फलफूल खेतीबाट वार्षिक ३५ लाख आम्दानी गर्दै सिन्धुपाल्चोकका पूर्व शिक्षक
चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक कृष्णजङ्ग रायमाझीले फलफूलखेतीबाट वार्षिक ३५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । तीस वर्ष शिक्षण पेसा गरेर अवकाश लिएका पूर्व शिक्षक रायमाझीले परीक्षणको रुपमा लगाएको केही बोट सुन्तला, कागती र जुनारले राम्रो उत्पादन दिएपछि उत्साहित भएर ५५ रोपनी जग्गा भाडामा लिएर फलफूल खेती गर्न थालेका हुन् । पाखोमा फलफूलको बिरुवा लगाउन झण्डै ८० लाख खर्च गरेका रायमाझीले दोस्रो वर्षदेखि वार्षिक ३५ लाख आम्दानी गर्न सफल हुन् । पहिलो पटक कागती ३० रोपनीमा, जुनार र सुन्तला १० रोपनी गरी जम्मा ४० रोपनीमा लगाएको रायमाझीले बताए । रायमाझीका छोराले पनि १५ रोपनी जग्गामा उस्तै व्यवसाय गरेका छन् । सबै गरेर ५५ रोपनीमा फलफूल खेती लगाएको उनले बताए। उनका अनुसार कागती सुन्तला र जुनार एक हजार बोट लगाएको तीन वर्ष भयो । दुई वर्षमै कागती बोटले थामी नसक्ने गरी फलेका छन् । रायमाझीका अनुसार पहिलो वर्षमा कागती पाँच हजार किलो फलेको थियो । त्यसबाट चार लाख बढी आम्दानी गर्न सफल भएको रायमाझीको भनाइ छ । अब उनीसँग दुई लाख बराबरको बिक्री हुन बाँकी छ । कागतीको माग बढेकाले भनेजति पुर्याउन नसकिएको रायमाझी बताउँछन् । उनका अनुसार भारतबाट आउने कागतीभन्दा चिसो ठाउँमा रहेको सिन्धुकोटकोको कागती लामो समय नबिग्रिने हुँदा व्यापारीले मनपराएका छन् । आगामी वर्ष १५ देखि ३० हजार किलो कागती उत्पादन हुने उनको अनुमान छ । ती कागतीको मूल्य २५ देखि ३० लाख पर्न आउँछ । सुन्तला र जुनार करिब १० लाख बराबरको बिक्री गरिसकेका उनले गत साल कागती, जुनार र सुन्तला गरी करिब १५ लाख आम्दानी गरेको बताए। पुस सुन्तला र जुनारको समय हो । आगामी वर्ष सुन्तला र जुनार गरेर १० लाख र कागतीबाट २५ लाखसम्म आम्दानी हुने उनको अनुमान छ । अबको दुई वर्षमा सबै लगानी उठिसक्नेसमेत किसान रायमाझीले दाबी गरे । पूर्व शिक्षक रायमाझीको लगनशीलता र मेहनतलाई देखेर यस आर्थिक वर्षमा मेलम्ची नगरपालिकाले कोल्डस्टोर बनाउन रु पाँच लाख अनुदान दिएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए। रासस
नेपालमा के चुनौती देखेर बाहिरिन खोज्यो एनसेल ? यस्तो भन्छन् पूर्व अर्थसचिव
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुख्य कम्पनी आजियाटा एनसेललाई बेचेर बाहिरिन खोजेको छ । विज्ञप्ति जारी गर्दै आजियाटाले एनसेललाई बिक्री गरेर बाहिरिने घोषणा गरेको हाे । एनसेलबाट बाहिरिनु पर्ने केही कारणहरू देखाउँदै आजियाटाले बाहिरिने घोषणा गरेको हो । एनसेलले करको मार र ब्याजपछिको नाफामा गिरावट आएको भन्दै बाहिरिने निर्णय गरेको उल्लेख गरेको छ । एनसेलले बिक्रीका लागि गरिएको सम्पत्तिको पुनःवर्गीकरण भएको जनाएको छ । कम्पनीले नाफामा गिरावट आउनुको कारण भनेको ह्रासकट्टी, वित्तीय लागत, औसत ब्याजदरमा भएको वृद्धि लगायतका विषयलाई बाहिरिनुको कारण देखाएको छ । एनसेल बिक्रीको लागि सम्पत्तिको पुर्नमूल्यांकन गर्नुपूर्व यसको ऋण बढेको जनाइएको छ । साथै, आजियाटाले घरेलु सस्क्राइबरहरू बढेको, डाटा तथा डिजिटल सर्भिसबाट आम्दानी बढेको र बद्लिँदो परिवेशमा कतिपय चुनौती थपिँदै गएको बताएकाे छ । गैर-व्यावसायिक ‘चुनौती’ शब्दको प्रयोग विज्ञप्तिमा आजियाटाका अध्यक्ष तान श्री शहरिल रिड्जा रिडजुआन र आजियाटाका प्रबन्ध निर्देशक विवेक सूदले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । प्रबन्धक निर्देशक सुदले ‘नेपालमा चुनौती थपिँदै गएकोले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको र सोहीअनुसार एनसेललाई बिक्रीमा राखिएको’ बताएका छन् । सो निर्णयले एजियाटाको प्राथमिकतापूर्ण रणनीति र सेयरहोल्डरहरूलाई दीर्घकालीन हितमा सहयोग पुर्याउने सुदले जनाएका छन् । नेपालमा चुनौती रहेको भनेपनि उनले नेपालमा एनसेलले व्यावसायिक बाहेक अन्य कस्तो चुनौतीको सामना गर्यो भन्ने विषयमा भने उल्लेख गरेका छैनन् । यो वर्षमा वृहत आर्थिक चुनौतीहरुको बाबजुद आजियाटाको अर्थपूर्ण यात्रा निरन्तर रहेको आजियाटाका अध्यक्ष तान श्री शहरिल रिड्जा रिड्जुआनले प्रतिक्रिया दिएका छन् । आफ्नो रणनीति अनुकुलन काम गर्न, पोर्टफोलियो सुधार गर्न र कम्पनीको सफलताको लागि सही व्यवसायिक साझेदारीमा अगाडि बढ्ने उनले विज्ञप्ति मार्फत् जानकारी गराएका छन् । पूर्व अर्थसचिव भन्छन् : प्रयोग गरिएको भाषा असामान्य छ पूर्वअर्थसचिव रामेश्वर खनालले आजियाटाले प्रेस विज्ञप्तिमा प्रयोग गरेको भाषा सामान्य नभएको बताएका छन् । ‘सामान्य व्यावसायिक हिसाबले एउटा कम्पनीले अर्को कम्पनीलाई आफ्नो सम्पत्ति बेच्न खोज्नु चाहिँ सामान्य प्रकृयामा चिन्ता मान्न पर्दैनथ्यो, संसारभर एउटा कम्पनीले अर्को कम्पनी किन्छन्’, उनले भने, ‘तर, विज्ञप्तिमा मलेसियाको आजियाटाको प्रमुखले नेपालमा काम गर्न सहज नभएको भन्ने जुन शब्द प्रयोग गरेका छन्, त्यसले भने केही गम्भिर संकेत गर्छ,’ उनले भने । पूर्वसचिव खनालले यदि विज्ञप्तिमा भनिएको विषय सत्य भएको भए सरकारले आगामी दिनमा गर्न खोजेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन नगरे पनि हुने प्रतिक्रिया दिए । ‘यदि त्यो सत्य हो, उहाँहरूलाई काम गर्न अप्ठ्यारो भएको कारणले नेपालबाट बाहिरिन खोजेको हो भने त्यसले लगानी सम्मेलनलाई एकदम अप्ठ्यारो पार्छ, सरकारले लगानी सम्मेलन नगरे पनि हुन्छ’, खनालले भने । फाइभ जी परिक्षण गर्न दूरसञ्चारबाट अनुमति नपाएको, कर विभागसँग केही असहमति भएको हुनसक्ने र महालेखा परीक्षकको कार्यालयले पनि केही बेरुजु औंल्याएक लगायतका विषयहरू एनसेलसँग जोडिएको देखिएको भन्दै खनालले सरकारको तर्फबाट छलफल र समन्वय गर्न आवश्यक भएको बताएका छन् । पूर्व अर्थसचिव भएर समेत काम गरिसकेका खनाल एनसेलले नेपालमा गर्दै आएको व्यवसाय र कम्पनीको रणनीतिका विषयमा जानकार छन् । एनसेलले सरकारलाई अर्बौं कर नतिरेको विषय पनि बेला बखत चर्चामा आउने गरेको छ । एनसेलले सरकारलाई अर्बौं कर तिर्न बाँकी रहेको सरकारी अधिकारीहरू बताउँछन् । अब कसले किन्दैछ एनसेल ? एनसेलले नेपालबाट बाहिरिने घोषणा गरेसँगै अब एनसेलको स्वामित्व कसले ग्रहण गर्छ भन्ने विषयले पनि चर्चा पाएको छ । अहिले पनि ठूला व्यवसायिक घरानाहरूले दूरसञ्चार सेवाका लागि अनुमति माग गर्ने लविङ गरिरहे पनि त्यसमा सफलता हात पार्न सकिरहेका छन् । त्यसको एउटा उदाहरण हो सीजी ग्रुप । सीजी ग्रुपले सीजी टेलिकममार्फत् सरकारसँग दुरसञ्चार सेवाको अनुमति माग गरेपनि कम्पनीका मालिक विनोद चौधरीले सफलता पाउन सकेका छैनन् । अब उनै चौधरीले एनसेलको स्वामित्व खरिद गर्ने अड्कलबाजी पनि धेरैले गर्न थालेका छन् । हाल एनसेलसँगै सेयर साझेदारका रूपमा सुनिभेरा क्यापिटल भेन्चरले काम गरिरहेको छ । कम्पनीमा आजियाटाको ८० प्रतिशत स्वामित्व छ भने सुनिभेरा क्यापिटल भेन्चरको २० प्रतिशत सेयर स्वामित्व छ । धेरैले अब आजियाटाको ८० प्रतिशत सेयर सुनिभेराले नै खरिद गर्न सक्ने अनुमान गरेका छन् । तर, कम्पनीले आफ्नो औपचारिक धारणा भने अहिलेसम्म राखेको छैन । सन् २०२२/२३ मा एनसेलको व्यापार ३७ अर्ब ४४ करोड रूपैयाँमा भएको छ। कम्पनीले २०२१/२२ मा ३९ अर्ब ७२ करोड, २०२०/२१ मा ४० अर्ब ४२ करोड र २०१९/२० मा ४६ अर्ब ८७ लाख रूपैयाँको कारोबार गरेको थियो। प्रत्येक वर्ष एनसेलको बिजनेस खस्किँदै गएको तथ्यांकले पनि देखाउँछ । २०२३ को तेस्रो त्रैमासिकमा एनसेलको आम्दानीमा ८ प्रतिशत गिरावट आउँदा कम्पनीको वार्षिक आम्दानी ६.४५ ले घटेको विज्ञप्तिमा उल्लेख छ ।
जाजरकोटका भूकम्प पीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग
काठमाडौं । निर्वाचन आयोगका कर्मचारीहरुले जाजरकोटका भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् । नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्त, प्रदेश र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरुले आर्थिक सहयोग गर्ने भएका हुन् । उक्त कोषमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले ७ दिनको पारिश्रमिक गर्ने भएका छन् । त्यस्तै, आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिला निर्वाचन कार्यालहरुका कर्मचारीहरुमध्ये सचिव र सहसचिवहरुले ३ दिन, उपसचिव र शाखा अधिकृतहरुले २ दिन र सोभन्दा तलका कर्मचारीहरुले एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेका छन् । उक्त निर्णय मंसिर १३ गते बसेको आयोगको बैठकले गरेको हो ।
इन्डोनेशिया भ्रमणमा स्टिकर भिषा अनिवार्य
काठमाडौंं । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दुतावासले बताएको छ । दुतावासले एक सर्कुलर जारी गर्दै भिषा सम्बन्धि सम्पूर्ण कार्य इन्डोनेशियाको काठमाडौँस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय मार्फत गर्न सुझाव दिएको छ । ई–भिषा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मुल्याकन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ । नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिषा अन एराईभलका लागि पहल भई राखेको जनाउदै नेपाली नागरिकहरूको सहजताका लागि दुतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएकोे जानकारी गराए ।
बङ्गलादेश र एडिबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता
बङ्गलादेश । बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडिबी) बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप आपूर्ति सुरक्षा सुनिश्चित गर्न, स्वच्छ खानेपानी र सूचना प्रविधि (आइटी) सम्बन्धी पूर्वाधार र प्रणालीहरू विकास गर्न तथा व्यापार करिडोर स्तरवृद्धि गर्न सहयोग गर्नेछ । स्मार्ट मिटरिङ ऊर्जा दक्षता सुधार परियोजनाले आवासीय ग्राहकहरूका लागि छ लाख पचास हजार स्मार्ट प्रिपेड ग्यास मिटर स्थापना गरेर घाटा कम गर्न सरकारको प्रयासलाई सहयोग गर्नेछ । बैंकका अनुसार भ्याक्सिन, थेराप्युटिक्स एण्ड डायग्नोस्टिक्स म्यानुफ्याक्चरिङ एन्ड रेगुलेटरी स्ट्रेन्थेनिङ परियोजनाले गोपालगञ्जमा प्रति पाँच करोड ८० लाख भ्याक्सिन उत्पादन गर्ने क्षमताको एसेन्सियल ड्रग्स कम्पनी लिमिटेड (इडिजिएल) खोप, थेराप्युटिक र डायग्नोस्टिक्स उत्पादन सुविधा र भण्डारण एकाइ स्थापना गर्नेछ । परियोजनाले कम्तीमा पाँच फिल–एन्ड–फिनिस खोपका अतिरिक्त बीज बैंक, मास्टर सेल बैंक र वर्किङ सेल बैंक विकास गरेर कम्तीमा दुई पूर्ण–चक्र खोपको निर्माणमा पनि सहयोग गर्नेछ । बैंकका अनुसार चट्टोग्राम पहाडी क्षेत्र समावेशी र लचिलो सहरी खानेपानीआपूर्ति तथा सरसफाइ आयोजनाले बन्दरवन, लामा र रङ्गमती सहरमा प्रतिदिन चार करोड ४४ लाख लिटरको कूल क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गर्नेछ । यस्तै २४ किलोमिटर प्रसारण लाइन पनि निर्माण हुनेछ । साथै तीन सय ४० किलोमिटर नयाँ पानी वितरण नेटवर्क घरपरिवारमा जडान हुनेछ । उक्त परियोजनाले मल र ठोस फोहरको प्रशोधन र व्यवस्थापनका लागि दुई वटा एकीकृत व्यवस्थापन सुविधा पनि विकास गर्नेछ । रासस
त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो । त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए । ‘स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ’, उनले भने, ‘सेमेष्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोकृष्ट भन्ने छुट्याउन समस्या भएको हो ।’ ‘पदकका लागि विद्यार्थी छनोट गर्दा प्राप्ताङ्कको प्रतिशतका आधारमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने एक जना विद्यार्थी छनोट गरिन्थ्यो’, जोशीले भने, ‘हाल सेमेष्टरअन्तर्गत ग्रेडिङ प्रणाली अनुसार मूल्याङ्न गरिने हुँदा सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि पदक नदिने निर्णय भएको हो ।’ कुलपति पदक नौ वटै सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उनको भनाइ थियो । दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिए । उनका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोकृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ । त्रिविको ४९औ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्दति लागू भइसकेकाले सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताए । ‘पहिला वार्षिक परीक्षामा विद्यार्थीले प्राप्ताङ्कको आधारमा सर्वोकृष्ट विद्यार्थीको हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो’, उनले भने, ‘स्नातकोत्तर तहमा सबै ग्रडिङ पद्दति लागू भइसकेकाले सर्वोकृष्ट विद्यार्थी छुट्याउन सकिँदैन । ९० देखि ९९ अङ्क पाउने एउटै ग्रेडमा रहन्छन् ।’ दाहालले विश्वमा नै ग्रेडिङ पद्धति लागू भइसकेको अवस्थामा नेपालमा पनि लागू गरिएको बताए । उनले विस्तारै स्नातक तहमा पनि ग्रेडिङ पद्दति लागू हुने बताए ।
पति–पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट
काठमाडौं । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ । ‘विशेषरूपमा पती–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो’, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, ‘पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्यो ।’ विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारणले त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रासस
कालोसूचीमा रहेकाले बैंकमा खाता खोल्न पाउने, जमानीकर्ता पनि ‘ब्ल्याकलिस्ट’मा
काठमाडौं । अब कालोसूचीमा रहेकाले पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन गर्दै कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्न कालोसूचीमा परेकाले खाता खोल्न पाउने बताएको हो । राष्ट्र बैंकका अनुसार कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न पाउने छैनन् । तर, कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै, जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाइ ९० दिनको समय प्रदान गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ । [pdf id=448843]