विकासन्युज

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन । गत वर्षको भदौ ७ देखि गएको मङ्सिर १६ गतेसम्म मन्दिरमा सङ्कलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि दुई वर्षको अवधिमा सङ्कलित सुन चाँदीको विवरण यकीन भएको थियो । उक्त विवरणअनुसार २०७७ साल भदौ १८ देखि २०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ । दुवैपटक तौल गरिएको सुन बिक्री गरिएको छैन । यसपटक सङ्कलित सुन रिफाइन पछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । यस्तै पाथीभरामा सङ्कलन भएको भेटी रकमसमेत गणना भइरहेको छ । मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले बताए । अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उनको भनाइ छ । रासस

के गर्दैछन् टीयूका ‘गोल्ड मेडलिस्ट’ ?

काठमाडौं । आज नेपाली विद्यार्थीहरूका लागि एउटा पर्व हो । त्रिभुवन विश्वविद्यालयले हरेक वर्ष दीक्षान्त समारोहको आयोजना गरी हजारौं विद्यार्थीलाई दीक्षित गर्छ । ती हजारौं विद्यार्थीहरूमध्ये केहीले उत्कृष्ट अंक ल्याउँदै पदक जित्ने अवसर पाउँछन् । विश्वविद्यालयको पढाइ सकेपछि विद्यार्थी स्वभावैतः श्रम बजारमा प्रवेश गर्छ । ती हजारौं विद्यार्थीहरूमा उच्च अंक प्राप्त गरेर स्वर्ण पदक जितेका विद्यार्थीहरू के गर्छन् होला ? यो जिज्ञासा, चासो र उत्सुकता अधिकांशमा हुन्छ । उनीहरू नेपालमै केही गरिरहेका छन् वा विदेश तिरै होलान् ? त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा ‘गोल्ड मेडल’ पाएका व्यक्तिको खोजी गरी उनीहरू के गरिरहेका छन् भन्नेबारे हामीले सामग्री तयार पारेका छौं । विकास भुसाल अहिले स्याङजाको कालिगण्डकीमा रहेको आदर्श माद्यामिक विद्यालयमा अध्यापन गराउँछन् । २०७९ सालमा शिक्षासेवा आयोगबाट नाम निकालेर उनी त्यहाँ अध्यापन गराउन थालेका हुन् । उनी २०७८ सालका शिक्षा संकाय टपर हुन् । अर्घाखाँचीको सन्धिखर्कका उनी कक्षा १ देखि स्नातकसम्म अर्घाखाँचीमै पढे । कक्षा एकदेखि ५ सम्म गाउँमै रहेको जोगीमारे आधरभूत विद्यालयमा पढेका उनी कक्षा ६ देखि १० सम्म गाउँमै रहेको विजय मावीमा पढे । त्यही स्कुलबाट उनले २०६८ सालमा एसएलसी पास गरे । त्यसपछि उनी प्लसटु पढ्न अर्घाखाँचीको सदरमुकाममा झरे । त्यहाँ उनले प्लसटु र स्नातक पढे । विद्यालय तहमा कक्षामा चौथो हुने उनी प्लसटु र ब्याचलर्समा जिल्ला टप हुन थाले । ब्याचलर्ससम्म जिल्लामै पढेका उनी स्नातकोत्तर पढ्न काठमाडौं आए । उनी शिक्षा शाखा केन्द्रीय विभाग कीर्तिपुरबाट मास्टर पढ्न सुरु गरे । २०७८ सालमा उनी शिक्षा संकायको सबै विषयमा सर्वोत्कृष्ट नम्बर ल्याउँदै ‘गोल्ड मेडलिस्ट’ बने । ‘म जहिले टप बनेको विद्यार्थी अब तल कुनै हालतमा झर्नु हुँदैन भन्ने लाग्यो, त्यही अनुसार मिहिनेत गरें, अन्ततः स्नातकोत्तरमा देशभरकै विद्यार्थीबाट सर्वोत्कृष्ट अंक ल्याएँ,’ उनी खुसी हुँदै भन्छन् । उत्कृष्ट अंक ल्याएर गोल्ड मेडलिस्ट बनेका उनलाई कसरी पढ्दा टपर बन्न सकिन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘निरन्तरता हुनुपर्छ, आज पढ्ने भोलि नपढ्ने गरेर हुँदैन, अर्को कुरा विद्यार्थीले पढ्दा अठोट अथवा लक्ष्य पनि राख्नु पर्‍यो ।’ ००० काठमाडाैंको मिनभवनकी रिस्ता श्रेष्ठ पनि गोल्ड मेडलिस्ट हुन् । उनी अहिले आफ्नै आइटी कम्पनी खोलेर काम गरिरहेकी छिन् । वि.सं. २०७५ सालमा उनले स्कुल अफ म्यानेजमेन्टबाट एम.बि.ए तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्दै गोल्ड मेडल पाएकी थिइन् । उनले गोल्ड मेडलकै लागि भनेर कहिल्यै अध्ययन गरिनन् । तर, सानैदेखि उनी पढाइमा राम्रै थिइन् । ‘परिवारमा सबैजनाले पढ्नुपर्छ, मिहिनेत गर भन्थे, मैले पनि मिहिनेत गरें । तर, नेपाल नै टप हुन्छु भन्ने लागेको थिएन,’ विकासन्युजसँगको कुराकानीमा उनले भनिन् । काठमाडौं उपत्यकामै हुर्के बढेकी उनलाई विकासको जस्तो सरकारी स्कुलमा पढ्न परेन । परिवारमा पनि सबै शिक्षित भएकाले पढ्नुपर्छ भन्ने वातावरणमा उनी हुर्किन् । त्यसैले पनि आफू सर्वोत्कृष्ट नम्बर ल्याउन सफल भएको उनी बताउँछिन् । पढाइको लागि सबैजनाको आ-आफ्नै तयारी हुन्छ । कसैलाई दिनरात घोकेर पढ्ने, कसैलाई बिहान र साँझमात्र पढ्ने र कसैलाई अलिअलि हेर्दा पनि याद हुने हुन्छ । रिस्तालाई भने परीक्षाको बेला धेरै आराम चाहिँन्छ । उनी भन्छिन्, ‘म परीक्षाको बेला घोकेर पढ्दैन, मलाई त्यो बेला मेन्टल रेस्ट बढी चाहिँन्छ, साँझ छिट्टै सुतेर, बिहान पनि ढिलो उठ्छु, मैले गर्ने तयारी भनेको कक्षा सुरु भएदेखि नै हुन्छ ।’ उनी अरुलाई पनि यस्तै सल्लाह दिन्छिन् । पहिलेदेखि नै थोरै-थोरै गरेर तयारी गर्दै जाँदा पछि धेरै घोक्न नपर्ने उनी बताउँछिन् । यसो गर्दा दिमाखलाई धेरै प्रेस पनि नहुने र राम्रो पनि गर्न सकिने उनको अनुभव छ । ००० ललितपुरको कुपण्डोलकी मेरिना नेपाली अहिले नेपाल राष्ट्र बैंकमा काम गर्छिन् । २०७४ सालमा स्कुल अफ म्यानेजमेण्टमा सर्वोत्कृष्ट बनेकी उनी काठमाडौंमै रहेर बैंकमा कार्यरत छिन् । यसरी सर्वाेत्कृष्ट ल्याउँदै गोल्ड मेडल पाएका धेरैजसो अहिले नेपालमै जागिर गरिरहेका छन् । कतिपय गोल्ड मेडल लिस्टहरु त्रिविमै आफूले टप गरेको संकायमा काम गरिरहेका छन् भने कतिपय विदेश गएका छन् । तथ्यांक हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयको ३७औं दीक्षान्त समारोहदेखि ४९औं दीक्षान्त समारोहसम्म आइपुग्दा स्नातकोत्तर तहमा मात्रै ५९ जनाले गोल्ड मेडल पाएका छन् । तीमध्ये धेरै संख्या महिलाको छ । सोमबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औं दीक्षान्त समारोहमा मात्रै स्नातकोत्तर तहमा ५ जना, एमफीलमा एक जना गरी ६ जनाले गोल्ड मेडल प्राप्त गरेका छन् भने ८ जनाले अन्य पुरस्कार पाएका छन् । परदेशमा पुगेका गोल्ड मेडलिस्ट स्याङ्जाको क्याक्मीका लालगोपाल सुवेदी अहिले अमेरिकामा छन् । २०५४ सालमा नेपाली साहित्यबाट ‘लारी स्वर्ण’ पदक पाएका उनी २०६५ सालदेखि अमेरिका बस्दै आएका छन् । नेपालमा रहँदा शिक्षण पेशामा आबद्ध उनी नेपालभन्दा राम्रो अवसर पाउँदा परदेश गएका हुन् । उनी नेपाली साहित्यका एउटा खम्बा हुन् । आज हामीले उनलाई खोज्दा उनी त्रिभुवन विश्वविद्यालयको प्रोफसर वा लेख्चरको रुपमा भेट्नु पर्थ्यो वा कुनै कलेजको प्रिन्सिपलको रुपमा भेट्नु पर्थ्यो तर, बिडम्बना उनलाई सामाजिक सञ्जालमा खोज्नुपर्छ । उनले नेपालमै अवसर नपाएको पनि हैन । व्याकरण, समलोचना, कविता लेखेर पनि भात खान पुगेकै थियो । तर, यतिले परिवार पाल्न प्रयाप्त थिएन । उनले नेपालका विभिन्न विद्यालय कलेजमा पनि पढाए । नेपालमा सामान्य जीवन बिताइरहेका उनी अहिले सबैको सपनाको देश अमेरिका पुगेका छन् । गोल्ड मेडलिस्टलाई टीयूले नै पत्याउँदैन त्रिभुवन विश्व विद्यालयबाट गोल्ड मेडलिस्ट बन्ने मध्येकी एक हुन् युवा नेतृ मानुषीयामी भट्टराई  । उनले आजभन्दा १२ वर्ष पहिले ‘राजनीति शास्त्र’ विषयमा उत्कृष्ट बन्दै गोल्ड मेडल पाइन् । तर, यो मेडलले आफ्नो बायोग्राफीमा एउटा बुँदा थप्नुबाहेक अरु खासै केही नभएको उनको अनुभव छ । यो पदक पाउँदा के लाभ पाइन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘केही लाभ हुन्छ भन्ने मलाई थाहा छैन, कहिँलेकाहीँ तपाईंहरुले गोल्ड मेडलिस्ट भनेर सम्झनुहुन्छ त्यही हो, अर्को एउटा तक्मा, सर्टीफिकेट पाएँ त्यही हो ।’ उनलाई आफू पढेको विद्यालय र पदक पाएको विषयबाटै सेवा गर्ने ईच्छा थियो तर, अवसर नै नपाएको बताइन् । उनी थप्छिन्, ‘अब कति गुनोसो मात्र गर्ने यसैमा केही गरौँ भन्ने सोच थियो, ठ्याक्कै तीन वर्ष पहिले त्रिभुवन विश्वविद्यालयमै सेवा आयोग खुल्यो तर, यत्रो वर्ष हुँदा समेत अहिलेसम्म टीयू सेवा आयोगले परीक्षा नै लिएको छैन ।’ यहिँको गोल्ड मेडलिस्ट यहिँ केही गर्छु भन्दा पनि टीयूले पूर्णरुपले ढोका खोल्न नसकेको उनले सुनाइन् । उनीसँगै मेडल पाएका साथीहरु कहाँ के गर्छन् भन्ने पनि उनलाई त्यत्ति थाहा छैन । तर उनी आफ्नो हकमा यो मेडलले खासै प्रभाव नपारेको बताउँछिन् । तर, यो मेडलले उनलाई साथीभाईले हेर्ने नजर गर्ने व्यवहारमा भने फरक भयो । स्नातकोत्तरमा मात्र हैन मानुषी हरेक वर्ष आफ्नो कक्षामा टप हुन्थिन् । उनी भन्छिन्, ‘म जहिले कक्षा टप हुँदै आएकोले होला यो मेडल पाउँदा नि त्यति महत्व लागेन, तर, साथीभाईले गर्ने व्यवहारमा भने फरक भएको महसुस गरेँ ।’ मानुषीले कहिल्यै यो पदक पाउँछु भनेर मिहिनेत गरिनन् । उनलाई फिजिक्स, कम्प्युटर, साइन्स पढ्दा मजा लाग्थ्यो तर, साइन्समा केमेस्ट्री त्यत्ति मन पर्दैनथ्यो भने, हिस्ट्री पनि त्यत्ति मन पर्दैनथ्यो । उनलाई मनपर्ने भनेको जीओग्राफी र नेपाली, अंग्रेजी दुवै भाषा पढ्न खुब मन पर्थ्यो । पढाइको कुरा गर्दा उनले भनिन्, ‘मलाई कलेजमा राजनीति विज्ञान पढ्दा सार्वजनिक प्रशासन (पब्लिक एडमिनिस्ट्रेसन) एकदम पट्यार लाग्दो लाग्थ्यो तर, पछि राजनीतिमा सकृय हुँदा सबैभन्दा काम लाग्ने भनेकै पब्लिक एडमिनिस्ट्रेसन रहेछ । ’ पदक पाएर मात्र के गर्नु गोल्ड मेडल पदक पाएकाहरूका लागि कुनै छुट्टै ऐन नियम छैन । यो कनैपनि विद्यार्थीले आफुले पढेको विषय वा शंकायमा सर्वोत्कष्ट अंक ल्याउँछ भने त्यस्तो विद्यार्थीलाई दिइने पदकमात्र हो । गोल्ड मेडलको पदक पाइसकेपछि के हुन्छ भन्ने विकासन्युजको जिज्ञासामा शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘यसमा त्यस्तो कुनै व्यवस्था छैन, पहिले एक पटक यो विषयमा छुट्टै नीति बनाउने विषय उठेको थियो । तर, अहिले त्यस्तो केही छैन ।’ रिस्ता श्रेष्ठ यो मेडलपछि कुनै छुट्टै नयाँ अनुभव नभएको बताउँछिन् । उनी भन्छिन्, ‘यो पदक पाउँदा सबैले बधाइ त भनेका थिए । तर, त्यस्तो कुनै फरक खालको सम्मान वा केही त्यस्तो फरक महसुस गरिनँ ।’ अर्घाखाँचीका विकासको अनुभव अलि फरक छ । उनी यो पदक पाइसकेपछि आफूलाई हेर्न दृष्टिकोणमा फरक परेको बताउँछन् । उनी भन्छन्, ‘गोल्ड मेडलिस्ट भनिसकेपछि अरुभन्दा यसमा केही एक्स्ट्रा अथवा यो मान्छे दक्ष छ है भन्ने फरक चाहिँ हुन्छ ।’ मेडल र जागिरको सम्बन्ध कुनै पनि विद्यार्थी दक्ष छ भने उसलाई जागिर खोज्न त्यति समस्या हुँदैन । तर, पढाइमा मात्र दक्ष र काम गर्नुपर्ने ठाउँमा अदक्ष छ भने मेडलले मात्र केही हुँदैन । तर, प्राय गोल्ड मेडल पाउने विद्यार्थीहरूमा भने केही फरक पक्कै हुन्छ । मेडल पाएका विद्यार्थी जागिर र मेडलसँग कुनै सम्बन्ध नरहने बताउँछन् । विकास भन्छन् , ‘जागिर र यसको केही सम्बन्ध हुँदैन, मैले यो पदक पाइसकेपछि न कसैले मेरो खोजी गर्यो न मैले म यस्तो हुँ भन्दै काम खोज्न गएँ, आयोगमा नाम निकालेर आफैँ जागिर गरेँ ।’ रिस्ता पनि यो विषयमा त्यस्तै भन्छिन् । ‘मलाई आफै केही गर्नुपर्छ भन्ने लाग्थ्यो, मैले अन्त काम पनि खोजिनँ, अहिले आफ्नै कम्पनी खोलेर काम गरिरहेकी छुँ । ’ उनले भनिन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. शिवलाल भुसाल गोल्ड मेडल र जागिर बीचको सम्बन्ध नभएको बताउँछन् । उनी भन्छन्, ‘पदकदाताहरूले तोकेको क्राइटेरिया र विद्यार्थीले ल्याएको अंक मिल्यो भने उनीहरूलाई दिइने पदक हो, यसका लागि त्यस्तो छुट्टै केही छैन ।’ ‘उनीहरूलाई पदकको नामले कुनै ठाउँमा प्रतिस्पर्धा गर्दा पक्कै सहज हुन्छ नै । तर, यो पदक पाइसकेपछि उनीहरुले कुनै क्षेत्रमा जागिर पाउँछन् भन्ने ग्यारेन्टी हुँदैन,’ भुसालले भने ।

त्रिविको दीक्षान्त समारोहमा विद्यार्थीको खुशियाली (फोटो फिचर)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।  

दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी बनाएर त्रिविले बनायो रेकर्ड

काठमाडौं । दीक्षान्त समारोहमा विश्वभरीकै विश्वविद्यालय मध्ये धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले रेकर्ड बनाएको छ । सोमबार दशरथ रंगशालामा भएको त्रिविको ४९औं दीक्षान्त समारोहमा २६ हजार भन्दा धेरै विद्यार्र्थी दीक्षित भएका छन्, जुन विश्वभरीकै विश्वविद्यालयको इतिहासमा नयाँ रेकर्ड भएको बताइएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा धेरै विद्यार्थी सहभागी भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई किर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ ।

दैनिक उकालो लाग्दै सेयर बजार, एकैदिन पौने ७ अर्ब माथिको कारोबार

काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि खुलेको बजार करेक्सन हुँदै प्राय निरन्तर रुपमा उकालो लागिरहेको छ । आइतबार पनि दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार पनि ३८.१४ अंकले बढेको छ । सेयर मूल्य मापक उक्त परिसूचक अघिल्लो दिनको तुलनामा १.८८ प्रतिशतले बढेर २०६०.४९ बिन्दुमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा थप उछाल देखिएको छ । दिनमा एक अर्बको कारोबार हुन धौंधौं पर्ने बजारमा पछिल्लो समय अर्बौं बढीको कारोबार हुन थालेको छ । सोमबारको बजारमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ७१ करोड रुपैयाँले बढी हो । आइतबारको बजारमा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २६ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ३०५ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मूल्य बढेका कम्पनीमध्ये १३ वटाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी अर्थात १० प्रतिशतसम्मले बढेको छ, जसमा अधिकांश कम्पनी लघुवित्त समूहका रहेका छन् । बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १०।१० प्रतिशतले बढेको छ । त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्इ ९.९९ प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशत, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.६५ प्रतिशत, जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाको ९.३१ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्थाको ९.१७ प्रतिशत र गुडविल फाइनान्सको सेयर मूल्य ९.०७ प्रतिशतले बढेको छ । बजारमा हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ७.८६ प्रतिशतले घटेर प्रतिकित्ता २२९.७० रुपैयाँमा झरेको छ ।

अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्याालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्नेसमेत प्रतिवद्धता जनाए । नेपालमा आधारभुत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताए । आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने पनि बताए । उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लगिएको जानकारी दिए । ‘कतिपय विकसित देशहरुमा आधारभुत शिक्षामात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ, आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ, विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने स्थिति हटाइ समतामुलक, सबै वर्ग, समुदायले उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ, यसका लागि उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लैजाने हाम्रो प्रयास छ,  त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्ने र मेरिटको आधारमा भिसी नियुक्ति गर्ने प्रतिवद्धता जनाउँछु’, उनले भने । प्रधानमन्त्री दाहालले आफ्ना विद्यार्थीलाई विश्वबजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौति रहेको बताए । उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए ।

प्रधानमन्त्रीलाई बालेनको आग्रह : फोहोर व्यवस्थापनमा भएको बाधा फुकाइदिनुस्

काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौंको फोहोर व्यवस्थापनमा भएको बाधा फुकाइदिन आग्रह गरेका छन् । फोहोरमैला व्यवस्थापन लगायतका काममा संघ सरकारको सहयोग चाहिएको बताउँदै उनले सो आग्रह गरेका हुन् । सोमबार ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बञ्चरेडाँडा (स्यानिटरी ल्याण्डफिल साइट) व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले चाहना भयो भने यहाँबाट अर्को कार्यक्रममा पुग्ने समय अगाडि नै समाधान गरिदिन सक्नुहुन्छ । तर, यो काम गर्न स्थानीय सरकारलाई दिएको अधिकारले पुग्दैन । हामी प्रमुख उपप्रमुखको जोडले मात्र पुग्दैन । यसमा भएका बाधा फुकाइ दिन म यहीँबाट अनुरोध गर्न चाहन्छु ।’ उनले भने । ‘काठमाडौं र ललितपुरका बीचमा केही भिन्नता छन् । काठमाडौंमा नदी अतिक्रमण छ । ललितपुरमा पैदल मार्ग । एकदिन दुवै सहरलाई अतिक्रमणमुक्त बनाउनु पर्छ । कतिपय अतिक्रमण हामी आफैँले नियन्त्रण गर्न सक्छौं । तर नदी अतिक्रमण व्यवस्थापन हामीले मात्र गर्न सक्दैनौँ । म यहीँबाट प्रधानमन्त्रीज्यूलाई फेरि अनुरोध गर्न चाहन्छु । यसमा हामीलाई सहयोग गरिदिनुपर्यो । यो प्रधानमन्त्री र गृह मन्त्रालयको इच्छा भयो भने ५ मिनेटदेखि १ घण्टामा समाधान निस्किन्छ । ललितपुरले उज्यालो कार्यक्रम सञ्चालन गर्न पायो । रातमा उज्यालो छ । काठमाडौंले मुद्दा खेप्नु पर्यो । काम हुनै पाएको छैन ।’ प्रमुख शाहले भने । सरसफाइ र सम्पदा संरक्षणको विषय उठाउँदै उनले ललितपुर जस्तो सफा र भक्तपुर जस्तो सम्पदा संरक्षण भएको सहर बनाउने चुनाव अगाडि देखिकै योजना रहेको बताए । ‘यसमा काम भइरहेको छ, सरसफाइमा अहिले काठमाडौंमा धेरै सुधार भएको छ, पहिले काठमाडौं र ललितपुर छुट्टिन्थ्यो, अहिले उस्तै उस्तै देखिन थालेको छ, सुधारका लागि गर्नु पर्ने काम धेरै छन्, हामी प्रयास गरिरहेका छौं,’ उनले भने । त्यस्तै, यातायात क्षेत्र सुधारको विषय उठाउँदै उनले संघीय राजधानी यातायात प्राधिकरणको संरचनाबाट काम थाल्दाथाल्दै प्रदेश सरकार मुद्दामा गएको बताए । ‘हामीले यातायात क्षेत्रलाई बैज्ञानिकीकरण गर्ने योजना बनाउँदै थियौं । सुधारका काम गर्दा प्रदेश सरकारले मुद्दा हालिदिनु भएन ।’ उनले अन्तरसम्बन्धका विषयमा बोल्दै उनले बताए । काठमाडौं उपत्यकाको एकीकृत र दिगो विकासका लागि अन्तरपालिका सम्बन्धबाट नतिजा हासिल हुनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।