विकासन्युज

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारी

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । सोको लागि दुवै संस्थाले मंगलबार संस्थागत आर्थिक अपराध विरुद्ध सहकार्यका लागि पारस्परिक समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा दुवै संस्थाका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । यो समझदारीको उद्देश्य संस्थागत आर्थिक अपराध अनुसन्धान गर्नको लागि ज्ञान तथा दक्षता अभिवृद्धि गर्नु तथा संस्था, ब्युरोबीच लेखापरीक्षणसंग सम्बन्धित विषयमा सूचना आदानप्रदान गरी दुई निकायबीच समन्वय र सहकार्य स्थापित गर्नु, नेपाल चार्टर्ड एकाउन्टेन्टस ऐन, २०५३ बमोजिम गर्ने अनुगमन लगायत नियमनसम्बन्धी कार्यमा आवश्यकताअनुसार ब्युरोले संस्थालाई सहयोग उपलब्ध गराउनु, नक्कली लेखापरीक्षक विरुद्ध कारवाही गर्नु तथा संस्थागत वित्तीय ठगी, आर्थिक तथा वित्तीय अपराधसँग सम्बन्धित विषयमा सार्वजनिक जनचेतना अभिवृद्धि गर्नको लागि आवश्यक समन्वय, सहकार्य र सहयोग आदानप्रदान गर्नु रहेको समझदारीपत्रमा हस्ताक्षर गरेपछि संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समझदारीअन्तर्गत आर्थिक तथा वित्तीय अपराध अनुसन्धानको सिलसिलामा ब्युरोबाट विषयसँग सम्बन्धित प्राविधिक तथा विशेषज्ञताको लागि माग भई आएमा संस्थाले ब्युरोलाई प्राविधिक तथा विशेषज्ञसम्बन्धी सहयोग गर्ने तथा संस्थाले सञ्चालन गर्ने फरेन्सिक अकाउन्टिङ एन्ड फ्रडडिटेक्सन (एफएएफडी) सर्टिफिकेसन कोर्समा ब्युरोका कर्मचारीलाई संलग्न गरी कर्मचारीहरुको ज्ञान तथा दक्षता अभिवृद्धि गर्नको लागि आवश्यक व्यवस्था गर्ने उल्लेख गरिएको छ । संस्थाका सदस्यविरुद्ध कुनै जाहेरी वा उजुरी परेको अवस्थामा सो सम्बन्धमा छानबिन गर्दा जाहेरी वा उजुरी परेका संस्थाका सदस्यले लेखापरीक्षण गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स, नियमावली, २०६१, संस्थाले जारी गरेको लेखापरीक्षणमान र लेखाव्यवसायी सदस्यहरुको लागि संस्थाले जारी गरेको आचार संहिताबमोजिम संस्थाको क्षेत्राधिकारभित्र पर्ने भए ब्युरोले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग आवश्यक समन्वय गर्ने तथा संस्थाका सदस्यविरुद्ध लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित विषयमा संस्थामा परेको उजुरीउपर छानविन गर्ने क्रममा प्रचलित कानुन बमोजिम नेपाल प्रहरीको क्षेत्राधिकारभित्र पर्ने विषय भएमा थप छानविन गरी अनसुन्धान गर्न संस्थाले आवश्यक कागजात सहितको जानकारी ब्युरोलाई गराउने समझदारी भएको छ । समझदारी पत्र हस्ताक्षर कार्यक्रममा आइक्यानका अध्यक्ष तथा सिआईबीका प्रमुखले वर्तमान समयमा संस्थागत वित्तीय अपराधहरु व्यापक मात्रामा बढ्दै गएकोले सोको अनुसन्धान तथा नियन्त्रण गर्न आवश्यक ज्ञान सीप तथा दक्षता अभिवृद्धि गर्न, गैरकानुनी वा अनाधिकृत रुपमा हुने लेखापरीक्षण वा लेखा व्यवसायलाई नियन्त्रण गर्न तथा संस्था र व्युरोबीच आपसी सूचना आदानप्रदानमा यस समझदारीले अहं भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । दुवै निकायहरु बीचको यस समझदारी पत्रको प्रभावकारी रुपमा कार्यान्वयनबाट नेपालको वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण, लेखापरीक्षण क्षेत्रमा रहेको अवाञ्छित क्रियाकलापहरु नियन्त्रण गर्न सहयोग पुग्ने तथा आइक्यानका सदस्यहरुको हितको संरक्षण हुने विश्वास गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई प्रदान गरेको भए पनि क्याम्पसले हालसम्म ८० बिघामात्र भोगचलन गर्न पाएको छ । तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक सङ्घ र प्रदेशसरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको उपकुलपति पन्तले दुखेसो गरे । हालै विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ । विश्वविद्यालयको जग्गा अतिक्रमण गरेकालाई विभिन्न राजनीतिक पार्टीको संरक्षण भएकाले हटाउन समस्या भएको हो ।  

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति, १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

काठमाडौं । नेपाल-भारतको उर्जा क्षेत्रका सह-सचिव स्तरीय संयुक्त वार्ता टोलीले विभिन्न ७ बुँदे सहमति गरेका छन् । नेपाल-भारत सह-सचिव स्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकले विभिन्न ७ बुँदे सहमति गरेका हुन् ।  नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारतबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह-अध्यक्षतामा कात्तिक १७ र १८ गते पोखरामा बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा दुवै देश बीचको विद्युत आदान-प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तर्देशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो  ।  यी मुद्दामा सहमति भयो  १. चमेलिया-जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको नेपाल र भारतले आ-आफ्नो तर्फको प्रसारण लाइनको तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेको र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डीपीआर नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको । दुवै देशबीच उक्त प्रशारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउने । २. नयाँ बुटवल-गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउने । उक्त प्रसारण लाइन मार्फत विद्युत आयात-निर्यात क्षमताको सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने सहमति भएको । ३. ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सितामढी लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन भयो । जसअनुसार नेपालले नेपालबाट १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको । ४. निजगढ-मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको डीपीआर तयारीको लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डीपीआर तयार गर्ने ।  ५. लमही-लक्नउ ४०० के.भी. लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लामाही वा कोहलपुर सम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी डीपीआर तयार गर्ने । ६. ढल्केवर-मुजफ्फरपुर ४०० के.भी. लाइनको रिकण्डक्टरिङमा उच्च तापक्रम सहनसक्ने प्रविधि अपनाउने विषयमा डीपीआर तयारी अघि बढाउने । ७. रक्सौल-परवानीपुर र रामनगर-गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धि गर्न यी लाइनहरूको कन्डक्टर एचटीएलएस कन्डक्टरले प्रतिस्थापन गर्न संयुक्त रुपमा अध्ययन गर्ने ।

आजसम्म सेयरधनी बने हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश पाइने

काठमाडौं । हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा वितरण प्रयोजनार्थ कात्तिक २० गते बुकक्लोज गर्दैछ । त्यसैले कात्तिक आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते रजिस्टर्ड कार्यालय, वीरगञ्ज, पर्सामा २५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।   

एसवाई प्यानलको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । एसवाई प्यानल नेपालले आज कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा कात्तिक २३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभए मंसिर ३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु, दक्ष जनशक्ति उत्पादन गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उक्त इन्स्टिच्युटको उद्घाटन गर्दै नर्सिङ कोर्षको सुरुआतले सशस्त्र प्रहरीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले नर्सिङ पेसा स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको तथा स्वास्थ्यकर्मीहरूलाई आधुनिक, विशेषज्ञ, व्यावसायिक सीप प्रदान गर्नुको साथै मानवीय सेवाप्रति समर्पित बनाउन थप मद्दत पुग्ने बताउनुभएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।  महानिरीक्षक अर्यालले स्वास्थ्य र शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयलाई सधैँ प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा मेडिकल कलेज समेत सञ्चालन गर्ने योजना रहेको सुनाए ।  नेपाल एपीएफ अस्पतालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रुपक महर्जनले इन्स्टिच्युटमार्फत आगामी दिनहरूमा थप शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।  सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट सञ्चालित उक्त इन्स्टिच्युटलाई गत वैशाखमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आशयपत्र र साउनमा सम्बन्धन दिएको थियो । शैक्षिक सत्रदेखि प्रविणता प्रमाणपत्र तह (नर्सिङ) अध्ययन सुरु गरेको इन्स्टिच्युटमा हालसम्म सःशुल्कतर्फ ३६ र छात्रवृत्तितर्फ ३ गरी ३९ जना विद्यार्थी भर्ना भएका छन् ।

जर्मनीले युक्रेनलाई थप ३ अर्ब युरो सैन्य सहयोग गर्ने

काठमाडौं । जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप ३ अर्ब युरो सैन्य सहयोग गर्ने तयारी गरेको छ।  रुसविरुद्धको लडाइँमा सहयोग गर्न आगामी वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा ३ अर्ब युरो बढाएर करिब ११.५ अर्ब युरो (१३.२ अर्ब डलर) पुर्याउने योजना बनाएको हो । जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपीसँग भने, ‘अर्थमन्त्री लार्स क्लिङबेलले सन् २०२६ को संसदीय बजेट प्रक्रियामा युक्रेनको सहयोगका लागि थप ३ अर्ब युरो प्रस्ताव गर्नुहुनेछ।’ यसमा अन्य सहयोगहरूको साथ तोपखाना, ड्रोन, बख्तरबन्द वाहन र दुई प्याट्रियट प्रणालीहरूको प्रतिस्थापन समावेश छ। प्रवक्ताले थपे, ‘जर्मनी युक्रेनको पक्षमा दृढता पूर्वक उभिएको छ र युरोपमा युक्रेनको सबैभन्दा ठूलो समर्थक हो। यो आर्थिक र सैन्य सहयोगका रूपमा लागू हुन्छ। हामी रूसको आक्रामक युद्धविरूद्ध युक्रेनी भूगोल र नागरिकको रक्षार्थ आवश्यक भएसम्म हाम्रो समर्थन जारी राख्नेछौँं ।’

श्रद्धा-भक्तिपूर्वक गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौं । सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायद्वारा श्रद्धा-भक्तिपूर्वक मनाइँदैछ । यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् । असमानता, जातीय भेदभाव र हिंसाका विरुद्ध लाग्न गुरु नानकले प्रेरणा दिएकाले उनलाई समनता तथा शान्तिको सन्देश वाहकका रूपमा विश्ववासीले सम्मान गर्दै आएका छन् ।