एनआईसी एशियाले गुमाएको लय र सुजित शाक्यले पाएको जिम्मेवारी
काठमाडौं । एनआईसी एशिया बैंकले एक दशकपछि परिपक्व नेतृत्व पाएको छ । कात्तिक १७ गते बैंक सञ्चालक समितिले सुजित शाक्यलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय लिएको छ । शाक्यले मंसिर १७ गतेदेखि जिम्मेवारी समाल्ने छन् । आगामी चार वर्षका लागि शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ । नजिकबाट नियाल्नेहरू सुजित शाक्यलाई राम्रो बैंकर्स मान्दछन् । शाक्यले हिमालयन बैंक, तत्कालीन लक्ष्मी बैंक, तत्कालिन बैंक अफ एशिया नेपाल, एनआईसी एसिया बैंक, तत्कालिन सिभिल बैंक, तत्कालिन जनता बैंक, ग्लोबल आइएमई बैंक र नबिल बैंकमा गरी ३ दशक काम गरेका छन् । नबिल बैंकका तत्कालीन अध्यक्ष शम्भु पौडेल र सञ्चालक उपेन्द्र पौडेल (हाल अध्यक्ष) ले सुजितलाई अनिल शाहको कार्यकालपछि प्रमुख कार्यकारी अधिकृत बनाउन सकिने आश्वासनसहित नबिल भित्र्याएका थिए । नबिलले नेपाल बंगलादेश बैंक प्राप्तिसँगै अनिल शाहले अवकाश पाए । मर्जपछि नेपाल बंगलादेश बैंकबाट अवकाश भएका ज्ञानेन्द्रप्रसाद ढुंगाना नबिलको प्रमुख कार्यकारी अधिकृत बने । ढुंगानाको बर्हिगमनपछि मनोज ज्ञवालीले बाजी मारे । शाक्य निरास बने । नयाँ अवसरको खोजीमा रहेका शाक्यलाई एनआईसी एशियाले भित्र्याएको छ । तर, शाक्यका लागि नयाँ जिम्मेवारी निकै कठिन हो । बैंकको खस्कदो व्यापारमा सुधार ल्याउनु, नियामकीय निर्देशनहरुको परिपालना गर्नु, ग्राहक माझ बढ्दो असन्तुष्टि कम गर्दै बैंकको छवि सुधार गर्नु र लगानीकर्तालाई उचित प्रतिफल दिनु उनका प्रमुख कार्य हुनेछन् । बैंकभन्दा एनआईसी एशियालाई राम्रो बनाउने शाक्यलाई एक कार्यकालको समय अपुग नै हुनेछ । सशीनको विरासत वि.सं २०५५ सालमा स्थापना भएको तत्कालीन एनआईसी पाँच वर्ष पूरा गर्दै थियो । नयाँ बैंक भएकाले पुरानासँगको प्रतिस्पर्धामा पछाडी मात्र थिएन, बैंक रुग्ण पनि थियो । २०६० सालमा यस बैंकको प्रमुख कार्यकारी अधिकृत भए सशीन जोशी । जोशीले यस बैंकमा १२ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले । २०७० असारमा बैंक अफ एशिया गाभिएपछि एनआईसी एशिया बैंकमा रुपान्तरित भयो । दुई वाणिज्य बैंकबीचको पहिलो मर्जरलाई सफल बनाउने कार्यमा पनि जोशीले सफलता हासिल गरे । जोशीको नेतृत्वमा एनआईसी एशिया बैंक ठूलो मात्र भएन, सशक्त बैंक बन्यो । सोही बैंकमा गरेको कर्मले जोशीलाई काबिल बैंकर्सको परिचय पनि दियो । वि.सं २०७२ जेठमा जोशीको कार्यकाल सकियो । त्यसपछि २०७४ फागुनसम्म लक्ष्मण रिसाल प्रमुख कार्यकारी अधिकृत भए । बैंकले रिसाललाई २ वर्ष अवधिको लागि नियुक्ती दिएको थियो । सञ्चालक समितिले कार्यकाल थप नगर्ने जनाउँ दिएपछि २ वर्षे कार्यकाल पनि पूरा नहुँदै रिसालले पदबाट राजीनामा दिएका थिए । उनले बैंकमा दूरगामी प्रभाव छोड्न सकेनन् । ९ महिना कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका रोशन कुमार न्यौपानेलाई बैंकले २०७५ मंसिरमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्यो । न्यौपानेको नेतृत्वमा एनआईसी एशिया बैंकले बैकिङ क्षेत्रमा उत्पात मच्चायो । परम्परागत र दीगो बैकिङ छोडेर एनआईसी एशिया मर्डन र एग्रेसिभ मूभमा गयो । आक्रामक बन्दाको परिणाम तथ्यसिद्ध विषय के छ भने नारायणदास मानन्धर जस्ता परम्परागत बैकिङ अभ्यासलाई जोड दिने बैंकर्स सफल भए । तर, आक्रामक बैकिङ गर्ने कमल ज्ञवाली, रोशन न्यौपानेहरु असफल भए । नेपालमा आक्रामक बैकिङमा होमिनेहरु कि थला परेका छन् कि पतन भएका छन् । आक्रामक बैकिङ अभ्यास गर्दा किष्ट बैंक पतन भएको सम्झना पूराना बैंकर्सलाई छ । किष्टकै शैली पछ्याउँदा एनआईसी एशिया अहिले थला परेको छ । आर्थिक वर्ष २०७७/७८ मा नेपालको वित्त बजारमा निक्षेप र कर्जा विस्तार ऐतिहासिक रुपमा उच्च रह्यो । उक्त वर्ष नेपालमा औसतमा निक्षेप वृद्धि २० प्रतिशतले र कर्जाको वृद्धि २८ प्रतिशतले भएको थियो । त्यस वर्ष एनआईसी एशिया बैंकको निक्षेप ४३ प्रतिशतले र कर्जा ५२ प्रतिशतले वृद्धि भयो । त्यतिबेला बैंक कति धेरै आक्रामक थियो भन्ने तथ्य यसले देखाउँछ । एक वर्ष मात्र होइन, ६ वर्षसम्म यस बैंकको ग्रोथ अरु बैंकको भन्दा माथि थियो । २०७५ देखि २०८१ सम्ममा बैंकको निक्षेप १३४ प्रतिशतले वृद्धि भयो । सो अवधिमा कर्जा लगानी १३७ प्रतिशतले वृद्धि भयो । कुल सम्पत्ति १४१ प्रतिशतले वृद्धि भयो । जुन वर्ष (आर्थिक वर्ष २०७७/७८) बैंकले उच्च अंकमा व्यापार वृद्धि गर्यो, सोही वर्ष बैंकले सेयरधनीलाई दिने लाभांश शून्यमा झर्यो । त्यसअघिका वर्षहरुमा बैंकले सेयरधनीलाई नियमित लाभांश खुवाएको थियो । मर्जपछिका केही वर्ष सेयरधनीलाई लाभांश खुवाउन नसकिने नजिर धेरै बैंकले सेट गरेका छन् । तर, एनआईसी एशियाले नियमित सेयरधनीलाई लाभांश खुवाउँदै आएको थियो । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा क्रमशः २१ प्रतिशत र २० प्रतिशतका दरले लाभांश खुवाएको थियो । आर्थिक वर्ष २०७७/७८ मा एनआईसी एशियाले ३ अर्ब २५ करोड नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरे पनि नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न रोक लगायो । त्यसपछिका ६ आर्थिक वर्षमध्ये एक पटक मात्र बैंकले सेयरधनीलाई लाभांश खुवाउन सकेको छ । लाभांश शून्यमा झर्नुमात्र यस बैंकको पीडा होइन । पछिल्ला वर्ष बैंकको व्यापार पनि संकुचित भएको छ । २०८१ असार मसान्तमा ३५४ अर्ब निक्षेप पुगेकोमा २०८२ असारमा ३१९ अर्बमा झरेको छ । कर्जा पनि २८५ अर्बबाट घटेर २२४ अर्बमा झरेको छ । एक वर्षमा बैंकको निक्षेप करिब ३५ अर्ब रुपैयाँले र कर्जा करिव ६१ अर्बले घटेको छ । एक वर्षमा निक्षेप करिब १० प्रतिशतले झर्दा र कर्जा २१ प्रतिशतले झर्दा बैंकको नाफामा पनि ठूलो असर देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ४४ करोड नाफा गरेको बैंकले आर्थिक वर्ष २०८१/८२ मा जम्मा १६ करोड रुपैयाँ नाफा गरेको छ । एकातिर प्रकाशित वित्तिय विवरणहरुले बैंक थला परेको देखिन्छ भने अर्कोतिर यस बैंकमाथि राष्ट्र बैंकले गरेका सिलसिलेबार कारवाहीहरु, ऋण असुलीका लागि बैंकले प्रकाशित गरेको सूचनाहरु, अदालतमा थुप्रिदै गएका बैंक र ऋणीबीच विवादका मुद्दाहरु, बैंकका कर्मचारीहरुले उच्च व्यवस्थापनप्रति व्यक्त गरेको असन्तोषहरुको अगणितिय समस्याका चाङ धेरै ठूलो देखिन्छ । ७० को दशकमा बैंकले लिएको कर्जा नीतिको असफलताको परिणाम बैंकले ८० को दशकमा भोग्न थालेको छ । ७० को दशकमा बैंकले शाखा विस्तारबारे लिएको नीति र लगत्तै प्रविधिमा आएको परिवर्तन तथा डिजिटल बैकिङ अभ्यासले मारेको फड्कोले बैंकलाई पारेको प्रतिकूल असरसँग बैंकले बल्ल अनुभूति गर्दैछ । ३६० शाखा, ६७० वटा एटीएम, ११५ वटा काउन्ट अफिस, ३ हजार ५०० भन्दा बढी कर्मचारीले बैंकको सञ्चालन खर्च उच्च बिन्दुमा पुर्याएको छ । राष्ट्र बैंकको दबावमा ग्रामिण क्षेत्रमा खुलेका शाखाहरुले गरिरहेको संचित घाटाले मुख्यालयको नाफा घटाइरहेको छ । बैंकका बारेमा बढ्दो नेगेटिभिटीको असरले बैंकको निक्षेप कर्जामा संकूचन बढेको छ । आम्दानी र खर्चबीच सन्तुलन गर्न बैंकलाई कठिन हुँदै गएको तथ्याङ्कले देखाउँदैछ । कुनै पनि बैंकका लागि ग्राहक, कर्मचारी, सेयरधनी र नियामक मुख्य हिस्सेदार हुन् । यी सबै पक्षमा बढ्दो असन्तुष्टि एनआईसी एशिया बैंकका लागि धेरै गम्भीर विषय हो । बैंकको नियमित सञ्चालनमा सञ्चालक समितिको अदृष्य संलग्तादेखि स्वीफ्ट ह्याक जस्ता बैंक अप्रेशनमा भएका गढबढीको समाचारहरूले पनि बैंकको छवि धमिलो बनाउँदै लगेको छ । यी सबै समस्या सुल्झाउदै बैंकलाई लयमा ल्याउन नयाँ प्रमुख कार्यकारी अधिकृत शुजित शाक्यलाई निक्कै कठिन हुनेछ ।
धुर्कोट ट्रान्सफर्मर चोरी काण्ड : तीन भारतीय थुनामा, तीन नेपाली धरौटीमा रिहा
काठमाडौं । धुर्कोट गाउँपालिकामा भएको ट्रान्सफर्मर चोरी प्रकरणमा संलग्न भनिएका व्यक्तिहरूमाथि जिल्ला अदालत गुल्मीले मंगलबार आदेश जारी गरेको छ । अदालतले पक्राउ परेका छ जना अभियुक्तमध्ये तीन भारतीय नागरिकहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने र तीन नेपाली नागरिकहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो । अदालतका सूचना अधिकारी कमल पन्थीका अनुसार भारतीय नागरिक बिकेश कुमार, पवन कुमार र अनिल कुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको छ । त्यस्तै, नेपाल विद्युत प्राधिकरणमा करारमा कार्यरत कर्मचारी बिष्णु पोखरेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ । बाँकी दुई जना बिष्णु भुसाल र मधु नेपालीलाई जनही ३५ हजार रुपैयाँ धरौटी तोकिएको अदालतले जनाएको छ । धुर्कोट क्षेत्रमा हालै भएको ट्रान्सफर्मर चोरी घटनापछि प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । सोही क्रममा पक्राउ परेका व्यक्तिहरूको थुनछेक बहस मंगलबार सम्पन्न भएको हो । गुल्मीको धुर्कोटमा ट्रान्सफर्मर चोरी काण्ड, गाउँपालिका अध्यक्षका दाइसहित ६ जना पक्राउ ट्रान्सफर्मर चोरी प्रकरण : जिल्ला अदालतमा मुद्दा दर्ता, ४ लाख रुपैयाँ बराबरको बिगो माग दाबी
बूढीगण्डकी लगानी मोडालिटी तत्काल टुङ्गो लगाऔं : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तत्काल टुङग्याउनु पर्ने बताएका छन् । मन्त्री घिसिङले आयोजनाका प्रगतिका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र प्रवर्धक बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गरी आयोजनालाई यथास्थितमा राख्न नहुने उल्लेख गर्दै लगानी मोडालिटीका विषयमा तत्काल निर्णय गरिनुपर्ने बताए । घिसिङले आयोजनाको वित्तीय विश्लेषणमार्फत लगानी मोडालिडी तत्काल तय गरी पेश गर्न कम्पनी व्यवस्थापनलाई आग्रह गरे । ‘जग्गा अधिग्रहणका लागि हालसम्म गरिएको खर्च, वन क्षेत्रको जग्गा उपभोग एवम् कटान हुने रुखको क्षतिपूर्ति रकम, भन्सार महशुल एवम् मूल्य बृद्धि करलगायतका छुट दिइएमा आयोजना लगानीका लागि सम्भाव्य बन्न सक्छ,पेट्रोलियम इन्धन आयातमा लगाउदै आएको पूर्वाधार करको आधा रकम सिधै आयोजनाको खातामा जम्मा गर्ने व्यवस्था गर्न सकिएमा लगानीका लागि कुनै समस्या हुँदैन, उक्त रकम खर्च गर्दै जान सकिन्छ, नेपाल विद्युत प्राधिकरणको साधारण सेयर सर्वसाधारलाई निश्कासन गरेर पनि आयोजनाका लागि पैसा सङ्कलन गरिन्छ’ घिसिङले भने, ‘आयोजनामा ५० प्रतिशत स्वःपूजी (इक्विटी) र ५० प्रतिशत ऋण रहने र नेपाल सरकारले भार नपर्ने गरी लगानी मोडालिटी तयार गरी तत्काल पेश गर्नुहोस् ।’ परामर्शदाताले सन् २०१५ मा तयार पारेको प्रतिवेदनअनुसार आयोजनाको अनुमानित लागत २ अर्ब ५९ करोड अमेरिकी डलर रहेको छ । हालको मूल्यमा पुनरावलोकन गरिएको आयोजनाको अनुमानित लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ३२ अर्ब रुपैयाँ) रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । कम्पनीले लगानीका सरकारबाट सम्भाव्य पूर्ति लगानी उपलब्ध हुँदा र नहुँदाका दुईवटा मोडालिटी तयार गरेको छ । पहिलो विकल्पमा सरकारले भिजिएफ उपलब्ध नगराएमा इक्विटी र ऋणको अनुपात क्रमश : २५ र ७५ प्रतिशत रहने प्रस्ताव गरिएको छ । यसका लागि जग्गा प्राप्तिलगायतका काममा सरकारबाट भएको खर्चलाई इक्विटीमा समावेश गरी थप र सहुलियतपूर्ण ऋण लगानीको रुपमा उपलब्ध हुनुपर्ने प्रस्ताव गरिएको छ । दोस्रो विकल्पमा भिजिएफ उपलब्ध भएमा इक्विटी र ऋण अनुपात क्रमशः ३० र ७० प्रतिशत रहने प्रस्ताव गरिएको छ । जग्गा प्राप्ति, सार्बजनिक पूर्वाधारहरुको पुनस्र्थापना, वातावरण संरक्षण र वन क्षेत्र प्रयोगको लागि खर्च बापतको आवश्यक ७३ अर्ब रुपैयाँ सरकारले अतिसहुलीयतपूर्ण ऋण प्रदान गर्नुपर्ने प्रस्ताव गरिएको छ । इक्विटी वापतको रकम सरकार, प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र सर्वसाधारण नागरिकबाट सङ्कलन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र टेण्डर कागजात तयारी अवस्थामा रहेका छन् । आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ । जग्गाको मुआब्जा, संरचना, बोटबिरुवा तथा फलफूलको क्षतिपूर्ति बापत जग्गाधनीलाई ४२ अर्ब ६५ रुपैयाँ वितरण गरिएको छ । आयोजनाबाट भौतिक तथा आर्थिक रुपमा गोरखा र धादिङका ८ हजार एक सय १७ घरपरिवारका प्रभावित हुने छन् । यसमध्ये ३ हजार ५ सय ६० घरपरिवार पूर्ण रुपमा विस्थापित हुने छन् । काठमाडौं, चितवन, पोखरा जस्ता विद्युत् भार (लोड) सेन्टरबाट नजिक रहेका कारण पनि बूढीगण्डकी ऊर्जा सुरक्षाका दृष्टिकोणबाट रणनीतिक महत्वको रहेको छ । गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि २६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइने छ । जसबाट धादिङका साबिका १४ गाविस (हाल ४ गाउँपालिका तथा १ नगरपालिका) र गोरखाका १३ गाविस (हाल ४ गाउँपालिका) प्रभावित हुने छन् । बाँध बाँधेपछि धुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटर फैलने छ । बुढीगण्डकीमा बन्ने ६३ वर्ग किलोमिटरको कारण रोजगारी, व्यवसाय, पर्यटन हव, माछापालन लगायतका लाभ लिन सकिने अवस्था छ । आयोजनाको अधिकतम जलशतह ५४० मि.सम्म रहने छ । आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ३८ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने छ ।
नाम दर्ता परीक्षामा असफल हुँदै नर्स पिसिएल नर्सिङमा १७ प्रतिशतमात्र पास
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिएको नाम दर्ता परीक्षामा १७.४४ प्रतिशत नर्समात्र उत्तीर्ण भएका छन् । कात्तिक १६ गतेदेखि १८ सम्म लिएको परीक्षामा ६ सय २ पिसिएल नर्सिङ मध्ये १ सय ५ जनामात्र उतिर्ण भएका छन् । नर्सिङ परीक्षाका लागि ६ सय ४५ जनाले फारम भरेका थिए । यस्तै बीएस्सी नर्सिङ तर्फ ४५.७१ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षाका बेला २ सय १० जना मध्ये ९६ जना मात्रै पास भएका छन् । बीएस्सी नर्सिङमा २ सय १७ जनाले फारम भरेका थिए । विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा भने ५६.१८ प्रतिशत पास भएका नेपाल नर्सिङ परिषदले जनाएको छ । परीक्षामा ८९ जना सहभागी मध्ये ५० जना मात्रै पास भएका छन् । बीएमएस (व्याचलर अफ मिडवाइफ्री)मा भने परीक्षामा सहभागी २७ जना नै उत्तीर्ण भएका हुन् ।
एमालेप्रति संकेत गर्दै रामकुमारी झाक्रीले भनिन् - विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो
काठमाडौं । नेकपा (एकीकृत समाजादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)मा नै एकतावद्ध हुने पक्षमा आफूहरु रहेको बताएकी छन् । बुधबार काठमाडौंमा आफ्ना समूहका नेताहरुसहित पत्रकार सम्मेलन गरी उनले एमालेप्रति संकेत गर्दै आफूहरु त्यसै एकतावद्ध हुने बताएकी हुन् । उनले बोल्नु अघि नै नेता कृष्णकुमार श्रेष्ठले आफूहरु एमालेमा विना शर्त फर्कने बताएका थिए । सोही भनाईप्रति संकेत गर्दै उनले विचार र सिद्धान्त मिल्ने पार्टीमा आफूहरु एकतावद्ध हुने बताइन् । देशभरका एकीकृत समाजवादी पार्टीमा आवद्ध नेता, कार्यकर्ताहरुलाई पनि आफूहरु उभिएको ठाउँमा एकतावद्ध भएर उभिन आह्वान गरिन् । नयाँ पार्टीहरुले केही पनि गर्न नसक्ने कुरा जेनजी आन्दोलनले पनि देखाएको उल्लेख गर्दै उनले आफूहरु रुपान्तरित भएर अघि बढ्नुपर्ने बेला आएको बताइन् । उनले भनिन्,‘हामीले विचार र सिद्धान्त मिल्ने पार्टीमा हामी एकतावद्ध हुने नै हो । किसान दाईले त फोरकाष्ट गरिहाल्नु भयो । एकतावद्ध हुने नै हो । त्यसो गर्दा हामीले कम्तिमा रुपान्तरित हिसावले हामी जाउ । हामी पनि रुपान्तरण हुन आवश्यक छ भन्ने कुरा छ । देशभरीका साथीहरुलाई विचलित नहुनुहोस । अहिले पार्टी भत्कियो, परिवार भत्कियो । अहिले सब चिज यो भत्किएको बेला हामीले निर्माण गर्ने हो ।’ नेतृ झाँक्रीले नयाँ पार्टीहरुले मुलुकमा केही पनि गर्न नसक्ने कुरालाई सबैले आत्मासात गरेर अघि बढ्नुपर्ने पनि बताइन् ।
हुन्डाईको नयाँ पुस्ताको भेन्यु सार्वजनिक, डिजाईनदेखि फिचरसम्म सबैमा परिवर्तन
काठमाडौं । हुन्डाईले भारतीय बजारमा नयाँ पुस्ताको हुन्डाई भेन्यु सार्वजनिक गरेको छ । यसपटकको भेन्युमा बाहिरी देखावटदेखि आन्तरिक क्याबिनसम्म व्यापक परिवर्तन गर्दै आधुनिक प्रविधि र प्रिमियम लुकलाई प्राथमिकता दिइएको छ । नयाँ भेन्युको अगाडि क्रोम इन्सर्टसहितको आयताकार ग्रिल, ठाडो क्वाड–बीम एलईडी हेडलाइट, सी आकारको डीआरएल, पछाडि कनेक्टेड टेललाइट क्लस्टर र थ्री–डी भेन्यु लोगो जडान गरिएको छ । साइड प्रोफाइलमा १६ इन्चको अलोय ह्विल र सी-पिलरमा सिल्भर इन्सर्ट राखिएको छ । रग्ड लुक दिनका लागि अगाडि र पछाडि मोटा फक्स स्किड प्लेट पनि थपिएको छ । यसको क्याबिन पूर्ण रूपमा पुनःडिजाइन गरिएको छ । नयाँ ड्यासबोर्डसहित १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, ४-वे पावर ड्राइभर सिट, वायरलेस चार्जर र एम्बियन्ट लाइटिङ जस्ता उन्नत सुविधा समावेश गरिएको छ । सुरक्षाका लागि अगाडि र पछाडि एयरब्याग, एबीएस, ईबीडी, ईएससी आदि फिचर थपिएका छन् । नयाँ भेन्युमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध छन् । टर्बो पेट्रोल इन्जिनले अधिकतम १२० पीएस शक्ति उत्पादन गर्छ । पहिलोपटक डिजेल भेरियन्टमा ६-स्पिड अटोमेटिक गियरबक्स उपलब्ध गराइएको छ भने यसको डिजेल म्यानुअल भेरियन्टले २०.९९ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । यो एसयूभीले भारतीय बजारमा महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन, मारुती ब्रेजा, स्कोडा कुसोक तथा किया सोनेटजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
छाया सेन्टरको व्यापार ९० करोड, आईपीओको मूल्य ४ सय
काठमाडौं । ठमेलस्थित छायादेवी कम्प्लेक्स (छाया सेन्टर)को व्यापारमा वृद्धि आएको छ । पाँच तारे होटल र व्यावसायिक मल समेत रहेको छायादेवी कम्प्लेक्स लिमिटेडले सन् २०२५ मा ९० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हो । कम्पनीले गत वर्षको भन्दा ६.३५ प्रतिशत अर्थात् ५ करोड ४० लाख रुपैयाँ बढी व्यापार गरेको हो । जबकि सन् २०२४ मा कम्पनीले ८५ करोड रुपैयाँको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा ८३ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा ८४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्प्लेक्सको कुल क्षेत्रफलमध्ये ५१ प्रतिशत क्षेत्र होटल सञ्चालनको लागि छुट्याइएको छ भने बाँकी क्षेत्र व्यावसायिक परिसरको लागि छुट्याइएको छ । जनवरी २००८ मा स्थापना भएको छायादेवी कम्प्लेक्सले १६७ कोठा भएको पाँचतारे होटल अलफ्ट सञ्चालक गरिरहेको छ । छायादेवी कम्प्लेक्सको सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे छन् । उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष समेत हुन् । यस्तै, कम्पनीको सञ्चालकमा सुमन बिक्रम पाण्डे, सहृदराज घिमिरे र महेश प्रकाश श्रेष्ठ रहेका छन् । कम्पनी जुन २५, २०२१ मा पब्लिक लिमिटेडमा रुपान्तरण भई आईपीओ निष्काशनको प्रक्रिया समेत अघि बढाइसकेको छ । छायादेवी कम्प्लेक्सले अंकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँका दरले आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १४ लाख ३७ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा समेत आवेदन दिइसकेको छ । कम्पनीले आईपीओ जारी गरेर सर्वसाधारणबाट ५७ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल रहेको छ । पौने २ अर्ब रुपैयाँ बैंकको ऋण कम्पनीले कम्प्लेक्स निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट पौने २ अर्ब रुपैयाँ ऋण लिएको छ । कम्पनीले निर्माणका लागि विभिन्न बैंकबाट २ अर्ब ऋण लिए पनि विस्तारै चुक्ता गरेर हाल १ अर्ब ८५ करोड रुपैयाँमा झारेको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले १ अर्ब ८० करोड ७० लाख रुपैयाँ दीर्घकालीन र ४ करोड ३० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ८५ करोड रुपैयाँ ऋण चुक्ता गर्न बाँकी छ । रेटिङ कम्पनी सेयर रेटिङ नेपालले दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस र अल्पकालीन ऋणका लागि ए ३ रेटिङ प्रदान गरेको छ ।
७१ वर्षमा शिक्षामन्त्री पुनले गराए मतदाता नामावलीमा नाम दर्ता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । उमेरले ७१ वर्ष पुगेका उनले काठमाडौंको नयाँ बानेश्वरमा गएर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा नामदर्ता गराउँदै गरेको फोटो राख्दै वलीले नामदर्ता गराएको जानकारी गराएका हुन् । उनले आफू २१ गते हुने निर्वाचनका लागि तयारीमा रहेको बताउँदै मन्त्री पुनले १८ वर्ष पुगिसकेका सबै नेपालीलाई नाम दर्ता गराउन आग्रह गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘अब आउने सरकार जेनजी पुस्ताको बन्नुपर्छ, बुढो पुस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन्, यो कुरा समयान्तर ध्रुवसत्य सावित भइसक्यो त्यसैले अब सबै उमेर पुगेका जेनजी भाइबहिनीहरूले नाम दर्ता गराउनुहोला ।’