विकासन्युज

अब काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ, एनटीसीले ३५ विमानस्थलमा विस्तार गर्दै

काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशील, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मत सम्भार, गुणस्तर वृद्धि र क्षमता  विस्तार गरिएको छ भने ३ निर्माणाधीन सहित ८ स्थानमा नयाँ जडान गरिएको हो । मन्त्रालयका अनुसार अब काठमाडौंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ । साथै काठमाडौंको ठूलो भर्‍याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ । भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ स्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ । नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायानेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन् । सञ्चारमन्त्री खरेलको विशेष सक्रियतामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो ।  प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्म भक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ ।  त्यसैगरी नेपाल टेलिकमले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा ६ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा ५ वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ । गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै २ महिनाभित्र काठमाडौं उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णय गरेका थिए । मन्त्रालयका अनुसार उपत्यका बाहिरका महत्वपूर्ण दस वटा सहरमा पनि निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच पुर्याउने काम अघि बढेको छ । निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनको अनुगमनका लागि सञ्चारमन्त्री खरेलसहितको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।

सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

काठमाडौं । सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् । अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरूले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरू समस्यामा परेका हुन् ।  किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरू मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले जानकारी दिए ।  रासायनिक मल वितरणका लागि कृषि सामग्री केन्द्रमा दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगि सक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरू नवीकरण गर्न समेत नआएको उनले बताए । ‘यहाँ मल वितरणका लागि १५४ वटा सहकारी दर्ता भएका छन् जसमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै नवीकरण गरेका छन्,’ कार्यालय प्रमुख जोशीले भने, ‘सहकारीहरूले समयमा मल नलग्दा समस्या भएको छ ।’ उनले कञ्चनपुरमा रासायनिक मल अभाव नरहेको बताउँदै सहकारीले समयमा मल नलग्दा किसान समस्यामा पर्ने गरेको बताए ।  ‘हामीले सिधैं किसानलाई मल बिक्री गर्न मिल्दैन, सहकारीमार्फत कोटा अनुसार मल वितरण गर्ने हो,’ उनले भने, ‘सहकारीले मल लिन नआएपछि पालिकाहरुलाई पत्राचार गरेका छौँ ।’ हाल कञ्चनपुरका ९ वटा स्थानीय तहमा कोटा अनुसार सहकारीलाई मल वितरण गरिँदै आएको छ । ‘रासायनिक मल आउनेक्रम जारी छ, एक चरणको कोटाको मल हामीले वितरण गरिसकेका छौँ । अहिलेसम्म मल अभाव भएको छैन हामीसँग पर्याप्त मल मौज्दात छ,’ जोशीले भने ।  उनका अनुसार हालसम्म ५०० मेट्रिक टन डिएपी वितरण भइसकेको छ । एक हजार १०० मेट्रिक टन डिएपी मौज्दात छ । त्यसैगरी युरिया ५०० मेट्रिक टन वितरण भइसकेको छ भने ३०० मेट्रिक टन गोदाममा मौज्दात रहेको छ । अहिले पनि रासायनिक मल आउनेक्रम जारी रहेकाले मलको अभाव नहुन कृषि सामग्री केन्द्रले जनाएको छ । यहाँका किसानहरूले भने समयमा रासायनिक मल नपाउँदा हिउँदे बाली लगाउन समस्या भएको गुनासो गरेका छन् ।  ‘कृषि सामग्री कम्पनीले सिधैं किसानलाई मल दिँदैन सहकारीमार्फत दिन्छ,’ बेदकोट नगरपालिका-६ का कृषक सेटसिंह रानाले भने, ‘हामीले तरकारी लगाइसक्यौँ मल पाएका छैनौँ अहिले  सहकारीमा जाँदा मल छैन भन्छन् ।’ सहकारी नियमनको जिम्मेवारी स्थानीय तहको भए पनि प्रभावकारी रुपमा सहकारीको नियमन नहुँदा सहकारीहरू जिम्मेवार नबनेका किसानको बुझाइ छ ।  भीमदत्त नगरपालिका-८ का कृषक वीरसिंह थापाले भने, ‘कृषि सामग्री कम्पनीमा जाँदा मल पर्याप्त छ भन्छन् सहकारीले मल छैन भन्छ यसको नियमन गर्ने स्थानीय तहले हो त्यो हुन नसक्दा हामी समस्यामा परेका छौँ ।’

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, केही स्थानमा मध्यम वर्षा र हिमपात

काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ । त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यी कुराले गर्छ मिर्गौलालाई हानी, तुरुन्तै रहनुहोस् टाढा

काठमाडौं । राम्रो स्वास्थ्यको लागि पहिलो कदम भनेको तपाईंको भान्सामा पौष्टिक खाना हुनु हो । धेरै खानेकुराहरू चिनी र सोडियमको लुकेको स्रोत भएकाले तपाईंको फ्रिजमा के राखिएको छ र यसलाई खाँदा शरीरको कलेजो, मिर्गौला र मुटु जस्ता अंगहरूमा कस्तो प्रभाव पर्छ भनेर जान्न महत्त्वपूर्ण छ ।  अमेरिकाको नेशनल किड्नी फाउन्डेसनको रिपोर्ट अनुसार आजकल मिर्गौलासम्बन्धी रोग बढ्दो छ । यसका दुई प्रमुख कारणहरू मधुमेह र उच्च रक्तचाप हुन् । तर यदि तपाईंले यी रोगहरूलाई नियन्त्रण गर्नुभयो भने मिर्गौला रोगलाई धेरै हदसम्म रोक्न वा ढिलो गर्न सकिन्छ । आउनुहोस यसका लागि हामीले कस्ता खानेकुरा नखाने जानौं।  मिर्गौलाको लागि के नखाने ? स्वस्थकर खानेकुरा छनौट गरी चिनी, बोसो, सोडियम र नुनको सेवन नियन्त्रण गर्ने हो भने मृगौला रोगको जोखिम कारकहरूबाट बच्न सकिन्छ । यी परिवर्तनहरूले तपाईंको मृगौलाको प्रतिरक्षालाई बलियो बनाउन सक्छ । सोडाबाट टाढा रहनुहोस्  सोडा चिनीले भरिपूर्ण हुन्छ । चिनीले तौल बढाउन सक्छ । धेरै अनुसन्धानहरूले सोडालाई ओस्टियोपोरोसिस, मिर्गौला रोग, मेटाबोलिक सिन्ड्रोम र दाँतको रोगको कारण देखाएका छन् । डाइट सोडामा क्यालोरी कम हुन सक्छ तर यसमा कुनै पोषण हुँदैन । यसमा कृत्रिम गुलियो पदार्थ जस्ता थप पदार्थहरू हुन्छन् । त्यसैले सोडा छोड्नुहोस् र पानी पिउनुहोस् । यदि तपाईंलाई धेरै सादा पानी पिउन समस्या भइरहेको छ भने स्वाद बढाउन ताजा फलफूल वा कागतीको रस पनि मिसाउनु सक्नुहुन्छ ।   प्रशोधित मासु खतरनाक  मिर्गौला स्वस्थ राख्न आफ्नो आहारबाट प्रशोधित मासु हटाउनुहोस् । प्रशोधित मासु सोडियम र नाइट्रेटको स्रोत पनि हुन सक्छ । जसले क्यान्सरको जोखिम पनि बढाउँछ ।  त्यसैले, ताजा र कम बोसो भएको मासु उत्पादनहरू छनौट गर्नु उपयुक्त हुन्छ ।  स्वादिष्ट मक्खन स्वस्थकर हुँदैन  बजारमा स्वादिष्ट मक्खन स्वास्थ्यका लागि हानिकारक हुन्छन् । बजारका बटरमा कोलेस्ट्रोल, क्यालोरी र स्याचुरेटेड फ्याट प्रशस्त मात्रामा पाइन्छ ।  यसमा प्रायः ट्रान्स फ्याट हुन्छ । त्यसैले घरमै बनाएको शुद्ध घ्यू, बटर वा जैतुनको तेल प्रयोग गर्दा स्वाथ्यका लागि लाभदायक हुन्छ । मेयोनेजबाट टाढा रहनुहोस् स्यान्डविच, बर्गर र फ्राइज जस्ता चीजहरूमा एक चम्चा मेयोनेज थप्दा तिनीहरूको स्वाद बढ्छ । तर के तपाईंलाई थाहा छ केवल एक चम्चा मेयोनेजमा १०३ क्यालोरी हुन्छ । यसमा फ्याट पनि उच्च हुन्छ । मेयोनेज पनि कम क्यालोरी र फ्याट सामग्रीको साथ उपलब्ध हुन्छ । तर यसमा सोडियम र चिनी उच्च हुन्छ । यसमा प्रोटिनको मात्रा धेरै हुन्छ र सलादसँग राम्रोसँग जान्छ । जमेको खाना विश्वभरका धेरै अध्ययनहरूले प्रशोधित खानाले टाइप २ मधुमेहको जोखिम बढाउँछ भन्ने देखाएको छ । जबकि फ्रोजन अर्थात् फ्रोजन पिज्जा, ग्रेभी जस्ता पूर्व–तयार गरिएका वस्तुहरूमा धेरै चिनी, सोडियम र बोसो हुन सक्छ।   सबै जमेका खानाहरू एकैनासका नहुने भए तापनि सम्भव भएसम्म ताजा र सम्पूर्ण खाना खानु राम्रो हुन्छ ।  जमेको खाना छनौट गर्दा पनि, लेबल ध्यानपूर्वक पढ्नुहोस् र कम सोडियम वा सोडियम नभएको जमेको खाना छनौट गर्नुहोस् ।

डेडिकेटेड र ट्रंकलाइन विवादः ६ उद्योगले बुझाए ३० लाखभन्दा बढी धरौटी

काठमाडौं । ६ वटा उद्योगले नेपाल विद्युत प्राधिकरणलाई धरौटीवापत ३० लाख ५७० रुपैयाँ ८० पैसा बुझाएका छन् । धरौटी बुझाएसँगै ६ वटा उद्योगको विद्युत लाइन पुनः सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार हिजो बुधबार चारवटा उद्योगको विद्युत लाइन जोडिएको थियो । त्यसैगरी, त्यसअघि कार्त्तिक ८ गते दुईवटा उद्योगले धरौटी बुझाएसँगै बिजुलीको लाइन जोडिएको थियो ।  प्रिमियम महसुलको बक्यौता रकम बुझाउने उद्योगहरूमा पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल, सिद्धार्थ पेट प्लान्ट, श्याम प्लाष्टिक, घराना फूड तथा गोयन्का फुड्स रहेका छन् । यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । यसअघि २५ वटा उद्योगको विद्युत लाइन काटिएको थियो । धरौटी रकम बुझाएलगत्तै प्राधिकरणले तत्काल बिजुलीको लाइन जडान गरिरहेको छ ।   १९ उद्योगहरूमध्ये केही उद्योगहरूले पनि बक्यौता रकम बुझाउन प्रक्रियामा रहेको र किस्ता तिर्न थालेपछि लाइन जोडिने प्राधिकरणले जानकारी दिएको छ । ‘हामीले उद्योगहरूलाई पैसा तिर्नुस्, लाइन जोडिन्छ भनेका छौं । पैसा तिरेपछि बिजुलीको लाइन जोडिन्छ,’ कार्यकारी निर्देशक सिलवालले विकासन्युजसँग भने ।

स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल एनपीएस नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीचएनपीएस नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ)तथा हेड अफ कभरेज, नेपाल श्री गोरख राणा तथा एनसीएचएलका तर्फबाट सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनपीएस–एनसीएसको पूर्वाधारको तयारीपश्चात् व्यवसायीक सञ्चालन गर्ने तयारीमा रहेको एनसीएचएलले हालै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि स्विच इन्टिग्रेट गर्न आवश्यक समन्वय र सहयोग गर्दे आएको छ । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि उक्त कार्ड अक्वायर र इस्यू गर्न सक्नेछन् । एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ। एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी र १०० भन्दा बढी गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस–एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाइँमा पुर्‍याउने अपेक्षा गरिएको छ । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले देशभरि रहेका १४ वटा शाखा, ४ विस्तारित काउन्टरहरु तथा २५ एटीएम टर्मिनलमार्फत ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।  

रुपन्देहीमा उत्पादन भएको फ्रेन्च फ्राइज अमेरिका निर्यात

काठमाडौं । रुपन्देहीमा उत्पादन भएको फ्रेन्च फ्राइज अमेरिका निर्यात भएको छ । क्वालिटी फुड प्रोडक्ट्सका सञ्चालक कृष्ण पौडेलको फस्ट च्वाईस फुड्स लिमिटेडबाट उत्पादित फ्रेन्च फ्राई मंगलबार (आज) भैरहवा भन्सार र कलकत्ता बन्दरगाह हुँदै अमेरिकाका लागि निर्यात भएको हो ।  रुपन्देहीको शुद्धोधन गाउँपालिकामा पाँच वर्षअघि स्थापना भएको फर्स्ट च्वाइस फुड्सले यसअघि भारतमा पनि निर्यात गर्दै आइरहेको थियो ।  आज भैरहवा भन्सार कार्यालयबाट दुईवटा कन्टेनर ४२ मेट्रिक टन फ्रेन्च फ्राइज बोकेर कोलकाता बन्दगाहका लागि छुटेको पौडेलले जानकारी दिए । उनले नेपाल र भारतबाहेक तेस्रो मुलुकमा स्वदेशमा उत्पादिन वस्तु पठाउन पाएकोमा खुसी व्यक्त गरे ।  पौडेलका अनुसार अमेरिकाको सम्बन्धित निकायले नेपाली आलुबाट बनेको फ्रेन्च फ्राइजको गुणस्तर चेकजाँच गरिसकेको छ । अब हरेक साता अमेरिकाका लागि भैरहवा भन्सारबाट फ्रेन्च फ्राइज निर्यात हुने उनले बताए । फर्स्ट च्वाइस फुड्स २ अर्ब लगानीमा सञ्चालनमा आएको हो । यसले नेपालका २६ जिल्लाका करिब ३५ हजार किसानबाट आलु खरिद गर्छ ।   करिब ५ बिघा क्षेत्रफलमा ६० हजार स्क्वायर फिटमा फैलिएको उद्योगले यो वर्ष किसानबाट करिब २ हजार मेट्रिक टन आलु उद्योगले खरिद गरेको छ ।  उद्योगले किसानबाट वार्षिक ३० हजार मेट्रिक टन आलु खरिद गरी प्रशोधन गरी विभिन्न परिकार बनाउने लक्ष्य लिएको पौडेलले जानकारी दिए । 

परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय

काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय नियुक्त भएका छन् । महाशाखा निर्देशक रहेका डा. विवेककुमार लाल भ्रष्ट्राचारको अभियोगमा विशेष अदालतमा मुद्धा दायर भएपछि उनी  निलम्बनमा परेका थिए । विवेककुमार निलम्बनपछि रिक्त निर्देशक पदमा डा. उपाध्याय नियुक्त भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. उपाध्यायलाई महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिएको हो । डा. उपाध्याय वीर अस्पतालमा कार्यरत थिए ।