प्रधानमन्त्रीलाई बालेनको आग्रह : फोहोर व्यवस्थापनमा भएको बाधा फुकाइदिनुस्

<p>काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह &#8216;बालेन&#8217;ले प्रधानमन्त्री पुष्पकमल दाहाल &#8216;प्रचण्ड&#8217;लाई काठमाडौंको फोहोर व्यवस्थापनमा भएको बाधा फुकाइदिन आग्रह गरेका छन् । फोहोरमैला व्यवस्थापन लगायतका काममा संघ सरकारको सहयोग चाहिएको बताउँदै उनले सो आग्रह गरेका हुन् । सोमबार ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बञ्चरेडाँडा [&hellip;]</p>

काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौंको फोहोर व्यवस्थापनमा भएको बाधा फुकाइदिन आग्रह गरेका छन् । फोहोरमैला व्यवस्थापन लगायतका काममा संघ सरकारको सहयोग चाहिएको बताउँदै उनले सो आग्रह गरेका हुन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बञ्चरेडाँडा (स्यानिटरी ल्याण्डफिल साइट) व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले चाहना भयो भने यहाँबाट अर्को कार्यक्रममा पुग्ने समय अगाडि नै समाधान गरिदिन सक्नुहुन्छ । तर, यो काम गर्न स्थानीय सरकारलाई दिएको अधिकारले पुग्दैन । हामी प्रमुख उपप्रमुखको जोडले मात्र पुग्दैन । यसमा भएका बाधा फुकाइ दिन म यहीँबाट अनुरोध गर्न चाहन्छु ।’ उनले भने ।

‘काठमाडौं र ललितपुरका बीचमा केही भिन्नता छन् । काठमाडौंमा नदी अतिक्रमण छ । ललितपुरमा पैदल मार्ग । एकदिन दुवै सहरलाई अतिक्रमणमुक्त बनाउनु पर्छ । कतिपय अतिक्रमण हामी आफैँले नियन्त्रण गर्न सक्छौं । तर नदी अतिक्रमण व्यवस्थापन हामीले मात्र गर्न सक्दैनौँ । म यहीँबाट प्रधानमन्त्रीज्यूलाई फेरि अनुरोध गर्न चाहन्छु । यसमा हामीलाई सहयोग गरिदिनुपर्यो । यो प्रधानमन्त्री र गृह मन्त्रालयको इच्छा भयो भने ५ मिनेटदेखि १ घण्टामा समाधान निस्किन्छ । ललितपुरले उज्यालो कार्यक्रम सञ्चालन गर्न पायो । रातमा उज्यालो छ । काठमाडौंले मुद्दा खेप्नु पर्यो । काम हुनै पाएको छैन ।’ प्रमुख शाहले भने ।

सरसफाइ र सम्पदा संरक्षणको विषय उठाउँदै उनले ललितपुर जस्तो सफा र भक्तपुर जस्तो सम्पदा संरक्षण भएको सहर बनाउने चुनाव अगाडि देखिकै योजना रहेको बताए । ‘यसमा काम भइरहेको छ, सरसफाइमा अहिले काठमाडौंमा धेरै सुधार भएको छ, पहिले काठमाडौं र ललितपुर छुट्टिन्थ्यो, अहिले उस्तै उस्तै देखिन थालेको छ, सुधारका लागि गर्नु पर्ने काम धेरै छन्, हामी प्रयास गरिरहेका छौं,’ उनले भने ।

त्यस्तै, यातायात क्षेत्र सुधारको विषय उठाउँदै उनले संघीय राजधानी यातायात प्राधिकरणको संरचनाबाट काम थाल्दाथाल्दै प्रदेश सरकार मुद्दामा गएको बताए । ‘हामीले यातायात क्षेत्रलाई बैज्ञानिकीकरण गर्ने योजना बनाउँदै थियौं । सुधारका काम गर्दा प्रदेश सरकारले मुद्दा हालिदिनु भएन ।’ उनले अन्तरसम्बन्धका विषयमा बोल्दै उनले बताए ।

काठमाडौं उपत्यकाको एकीकृत र दिगो विकासका लागि अन्तरपालिका सम्बन्धबाट नतिजा हासिल हुनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

Share News