशा, उत्पादनमुलक क्षेत्रमा कर्जा जाने गरी मौद्रिक नीतिको समीक्षा आउन सक्छ,’ उनले भने, ‘बाह्य क्षेत्र स्थायित्व गाह्रो नै छ, अर्थतन्त्र जुन तरिकाबाट ट्रयाकमा आउनु पर्ने हो, त्यो अपेक्षा गरेअनुसार पुरा हुन सकेको छैन, त्यसैले नेपालको मूल्य पनि स्वतन्त्र नभएर भारतबाट प्रभावित हुने भएकाले त्यहाँको वस्तुस्थिती हेर्नु पर्ने हुन्छ ।’ बैंकहरूले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक)को ब्याजदर पनि पछिल्लो समय घटेर तल्लो बिन्दुमा रहेको हुँदा राष्ट्र बैंकल निक्षेपको ब्याजदर घटाउन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । साथै, लघुवित्त संस्थाबाट लिएको ऋण भुक्तानीलाई सहजीकरण गर्ने निर्णय गरेको थियो । त्यसैले राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि लघुवित्त अध्ययन प्रतिवेदनमा उल्लेख भएका विषयलाई समीक्षामा समावेश गर्नेछ । मुलुकको अर्थतन्त्रको अवस्था खस्किँदै गएका कारण उद्योगी व्यवसायी समयमा कर्जाको साँवा ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका कारण कर्जाको पुनः संरचना र पुनरतालिकीकरण गरिनु पर्ने माग निजी क्षेत्रको छ ।

मिथ्या सूचनाको अवस्था र असर 

महाभारत युद्धमा जब पाण्डव पक्षको शक्ति लगातार निस्प्रभावी बनिरहेको थियो, श्रीकृष्णले अश्वत्थामा मरेको अफवाह फैलाउन लगाए । अस्त्र निर्माणको अद्भुत क्षमता भएका गुरु द्रोणाचार्य बाँचुन्जेल पाण्डव पक्षको विजय नहुने बुझेका श्रीकृष्णले युधिष्ठिरलाई प्रयोग गरे । रणभूमिमा अश्वत्थामा नामक हात्तीलाई मारिएसँगै श्रीकृष्णको उक्साहटमा ‘सत्यवादी’ युधिष्ठिरले उच्च स्वरमा ‘नरो वा कुंजरो वा अश्वत्थामा हतोहत’ (मान्छे वा हात्ती कुन् हो, तर अस्वत्थामा म¥यो) भन्ने उद्घोष गरे । शङ्खध्वनिका कारण द्रोणाचार्यले अश्वत्थामा मरेको भन्ने मात्र सुने । सत्यवादी युधिष्ठिरका मुखबाट आफ्नो छोरो अश्वत्थामा मरेको खबर सुनेर मुर्छित द्रोणाचार्य त्यसपछि उठ्न सकेनन् र पाण्डव सेनाका धृष्टद्युम्नले उनको शिरच्छेदन गरे । फलस्वरुप पाण्डव पक्षले रणभूमि कब्जा गर्न सफल भयो । आफ्नो हितमा मिथ्या र भ्रामक खबरलाई हतियारको रुपमा प्रयोग गर्ने अभ्यासको पौराणिक सन्दर्भले पनि यसको शक्तिलाई प्रष्ट्याउँछ । मिथ्या सूचना फैलाउने र फाइदा लिन अहिले पनि छाडिएको छैन । भनिन्छ, सत्यभन्दा अर्धसत्य र झूट छिटो फैलन्छ । डिजिटल माध्यमको विकास र विस्तारसँगै भ्रमपूर्ण र मिथ्या सूचनाको प्रवाह र पहुँच पनि सहज र व्यापक भएको छ । इन्टरनेटमा आधारित अनलाइन र सामाजिक सञ्जालले त्यसलाई झन् बढ्वा दिइरहेका छन् । यस्ता भ्रामक सूचना डढेलोजस्तै अनियन्त्रित हुन्छन् । मिथ्या र पछिल्लो समय भ्रामक सूचना, अप्रमाणित तथ्य, बढाइचढाइ वा तोडमोड, वैचारिक पक्षपोषणसहितका सामग्रीले उपभोक्तालाई प्रभावित बनाउँदै लगेको छ । यस्ता सामग्रीले मानिसहरुको विचारलाई प्रभावित मात्र हैन, नियन्त्रित र निर्देशित समेत गर्दैछ । सामाजिक सञ्जाल सामान्यतयाः इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो सूचना दिने अनलाइन प्रविधिको एकमुस्ट सामूहिक रुप पनि हो । हातहातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले सामाजिक सञ्जालको प्रयोग पनि व्यापक छ । एक तथ्याङ्कअनुसार विश्वभर चार अरब ४८ करोड मानिसले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । यसको अर्थ विश्वको आधा व्यक्तिहरू सामाजिक सञ्जालमा भेटिन्छन् । गुगलले ४.६६ अरबभन्दा बढी ‘इन्टरनेट प्रयोगकर्ताहरू भएको देखाउँछ । यसमध्ये गुगल, फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र ट्विटर प्रयोगकर्ता रहेका छन् । सञ्जालहरूमार्फत जानकारी, विचार, रुचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा प्रदान गर्न मध्यस्थकर्ताको भूमिकामा सामाजिक सञ्जालहरूको उदय भएको हो । तर पछिल्लो चरण सामाजिक सञ्जाल व्यक्तिको समय र सिर्जना खोसिदिने, भ्रम फैलाउने र सूचनामाथि जासुसी गर्ने हतियार बनेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता आफनो अनुकूलका कुरा सुन्ने तर फरक विचारलाई निषेध गर्ने भइरहेका छन् । सामाजिक सञ्जाल प्रतिक्रियात्मक र असङ्गठित हुने भएकाले यसले नीतिगत तहमा दबाब दिन त सक्ला, तर न्याय दिन भने सक्दैन । मिथ्या सूचना के हो ?  सेन्टर फर मिडिया रिसर्चले मिथ्या सूचनालाई ‘मूलतः झूटो वा गलत वा भ्रमपूर्ण वा अनर्थ हुने गरी घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोग वा व्याख्या गरेर समाचारका रूपमा प्रस्तुत आमसञ्चारका माध्यम वा इन्टरनेटका सामग्री’ भनि परिभाषित गरेको छ । पूर्णतः झूट कुरालाई मिथ्या मानिन्छ । कतिपय सूचना तथ्यपूर्ण भए पनि त्यसमा केही झूटो विषय मिसाइएमा त्यसलाई भ्रामक भन्ने अभ्यास छ । मिथ्या र भ्रामक सूचनालाई विभिन्न तहमा वर्गीकरण गरिन्छ । युनेस्कोले मिथ्या सूचनालाई तीन प्रकारमा वर्गीकरण गरेको छ– ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘मालइन्फर्मेसन’ । कुनै सूचना गलत हुन्छ, तर फैलाउनेले त्यसलाई सही ठानेर फैलाइरहेको छ भने त्यसलाई मिसइन्फर्मेसन भनिन्छ । फैलाउनेलाई गलत हो भनेर थाहा हुन्छ, तर त्यसो हुँदाहुँदै पनि जानाजानी र नियतवश अरूलाई भ्रमित पार्न फैलाइने सूचनालाई ‘डिसइन्फर्मेसन’ भनिन्छ । यो कसैको चरित्र हत्या गर्न, हानी पु¥याउन प्रयोग गरिन्छ । यी दुई प्रकारभन्दा तेस्रो प्रकार ‘मालइन्फर्मेसन’ अझ घातक हुन्छ । ‘मालइन्फर्मेसन’ देश, व्यक्ति, कुनै संस्था वा समूहप्रति हानी पु¥याउने उद्देश्यले फैलाइन्छ । मिथ्या सूचनाको अवस्था र असर  आम मानिसले कुन सूचना सही हो, कुन सूचना गलत हो भनेर सहजै छुट्याउन सक्दैनन् । अहिले स्वार्थअनुसार, भ्रमात्मक सामग्री प्रचार भइरहेको छ । धेरैले इन्टरनेटमा आएका सबै सूचना सही होला भनेर शेयर गर्छन् । यसकारण गलत सूचनाको बाढी नै आएको छ ।  मिथ्या सूचना व्यक्ति विशेष मात्रै नभई संस्था, कम्पनी, सञ्चार गृहलगायत धेरैले धेरै कोणबाट प्रयोग गरिरहेको अवस्था छ । मिथ्या सूचना कसले कसरी प्रयोग गरिरहेको छ, त्यसले के कस्तो अवस्था सिर्जना गरिरहेको छ । कस्तो खाले असर पु¥याइरहेको छ भन्ने कुराको ठयाक्कै मापन गर्न कठिन भएपनि यसले अनेकन स्वरुपमा समस्या र असर पु¥याइरहेको चाहीं छ । विभिन्न दुष्प्रचारदेखि आफ्नो फाइदा र विपक्षीको बदनाम गर्न भ्रमात्मक कुरा फैलाउने अभ्यास बढ्दो छ । कतिपय सूचनाको अनर्थ प्रयोग गरी विषय वा व्यक्तिबारे भ्रम सिर्जना गर्ने गरिएको छ । कुनै सूचना सही नै भए पनि गलत सन्दर्भमा प्रयोग गर्ने गरिएको छ । कुनै तथ्य, तथ्याङ्क वा तस्वीरलाई तोडमोड गरिन्छ । कयौं अनलाइन पोर्टलहरुले पाठकको ध्यान खिच्न अनेक हर्कत गरेको देखिन्छ । शिर्षक एउटा, सामग्री अर्कै, प्रसङ्ग एउटा, तस्विर अर्कै राखेर पनि झुक्याइँदैछ । अप्रमाणित, अपुष्ट सूचना दिने र विषयको बढाइचढाई गर्ने पनि गरेका छन् । मिथ्या समाचार प्रकाशित भइसकेपछि लाभ पुग्ने पक्षले सामाजिक सञ्जालमा भाइरल बनाउने गर्छन् । मौजुदा तस्वीर, आवाज वा भिडिओमा एक व्यक्तिको ठाउँमा अर्कै व्यक्तिलाई देखाइदिने काम ‘डिप फेक’ पनि गरिएको छ । यसमा हत्तपत्त दर्शक वा स्रोताले नक्कली भएको ठम्याउनै सक्दैनन् । मिथ्या सूचनाले समाजलाई झनै ध्रुवीकृत बनाइदिने खतरा बढदै गएको छ । मिथ्या सूचनाकै कारण साम्प्रदायिक सहिष्णुता र सद्भाव बिग्रिनै लागेका उदाहरण पनि छन् । सार्वजनिक सुरक्षामा चुनौती सिर्जना हुँदैछ । सूचनाको विश्वसनीय स्रोतका रूपमा रहेको मिडिया माथि नै अविश्वास हुने स्थिति निम्तीदैछ । डिजिटल युगमा मिथ्या र भ्रामक सूचनासँग जुध्न÷लड्न सजिलो छैन, तर नलडी पनि सुख छैन । मिथ्या सूचनाले नागरिकलाई भ्रममा पारिरहेको छ । झुटो खबरले नागरिकहरु गलत निर्णयमा पुग्न सक्छन् । त्यसैले नागरिक सचेत पार्न र लोकतन्त्र बलियो बनाउन मिथ्या सूचनाबाट जोगिनु र खबरदारी गर्नु अत्यावश्यक छ । मिथ्या सूचनाको पहिचान   कुनै सामग्री मिथ्या हो कि होइन भनेर ठम्याउन र पहिचान गर्न सजिलो छैन । आमपाठक, दर्शकका लागि कुनै पनि सामग्रीको तथ्य, तथ्यांक, घटना, घटनाक्रम, उदृत स्रोत वा व्यक्ति, अभिव्यक्ति, तस्वीर, समय र सन्दर्भ सबै सही, पूर्ण र तर्कसङ्गत छन् कि छैनन् भनेर छिटो परीक्षण गर्नु गाहे कार्य हो । मिथ्या सूचना तयार गर्नेहरूले त्यो सामग्री विश्वसनीय देखाउने प्रयास गर्छन् । मिडिया साक्षरता कमजोर रहेको नेपालमा यस्ता सामग्रीमा उल्लेखित भनाइ, तथ्याङ्क, स्रोत, तस्वीर आदि ठीक छन् वा छैनन् भनी परख गर्न पाठक, दर्शक वा स्रोताको क्षमता पनि कमजोर छ । डिजिटल युगमा सूचनाको विश्वसनीयता र सत्यताबारे काम गर्ने ‘फस्ट ड्राफ्ट न्युज’ले मिथ्या समाचारलाई सात भागमा वर्गीकरण गरेको छ ः  कुनै हानी गर्ने उद्देश्य नभएका तर पाठकलाई मूर्ख बनाउन सक्ने रमाइलोका लागि तयार पारिएका व्यङग्यात्मक सामग्री,  शीर्षक वा तस्बिरसँग मूल लेखन मेल नखाने भ्रमपूर्ण सम्बन्धका आधारमा बनाइएका सामग्री, कुनै सूचनाको अनर्थ प्रयोग गरी कुनै विषय वा व्यक्तिबारे भ्रम सिर्जना गर्ने सामग्री, कुनै सही सूचना वा घटना वा अभिव्यक्ति वा समाचारलाई गलत सन्दर्भमा प्रयोग गरिएको सामग्री, कुनै आधिकारिक स्रोत वा व्यक्तिका नामका झुटो अभिव्यक्ति प्रयोग गरिएका सामग्री, कुनै तथ्य वा तथ्याङ्क वा घटना वा तर्क वा तस्बिरलाई तोडमोड गरिएका सामग्री र हुँदै नभएका घटना वा तथ्य वा अभिव्यक्ति वा स्रोत प्रयोग गरिएका पूर्णरूपले गलत सामग्री । नामै नसुनिएका अविश्वसनीय अनलाइन साइटमा आएका सामग्री, सनसनीपूर्ण बनाइएका समाचार शीर्षक र तस्वीर, नामै नसुनिएका स्रोतको प्रयोग, आधारभूत पत्रकारिताको नियमको परिपालना नभएको आदि आधारमा यस्ता भ्रामक र मिथ्या समाचार छुट्याउन सकिन्छ । सूचना र समाचारको विश्वसनीयता र सत्यता कायम राख्न पत्रकार, पाठक, दर्शक, स्रोता सबै सचेत हुनुपर्ने हुन्छ । कुनै कुरालाई तत्काल पत्याइहाल्नु अगाडि आलोचनात्मक तरिकाले समीक्षा गर्नुपर्ने हुन्छ  । मिथ्या सूचना : के गर्ने ? के नगर्ने ? मिथ्या सूचना फैलने र त्यसैलाई विश्वास गर्ने समस्या व्यापक छ । सर्वप्रथम आफूले पढिरहेको या हेरिरहेको सामग्री मिथ्या सूचना हो या होइन भन्ने कुराप्रति सजग हुन जरुरी छ । त्यस्ता सामग्रीप्रति तुरुन्तै विश्वास नगरी पुनः परीक्षण गर्न पनि सकिन्छ । तर हाम्रो जस्तो समाज, जहाँ सूचना प्रविधिको ज्ञान भएका व्यक्तिहरुको कमी छ, त्यहाँ कसरी सम्भव होला रु तर भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय । तसर्थ प्रयास गर्न नछोडौँ । कुनै पनि सामग्री सामाजिक सञ्जालमा ‘शेयर’ गर्न वा त्यसैका आधारमा विचार राख्न हतार गर्न हुँदैन । मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउन पनि सकिन्छ । ‘डिजिटल राइट्स’का अभियन्ताहरूले सबैभन्दा व्यक्ति आफैँ सचेत हुनुपर्ने बताउँछन् । जुनकुनै सूचनाहरू जुनसुकै माध्यमबाट पनि आइरहेका छन् । त्यसको विश्वसनीयता कत्तिको छ भन्ने पहिल्याउनुपर्छ र यसको स्रोत, पठाउने व्यक्ति वा माध्यमको बारेमा यकिन गरेपछि मात्रै यसलाई ‘लाइक, कमेन्ट वा शेयर’ गर्नुपर्ने बताउँछन् । सूचनाको आधिकारिकतामा पनि ध्यान दिनुपर्छ । डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्छ । मिथ्या सूचना नियन्त्रण गर्ने बहस पनि चलिरहेको छ । तर कसरी रु यो विषयमा भने पर्याप्त छलफल भएको पाइँदैन । सरकारले  नियमन गर्न आवश्यक पनि देखिन्छ । मिथ्या सूचना रोक्ने कानून बनाउँदैमा सजिलै रोकिन्छ भन्ने पनि छैन । यो विषय हाम्रो चेतनास्तर अनि प्राविधिमा पनि भर पर्ने हो । स्वनियमनबाटै पनि यसलाई रोक्न सकिन्छ । मिथ्या सूचनाको जोखिम घटाउन सबै जिम्मेवार बन्नुपर्छ । मिथ्या सूचना व्यापक हुनबाट रोक्नु नागरिक, पत्रकार, अधिकारकर्मी, सञ्चारमाध्यम, राजनीतिक दल लगायत सबैको कर्तव्य हो । मिथ्या सूचना एक प्रकारको महामारी हो, महामारीले व्यक्ति, जात, धर्म र समाज चिन्दैन । तसर्थ, महामारीबाट जोगिन सबै खाले सुरक्षा सतर्कता अपनाउनैपर्छ । सामाजिक सञ्जालको सही प्रयोग  धेरैजसो भ्रामक सूचना सामाजिक सञ्जालबाट नै फैलिइरहेको छ । नेपालमा गरिएको एक अध्ययनले सामाजिक सञ्जाल मिथ्या सूचना फैलाउने सशक्त माध्यम भएको देखाएको छ । सेन्टर फर मिडिया रिसर्चले गरेको अध्ययनले नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालको माध्यमबाट मिथ्या सूचना प्राप्त गरेको देखाएको छ । सामाजिक सञ्जालको अति प्रयोग, गलत प्रयोग र असावधानीपूर्ण प्रयोगबाट बच्न उपाय जान्न जरुरी छ । कुनै पनि न्यायिक अभियानका लागि सामाजिक सञ्जाल एउटा औजार हो, तर यसको सही प्रयोग गर्न जानियन भने घातक पनि हुन सक्छ ।  के उद्देश्यका लागि सामाजिक सञ्जालमा खाता खोलेको पहिल्यै स्पष्ट हुनुपर्छ । कुनै पनि नपत्याउने खालका घटना भएका सामग्री इन्टरनेटमा देख्ने, पढ्नेबित्तिकै तुरुन्तै विश्वास गरिहाल्न हुँदैन । व्यक्तिगत सूचना र वैयक्तिक गोपनीयताका कुरा नराख्ने, जुनसुकै लिङ्क नथिच्ने, नचिनेको साइटमा व्यक्तिगत सूचना, इमेल आदि नभर्नेजस्त सावधानी अपनाउन सकिन्छ । नत्र त्यसैले प्रोफाइल ह्याक गरी अरूसँग पैसा माग्न वा तपाईंको आवरणमा अरूलाई ठग्न सक्छ । सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैँले आफैँलाई  प्रश्न सोध्न पनि जरुरी छ । सामाजिक सञ्जालमा यो प्रसङ्ग/विषय राख्ने कि नराख्ने रु यो अहिल्यै नै राख्न उपयुक्त छ रु राखिएको सामग्रीले कसलाई फाइदा पुग्छ रु कुनै पनि सूचनालाई आलोचनात्मक तरिकाबाट हेर्न सक्नुपर्छ । त्यो सूचनाको स्रोत के हो रु कहाँबाट आयो रु कसले शेयर गरेको छ रु त्यो जाँच गरेर शेयर गर्नुपर्दछ । पुराना सामग्रीलाई नयाँ घटनाको भनेर राखिएका हुन सक्छन् । त्यसको पुष्टि नभई त्यसमा प्रतिक्रिया दिने वा कमेन्ट लेख्ने काम पनि गर्नु हुँदैन । अहिलेको जमानामा हरेक व्यक्ति पत्रकार हो । सूचना अरू सामु पु¥याउने सन्दर्भमा धेरै सामु सूचना दिन सकिन्छ । फेसबुक, ट्विटर, टिकटकलगायत धेरै प्रयोगकर्ता भएका सामाजिक सञ्जालमा तथ्य के हो, त्यो राखिदिन सकिन्छ । कुनै कुरा सामाजिक सञ्जालमा फैलियो भने, त्यो ‘किवर्ड सर्च’ गरेर पनि सत्य थाहा पाउन सकिन्छ । सामग्री सही छन् कि छैनन्, परीक्षण गर्नुपर्छ । यसको लागि अरू मिडियाहरू पनि अध्ययन गर्नुपर्छ । सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र सिकाइ प्राप्त गर्न, जनचेतना बढाउन र बृहत्तर हितमा उपयोग गर्ने बानी बसालौँ । भाइरल हुनु मात्रै ठूलो कुरा होइन, सूचना प्रणाली प्रयोग गर्दा मर्यादा, शिष्टता र सामाजिक सद्भावको कुरालाई मनन गरेर अघि बढौँ । साइबर सुरक्षामा चनाखो र सतर्क रहौँ । आजदेखि नै प्रण गरौँ – सामाजिक सञ्जाल र सूचना प्रणालीलाई मिथ्या सूचना तोडने र मन जोड्ने माध्यम बनाऔँ ।  रासस

सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा

काठमाडौं । सानिमा बैंकले बुधबार स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक, रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे । समुद्घाटन् समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका संचालक, रमेश कुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वस्निय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । त्यसैगरी उक्त कार्याक्रममा बोल्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पाण्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानियग्राहरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरी यस कार्याक्रममा सम्पुर्ण स्याङ्जा वासिको सहयोग र साथ पाउने विश्वास व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग होटलका मजदुरहरूको माग

काठमाडौं । होटल, क्यासिनो तथा रेष्टुरेन्टका मजदुरहरूले आफ्नाे न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पनि सरकारले आफूहरूलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाई गर्न नहुने उनीहरूको भनाइ छ । बुधबार नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनले काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लक्ष्मण तिवारीले आफूहरूलाई सरकारको तोकेको न्यूनतम मासिक पारिश्रमिक अब पनि कार्यान्वयनमा नआएमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । उनले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सेवा गरेबापत उपलब्ध हुँदै आएको १० प्रतिशत शुल्क कटौति गरिएकोमा आपत्ति जनाउँदै त्यसलाई खारेज गर्न पनि सरकारलाई दबाब दिए । अध्यक्ष तिवारीले भने, ‘यो पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरूले आफूले सेवा गरेबापत पाउने सुविधा गुमेको छ । खोसिएको छ । र, हाम्रा अधिकारहरू खोसिने क्रम बढदो छ । त्यो अधिकार प्राप्त गर्नका निम्ति हामी हाम्रो संगठनमा आवद्ध हुन सबै श्रमिकहरूलाई आह्वान पनि गर्दछौं । लाखौंको संख्या यस क्षेत्रमा कार्यरत मजदुर यो सुविधाबाट वञ्चित हुनुभएको छ । सामाजिक सुरक्षा योजनामा नगई सुखै छैन । नेपालको कानुन मान्नुपर्छ, हामी मान्छौं । तर, देशभर आन्दोलन सुरु गर्नेछौं । तर, न्युनतम वेतन कार्यान्वयन गर्नैपर्छ । हाम्रो मुल एजेण्डा यही नै रहनेछ ।’ एमाले निकट मजदुर संगठन जिफन्टमा आबद्ध उक्त युनियनले योजदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै मजदुरहरूलाई सूचिकृत गराउने काममा पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । युनियनका अध्यक्ष तिवारीले सरकारले आफूहरूलाई तोकिदिएको न्यूनतम मासिक पारिश्रमिक १७ हजार ३ सय कार्यान्वयन गरेर मात्रै सामाजिक सुरक्षा योजनामा आबद्ध हुन सकिने पनि स्पष्ट पारे ।

सरकारी दस्तखत किर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कि गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकामा कार्यरत रहँदा ढकालले जनप्रतिनिधि र अन्य कर्मचारीको कीर्ते हस्तारक्षर गरेर आर्थिक कार्यका गतिविधि गरेको उजुरी अख्तियारमा परेको थियो । उजुरी परेपछि सम्पर्कविहिन रहेका ढकाललाई प्रहरीले खोजी गरेर पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रनाउ चौधरीले बताए । नगर प्रमुख वशन्तकुमार बस्नेतले ढकालले त्रिनपाको राजस्व शाखामा रहँदा विभिन्न जनप्रतिनिधिका नाममा कीर्ते हस्ताक्षर गरेर गलत आर्थिक गतिविधि गरेको अख्तियारमा उजुरी परेपछि पक्राउ गरी कारबाही गर्न अख्तियारको पत्र आएकामा प्रहरीले सोहीका आधारमा पक्राउ गरेको बताए । ढकालविरुद्ध एक महिनाअघि पक्राउ पुर्जी जारी भए पनि फरार रहेकाले पक्राउ गर्न समय लागेको प्रनाउ चौधरीको भनाइ थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार ढकालविरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । रासस