काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा भएको नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले दुई देशबीच आर्थिक सम्बन्ध मजबुत बनाउनु पर्ने बताए ।
नेपालको बाह्य क्षेत्र स्थायित्व, युवा जनशक्ति र लगानीका लागि बलियो अवसर रहेको उनको भनाइ छ । उनका अनुसार नेपालमा ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी क्षेत्र लगानीका लागि ठूलो क्षेत्र रहेको उनले बताए । साथै, समय सापेक्ष क्षेत्रीय बजार खुला हुने बताउँदै उनले यूएईका लगानीकर्ताहरूलाई उर्जामा लगानी गर्न आग्रह गरे ।
पर्यटन क्षेत्रमा लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायतको बारेमा जानकारी गराउँदै अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई द्विपक्षीय पर्यटन वृद्धिको सम्भावना रहेकाले होटल, केबलकार र हिल स्टेसनलगायत विश्वस्तरीय पर्यटन पूर्वाधारको विकासमा योगदान दिन आग्रह गरे ।
नेपालको हावापानी अनुसार कृषि उत्पादन हुने भएकाले लगानी गर्न सकिने उनको भनाइ थियो । नेपालको आईसीटी क्षेत्र, नेपालमा बढ्दो जनशक्ति, डिजिटल अर्थतन्त्र युएईको सफलतासँग मिल्दोजुल्दो रहेको बताउँदै सहकार्य गरेर अघि बढ्न आग्रह गरे । साथै, नवप्रवर्तन उद्यमी वृद्धिलाई बढावा दिँदै यस क्षेत्रमा पारस्परिक साझेदारी गर्न सकिने अध्यक्ष ढकालको भनाइ छ ।
अध्यक्ष ढकालले व्यापार र लगानीमा बैंकिङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेको समेत बताए । नेपालको बैंकिङ क्षेत्रमा युएईको लगानी प्रवद्र्धन गर्न साझेदारीको प्रस्ताव राखे । कडा परिश्रम र इमान्दारिताका लागि परिचित युएईमा रहेका नेपाली श्रमशक्तिप्रति ध्यानाकर्षण गराउँदै ढकालले प्राविधिक तथा व्यावसायिक तालिमका लागि लगानी गर्न जोड दिए ।
सरकारी सहयोग र लगानीको अनुकूल वातावरणले नेपालमा सम्भव छ भन्ने उदाहरणका रूपमा उनले आफ्नो व्यक्तिगत यात्रालाई सुनाए । नेपाल र युएईबीच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्न प्रधानमन्त्री दाहालप्रति आभार व्यक्त गर्दै ढकालले युएईका व्यवसायीलाई नेपालमा लगानी गर्न आमन्त्रण गरे ।