सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ : दिलकुमारी रावल
काठमाडौं । राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर तीन तहको सरकार बनिसकेको अवस्थामा फेरि सङ्घीय सांसदले विकासका लागि योजनाका फाइल बोकेर बजेट माग्दै हिँड्नु ठीक होइन भन्ने उनको ठम्याइ छ । ‘तीन तहको सरकार छ, विकासका लागि केन्द्रले योजना बनाउने हो, तर अहिले पनि प्रतिनिधिसभाकै सांसद विकासकै लागि पैसा खोज्न मन्त्रालय धाउने काम रोकिएको छैन’, उनले भने, ‘योजनाको फाइल बोकेर योजना माग्दै सांसद हिँड्ने परिपाटीको अन्त्य गर्नुपर्छ, सांसदको नाममा बजेट दिने काम ठीक होइन, यो रोक्नुपर्छ’, सांसद रावललाई सांसद विकास कोषको पनि जरुरी छैन भन्ने लाग्छ । ‘सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट बनाउँदा सहभागी हुन सकिन्छ’, उनले थपे । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन हुँदै २०५२ सालदेखि राजनीतिको यात्रा तय गरेकी नेतृ रावलले जनताको प्रतिनिधि भएर २०७४ फागुन २० गते राष्ट्रियसभा सदस्यका रुपमा सपथ लिए। आगामी फागुन २० गते छ वर्ष पुग्दैछ । नेत्री रावललाई विद्यार्थी आन्दोलन र समाज परिर्वतनको आन्दोलनमा लाग्दा यति महत्वपूर्ण स्थानमा पुगेर काम गर्ने अवसर मिल्ला भन्ने लागेको थिएन । तर उनलाई एमालेमा आबद्ध भएर जनप्रतिनिधिको संस्था संसद्मा आएर छ वर्ष काम गर्ने अवसर मिल्यो । उनलाई राष्ट्रियसभामा काम गर्ने अवसर पाउनुभन्दा अघि पहिलो संविधानसभा २०६४, दोस्रो संविधानसभा २०७१ र उपनिर्वाचन २०७१ प्रत्यक्ष निर्वाचन लड्ने अवसर समेत पार्टीले दिएको थियो । नेत्री रावलले झण्डै साढे पाँच वर्ष राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति भएर काम सक्रियरुपमा काम गरिन् । समितिको सभापति भएर काम गर्दा सधैँ जनता र राष्ट्रको हितमा कानुन कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरामा उनको ध्यान केन्द्रित भयो । ‘कानुन निर्माणको क्षेत्रमा कसरी मुलुकको हितमा बनाउन सकिन्छ भनेर सम्पूर्ण ध्यान त्यही केन्द्रित भयो, संसद्को निगरानीलाई प्रभावकारी बनाउनका लागि काम गरियो’, उनले जोडिन्, ‘पहिलो पटक संसद् भएर सभापतिको जिम्मेवारी पूरा गर्न कुशलतापूर्वक गर्न सक्छु कि सक्दिन भन्ने थियो तर मैले पूर्णरुपमा प्रयत्न गरे ।’ राष्ट्रियसभामा उनलाई छ वर्ष काम गर्ने अवसर मिल्यो । विसं २०३७ मङ्सिर २५ गते भरतपुर महानगपालिका–१६ ब्रह्मपुरमा जन्मिएकी नेत्री रावलले २०५५ सालमा एमालेको वडा कमिटी हुँदै गाउँ कमिटी सदस्य भएर काम गरिन् । त्यस्तै, २०५५ सालदेखि २०५८ सम्म अखिल नेपाल महिला सङ्घ जिल्ला चितवन जिल्ला कमिटी सदस्य, तत्कालीन प्ररायु सङ्घको जिल्ला सचिव हुँदै अध्यक्ष, महिला जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर काम गरिन् । पार्टीको जिल्ला सदस्य, उपसचिव हुँदैसचिवको जिम्मेवारी जिल्लामा रहेर निर्वाह गरिन्।संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि संविधानअनुकुलका कानुन नै बनाउन सकेको छैनन् । सांसद रावललाई सरकारले सदनलाई विजनेस नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको भन्ने लाग्छ । ‘संविधान अनुकूलका कानुन बनाउन ढिलाइ हुनुमा दोषी सरकार हो, त्यसको दोषी संसद् र सांसद होइन’, नेत्री रावलले थपिन्, ‘विधेयक अधिवेशनमा जम्मा एउटा मिटरब्याजीसम्बन्धी कानुन बन्यो, राष्ट्रियसभामा मर्यादासम्बन्धी नीति विधेयक ल्यायौँ, राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको विधेयक प्रतिनिधिसभामा रोकिएर शून्यतामा गयो, राज्यको त्यत्रो लगानी खेर गयो, जुन गम्भीर विषय हो ।’ सदनलाई विजनेस नभएपछि शून्य समय र विशेष समयमै एकले अर्कालाई आरोपप्रत्योरोप गर्दै बित्ने गरेको उनले बताइन् । नेत्री रावललाई राष्ट्रको महत्वपूर्ण नीतिहरु एकरुपता बनाउन जरुरी छ भन्ने लाग्छ । ‘सरकार परिर्वतन हुने बित्तिकै परराष्ट्र नीति, आर्थिक नीति वा स्वास्थ्य नीति पनि परिर्वतन हुने गरेका छन्, जुन असाध्यै दुःखद् कुरा हो’, नेत्री रावलले भनिन्, ‘स्थायी खालको नीति बनाउन जरुरी छ, जुन सरकार आए पनि नीति र पूर्वाधार विकासमा एकरुपता र ध्यान दिन जरुरी छ, राष्ट्रिय महत्वको विषयमा एकताबद्ध हुँदा प्रणाली पनि बलियो हुन्छ ।’ अरुले झट्ट हेर्दा सांसदले काम गरेनन भन्नेजस्तो देखिए पनि सांसदले मात्र केही गर्न नसक्ने नेत्री रावलको बुझाइ छ । बोली र व्यवहारमा एकरुपता ल्याएर काम गरेमा सांसदले बेकारको गाली खान नपर्ने उनको बुझाइ छ । जनताका प्रतिनिधिले संसदीय मूल्य र मान्यताको ख्याल गर्नुपर्ने हुन्छ । ‘जनप्रतिनिधिले बोल्दा प्रत्यक्ष प्रसारण हुन्छ, संसारभर जान्छ, बोली र गोली चाँहि फर्काउन सकिँदैन’, नेत्री रावलले भनिन्, ‘रेर्कडबाट हटाउनुपर्ने गरी किन बोल्ने ? त्यो राम्रो होइन, त्यसरी बोल्नुहुँदैन, शिष्ट र मर्यादित भएर पनि आफ्ना कुरा राख्न सकिन्छ, जनप्रतिनिधिले मर्यादालाई ध्यान दिनुपर्छ, नत्र जनताले के सिक्ने ?’ एउटा विधायक भएर जति काम सकियो त्यसमा उनलाई खुसी लागेको छ । कानुन बनाउने, अझ राम्रो बनाउनका लागि संशोधन हाल्नेदेखि लिएर समितिको सभापति भएर निकै मेहनतपूर्वक काम गरेको उनमा अनुभव छ । ‘संसद्मा सक्तापक्ष र प्रतिपक्ष भए पनि समितिमा सबै सर्वसम्मत तरिकाले सौहार्दपूूर्ण वातावरणमा काम गर्ने अवसर पाउँदा मलाई खुसी छ’, उनले हर्षित मुद्रामा भनिन् ‘साझा उद्देश्य थियो, कुनै पनि दलको असहयोग भएन, हरेक निर्णय सर्वसम्मत भयो, सधैँ हार्दिकताका साथ काम गरियो ।’ उनलाई जनता र देशका लागि अझ धेरै गर्न बाँकी छ जस्तो लागेको छ । सांसदको भूमिका तत्काल लागि सकिए पनि जनताको सवालमा अझै केही गर्न मन छ । रासस
एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ बैतडीबाट आरम्भ
बैतडी ।नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे । अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो । सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाट कार्यक्रम रहेको समेत सो पार्टीले जनाएको छ ।
काठमाडौंका यी स्थानमा आज विद्युत बन्द हुने (सूचनासहित)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ । टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाकारी दिएको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । आज कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, विजेश्वरी, चमती, भगवान् पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
विदेशबाट फर्किएपछि साढे २ करोड लगानीमा फलफुल खेती गर्दै नवलपरासीका किसान
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए । त्यसपछि उनले राजनीतिमा मन लगाएनन् । रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उनी स्वदेश नै फर्किए । रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित भएका छन् । वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गरेका उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे । रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उनले विदेशमा देखेसिकेको कुरा नै मुख्य हो । ‘दुईपटक कतार गएँ, त्यहाँ पुग्दा एभोकाडो खाए । तर, त्यसको स्वाद पाइनँ’, रेग्मीले भने, ‘त्यसपछि अष्ट्रेलिया गएँ, त्यहाँ पुग्दा छोरीहरुबाट एभोकाडोको बारेमा र गुणको बारेमा जान्ने अवसर पाएँ ।’ एभोकाडो चिसो ठाउँमा हुन्छ भन्ने थाहा पाएपछि नेपाल फर्किएर गैँडाकोट–१८ मा जग्गा किनेको रेग्मीले सुनाए । ‘चिसो हावापानी भएको ठाउँ हो, १३ रोपनी १४ आना जग्गा खरिद गरेँ ।’, उनले भने । दश बोट सुन्तलाबाट पन्ध्र सय विसं २०७५ मा १० बोट सुन्तला लगाएका रेग्मीको फार्ममा अहिले १५ सय सुन्तलाका बोट छन् । उनले फलफूल खेती गर्न सुरु गर्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे । धनकुटाको पारी पात्ले पुगेर कागतीको बिरुवा लिएर आएको भन्दै रेग्मीले कागतीको बिरुवासँगै १० ठूला सुन्तलाको बिरुवा पनि लिएर आएको अनुभव सुनाए । ‘सुरुमा १० सुन्तला र चार सय कागतीबाट फलफूल खेती सुरु गरेँ’, उनले भने, ‘विसं २०७६ बाट सुन्तला थप्न सुरु गरिएको हो, अहिले डाँडाभरि सुन्तला छन् ।’ अहिले रेग्मीको फार्ममा सुन्तलाको एक हजार पाँच सय बोटबिरुवा, कागतीका नौ सय, निबुवाका तीन सय, मौसमका दुई सय, किन्नुका (माघको अन्तिमतिर पाक्ने फलफूज प्रजाति) एक सय, आँखे टिमुरका एक सय, लप्सीका ६० बोटबिरुवाका साथै स्याउ, किबी, आँप, लिची र एभोकाडोसहितका फलफूलका बोटबिरुवा छन् । उनको फार्ममा सुरुआती समयबाट अहिलेसम्म सबै गरी रु दुई करोड ५० लाख बढी लगानी भइसकेको बताए । आम्दानी लिन सुरु रेग्मीले फार्ममा लगाएका फलफूलका बोटबिरुवाले गत वर्षदेखि आम्दानी दिन सुरु गरेका छन् । ‘गत वर्ष फलफूल बिक्रीबाट रु दुई लाख जति आम्दानी गरेकामा अहिले रु १० लाख जति आम्दानी होला’, उनले भने, ‘अझै केही फलफूल टिप्न बाँकी छन्’, फलफूलका बिरुवाबाट अर्को साल रु २० लाखभन्दा बढीको आम्दानी हुने अपेक्षा गरेको भन्दै रेग्मीले भने, ‘अब फलफूलबाट हुने आम्दानी बढ्दै जान्छ ।’ यस वर्ष सुन्तलाको चार सय बोटबाट मात्रै आम्दानी भएको भन्दै उनले आगामी वर्षबाट करिब एक हजार सुन्तलाको बोटले आम्दानी दिन सुरु गर्ने बताए । ‘अब करिब पाँच सय बोट कागतीले आम्दानी दिन सुरु गर्ला कागतीले पनि अहिलेको भन्दा दोब्बर आम्दानी हुन्छ’, उनले भने । यस वर्ष सुन्तला, कागती, निबुवा, टिमुरलगायतका बोटबाट आम्दानी लिन सुरु भएको छ । फलफूल खेतीको क्षेत्रफल विस्तार रेग्मीले पाँच वर्ष अगाडि १३ रोपनी १४ आना जग्गाबाट सुरु गरेको फलफूल खेतीको क्षेत्रफल गर्दै अहिले ८२ रोपनी क्षेत्रफलमा फलफूल खेती गरेका छन् । उनले सुरुमा रु ५० हजार प्रतिरोपनीका दरले जग्गा किनेको बताए । जग्गा किनेर पास गरेपछि मात्रै यस ठाउँमा आएको भन्दै उनले भने, ‘जग्गा किनेपछि यहाँ आउनका लागि राम्रो सडक थिएन । खाल्डाखुल्डी भएका सडक पार गरेर आउनुपर्ने थियो ।’ सार्वजनिक सवारीसाधन ठाउँठाउँमा धकेल्दै आउने गरेको भन्दै अहिले बाटो सहज हुँदा आउजाउ गर्न सजिलो भएको रेग्मीले बताए । ‘बाटो अलि सहज भएपछि मैले कार बेचेर पिकअप किनेँ, यो पिकअपबाट आउनजान सहज भएको छ’, उनले भने । उनले १३ रोपनीमा मात्रै फलफूल खेती गरेर मन नमानेपछि विस्तारै जग्गा थप गर्दै लगेको सुनाए । पछि थप गरेको जग्गा रु ८० हजारदेखि रु तीन लाख प्रतिरोपनीसम्मका दरले खरिद गरेको बताउँदै उनले फलफूल खेतीबाट सन्तुष्ट भएको बताए । ‘फलफूल खेतीबाट निकै सन्तुष्ट छु, अब मेरो फलफूल खेती यहाँभन्दा विस्तार गर्दिनँ’, उनले भने, ‘फलफूल खेतीले मेरो उमेर १० वर्ष बढाएको छ जस्तो लाग्छ ।’ गाउँमा पानीको समस्या भएका कारण रेग्मीले पाँच सय मिटर तल खोलाबाट लिफ्टिङ गरेर माथी पानी तानेका छन् । ‘जेनेरेटरबाट बिजुली निकाली पम्पबाट लिफ्टिङ गरेर पानी तानेर थोपा सिँचाइ गरेको छु’, उनले भने, ‘लिफ्टिङ गरेर माथी तानेको पानी जम्मा गर्न एक लाख २५ हजार लिटरको ट्याङ्की निर्माण गरेको छु ।’ सबै ठाउँमा पानी पुग्ने गरी ब्लक निर्माण गरेर थोपा सिँचाइमार्फत फलफूलका बोटबिरुवा सिँचाइ गर्दै आएको उनको भनाइ छ । रेग्मीले फलफूल खेती सुरु गरेपछि सरकारी निकायबाट अनुदानसमेत पाएका छन् । उनलाई सुन्तला जोनबाट लिफ्टिङका लागि रु चार लाख १५ हजार प्राप्त भएको बताए । त्यस्तै सुन्तला जोनबाटै लिफ्टिङ गरेको पानी जम्मा गर्नका लागि ट्याङ्की निर्माण गर्न रु दुई लाख अनुदान पाएको उनले बताए । कृषि ज्ञान केन्द्र तनहुँ (नवलपुरमा कृषि ज्ञान केन्द्र स्थापना भएको थिएन) बाट १३ रोपनीमा थोपा सिँचाइका लागि ५० प्रतिशत अनुदानमा रु दुई लाख ५० हजार पाएको बताए । जग्गा विस्तारपछि बाँकी जमिनमा सिँचाइ गर्न थोपा सिँचाइका लागि सुन्तला जोनबाट ८५ प्रतिशत अनुदान पाएको उनको भनाइ छ । फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान, औषधि छर्ने ट्याङ्की तथा औजारमा ५० प्रतिशत अनुदान पाएको रेग्मीले बताए । रासस
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए । उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन् । सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको दराईले बताए । शुक्रबारसम्म टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए । निर्माणाधीन पुलमध्ये आठ वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । ‘अधिकांश पुलको निर्माण अन्तिम चरणमा छ’, इन्जिनियर दराईले भने, ‘कालोपत्र र मर्मतको काम सकिएपछि दुई महिनाभित्र सञ्चालनमा ल्याउँछौँ ।’ दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धी, भोर्ले, नाम्सी, टोपे, कालीखोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउने छन् । खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ । खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन । तुईन खोलामा पहाड काट्न समस्या भएपछि काम रोकिएको हो । आयोजनाले अहिले भारतबाट विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी गरेको छ । ‘सम्भवत एक महिनाभित्र विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी भइरहेको छ,’ आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भने, ‘बारुद राख्नका लागि नेपाली सेनाद्वारा बंकरको निर्माण गर्ने काम भइरहेको छ ।’ यस सडकखण्डमा २०७६ चैतदेखि १५ पुल निर्माण थालिएका थिए । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएका हुन् । रासस
कञ्चनपुरका उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
दोधारा चाँदनी । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान पाउन सकेनन् । उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले रु ३२ करोड अनुदान रकम पाउन बाँकी रहेको बताए । ‘कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने सो अनुदान रकम सरकारले निकासा गरेको छैन’, उनले भने, ‘गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन् ।’ सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो । सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गत आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल रु ७० पुर्याइयो थियो । कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर मिल र बेलौरीस्थित महाकाली सुगर मिल अहिले सञ्चालनमा छन् । गत आवमा उक्त दुई उद्योगले नेपाली किसानको २६ लाख ६६ हजार ४८ क्विन्टल उखु क्रसिङ गरेका थिए । त्यसको अनुदानबापत उनीहरूलाई रु ३२ करोड भुक्तानी गरिसक्नुपर्नेमा सरकारले भने बजेट अभावको कारण देखाउँदै आइरहेको गुनासो उखु उत्पादक किसानको छ । उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिचन्द ठकुरीले सरकारले गत आव उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ६१० निर्धारण गरेको बताए । ‘सरकारले तोकेको समर्थन मूल्यमध्ये चिनी उद्योगले प्रतिक्विन्टल रु ५४० का दरले भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल रु ७० का दरले सरकारले अनुदान उपलब्ध गराउने सहमति गरेको थियो’, उनले भने, ‘जिल्लाबाट पनि ढिलो गरी सिफारिक हुँदा एक वर्ष बित्दासमेत किसानले अनुदान पाउन सकेनन्’, उनले अहिले सिजनकै उखु पनि कटानी गर्ने बेला भइसकेकाले सरकारले घोषणा गरेको अनुदान नै नपाउँदा किसान चिन्तित बनेको बताए । रासस
आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला
चितवन । जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउछन् । उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए । अहिले बजारमा राम्रो मूल्य पाएको बताउँदै उनले भने, ‘कम उत्पादन भएका कारण मूल्य राम्रो पाएको हो ।’ उनले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फकिएएका ३३ वर्षीय बोहोरा सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउछन्। बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै लाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनले बताए । उनले भने ‘अहिले सुन्तलाको मूल्य पाएको देखेर आफू सन्तुष्ट छु । अन्य साथीहरु पनि सन्तुष्ट हुनुहुन्छ ।’ अझै सुन्तलाको मूल्य बढ्नेमा उनी विश्वस्त रहेको बताउछन् । गएका वर्षहरुमा यति बेला प्रतिकिलो रु ७० हाराहारीमा सुन्तला बिक्री हुने गरेको थियो । सुन्तलाले मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान निकै हर्षित छन् । इच्छाकामना गाउँपालिका–३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन्। उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने, ‘अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।’ बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उनले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने ‘अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले मूल्य पाउन सकेको हो ।’ २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए । आफू सुन्तला खेतीबाट सन्तुष्ट रहेको उनले बताए । उनले वार्षिक रु चारदेखि पाँच लाखसम्मको सुन्तला बेच्दै आएका छन् । इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताउछन् । उनले भने, ‘बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।’ केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए । यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ । रासस
वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बाँकी भू–भागका आंशिक बदली रहनेछ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली छ ।