विकासन्युज

धमाधम पलायन हुँदै पत्रकार, स्वदेशको आम्दानीले परिवार चलाउन नसकिने

म्याग्दी । दश वर्षभन्दा बढी समय म्याग्दीकाे बेनीमा रेडियो, पत्रिका र अनलाइनमा काम गरेका पदम विश्वकर्मा गत भदौमा अस्ट्रेलियातिर लागे । बेनीका अर्का पत्रकार धीरनबहादुर खत्री पनि एकदशक लामो पत्रकारितालाई बिट मारेर वैदेशिक रोजगारीका लागि यसै हप्ता युएई जाने तयारीमा छन् । म्याग्दीमा सञ्चार पेसा छाडेर वैदेशिक रोजगारीमा जाने विश्वकर्मा र खत्री प्रतिनिधि पात्र मात्र हुन् । पत्रकार महासङ्घ जिल्ला शाखाअन्तर्गत तीन वर्षअघि ६२ साधारण सदस्य थिए । पत्रकार महासङ्घको शुद्धीकरण अभियानपछि जिल्लामा साधारण सदस्य १२ र अन्य गरेर १५ जनाको हाहाहारीमा पत्रकार तथा सञ्चारकर्मी छन् । पत्रकार महिलाको सङ्ख्या न्यून छ । भएकाहरू पनि पत्रकारिता छाडेर व्यापार, व्यवसाय, शिक्षण, वैदेशिक रोजगार र गैरसरकारी संस्थामा जागिर गर्न थालेका छन् । पत्रकार महासङ्घका जिल्ला अध्यक्ष प्रकाश पौडेल सञ्चार माध्यम बन्द हुने र पत्रकार पलायन हुने दुःखद् अवस्था आएकोमा चिन्ता व्यक्त गर्छन् । उनले भने, ‘सञ्चार माध्यम रहे पत्रकार हुुने हो, सञ्चारगृह धमाधम बन्द हुुन थालेका छन्, निगरानी र खबरदारी गर्ने भूमिकामा रहेका पत्रकार पलायन हुुँदा समाजमा अनियमितता, विकृति, बेथिति, विसङ्गतिले प्रशय पाउने जोखिम छ ।’ पछिल्लो दुई वर्षयता बेनीबाट सञ्चालन हुँदै आएको रेडियो म्याग्दी, म्याग्दी प्रेस दैनिक, म्याग्दी सञ्चार साप्ताहिकले प्रशारण तथा प्रकाशन बन्द गरेका छन् । समृद्ध र मालिका प्रेस साप्ताहिक नियमित प्रकाशन तथा वितरण हुनसकेका छैनन् । रुप्से सञ्चार सहकारी संस्थाद्वारा प्रकाशन हुँदै आएको रुप्से दैनिक पत्रिका सहकारीले चलाउन नसकेपछि पत्रकार प्रताप बानियाँलाई जिम्मा लगाएको सो सहकारीका कोषाध्यक्षसमेत रहेका पौडेलले बताए । केही वर्षपहिले २० जनाभन्दा बढी जनशक्ति रहेको बेनीको म्याग्दी काली एफएममा हाल चार जना मात्र कार्यरत छन् । तथ्य, तथ्याङ, अध्ययन, अनुसन्धान गरेर समाचार तयार पार्ने, समाजलाई सुसूचित गराउने पत्रकार नहुँदा समाजमा वास्तविक सूचना प्रवाह हुन नसक्ने जोखिम रहेको अग्रज पत्रकार घनश्याम खड्काले बताए । उनले भने, ‘काठमाडौँ, पोखराबाट सञ्चालन हुुने सञ्चार माध्यमले जनशक्ति कटौती गरेका छन्, स्रोतको अभावमा जिल्लास्तरका सञ्चार माध्यम पनि बन्द हुने अवस्थामा पुगेका हुन् ।’ युुएई जान लागेका पत्रकार खत्रीले पत्रकारिता पेसाबाट धेरै ज्ञान, सीप र अनुभव हासिल गरे पनि यहाँको आम्दानीले भविष्यमा परिवार चलाउन चुनौती हुने देखिँदा केही वर्षका लागि विदेशिन लागेको बताए । म्याग्दीका सञ्चार माध्यम सञ्चालक आवद्ध म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीले सञ्चार माध्यम र पत्रकार टिकाउने अहिलेको पेसागत मुद्दा रहेको बताए । उनले भने, ‘एकै प्रकृतिका सञ्चार माध्यमको एकीकरण र स्थानीय स्रोत साधनको परिचालन गर्नुपर्ने देखिएको छ, समाजलाई पनि पत्रकारिताको महत्त्व र आवश्यकता बुझाउनुपर्ने भएको छ ।’ रासस

नेको इन्स्योरेन्सले तिर्यो साढे ४ करोड कर

काठमाडौं । नेको इन्स्योरेन्सले सरकारलाई करिब साढे ४ करोड रुपैयाँ बराबरको कर भुक्तानी गरेको छ । सवोच्च अदालतको आदेशपछि कम्पनीले सरकारको निर्णय बमोजिम ४ करोड ४८ लाख १३ हजार ६४७ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकरको रुपमा भुक्तानी गरेको हो । सरकारले आर्थिक ऐन, २०५० को दफा २६ मा फर्दर पब्लिक अफरिङबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस सेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था गरेको छ । र, सो कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था भएको र सर्वोच्च अदालतको सो सम्बन्धी बैंक तथा बीमा कम्पनीको रिट खारेजीको निर्णयका आधारमा कम्पनीले दाखिला गरेको हो । इन्स्योरेन्सले विगतका वर्षहरुमा हकप्रद सेयरहरु बोलकबोल प्रक्रिया मार्फत बिक्री गर्दा पाएको प्रमियम रकमबाट बोनस सेयरको रुपमा वितरण गरेको थियो । जसकाकारण आयकर दायित्व भुक्तानी गर्नुपर्ने देखिएको हुँदा कम्पनीले आर्थिक ऐन, २०५० को छुट सुविधा लिई उक्त रकमको कर सरकारलाई भुक्तानी गरेको जानकारी गराएको छ ।

…त्यसपछि बने गोल्ड मेडल पाएकै विषयको विभागीय प्रमुख

काठमाडौं । जब कक्षा ५ मा उनी जिल्ला टपर भए, १०५ रुपैयाँ पुरस्कार पाए । यो पुरस्कारले उनको जीवनमा ठूलो प्रभाव पार्यो । त्यसपछि उनले अझ बुझेर पढ्न थाले । उनी जहिले कक्षामा प्रथम हुन्थे । उनको प्रथम हुने क्रम कहिल्यै रोकिएन । पाँच कक्षामा जिल्ला टप गरेका उनी वि.सं. २०६८ सालमा स्नातकोत्तर तहमा द्वन्द्व, शान्ति र विकास विषयमा पनि टप गरे । र, भए त्रिभुवन विश्व विद्यालयका गोल्ड मेडलिस्ट । अहिले उनी त्रिभुवन विश्व विद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागको प्रमुखकारूपमा काम गरिरहेका छन् । उनी अर्थात् पीताम्बर भण्डारी । उनको घर तनहुँ हो । उनले कक्षा ५ सम्म गाउँकै विद्यालयमा पढे । ४ कक्षा पढ्दा एबीसीडी लेख्न सुरु गरे । सरकारी विद्यालयमा त उनलाई गाह्रो परेन । जब उनी सदरमुकाम बसेर निजी विद्यालयमा पढ्न थाले त्यसपछि उनलाई समस्या भयो । पहिलो दिन विद्यालय जाँदा उनलाई साथीहरुले अंग्रेजीमा सोधे, उनलाई बुझ्नै गाह्रो हुन्थ्यो । ती दिनहरू स्मरण गर्दै पीताम्बरले भने, ‘एबीसीडी लेख्न नजान्ने मान्छे कहाँ बोल्न सक्थें, साथीहरूले जेभन्दा पनि म टाउकोमात्र हल्लाएर जवाफ दिन्थें ।’ पीताम्बरले ५ कक्षादेखि १० कक्षासम्म दमौलीमा रहेको कन्काइ आवासीय माविमा पढे । सोही स्कुलबाट उनले एसएलसी (हालको एसईई) दिए । एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याए । एसएलसी पास गरिसकेपछि पीताम्बरको यात्रा काठमाडौंतर्फ लाग्यो । काठमाडौं आएर नेपाल साइन्स क्याम्पसमा विज्ञान पढ्न सुरु गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजबाट बीएस्सी सके । आइएस्सी साइन्स क्याम्पस, बीएस्सी त्रिचन्द्र कलेजबाट गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट द्वन्द्व, शान्ति र विकास विषय लिएर पढे । अन्ततः उनी २०६८ सालमा द्वन्द्व, शान्ति र विकास विषयबाट गोल्ड मेडल हात पार्न सफल भए । डाक्टर बन्न दबाब पीताम्बरका तीन जना दाजुभाइ र एक दिदी छन् । उनीहरू सबै पढेलेखेका छन् । उनका बुबालाई छोराछोरी पढाउनुपर्छ भन्ने ज्ञान थियो । बुबा आफैं पनि भारतको बनारसमा पढेर गाउँमै शिक्षण पेशामा आवद्ध थिए । ‘बुबा जहिले बिहानै उठ्नुहुन्थ्यो, मैले बुबालाई देखेर नै पढ्नुपर्छ भन्ने लागेको हो, बुबाले पनि हामीलाई पढ्नुपर्छ भन्नुहुन्थ्यो, त्यही भएर पनि हुनुपर्छ हामी सबै भाइबहिनी पढाइमा ध्यान दिन्थ्यौं,’ पीताम्बरले पढाइको पारिवारिक माहोल सुनाउँदै भने । पीताम्बरले आइएस्सी सकेपछि एमबीबीएस पढ्नुपर्छ भन्ने दबाब घरबाट थियो । उनले थपे, ‘दाइ र बुबालाई म डाक्टर भएको हेर्न मन थियो । तर, मलाई फिटिक्कै थिएन, म स्कुल पढ्दै सामाजिक विषयतिर ढल्किसकेको थिएँ ।’ डाक्टर बन्नुपर्ने दबाबपछि मन नलगाइ भएपनि एक/दुई ठाउँ परीक्षा दिए । तर, उनको नाम निस्केन । उनले भने, ‘नोट नबनाउने, घोकेर नपढ्ने बानीले यहाँ आएर असर गर्यो, परिवारको इच्छा डाक्टर, मेरो इच्छा समाजशास्त्रतिर, तालमेल मिलेन ।’ उनलाई आलेख लेख्न मन पर्थ्याे । कक्षा १० मा पढ्दै गर्दा जिल्लामा रहेका पत्रिकामा राजनीतिक स्तम्भमा विचार लेख्थे । रेडियो सुन्ने र पत्रिका पढ्ने बानी उनको धेरै थियो । त्यो बेला निस्कने मुना पत्रिका नछुटाएर पढ्थे । ‘पाठ्यपुस्तक भन्दा बढी रेडियो सुन्ने पत्रपत्रिका हेर्ने बानी थियो, बीबीसी नसुनेर राती कहिल्यै सुत्दिन थिएँ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा आवद्ध भएर भाग लिँदा पनि पढाइलाई नै सहयोग पुग्थ्यो । ‘अहिले विद्यालय, विश्व विद्यालयमा यस्तो पाइँदैन, औपचारिक शिक्षामा मात्र पढाइ सीमित भएको पाइन्छ, धेरै भए मनोरञ्जनात्मक दृष्टिमा होमिने या त जीविकोपार्जनका लागि कमाइमा ध्यान दिनुपर्ने यस्तो हुँदापनि सीपमूलक शिक्षा भएन,’ उनले भने । समाजसँग नजिक हुने विषयवस्तुमा आवद्धता बढाउन थालेपछि उनलाई दुईवटा खुट्टामा उभिएर जानु राम्रो लागेन । त्यहीबेला उनले त्रिभुवन विश्व विद्यालयमा पहिलो पटक द्धन्द्ध, विकास र शान्ति विभागको भर्ना खुलेको सूचना देखे । त्यसपछि उनले इन्ट्रान्समा नाम निकालेर त्यही भर्ना भए । पहिलो ब्याजमा उनी सर्वोत्कृष्ट भएर गोल्ड मेडलिस्ट भए । गोल्ड मेडलिस्ट बनेपछि… कुनै पनि पुरस्कारले छुट्टै हौसला दिन्छ । ५ कक्षामा पाएको १५० रुपैयाँको खुसी एक थियो भने, २०६८ सालमा पाएको यो पदकको खुसी अर्कै थियो । उनलाई त्यसपछि अन्त काम खोज्न जान परेन । उनले जुन विषयबाट पदक पाए, पछि त्यही विषय अन्तर्गतको विभागकै प्रमुखका रुपमा काम गर्न सुरु गरे । गोल्ड मेडलिस्ट भइसकेपछि के हुँदो रहेछ ? भन्ने विकासन्युजको जिज्ञासामा उनले भने, ‘यसले विगतको संघर्षलाई न्याय गरेको जस्तो देखिन्छ, अर्को साथीभाई, समाज, इष्टमित्रले गर्ने व्यवहार, सम्मान त एक प्रकारको हुन्छ नै, त्योभन्दा सामाजिक चाप पनि उत्तिकै हुँदो रहेछ ।’ यो पदक पाएकाहरूलाई कुनै ठाउँमा आवेदन खुलेको छ भने अरुलाई भन्दा गोल्ड मेडलिस्टहरुलाई प्राथमिकता हुन्छ । तर, यसलाई कुनै कानुनीरुपमा अंकभार गरेको छैन । कतिपय अवस्थामा पदक प्राप्त गरेरमात्र केही हुँदैन । ‘निरन्तर त्यो विषयसँग साक्षात्कार गरिएन भने आफैंलाई हिनता बोध पनि गराउँछ, त्यो अनुसारको आफ्नो प्रस्तुति हुनुपर्छ,’ उनले भने । पढ्ने कसरी ? तपाईं कसरी अध्ययन गर्नुहुन्छ ? घोकेर वा बुझेर ? कतिलाई घोकेरै कण्ठ हुन्छ, बुझ्न सजिलो हुन्छ भने कतिपयलाई बुझेर पढ्ने बानी हुन्छ । जे होस् मान्छेले अध्ययन गर्ने आफ्नै तरिका हुन्छ । स्कुलदेखि स्नातकोत्तरसम्म टप भएका पीताम्बरको दिमाग तीक्ष्ण थियो । शिक्षकले पढाएको कुरा उनले पछि दोहोर्याएर पढ्न पर्दैन थियो । त्यसैले होला उनी आफुले पढ्दा कहिल्यैपनि नोट बुक बनाएर अध्ययन गरेनन् । ‘साथीहरू स्कुलमा पढेको कुरा घरमा आएर नोटमा सार्थे, धर्सा तानेर चिटिक्क मिलाउँथे । तर, मैले त्यस्तो कहिल्यै गरिनँ, यो मेरो कमजोरी भन्ने कि के भन्ने,’ उनी मुस्कुराउँदै भन्छन् ।’ उनको पढ्ने बानी थिएन । जति हुन्छ दिमागले क्याच गर्थ्यो । पढ्दा एक अनुच्छेदले के भन्थ्यो त्यसको आशय बुझ्थे उनी । उनी भन्छन्, ‘यसको मतलब मैले नपढेरै टप भइन्छ भनेको होइन, पढ्ने तर बुझेर पढ्ने ।’ विद्यार्थीलाई पढ्दा लगाव र मिहिनेत चाहिने उनी सुनाउँछन् । उनका अनुसार पढाइमा धेरै समय एउटै विषयमा बिताउनु भन्दा पनि धेरै विषयवस्तुहरूलाई समायोजन गर्ने कला हुनुपर्छ । ‘म धेरै साथीहरुलाई एउटै विषयमा घण्टौं घोकिरहेको देख्छु, त्यो नगरौं, हरेक एक घण्टा पढिसकेपछि ५/१० मिनेट त्यसको आफैंले समीक्षा गर्नुपर्छ, घोकेर भन्दा सम्झेर बुझेर पढेको कुरा दिमागमा बस्छ ।’ उनी बिहानको समय बढी पढ्थे । उनलाई एकै ठाउँमा बसेरभन्दा घुम्दै पढ्न मन पर्छ । ‘मैले पढ्दा वाक्यहरु याद गर्न तिर कहिल्यै लागिनँ, एउटा हरफमा दुई तीनवटा शब्द हुन्थे त्यसलाई बढी ध्यान दिन्थें,’ उनी भन्छन्, ‘एउटा शब्द पढिसकेपछि त्यो शब्दसँग जोडिने अरु कुन-कुन शब्दावली हुन्छन्, त्यस्तो शब्दहरू बुन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ पढाइमा संरचनाले पनि फरक पार्ने उनी बताउँछन् । ‘हाम्रो परीक्षा प्रणाली र पढाउने शैली पनि बदल्नुपर्छ, किताब र नोटमा जुन कुरा छ त्यही मात्रै पढाउने अभ्यास छ,’ उनी भन्छन्, ‘त्यसले कोर्सका लागि त राम्रो गर्ला तर विद्यार्थीको ज्ञानको दायरा बढाउन मद्दत गर्दैन ।’ विदेश जान मन लागेन अहिले नेपालमै बसेर पढ्ने भन्दा विदेश जानेको संख्या बढिरहेको छ । विश्वविद्यालयहरूबाट गोल्ड मेडलिस्ट भएकाहरू पनि स्वदेशमा काम पाइएन भनेर विदेश गइरहेका छन् । तपाईंलाई विदेश जान मन लागेन भन्ने जिज्ञासामा उनले भने, ‘मैले आइएस्सी पढ्दापढ्दै विश्वविद्यालयका इमेल खोज्ने काम गरेँ, जब म लेख्न थाले त्यसपछि मलाई दुई किसिमले अप्ठ्यारो भयो, एउटा म लेख्न थालिसकेको थिएँ, अर्को अब विदेश जाँदा ढिलो हुन्छ भन्ने भयो ।’ पीताम्बर स्नातकोत्तर पढ्दै गर्दा देशको अवस्था र उनले लिएर पढ्ने गरेको विषय मिल्दोजुल्दो थियो । देशमा सशस्त्र युद्ध चलिरहेको थियो । ‘मलाई स्वदेश बस्न धेरै कुराले साथ दियो, पढ्ने विषय, देशको परिस्थिति र समय, त्यसैले पनि म विदेश गइनँ,’ उनले भने । अर्को उनको संगत पनि विदेश गएर फर्केका र नेपालमै केही गर्नुपर्छ भन्नेहरूसँग भयो । त्यसैले पनि आफू विदेश नगएको अनुभव सुनाए । त्रिचन्द्र कलेजबाट बीएस्सी वातावरण विज्ञानमा उत्तीर्ण गरेका उनको मुख्य विषय तथ्यांकशास्त्र र वातावरण विज्ञान थियो । धेरै साथीहरूले भौतिकशास्त्र पढिसकेपछि अमेरिका जान सहज हुन्छ भन्थे । भौतिकशास्त्र पढेका उनका धेरै साथी अहिले पनि अमेरिकामै छन् । ‘आफ्नै देशमा बसेर काम गर्न पाउँदा सन्तुष्ट छु । तर, अहिले हाम्रो देशको शैक्षिक अवस्था देख्दा मन दुख्छ,’ निराश हुँदै उनले भने ।

प्रभु क्यापिटलका हितग्राहीले सिद्धार्थनगर सिटी हस्पिटलको सेवामा छुट पाउने

काठमाडौं । प्रभु क्यापिटलले भैरहवा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसँंग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । आइतबार भएको उक्त समझौता २ वर्षका लागि भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्धार्थनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिदाँ हस्पिटलले दिदैं आएको विभिन्न सेवाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्राहकले आफ्नो परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध छ । ‘बिरामीहरुको सुविधालाई ध्यानमा राखि स्वास्थ्य सेवाको पहुँच आम समुदायमा पु-याउने उद्देश्यका साथै राम्रो उपचारका लागि आत्तिएर काठमाण्डौ, चितवन तथा छिमेकी मुलुक भारत जानुपर्ने वाध्यतालाई चिर्दै यस सिद्धार्थनगर सिटी हस्पिटलले सम्पुर्ण सेवाहरु प्रदान गरेको छ तसर्थ यो क्षेत्रमा भएका प्रभु क्यापिटलका सेवाग्राहीलाई समेत यो योजनाको लाभ लिन आब्हान गर्दछु’ भनी यस अस्पतालका विजनेश म्यानेजर पंकज कुमार पाण्डेयले भने । लुम्बिनी रोड भैरहवा अवस्थित सिद्घार्थगर सिटी हस्पिटल आधुनिक प्रविधियुक्त एक उत्कृष्ट हस्पिटल हो, जसमा विशेषज्ञ डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन् । १०० शैयाको यो हस्पिटलमा २४सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायत विभिन्न सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र क्याविन सुविधाहरू छन् । प्रभु क्यापिटल मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना प्रोडक्ट तथा लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक सम्झौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिदैं आईरहेको छ ।

प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद जारी गर्ने, पुँजी ५ अर्ब नाघ्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावको सैद्धान्तीक स्वीकृतिको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेश गर्ने छ । र, प्राधिकरणको स्वीकृत पाएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले उक्त हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले प्राधिकरणले तोकेको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । १७ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।

भीड व्यवस्थापनका लागि काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु

काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमबारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो । टोकन प्रणालीको सुरुवात गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुवात गरेको बताए । उनले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरू अघि बढेको बताए । उनले भने, ‘काठमाडौं जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर, सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली सुरु भएको छ । काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने कन्सेप्टमा हामी अघि बढेका छौँ । न्याय प्राप्तिका लागि काठमाडौँ अदालत प्रवेश गर्दै गर्दा कम्तीमा सहज ढङ्गबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’ उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताए । उनले अबबाट उभिएर सेवा लिनुपर्ने असहजता नहुने बताए ।

बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सानिमा बैंकले पनि बुझायो कर

काठमाडौं । सानिमा बैंकले पनि सरकारलाई करबापत ६ करोड ५३ लाख रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले ६ करोड ५३ लाख ८९ हजार ७ सय ५७ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो । बैंकले साविकको बागमती डेभलपमेन्ट बैंकको प्राप्तिमा सौदावजी गर्दा प्राप्त लाभ र हकप्रद सेयर लिलाम गरी प्राप्त भएको प्रिमियम रकमलाई आयमा समावेश गरी कर तिरेको बैंकले जानकारी गराएको छ ।

उपत्यकाको विकास एकै पटक हुनुपर्छ : बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए । उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानून बाझिएका कारण असहज भएको बताए । संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे । काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गरे । ‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुई वटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपाकिला हुन्, त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ, काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीय ज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ, मेयरहरुले मात्रै सक्दैन, ललितपुरसँगै काठमाडौं पनि बराबर उज्यालो होस् त्यसैअनुसार बुझ्नुपर्छ’, उनले भने । प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए ।