सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा एक हजार एक सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला दुई हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
१७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब निक्षेप तान्ने भएको छ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । गत हप्ताबाट लामोसमयका लागि अर्थात १७५ दिन अवधिको निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पनि दीर्घकालिन निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकले अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख १६ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । आइतबारको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । बैंकहरुले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट छैन् । त्यसैले राष्ट्र बैंकले दीर्घकालिन उपकरण प्रयोग गर्न थालेको छ । हाल बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम चुलिरहेको छ ।
रामकुमारी झाँक्रीको नयाँ मोड : समाजवादीसँगको यात्रा टुंगियो, झाँक्री र किसान एमाले फर्किने संकेत
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी संस्थापक नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीसँगको राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले पार्टी विघटनको बाटोमा पुगेको बताउँदै नयाँ राजनीतिक दिशा खोज्ने संकेत दिइन् । 'समाजवादी पार्टीको अभियान भव्य हुने विश्वास थियो, तर त्यो सम्भावना समाप्त भएको छ। हाम्रो त्यो यात्रा यसको विघटनसँगै समाप्त भयो,' झाँक्रीले भनिन् । यसअघि पार्टीका अर्का नेता किसान श्रेष्ठले पनि निसर्त रूपमा एमाले फर्किन तयार रहेको बताएका थिए । 'हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए पुग्छ,' श्रेष्ठले पत्रकार सम्मेलनमा भनेका थिए । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले हालै माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरेपछि झाँक्री, श्रेष्ठलगायत नेताहरू असन्तुष्ट बनेका हुन् । राजनीतिक विश्लेषकहरूका अनुसार झाँक्री र उनका सहयात्रीहरू पुनः एमालेमा फर्किए भने नेपालको वाम राजनीतिमा नयाँ समीकरण बन्ने सम्भावना बलियो देखिएको छ ।
जेनजी आन्दोलनमा ६ हजार राहदानी जले, दैनिक पाँच हजार माग
काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको विभागका अधिकारीहरु बताउँछन् । उनीहरुकाअनुसार यो भीड बढ्नुको कारण जेनजी आन्दोलनसँगै दशैँ तिहार पनि मुख्य कारक हो । जेनजी आन्दोलनका कारण केही राहदानी जलेको र उपकरणमा क्षति पुग्दा विभागको सेवा अवरुद्ध हुन पुगेको र दशैँ तिहार मनाउन आउनेहरुले पासपोर्ट बनाएर फर्कन खोज्दा भीड थेगिनसक्नु भएको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताए । उनकाअनुसार राहदानी विभागसँग अहिले एक लाख ७९ हजार राहदानी स्टक छ । मासिक रुपमा ९० हजारदेखि १ लाखसम्म नियमित रुपमा राहदानीको माग हो। त्यसैले अझै २ महिनालाई राहदानी पुग्ने नै छ । चार महिनापछि नयाँ कम्पनीले सम्झौताअनुसार राहदानी व्यस्थापन गर्नेछ । अहिले राहदानी पुस्तिका कम वितरणको कारण कुनै समस्याले बिचमा पुस्तिका अभाव नहोस् भन्ने हेतुले रहेको उनको भनाइ छ । अर्यालकाअनुसार अहिले दैनिक झन्डै ४ हजार ५ सय देखि ५ हजारको हाराहारीमा राहदानीको माग छ । त्यसमा विभागबाट हुने सामान्यतः १ हजार २ सय हो । अहिले विभागले दैनिक १ हजार राहदानी वितरण सामान्य प्रक्रियाबाट दिएको छ भने जरुरी परेर आउने २–३ सय जनालाई पनि विभागले राहदानी दिने गरेका छ । नियोग जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयहरूबाट थप राहदानी वितरण भइरहेको छ । अहिले दैनिक २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा राहदानी उत्पादन भइरहेको छ । त्यसमध्ये १ हजार देखि १ हजार २ सय विभागबाट वितरण भएको छ भने बाँकी जिल्ला प्रशासनसहितका कार्यालयलाई र विदेशस्थित नियोगबाट वितरण भइरहेको अर्यालले न्युज एजेन्सी नेपाललाई जानकारी दिए। अर्यालले भने, ‘मुख्य तीन कारणले राहदानी बनाउनेको भीड देखियो । एउटा जेनजी आन्दोलनका कारण पासपोर्ट र केही उपकरणहरु जले । त्यसले गर्दा जिल्लाबाट राहदानी वितरणमा केही समस्या भयो । जिल्लामा राहदानी वितरणमा ढिलाइ हुन थालेपछि सबै मान्छेहरु विभागमा आएका कारण भीडभाड देखिएको हो । दोस्रो कारण जेनजी आन्दोलनका कारण सेवा अवरुद्ध हुन पुग्यो र दशैँ तिहारका कारण सेवा अवरुद्ध भयो ।’ ६ हजार राहदानी जले राहादनी विभागकाअनुसार जेनजी आन्दोलनमा ६ हजार राहदानी जलेर नष्ट भएका छन् । जलेका राहदानी बनाउनेहरुको पनि विभागमा आउँदा भीड बढेको महानिर्देशक अर्याल बताउँछन् । उनले भने, ‘हाम्रो तथ्यांकमा करिब ६ हजार राहदानी जलेका छन् । ती एकैपटक बल्कमा रि प्रिन्ट गर्ने भन्दा पनि जसलाई जरुरी छ, उसैलाई प्राथमिकता दिनुपर्छ भनेर काम भइरहेको छ ।’ अर्यालकाअनुसार अहिले देखिएको भीडभाड एक–दुई हप्तामै समाधान हुन्छ । जसअनुसार काम पनि भइरहेको छ । यसमा राहदानी विभाग, परराष्ट्र मन्त्रालय र सिंगो नेपाल सरकारले विभिन्न प्रयास गरिरहेको उनको भनाइ छ । अहिलेको भीडलाई व्यवस्थापन गर्न सबै कुटनीतिक च्यानललाई विभागले प्रयोग गरिरहेको छ । त्यसैले एक–दुई हप्ताभित्रमा समस्या समाधान हुने सम्भावना छ । अर्यालले सबैले राहदानी पाउनसक्ने स्थिति रहेकाले नआत्तिन सबैलाई आग्रह समेत गरे ।
सिंगटी हाइड्रोको लाभांश घोषणा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरञ्जन फुँयाल
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरञ्जन फुँयाललाई नियुक्त भएका छन् । कात्तिक १९ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले फुँयाललाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै कार्यभार समाल्नेछन् ।
स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखामा निर्देशक हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहत रहेका विभिन्न महाशाखा तथा केन्द्रका प्रमुखको जिम्मेवारी फेर गरेको छ । स्वास्थ्यमन्त्रीको रुपमा आएकी मन्त्री डा. सुधा शर्मा गौतमले मंगलबार नयाँ तथा केही अधिकारीको जिम्मेवारी हेरफेर गरेकी हुन् । जस अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकमा वीर अस्पतालमा कार्यरत डा. मदन कुमार उपाध्ययलाई जिम्मेवारी दिएको छ । यसअघिका निर्देशक डा. विवेकलाल कर्ण निलम्बनमा परेपछि रिक्त पदमा उपाध्यायलाई पठाएको छ । यस्तै देवकोटाले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झालाई कोशी अस्पतालमा पठाएको छ । कोशी अस्पतालको निर्देशक डा. रुणा झालाई आफ्नो विज्ञताको रुपमा उपचार सेवामा केन्द्रीत गराएर भन्द्रभाललाई निर्देशकको जिम्मेवारी दिइएको छ । यस्तै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा केशवराज पण्डित, उपचारात्मक सेवा महाशाखामा डा. पवनजंग रायमाझी, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा डा. राधिका थपलियालाई जिम्मेवारी दिएको छ । मन्त्रालयमा नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्वको पहिलो उड्ने कार कारखानाद्वारा परीक्षण उत्पादन शुरु
काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता एक्सपेङ्गको उडान कार संवद्ध एक्सपेङ्ग एइरोथले ठूलो मात्रामा परीक्षण उत्पादन शुरु गरेको छ । यो अर्को पुस्ताको यातायातको व्यावसायीकरणमा एक कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको राजधानी गुआङ्झाउको हुआङपु जिल्लामा अवस्थित, १ लाख २० हजार वर्ग मिटरको प्लान्टले पहिले नै आफ्नो मोड्युलर उडान कार ल्याण्ड एयरक्राफ्ट क्यारियरको पहिलो छुट्याउन सकिने विद्युतीय विमान रोल आउट गरिसकेको छ । यो सुविधा १० हजार छुट्याउन सकिने विमान मोड्युलहरूको वार्षिक उत्पादन क्षमताको लागि डिजाइन गरिएको छ । जसको प्रारम्भिक क्षमता ५ हजार युनिट छ । यसको कुनै पनि कारखानाको सबैभन्दा ठूलो उत्पादन क्षमता छ । पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रत्येक ३० मिनेटमा एउटा विमान जम्मा गर्न सक्षम हुनेछ । आफ्नो उत्पादन रिलीज भएदेखि लगभग ५ हजार उडान कारहरूको लागि अर्डर सुरक्षित गरेको छ ।