प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका ३१ यात्रुसँग मन्त्री किराँतीले माफी मागे
फाइल फोटो काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधवार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन् । बिहीबार काठमाडौंमा म्युजिक भिडियो म्युम्जमा ए सार्वजनिक गर्दै उनले माफी मागेका हुन् । उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरुलाई सरकारले नै होटलमा राखि आज गन्तव्यमा पुर्याएको बताए । उनले भीभीआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए । उनले प्यासेन्जरहरुलाई मेल र फोन गरेर जानकारी गराएपनि फोन नउठाउने र मेल जाँच नगर्नेहरु समस्यामा परेको बताए । उनले भने ‘भर्खर नेपाल एयरलाइन्स चढेर सम्माननीय प्रधानमन्त्री दुबई जानुभएको छ । ३१ जना यात्रु छोडियो भनेर समाचार आएका छन् । आज धरै छापिएको छ । मेरो पनि नाम छापिएको छ, ठिकै छ । २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडियो । हाम्रो जहाजको सेड्युल ११ बजेर ३० मिनेटमा थियो । तर भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै हामीलाई सार्न लगाएपछि बाध्य भयौँ । संसारमा जहाँ पनि सार्नुपर्छ । फोन हुनेलाई फोन र मेल हुनेलाई मेल पठायौँ । फोन नउठाउने र मेल नहेर्ने छुट्नुभएछ । उतैबाट टिकट काटेर आएकाहरु छुट्नुभयो । उहाँहरुसँग सम्बन्धित निकायले माफी पनि मागेको छ । मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु । नियमअनुसार नै उहाँहरुलाई होटलमा राखेर आज बेलुकासम्ममा हामी गन्तव्यमा पठाउँछौँ ।’ मन्त्री किराँतीले युरोपियन युनियनको कालो सूचिमा देश करिब १३ वर्ष अघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको बताए । १२ बुँदै चिठी पठाएको र १२ बुँदा पालना गरेको खण्डमा कालोसूचिबाट हट्ने बताए ।
अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता, राष्ट्र बैंकका ४ दर्जन कर्मचारीको सरुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक झण्डै ४ दर्जन कर्मचारीहरूको सरुवा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५ जना कार्यकारी निर्देशकसहित ४६ जना कर्मचारीहरूको सरुवा गरिएको सहायक सूचना अधिकारी डा.भागवत आचार्यले जानकारी दिए । गभर्नर अधिकारीले बुधबार कार्यकारी निर्देशक, उपनिर्देशक र सहायक निर्देशकको सरुवा गरेको आचार्यले बताए । आचार्यका अनुसार गैर-बैंक वित्तीय संस्था पर्यवेक्षण विभाग प्रमुख प्रदीपराज पौड्याललाई मुद्रा विभागमा सरुवा गरिएको हाे । सूचना प्रविधि विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरलाई गैर-बैंक वित्तीय संस्था पर्यवेक्षण विभागको जिम्मेवारी दिइएको उनले बताए । यस्तै, मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यलाई सूचना प्रविधि विभागमा सरुवा गरिएको उनको भनाइ छ । बैंकिङ्ग विभाग सम्हाल्ने गरी कार्यकारी निर्देशक बिश्रुत थापालाई जिम्मेवारी दिईएको छ । थापा यसअघि वित्तीय संस्था पर्यवेक्षण विभाग प्रमुख थिए । बैंकिङ विभाग प्रमुख दयाराम शर्मालाई भने वित्तीय संस्था सुपरिवेक्षणमा सरुवा गरिएको डा.आचार्य बताउँछन् । उनका अनुसार ठूलो संख्यामा उपनिर्देशक सहायक निर्देशकहरूको सरुवा गरिएको छ । राष्ट्र बैंकले २५ जना उप-निर्देशक र १६ जना सहायक निर्देशक गरी ४१ जनाको सरुवा गरेको बताइएकाे छ । अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता बिहीबार राष्ट्र बैंकका गभर्नर अधिकारी र अर्थमन्त्री डा.प्रकाशशरण महतबीच वान टू वान भेटवार्ता भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्नुअघि अर्थमन्त्री डा.महतले गभर्नर अधिकारीसँग भेटवार्ता गरेका हुन् । दुवै जनाबीच वान टू वान भेटवार्ता भएको अर्थमन्त्री सचिवालयले जनाएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा छलफल भएको स्रोतको भनाइ छ । वित्त नीति र मौद्रिक नीतिको समन्वय गरेर समीक्षा गर्न अर्थमन्त्री डा.महतले आग्रह गरेका थिए । अप्ठ्यारामा परेका व्यवसायलाई सहजिकरण गर्ने विषयमा पनि छलफल भएको बुझिएको छ । ‘मौद्रिक नीति प्रभावकारी बनाउने, अप्ठ्यारामा परेको निजी क्षेत्रलाई सहजिकरण गर्न र अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको समीक्षा गर्न गभर्नरज्यूसँग छलफल भएको हो,’ अर्थमन्त्री सचिवालयले भन्यो । अर्थमन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन ब्याजदर घटाउने गरी व्यवस्था गर्न गभर्नरसमक्ष आग्रह गरेका छन् । साथै, गभर्नर अधिकारीले भेटवार्ताको क्रममा अर्थमन्त्री डा.महतलाई आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेको बताइएको छ ।
सरकारले स्वीकार्यो दुई करोड अमेरिकी डलर अनुदान सहायता
काठमाडौं । सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा क्षेत्रको विकासका लागि स्विटजरल्याण्ड सरकारले प्रदान गर्ने ६५ करोड अनुदान सहायता स्वीकार गर्ने बताएकी हुन् । सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई खटाउने भएको छ । अस्थायी आवास निर्माणका लागि जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिबाट निर्णय गराई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई काममा खटाउने अख्तियारी दिएको मन्त्री शर्माले जानकारी दिइन् । जिल्ला सुरक्षा समितिको निर्णयबाट माग भएबमोजिम नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको मन्त्री शर्माले बताइन् । मन्त्रिपरिषद्ले राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेय तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्जाल तथा व्यवस्थापन) गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा साविक भ्रमरपुरा-५ महोत्तरी निवासी सुवोधकुमार शर्मालाई मनोनयन गर्ने र स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा साविक चोक चिसापानी गाविस-५ तनहुँ निवासी डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको छ । सांस्कृतिक संस्थानको सञ्चालक समितिको अध्यक्षमा हतुवागढी गापा-२, भोजपुरका चन्द्रकुमार राईलाई तोक्ने निर्णय भएको छ भने विद्युतीय सुशासन आयोगको सदस्यमा साविक कञ्चनपुर जिल्ला निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ । रासस
सिटिजन्स बैंकको सञ्चालकमा पूर्व सीईओ अर्याल
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट बैंकिङ्ग करियर शुरु गरेका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न छन् । उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ । त्रिभुवन विश्व विद्यालयवाट एम.बि.ए. हासिल गरेका उनले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ्ग सम्बन्धी विशेष प्रशिक्षण लिएका थिए । साथै, उनीसँग लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ । यसअघि बैंकको स्वतन्त्र संचालकमा नेपाल सरकारका पूर्व सचिवद्वय बालकृष्ण प्रसाई तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ्ग तथा अनिल ज्ञवालीले समेत योगदान गरेका थिए । नयाँ स्वतन्त्र सञ्चालक अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ्ग जग थप मजवुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल १८९ वटा शाखा, १४९वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ईभी बजारमा बीवाईडीको नयाँ रेकर्ड, बनायो ६० लाख न्यू इनर्जी भेहिकल
काठमाडौं । बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ । न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरुको विश्व प्रमुख निर्माता बीवाईडीले तीन महिनामै ५० लाखदेखि ६० लाख उत्पादन गरेको हो । यससँगै कम्पनीले विद्युतीय सवारी उद्योगमा नयाँ रेकर्ड बनाउँदै द्रुत गतिको निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ । बीएओ ५ बीवाईडीको फ्याङ्चेङ्गबाओ उप ब्राण्ड अन्तर्गतको एसयूभी हो । बीवाईडीको विविध ब्रँड मैट्रिक्सहरुमा डाइनेष्टि र ओसियन सिरिज, फ्याङ्चेङ्गबाओ, डेन्जा र याङ्वाङ् जस्ता विभिन्न ब्राण्डहरु उपलब्ध छन् । गत अक्टोबरमा मात्रै बीवार्ईडीले तीन लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै मासिक बिक्री रेकर्ड हाँसिर गरेको थियो । २०१० बाटै बीवाईडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधनहरुको विद्युतीकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ । बीवाईडीको विद्युतीय साधनहरु अब ७० भन्दा बढी देशको चार सय भन्दा बढी सहरहरुमा सञ्चालन छन् । न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बीवाईडीले आफ्नो पहुँच बढाएको छ । हाल कम्पनीले ५८ देशका विभिन्न क्षेत्रमा २ लाखभन्दा बढी ग्राहकहरु बिक्री गरिसकेको छ ।
कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत, सबैभन्दा बढी गण्डकी प्रदेशमा, कम कर्णालीमा
काठमाडौं । कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय कृषिगणना २०७८ अनुसार कृषिमा आवद्ध ६२ प्रतिशत घरपरिवारमध्ये लैङ्गिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले बताएको छ । लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित रहेको तथ्याङ्कले देखाएको छ । बिहीवार ललितपुरमा कृषि जग्गाको स्वामित्वमा रहेको पुरुष र महिलाबीचको असमानताको विषयमा पहिलो पटक गरिएको तथ्याङ्क संकलन सार्वजनिक गर्दै यस्तो बताएको हो । त्यस्तै,कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क कृषि जनसख्या ३१.४ प्रतिशत रहेको छ । यस्तो तथ्याङ्क प्रदेशगत हेर्दा सबैभन्दा बढी ३४.६ प्रतिशत गण्डकी र सबैभन्दा कम २९ प्रतिशत कर्णाली प्रदेशमा रहेको राष्ट्रिय कृषिगणना २०७८ ले देखाएको छ । प्रदेशगत रुप्मा वस्यक पुरुष र महिलाको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित सबै भन्दा बढी वागमतीमा ४७.६ प्रतिशत र सबैभन्दा कम ४०.१ प्रतिशत मधेश प्रदेशमा रहेको देखिएको छ । केन्द्रिय तथ्याङ्क कार्यालयमा सह-सचिव हेमराज रेग्मीले लैङगिक विश्लेषणको देृष्टिकोणले कृषक महिला र पुरुषको संख्या कति भनेर छुट्टै तथ्याङ्क संकलन गरिएको बताए । २ सयभन्दा बढी तथ्याङ्कमध्य कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबीचको असमानताको विषयमा पहिलो पटक राष्ट्रिय कृषिगणना २०७८का तथ्याङ्कहरुलाई हेरेर वितरण सार्वजनिक गरिएको बताउँदै उनले नेपालको कृषि पेशामा लाग्ने महिलाहरुमध्ये ३४.४ प्रतिशतको मात्रै स्वामित्वमा जग्गा रहेको बताए । उनले यो तथ्याङ्कले नेपालमा कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबीचको असमानता अझै देखिएको बताए । उनले ५० प्रतिशत महिला र ५० प्रतिशत पुरुषहरुको स्वामित्वमा जग्गा रहेका भए महिला पुरुषबीचमा जग्गा स्वामित्वमा समानता रहेको भन्न सकिने भएपनि करिव ३५ प्रतिशत मात्रै रहेकाले समानता नदेखिएको बताए । त्यस्तै, केन्द्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायले जमिनमा महिलाको पहुँच ५० प्रतिशत पुर्याउन सक्नुपर्ने बताए । उनले विश्वका विकसित मुलुकमा पनि महिलाको जमिनमा पहुँच ५० प्रतिशत नरहेको बताए । उनले दक्षिण एशियामा कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबीचको असमानताको विषयमा तथ्याङ्क संकलन गर्ने देशमा पहिलो पटक परेको बताए । उनले सन् २०३० सम्ममा ४० प्रतिशत महिलाको पहुँचमा जमिन पुर्याउने सरकारको लक्ष्य रहेको बताए । उनले जग्गाको स्वामित्व महिलाको नाममा गर्दा सरकारले अझ सहुलियतहरु दिँदै जाँदा स्न २०३० सम्ममा ४० प्रतिशत जमिन महिलाको पहुँचमा पुग्ने विश्वास रहेको बताए ।
कम्प्युटर सुरक्षा दिवसको अवसरमा एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा
काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने प्रतिज्ञा गरेका छन् । कर्मचारीहरुले बैंकको नीतिअनुरुप कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका हुन् । सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेन्द्र कांत, र अन्य उच्च पदाअधिकारीहरूको उपस्थिति थियो । सन् १९८८ देखि विश्वभर कम्प्युटर सम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले हरेक नोभेम्बर ३० तारिखका दिन ‘कम्प्युटर सुरक्षा दिवस’ मनाइँदै आएको छ ।
गाउँपालिका हाँकेका पाइजाको किबी खेती, वार्षिक ५ लाखभन्दा बढी आम्दानी
गलकोट । बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौंबाट पाँच वटा किबीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो । साविक धौलागिरि अञ्चलमा पहिलो पटक किबी भित्र्याएर यसको खेती सुरु गरेका पाइजा यतिबेला भने धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् । तत्कालीन समयमा प्रतिविरुवा रु एक हजार पाँच सयमा किवी खरिद गरेका उनले २०६४ सालमा मात्रै व्यावसायिक खेती गर्ने सोच बनाएका थिए । उनी यतिबेला एक सय २० रोपनीमा फलफूल खेती गरिरहेका छन् । पाइजाले गतवर्ष मात्रै चार हजार केजी किबी बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी गरेको बताए । उनले हाल चार सय किबीका बिरुवाबाट व्यवसायिक खेती गरिरहेका छन् । कृषिमा रमाइरहेका पाइजा किसानको नेता हुँदै २०७४ सालको स्थानीय तहको निर्वाचनमा बडिगाड गाउँपालिका अध्यक्षमा निर्वाचित थिए । पालिका अध्यक्षको कार्यकाल सकिएलगत्तै उनले फेरि गाउँमा किबी खेतीमै रमाइरहेका छन् । ‘कृषि पेसाकै कारण मलाई धेरैले चिने, धौलागिरिका चार जिल्लामै पहिलो पटक किबी खेती भित्र्याउने मै हो’, पाइजाले भने, ‘कृषिबाटै जिल्लामा चिनिएको थिए, गाउँपालिकाको निर्वाचनमा पालिका अध्यक्षमै निर्वाचित भएँ, सो कार्यकालमा पालिकामा किबी खेती विस्तार गरेँ ।’ उनले आफू अध्यक्ष भएका बेला किसानलाई अनुदान उपलब्ध गराएको समेत बताए । ‘गाउँपालिका अध्यक्ष भएपछि व्यस्तता बढ्यो, गाउँमा बसाइँ कम भयो, धेरै काम पालिका केन्द्रबाट गर्नुपर्ने हुँदा किबीले अलि स्याहार पाएन’, पाइजाले भने ‘अहिले त फुर्सद छ दिनभर किबीको स्याहार गर्न भ्याउँछु, परम्परागत कोदो, गहुँ र मकैबाली पूर्णरुपमा बन्द गरेर फलफूलमा लगानी गरेको हुँ ।’ उनले हाल किबीसँगै ओखर, हलुवाबेद, सुन्तला, स्याउ, पाउलिनिया, एभोकार्डो, कागती, अनार खेतीका साथै आठ घार मौरी पनि पालन गरिरहेका छन् । पाइजाको किबी खेती देखेरै यतिबेला बागलुङका कैयन किसानले व्यावसायिक किबी खेती सुरु गरेका छन् । गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ का लीला घर्ती, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का, राजन जिसी, बागलुङ नगरपालिका–९ तित्याङका हीरा केसी र प्रेम केसी, ताराखोला गाउँपालिका–५ का नरबहादुर राना लगायत व्यावसायिक किबी खेतीमा रमाएका छन् । बागलुङमा झण्डै ४० हेक्टर जमिनमा व्यावसायिक किबी खेती गरिँदै आइएको सरकारी तथ्याङ्क छ । बागलुङको दुदिलाभाटीमा किबी पकेट कार्यक्रम नै सञ्चालित छ । किबी भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबरको राम्रो स्रोत मानिन्छ । किबी फ्रुट भिटामिन सी र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । यसलाई नेपालमा ‘ठकी फल’ पनि भनिन्छ । रासस