प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद जारी गर्ने, पुँजी ५ अर्ब नाघ्ने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावको सैद्धान्तीक स्वीकृतिको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेश गर्ने छ । र, प्राधिकरणको स्वीकृत पाएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले उक्त हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले प्राधिकरणले तोकेको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । १७ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।
भीड व्यवस्थापनका लागि काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु
काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमबारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो । टोकन प्रणालीको सुरुवात गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुवात गरेको बताए । उनले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरू अघि बढेको बताए । उनले भने, ‘काठमाडौं जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर, सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली सुरु भएको छ । काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने कन्सेप्टमा हामी अघि बढेका छौँ । न्याय प्राप्तिका लागि काठमाडौँ अदालत प्रवेश गर्दै गर्दा कम्तीमा सहज ढङ्गबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’ उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताए । उनले अबबाट उभिएर सेवा लिनुपर्ने असहजता नहुने बताए ।
बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सानिमा बैंकले पनि बुझायो कर
काठमाडौं । सानिमा बैंकले पनि सरकारलाई करबापत ६ करोड ५३ लाख रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले ६ करोड ५३ लाख ८९ हजार ७ सय ५७ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो । बैंकले साविकको बागमती डेभलपमेन्ट बैंकको प्राप्तिमा सौदावजी गर्दा प्राप्त लाभ र हकप्रद सेयर लिलाम गरी प्राप्त भएको प्रिमियम रकमलाई आयमा समावेश गरी कर तिरेको बैंकले जानकारी गराएको छ ।
उपत्यकाको विकास एकै पटक हुनुपर्छ : बालेन्द्र साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए । उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानून बाझिएका कारण असहज भएको बताए । संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे । काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गरे । ‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुई वटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपाकिला हुन्, त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ, काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीय ज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ, मेयरहरुले मात्रै सक्दैन, ललितपुरसँगै काठमाडौं पनि बराबर उज्यालो होस् त्यसैअनुसार बुझ्नुपर्छ’, उनले भने । प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए ।
अमेरिकामा बसेर नेपाली साहित्य कोरिरहेका ‘गोल्ड मेडलिस्ट’
काठमाडौं । एउटा लेखकलाई लेखेर बाँच्न कति सहज छ ? यो प्रश्नको जवाफ लेखक स्वंयमलाई दिन मुस्किल छ । त्यसैले हुनुपर्छ एउटा गन्तव्यमा हिँडेका उनले अर्कै गन्तव्य रोज्नुपर्यो । अर्थात्, हिँडिरहेको बाटोले अर्कै मोडमा पुर्यायो । मोड थियो घरदेश र परदेश । अन्ततः उनले परदेश नै रोजे, अनि लेखे, ‘बिछोडको करौंतीले काट्नु मनै काट्यो, जाँदाजाँदै मुलबाटोको दुईटा बाटो फाट्यो ।’ हुन त उनी जस्तै धेरै व्यक्तिको जीवनमा यो गीत मेल खान्छ । रहर वा बाध्यताले परदेशिनेहरूको पीडा फरक हुन्छ । यो गीत ठ्याक्कै उनकै जीवनमा मेल खाए पनि उनले परदेशी फिल्मको लागि लेखेका थिए । नेपाली साहित्यको पोको बोकेर हिँडेका उनी अहिले सात समुन्द्र पारी छन् । भन्न त उनी भन्छन्, ‘मैले बिरानो भूमिबाट नेपाली भाषा साहित्यलाई थप मजबुत बनाएको छु ।’ उनले भनेजस्तै परदेशबाट भएपनि उनको कलम नेपाली साहित्यकै लागि चलिरहेको छ । वि.सं २०५४ सालमा नेपाली साहित्यबाट लारी स्वर्णपदक पाएका लालगोपाल सुवेदी नेपाली साहित्यका एउटा खम्बा हुन् । आज हामीले उनलाई खोज्दा उनी त्रिभुवन विश्वविद्यालयको प्रोफसर वा लेक्चरको रुपमा भेटिनुपर्थ्याे वा कुनै कलेजको प्रिन्सिपलको रूपमा भेट्नुपर्थ्याे । तर, बिडम्बना उनलाई सामाजिक सञ्जालमा खोज्नु पर्छ । उनले नेपालमै अवसर नपाएको पनि होइन । व्याकरण, समालोचना, कविता लेखेर पनि भात खान पुगेकै थियो । तर, यतिले परिवार पाल्न प्रयाप्त थिएन । उनले नेपालका विभिन्न विद्यालय कलेजमा पनि पढाए । नेपालमा सामान्य जीवन बिताइरहेका उनी अहिले सबैको सपनाको देश अमेरिका पुगेका छन् । ‘भाग्य भनौं वा मिहिनेत अचानक अमेरिकाको चिठ्ठा पर्यो, उतै हानिएँ,’ उनले भने । साहित्यमा रूची एउटा-एउटा प्रतिभा सबैमा हुन्छ । तर, कसैले आफ्नो प्रतिभालाई चिन्न सक्दैनन् । लालगोपालले आफूमा भएको प्रतिभामात्र चिनेन्, प्रतिभामै जीवन खोजे । पहाडी जिल्ला स्याङ्जाको क्याक्मीमा जन्मेका लालगोपाल सुवेदीलाई गाउँको सम्झना त्यति छैन । उनी कक्षा ४ पढ्दै काभ्रे आइपुगे । काभ्रेमा होस्टेलमै बसेर पढाइ सुरु गरे । बाआमासँग खेतबारी गर्दै विद्यालय जानेबेला उनी एक्लै बसेर पढ्न थाले । पढाइको लागि काभ्रे आएपनि बाल मस्तिष्कमा गाउँ घुम्थ्यो । उनी पढ्ने विद्यालयमा हरेक साता अतिरिक्त क्रियाकलापहरू हुन्थ्यो । कहिले गीत गाउने, नाच्ने, कहिले कवीता लेख्ने, कहिले निबन्ध लेख्ने । यस्ता कार्यक्रममा उनी सधैं भाग लिन्थे । बालापन सम्झदै उनले भने, ‘मलाई निबन्ध, गीत लेख्न खुब मन पर्थ्यो, सधै भाग लिन्थेपनि र मैले भाग लिएको कार्यक्रममा सधै पहिलो नै हुन्थें, जसले गर्दा मलाई झन बढी रूची लाग्थ्यो ।’ लाल गोपालले ११ वर्षको उमेरमा ‘आमा’ शिर्षकको कविता लेखेका थिए । त्यो कविता २०४१ सालमा बालक भन्नेपत्रिकामा छापियो । उनको विद्यालयमा भित्तेपत्रिकामा निस्कन्थ्यो । त्यतिबेला नै उनी निबन्ध, गीत रचनाहरू लेखेर छाप्ने गर्थे । ‘नेपाली साहित्यप्रतिको सानैमा झुकाव थियो । तर, लेखकमाथिको सम्मान भने बुझदै गएपछि थाहा पाएँ,’ उनले भने । एक मोहर पाउँदा लालगोपाल कक्षा ४ मा पढ्दा विद्यालयमा कविता वाचन प्रतियोगिता भयो । प्रतियोगितामा कक्षा ८ सम्मका विद्यार्थीले भाग लिए । उनले कितावमा रहेको एउटा कविता वाचन गरेर सुनाएका थिए । कविता राम्रो वाचन गरेकोमा १ मोहर पुरस्कार पाएका थिए । ‘जानी नजानी सुरु गरेको साहित्य यात्रामा विस्तारै प्रेम बस्यो, यस्तो प्रेम कि सात समुन्द्रले पनि हाम्रो सम्बन्धलाई तोड्न सकेन,’ उनले भने । उनी कक्षा १० पढ्दा राष्ट्रिय स्तरको बालकवी गोष्ठी भयो । त्यसमा उनी द्धितीय भए । उनले सुरुमा रानी ऐश्वर्यको हातबाट पुरस्कार पाए । त्यसपछि उनको लेखनले गति लिँदै गयो, राष्ट्रिय स्तरमा हुने हरेक साहित्य कार्यक्रममा उनी भाग लिन थाले । वि.सं. २०४७ सालमा राष्ट्रिय कविता महोत्सव प्रतियोगिता भयो । त्यो बेला राजाले नै कविताको शीर्षक दिने चलन थियो । उनले छन्द कविता प्रस्तुत गरे । त्यसका लागि निकै मिहिनेत गरे । स्कुलमा हुने कार्यक्रमदेखि नै मैले जित्नुपर्छ भन्ने मान्यता उनमा थियो । उनले भने, ‘त्यसका लागि दुई हरफ थानकोट गएर लेखेँ , दुई हरफ धुलीखेल गएर लेखेँ, ती लेखेका मध्ये उत्कृष्ट हरफ छनोट गरर प्रस्तुत गरेँ पछि द्धितीय भएँ ।’ त्यो बेला देशभित्र बाहिरबाट १४ सय बढी प्रतियोगी थिए । त्यसमा उनी तृतीय भए । उनले राजा विरेन्द्रको हातबाट पुरस्कार थापे । पुरस्कारमा दुई हजार थियो । ‘मेरो विद्यार्थी जीवनको खर्च प्रतियोगिताका पुरस्कारले चलाएको हुँ ’उनले भने । प्लस टु पछिको पढाई रूची साहित्यमा भएपनि उनले काठमाडौं आएर कमर्श पढ्न थाले । साहित्यमा रूची राख्ने मान्छे किन कमर्श लाइनतिर जानुभयो ? भन्ने विकासन्युजको प्रश्नमा उनले भने, ‘त्यो बेला कमर्श, साइन्स लिएर पढ्ने विद्यार्थीहरूको पहिचान छुट्टै हुन्थ्यो, धेरै साथीहरूले पनि यही भने, मैले पनि त्यही पढेँ ।’ एसएलसीपछि उनी शंकरदेव विद्यालयमा भर्ना भए । पढ्दै गर्दा पनि राष्ट्रिय स्तरमा भइरहेका हरेक कार्यक्रममा भाग लिन्थे । उनको पढाइ पनि राम्रो थियो । पढाइ राम्रो भएका कारण उनले वि.सं २०५४ सालमा नेपाली विषयबाट त्रिभुवन विश्व विद्यालयबाट लारी स्वर्ण पदक प्राप्त गरे । अहिले उनी नेपाल संस्कृत विश्वविद्यालयबाट माधवप्रसाद घिमिरेका गीति नाटकमा मानवतावाद विषयमा पीएचडी गर्दै छन् । लाल गोपालले वि.सं २०४८ सालमा दिपेन्द्र प्रहरी स्कुलमा प्रावि तहमा अध्यापन गराएका थिए । त्यसपछि पनि उनले विभिन्न विद्यालयमा पढाए । पहिले उनलाई राम्रो स्कुल खोज्नुपर्थ्यो भने, त्रिविबाट स्वर्ण पाईसकेपछि काम खोज्न परेन । ‘पहिले मैले जागिर खोज्नु पर्थ्याे, गोल्ड मेडलिस्ट हुँदा त मलाई जागिर खोज्दै आयो, त्यसपछि युनाइटेड एकाडेमीमा पढाउन सुरु गरें,’ अध्यापनका दिनहरू स्मरण गर्दै उनले भने । साहित्यका १८ वटा कृति लालगोपालको मुल विधा कविता हो । तर, उनी कथा बाहेक अरु विधामा पनि कलम चलाउँछन् । गिती नाटक, व्याकरण, निबन्ध समालोचनामा बढी कलम चलाउँछन् । उनले गीत पनि लेखेका छन् । उनले लेखेका गीतमध्ये सबैभन्दा चलेको गीत परदेशी फिल्मको ‘बिछोडको करौंतीले काट्नु मनै काट्यो’ हो । उनले लेखेका करिब २० वटा गीत रेकर्ड छन् । ‘आजभोलि गीत लेख्नेहरूले नै पैसा दिएर गीत रेकर्ड गर्न लगाउँछन्, नयाँ नयाँहरूले बढी पैसा दिन्छन्, उनी भन्छन्, ‘जसले गर्दा गीतको गुणस्तर पनि खस्कन थाल्यो, साथीहरूको पनि बाध्यता थियो होला ।’ ‘फूलको देशमा छन्द्ध’ (कविता संग्रह), ‘नेपाली कविताको सिद्धान्त र विकासक्रम’ (समालोचना), ‘पुतलीलाई जामा’ (बालकथा संग्रह), ‘देवता जस्तै नेपाली, मन्दिर जस्तै मान्छे’ लगायतका १८ बढी कृति प्रकाशन भएका छन् । यतिका कृति लेखेर कति पैसा कमाउनुभयो ? भनेर सोध्दा उनले भने, ‘धेरै हैन, नढाटेर भन्दा लाख जति कमाएँ, जसले मलाई भात खान सक्ने बनायो ।’ कामको सम्मान अवार्डमा साहित्यमा जति लालगोपालले योगदान पु¥याए उति नै उनलाई देशले सम्मान पनि दियो । उनले पाएका अवार्डले उनको घरका भित्ता रंगिएका छन् । उनि भन्छन, ‘बच्चादेखि पुरस्कार र सम्मान थाप्ने बानी परेको मलाई राष्ट्रले पनि उत्तिकै सम्मान दिएको छ, यही सम्मानले मलाई अहिलेपनि यो क्षेत्रमा जीवित राखेको छ । ’ लालगोपालले २०६० सालमा नेपाल सरकारबाट युवा वर्ष मोती पुरस्कार, २०५९ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार, रेडियो नेपाल, प्रज्ञाप्रतिष्ठान लगायत विभिन्न संघसस्थाबाट अवार्ड पाएका छन् । अमेरिकाको बसाइँ वि.सं २०६६ सालमा चिट्ठा परेर उनको परिवार अमेरिका गयो । त्यहाँ अहिले उनी एउटा ठूलो अपार्टमेन्टमा म्यानेजमेन्टको रुपमा काम गर्छन् । काम गरेवापतको पैसा पनि राम्रै आउँछ । अहिले नेपालको जस्तो भात खान मात्र हैन, भोलिलाई बचत गर्न पनि सकिएको छ । त्यो भन्दा बाहेकको अरु काम उनको अहिले पनि लेखनमै बित्छ । ‘देशभित्र भन्दा बाहिर रहँदा देशको माया लाग्दो रहेछ, अहिले म अमेरिका गएर पनि नेपाली साहित्यकै चिन्तन गरिरहेको हुन्छु,’ उनले आफ्नो अनुभव सुनाए । नेपालमा उनले गर्ने काम र अहिले विदेशमा बसेर गर्ने काम धेरै फरक छ । यहाँ लेखर खाने उनी अमेरिका एउटा भवन म्यानेजमेन्टको काम गर्छन् । नेपालको प्रज्ञा प्रतिष्ठानजस्तै त्यहाँ अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल भन्ने संस्था छ । त्यो संस्थाले अन्तरदृष्टि साहित्य पत्रिका त्रैमासिक रुपमा निकाल्छ भने अनलाई संस्करण पनि छ । लालगोपाल अहिले त्यो पत्रिकाको प्रधान सम्पादकको रूपमा पनि काम गरिरहेका छन् । पठन संस्कृति घट्यो साहित्यको मुल उद्देश्य भनेको आनन्द र शिक्षा सँगसँगै दिनु हो । एकताका थियो, खोजीखोजी पुस्तकहरु पढ्ने । तर, अहिले त्यस्तो छैन । उनी थप्छन्, ‘अहिले इन्टरनेटको जमाना आयो, मान्छेलाई जान्न सुन्न मन लागेको कुरा सहजै मोबाइलबाट हेर्न मिल्छ, त्यसैले पनि पछिल्लो समय पठन संस्कृति घटेको हुनुपर्छ ।’ यो नेपालको मात्र नभई विश्वकै समस्या भएको उनी बताउँछन् । पछिल्लो समय नेपालका अनलाईन संस्करणमा लेखिएका लेखहरु हुन् या कुनै पुस्कार पाएका राम्रा पुस्तक हुन् पहिलेको तुलनामा अहिले बिक्री हुन छोडको उनी बताउँछन् । एकताका हातमा मोबाइल नहुँदा काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रिपत्रिका पढ्नलाई मरिहत्ते गर्थे । तर, अहिले यस्तो छैन । समग्ररुपमा हेर्दा अहिले पठन संस्कृति घटेको सुबेदी बताउँछन् । उनी नेपाली भाषाको मात्र नभएर विश्कै भाषाको पठन संस्कृतिमा यस्तो समस्या देखिएको बताउँछन् । विश्वका लेखकहरूलाई हेर्ने हो भने लेखेरै करोडौँ, अरबौँ कमाउनेहरू पनि छन् । नेपालमा पनि लेखेर कमाएका केही व्यक्तिहरु छन् । त्यो भित्र लालगोपालको नाम पर्दैन । कविताका पाठक सीमित हुन्छन् । साहित्यका विभिन्न विधाका पाठक फरक-फरक हुन्छन् । लालगोपालले लेखेका निबन्ध, व्याकरणहरू विभिन्न विद्यालयमा पढाइ हुन्छन् । उनको विद्यालयका लागि सिर्जना गरिएका किताबबाट आर्थिक हैसियत बढ्छ । स्वदेश फर्किने मन लालगोपालका श्रीमती, दुईजना छोरा गरि चारजनाको परिवार छ । स-परिवार अहिले विदेशमै छ । उनलाई फेरि पनि आफ्नै देश फर्कन मन छ । ५३ वर्षको उमेरमा आइपुग्दा सुवेदीको आधा, नेपाल र आधा बाहिरको बसाइँ रह्यो । ‘देश आफुलाई प्यारो हुन्छ, अहिले सबैजना काम गरिरहेका छौँ, अब पछि फर्कने भनेको नेपालमै हो,’ उनी भन्छन् । लालगोपाल आफू विदेश गएर बस्नुलाई अवसरको सदुपयोग गरेको बताउँछन् । ‘यो अवसर हो, यसको सदुपयोग गरेको हुँ, अब नेपाल फर्केर बस्ने मन छ,’ उनी भन्छन्, ‘स्वदेश-परदेश जता भएपनि नेपाली भाषा र साहित्यको चिन्ता लाग्छ, मेरो शरीर जता भएपनि मन नेपाल र नेपाली भाषा साहित्यमै छ ।’
सबैको लघुवित्तले पनि लाभांश नदिने
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
कोल र ढिकीको प्रयोग गरेर चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ
भरतपुर । गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन् । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए । उनले भने, ‘बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।’ उनले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताए । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए । ‘बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ’, कलारामले भने, ‘चिउरीको घ्यू स्वास्थ्यका लागि पनि राम्रो छ ।’ चिउरीको घ्यूमा कुनै मिसावट पनि नहुने उनको भनाइ छ । चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । उनले भने, ‘चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।’ एक वर्षमा झण्डै चार मुरी चिउरी टिप्ने गरेको वर्षभरीलाई पुग्ने गरेको कलारामले बताए । ‘यसको बजार भाउ छैन । तर न्यून सङ्ख्यामा घ्यू किन्न आउने गरेका छन्’, उनले भने । राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको बताए । ‘हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ’, उनले भने । बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उनले बताए । घ्यू निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रुपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताए । विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो । तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ । चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उनले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गरे । दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिदै गएको छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ । अहिले चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ । कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घ्यूले बजार पाउन नसकेको बताए । ‘अरु तेलको प्रयोग बढेपछि चिउरीको घ्यूको खासै माग छैन’, उनले भने, ‘यसको महत्वबारे बुझाउनुपर्ने आवश्यकता छ ।’ चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ । रासस
बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड
काठमाडौं । बीवाईडीको पछिल्लो सफल मोडल डल्फिन युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड युरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोबेष्ट’ले प्रदान गर्दै आएको छ । उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जिपको एभेन्जर परेका थिए । यसका लागि अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको थियो । त्यसको लागि युरोपभरका ३१ देशबाट आएका अटोबेष्ट पत्रकारहरुले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन् । उनीहरुले डल्फिनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फिनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भयो । अटोबेष्टका जुरीले पहिलो पटक कुनै पनि बीवाईडीको मोडललाई ‘बेस्ट बार्ई कार अफ युरोप २०२४ को अवार्ड दिएको हो । अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, ‘बीवाईडी डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ । हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फिनले एक विद्युतीय साधनको रुपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ ।’ मूल्य र गुणस्तर जुरीहरुले डल्फिनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायीता र ड्राइभिङ प्लेजरलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेश पाउन सकिने भएको कारण यसले संसारभर जो कोहीलाई लोभ्याइरहेको छ । अर्को यसको मूल्य पनि विश्वभर नै सबैलाई आश्चर्य चकित बनाउने खालको छ । नेपालमा पनि केबल ३९ लाख ८० हजारमा डल्फिन खरिद गर्न पाइन्छ । जुन सेग्मेन्टमा डल्फिन उपलब्ध छ, त्यो सेग्मेन्टमा अन्य प्रतिस्पर्धी नै छैनन् भन्न सकिन्छ । यसका साथै, बीवाईडीको ई–प्लेटफर्म ३.० को जुरीहरुले प्रशंसा गरेका थिए । सुरक्षित र फराकिलो युरो एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल डल्फिन ३.० ई–प्लेटफर्म र ड्रागन फेस डिजाइनको कारण क्याविनमा प्रसस्त स्थान भएको कार हो । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध डल्फिनको लम्बाई ४२९० एमएम, चौडाई छेउमा ऐना फोल्ड गरेको ठाउँसम्म २०१२ एमएम छ । डल्फिनमा २७०० एमएम लामो ह्वीलवेस दिइएको छ । यसमा ३४५ लिटर क्षमताको बुट स्पेश दिइएको छ । अन्तर्राष्ट्रिय स्पेकमा ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । नेपालमा भने ५१ किलोवाट आवरको ब्याट्रीमा डल्फिन उपलब्ध छ । ब्लेड ब्याट्री बीवाईडीको आफ्नै उत्पादन ब्लेड ब्याट्रीबाट सुसज्जित भएकाले यसको टिकाउपन, सुरक्षा र पर्फमेन्स सबै उत्कृष्ट रहेको छ । यो ब्याट्री कोबाल्ट, म्यानेजेज र निकेल रहित छ । यसमा लिथियम आइरन फस्फेट (एलएफपी) को प्रयोग गरिएको छ । अटोबेष्ट अवार्ड हात पारेपछि बीवाईडी युरोपका प्रबन्ध निर्देशक मिचेल साउ भन्छन्, ‘यो पुरस्कार हाम्रा लागि निकै गर्वको कुरा हो । यही पेसामा रहेका जुरीको निर्णयबाट पाएको अवार्डले नयाँ गाडी किन्न चाहने ग्राहकको ध्यान तान्नेमा म विश्वस्त छु । यसले हामीलाई नयाँ प्रोडक्ट अझ उत्कृष्ट र कम मूल्यको ल्याउन प्रेरित गरेको छ ।’ अटोबेष्टका प्रमुख भान भार्डीले बीवाईडीका उत्पादन परिष्कृत हुँदै गएको प्रमाण यो अवार्ड भएको प्रतिक्रिया दिए । जुरीले निर्णय दिइसकेपनि यसको आधिकारिक घोषणा लक्जम्बर्गमा आयोजना हुन गइरहेको २३औं अटोवेष्ट गालामा गरिने छ ।