विकासन्युज

ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ को विजेता घोषणा

काठमाडौं । ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर (८ लाख ४० हजार नेरू)सम्मको ट्युशन शुल्कमा टेवा दिनेछ । यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो । प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । यो वर्षका लागि नेपालका विजेताका नाम यस प्रकार रहेको छ : रिजु अधिकारी – प्रथम पुरस्कार जीबीपी ५ हजार (नेरू ८ लाख ४० हजार) उज्ज्वल भेटुवाल – द्वितीय पुरस्कार जीबीपी २ हजार (नेरू ३ लाख ३६ हजार) रिशिका शाह – तृतीय पुरस्कार जीबीपी १ हजार (नेरू १ लाख ६८ हजार) यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा  आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केही भाग्यशाली विजेताहरूले आईईएलटीएस उपहार पाएका छन् । हरेक हप्ता एक जना भाग्यशाली विजेताले जीबेएल चार्ज ५ जितिरहेका छन् । मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक पाएका थिए । दुई जना भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको थियो । विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको छ । यसको घोषणा ब्रिटिश काउन्सिलको सामाजिक सञ्जाल च्यानलमार्फत गर्ने गरिन्छ । ‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौं, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेका छौं र अन्ततः नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेका छौं । हाम्रो आईईएलटीएस प्राइज र आईईएलटीएस उपहार अभियानका विजेताहरूलाई हार्दिक बधाई छ । आईईएलटीएस प्राइजले तपाईंलाई तपाईंको सपना पूरा गर्न र शैक्षिक लक्ष्य हासिलमा मद्दत गर्छ भन्ने आशा मैले लिएको छुँ,’ ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भनिन् ।

लुम्बिनी विकास बैंकका ग्राहकलाई बयोधा अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । लुम्बिनी विकास बैंक र बयोधा अस्पताल बिच सम्झौता भएको छ । लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौंमा अवस्थित बयोधा अस्पताल सँग विभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । उत्त सम्झौता अनुसार बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गरिने भएको छ । उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौं स्थित मुख्य कार्यालय बाट प्राप्त गर्न सकिने छ । सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डाक्टर अरबिन्द कुमार साहले हस्ताक्षर गरे । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो । काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २० अर्ब अमेरिकी डलर पुग्यो

काठमाडौं । दुई वैश्विक ऋणदाताको ऋण केन्द्रीय बैंकको खातामा जम्मा भएपछि बङ्गलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसबाट लामो समयदेखि विदेशी मुद्राको सञ्चितिमा भएको गिरावट रोकिएको छ । बङ्गलादेश बैंकका कार्यकारी अधिकृत तथा प्रवक्ता मोहम्मद मेजबुल हकले आइतबार पत्रकारहरूसँग ६८ करोड ९० लाख डलर अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र ४० करोड डलर एसियाली विकास बैंक (एडिबी) बाट आएको जानकारी दिए । उनका अनुसार वैश्विक ऋणदाताबाट केन्द्रीय बैंकको खातामा एक अर्ब नौ करोड डलर ऋण प्राप्त हुनुअघि बिहीबार मुलुकको वैदेशिक मुद्रा सञ्चिति १९ अर्ब १७ करोड डलर थियो । विश्वव्यापीरूपमा आयात लागतमा उल्लेख्य वृद्धि हुनुका साथै विप्रेषण र निर्यातबाट हुने आम्दानी अपेक्षाकृत कम हुँदा विदेशी मुद्रा सञ्चिति घट्ने क्रम जारी छ । बङ्गलादेशको सबैभन्दा उच्च वैदेशिक मुद्रा सञ्चिति सन् २०२१ मा ४८ अर्ब डलर थियो । यद्यपि अन्तर्राष्ट्रिय उथलपुथलका कारण २०२२ को सुरुआतदेखि नै सञ्चितिको दर घट्दै गएको देखिन्छ । खुम्चिँदै गएको वैदेशिक मुद्रा सञ्चिति बढाउनका लागि केन्द्रीय बैंकले गत वर्ष धेरै उपाय अवलम्बन गरेको थियो । बैंक अन्तर्राष्ट्रिय कारोबारमा चिनियाँ युआनको प्रयोगसहित वैकल्पिक मुद्रा व्यवस्थामनमा लागेको छ । यद्यपि केन्द्रीय बैंकका अधिकारीहरूले वर्तमान सञ्चितिसँगै बङ्गलादेश करिब चार महिनाको आयातको भुक्तानी गर्ने स्थितिमा रहेको बताएका छन् । बङ्गलादेशजस्तो बढ्दो अर्थतन्त्रका लागि छ महिनाको आयात भुक्तानी बराबर वैदेशिक मुद्रा सञ्चिति पर्याप्त मानिन्छ । रासस

बीमा दाबी भुक्तानी पाउन धाउँदा बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री कार्की

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा क्षेत्रको विकास तथा बीमाको दायरा विस्तारका लागि कानूनी र नीतिगत व्यवस्थाका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री कार्कीले भने, ‘बीमा कम्पनीहरूले लोभलालच देखाएर वा प्रभावित पारेर बीमा गर्नु भएन, बीमा दाबी भुक्तानी पाउन धाउँदा धाउँदा बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गर्नुपर्यो, स्वतःस्फूर्त रूपले बीमा गर्न पाउने अवस्था सिर्जना गर्नुपर्यो ।’ मुख्यमन्त्री कार्कीले किसानले बीमा दाबी नपाउने तर ठूला बीमितले भने सजिलै पाउने अवस्थाले बीमाप्रतिको विश्वास नबढ्ने उल्लेख गर्दै विदेशको नक्कल नगरी देशको भौगोलिक अवस्था तथा नागरिकको आवश्यकता आधारमा बीमालेख ल्याउन र बीमालेखमा ‘वा, तर’ जस्ता शब्द प्रयोग नगरी यथार्थ वाक्याङ्श राखी सबैले बुझ्ने सरल भाषामा बीमालेख ल्याउन सुझाव दिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरीबी न्यूनीकरणमा बीमाबाट समेत योगदान पुग्ने भएकाले सरकारले बीमालाई गरीबी न्यूनीकरणको प्रमुख रणनीतिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले भने, ‘बीमा अन्तर्राष्ट्रिय सिद्धान्तका आधारमा चल्छ, बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, बाहिर आए जस्तो दाबी भुक्तानीमा समस्या छैन, बीमा कम्पनीहरूबाट ७० प्रतिशतभन्दा बढीको दाबी भुक्तानी भइसकेको तथ्याङ्क छ ।’ देशको भौगोलिक आवश्यकताका आधारमा बीमालेख ल्याउन सहयोग गर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘सरकारले सबै दायित्व लिन सक्दैन, बीमा मार्फत थोरै रकममा दायित्व हस्तान्तरण गर्न सकिन्छ, प्रदेश सरकारको पनि यसतर्फ ध्यान जानुप¥यो, प्रदेश बीमा नीति ल्याउनुपर्यो, बीमा नीति तर्जूमामा सहयोग गर्न प्राधिकरण तयार छ ।’ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमाको महत्व, बीमा बजारको विद्यमान अवस्था, बीमाको विकास एवम् दायर विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा कोशी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरू, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरू, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सानिमा जीआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ : कार्डको प्रयोग बिनै पेमेन्ट गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुरुवात गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोेबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् । उक्त प्रविधिमार्फत बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोवल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेन्ट गर्न सक्नेछन् । भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । जहाँ कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका लेनदेन बैंकिङ बिक्री र व्यापारका प्रमुख प्रकाश पौडेलले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताए । उनले प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि बढ्दै जाने आशा व्यक्त गरे । अब ग्लोबल आइएमई बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेन्ट गर्न सक्नेछन् ।

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन । गत वर्षको भदौ ७ देखि गएको मङ्सिर १६ गतेसम्म मन्दिरमा सङ्कलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि दुई वर्षको अवधिमा सङ्कलित सुन चाँदीको विवरण यकीन भएको थियो । उक्त विवरणअनुसार २०७७ साल भदौ १८ देखि २०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ । दुवैपटक तौल गरिएको सुन बिक्री गरिएको छैन । यसपटक सङ्कलित सुन रिफाइन पछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । यस्तै पाथीभरामा सङ्कलन भएको भेटी रकमसमेत गणना भइरहेको छ । मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले बताए । अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उनको भनाइ छ । रासस

के गर्दैछन् टीयूका ‘गोल्ड मेडलिस्ट’ ?

काठमाडौं । आज नेपाली विद्यार्थीहरूका लागि एउटा पर्व हो । त्रिभुवन विश्वविद्यालयले हरेक वर्ष दीक्षान्त समारोहको आयोजना गरी हजारौं विद्यार्थीलाई दीक्षित गर्छ । ती हजारौं विद्यार्थीहरूमध्ये केहीले उत्कृष्ट अंक ल्याउँदै पदक जित्ने अवसर पाउँछन् । विश्वविद्यालयको पढाइ सकेपछि विद्यार्थी स्वभावैतः श्रम बजारमा प्रवेश गर्छ । ती हजारौं विद्यार्थीहरूमा उच्च अंक प्राप्त गरेर स्वर्ण पदक जितेका विद्यार्थीहरू के गर्छन् होला ? यो जिज्ञासा, चासो र उत्सुकता अधिकांशमा हुन्छ । उनीहरू नेपालमै केही गरिरहेका छन् वा विदेश तिरै होलान् ? त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा ‘गोल्ड मेडल’ पाएका व्यक्तिको खोजी गरी उनीहरू के गरिरहेका छन् भन्नेबारे हामीले सामग्री तयार पारेका छौं । विकास भुसाल अहिले स्याङजाको कालिगण्डकीमा रहेको आदर्श माद्यामिक विद्यालयमा अध्यापन गराउँछन् । २०७९ सालमा शिक्षासेवा आयोगबाट नाम निकालेर उनी त्यहाँ अध्यापन गराउन थालेका हुन् । उनी २०७८ सालका शिक्षा संकाय टपर हुन् । अर्घाखाँचीको सन्धिखर्कका उनी कक्षा १ देखि स्नातकसम्म अर्घाखाँचीमै पढे । कक्षा एकदेखि ५ सम्म गाउँमै रहेको जोगीमारे आधरभूत विद्यालयमा पढेका उनी कक्षा ६ देखि १० सम्म गाउँमै रहेको विजय मावीमा पढे । त्यही स्कुलबाट उनले २०६८ सालमा एसएलसी पास गरे । त्यसपछि उनी प्लसटु पढ्न अर्घाखाँचीको सदरमुकाममा झरे । त्यहाँ उनले प्लसटु र स्नातक पढे । विद्यालय तहमा कक्षामा चौथो हुने उनी प्लसटु र ब्याचलर्समा जिल्ला टप हुन थाले । ब्याचलर्ससम्म जिल्लामै पढेका उनी स्नातकोत्तर पढ्न काठमाडौं आए । उनी शिक्षा शाखा केन्द्रीय विभाग कीर्तिपुरबाट मास्टर पढ्न सुरु गरे । २०७८ सालमा उनी शिक्षा संकायको सबै विषयमा सर्वोत्कृष्ट नम्बर ल्याउँदै ‘गोल्ड मेडलिस्ट’ बने । ‘म जहिले टप बनेको विद्यार्थी अब तल कुनै हालतमा झर्नु हुँदैन भन्ने लाग्यो, त्यही अनुसार मिहिनेत गरें, अन्ततः स्नातकोत्तरमा देशभरकै विद्यार्थीबाट सर्वोत्कृष्ट अंक ल्याएँ,’ उनी खुसी हुँदै भन्छन् । उत्कृष्ट अंक ल्याएर गोल्ड मेडलिस्ट बनेका उनलाई कसरी पढ्दा टपर बन्न सकिन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘निरन्तरता हुनुपर्छ, आज पढ्ने भोलि नपढ्ने गरेर हुँदैन, अर्को कुरा विद्यार्थीले पढ्दा अठोट अथवा लक्ष्य पनि राख्नु पर्‍यो ।’ ००० काठमाडाैंको मिनभवनकी रिस्ता श्रेष्ठ पनि गोल्ड मेडलिस्ट हुन् । उनी अहिले आफ्नै आइटी कम्पनी खोलेर काम गरिरहेकी छिन् । वि.सं. २०७५ सालमा उनले स्कुल अफ म्यानेजमेन्टबाट एम.बि.ए तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्दै गोल्ड मेडल पाएकी थिइन् । उनले गोल्ड मेडलकै लागि भनेर कहिल्यै अध्ययन गरिनन् । तर, सानैदेखि उनी पढाइमा राम्रै थिइन् । ‘परिवारमा सबैजनाले पढ्नुपर्छ, मिहिनेत गर भन्थे, मैले पनि मिहिनेत गरें । तर, नेपाल नै टप हुन्छु भन्ने लागेको थिएन,’ विकासन्युजसँगको कुराकानीमा उनले भनिन् । काठमाडौं उपत्यकामै हुर्के बढेकी उनलाई विकासको जस्तो सरकारी स्कुलमा पढ्न परेन । परिवारमा पनि सबै शिक्षित भएकाले पढ्नुपर्छ भन्ने वातावरणमा उनी हुर्किन् । त्यसैले पनि आफू सर्वोत्कृष्ट नम्बर ल्याउन सफल भएको उनी बताउँछिन् । पढाइको लागि सबैजनाको आ-आफ्नै तयारी हुन्छ । कसैलाई दिनरात घोकेर पढ्ने, कसैलाई बिहान र साँझमात्र पढ्ने र कसैलाई अलिअलि हेर्दा पनि याद हुने हुन्छ । रिस्तालाई भने परीक्षाको बेला धेरै आराम चाहिँन्छ । उनी भन्छिन्, ‘म परीक्षाको बेला घोकेर पढ्दैन, मलाई त्यो बेला मेन्टल रेस्ट बढी चाहिँन्छ, साँझ छिट्टै सुतेर, बिहान पनि ढिलो उठ्छु, मैले गर्ने तयारी भनेको कक्षा सुरु भएदेखि नै हुन्छ ।’ उनी अरुलाई पनि यस्तै सल्लाह दिन्छिन् । पहिलेदेखि नै थोरै-थोरै गरेर तयारी गर्दै जाँदा पछि धेरै घोक्न नपर्ने उनी बताउँछिन् । यसो गर्दा दिमाखलाई धेरै प्रेस पनि नहुने र राम्रो पनि गर्न सकिने उनको अनुभव छ । ००० ललितपुरको कुपण्डोलकी मेरिना नेपाली अहिले नेपाल राष्ट्र बैंकमा काम गर्छिन् । २०७४ सालमा स्कुल अफ म्यानेजमेण्टमा सर्वोत्कृष्ट बनेकी उनी काठमाडौंमै रहेर बैंकमा कार्यरत छिन् । यसरी सर्वाेत्कृष्ट ल्याउँदै गोल्ड मेडल पाएका धेरैजसो अहिले नेपालमै जागिर गरिरहेका छन् । कतिपय गोल्ड मेडल लिस्टहरु त्रिविमै आफूले टप गरेको संकायमा काम गरिरहेका छन् भने कतिपय विदेश गएका छन् । तथ्यांक हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयको ३७औं दीक्षान्त समारोहदेखि ४९औं दीक्षान्त समारोहसम्म आइपुग्दा स्नातकोत्तर तहमा मात्रै ५९ जनाले गोल्ड मेडल पाएका छन् । तीमध्ये धेरै संख्या महिलाको छ । सोमबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औं दीक्षान्त समारोहमा मात्रै स्नातकोत्तर तहमा ५ जना, एमफीलमा एक जना गरी ६ जनाले गोल्ड मेडल प्राप्त गरेका छन् भने ८ जनाले अन्य पुरस्कार पाएका छन् । परदेशमा पुगेका गोल्ड मेडलिस्ट स्याङ्जाको क्याक्मीका लालगोपाल सुवेदी अहिले अमेरिकामा छन् । २०५४ सालमा नेपाली साहित्यबाट ‘लारी स्वर्ण’ पदक पाएका उनी २०६५ सालदेखि अमेरिका बस्दै आएका छन् । नेपालमा रहँदा शिक्षण पेशामा आबद्ध उनी नेपालभन्दा राम्रो अवसर पाउँदा परदेश गएका हुन् । उनी नेपाली साहित्यका एउटा खम्बा हुन् । आज हामीले उनलाई खोज्दा उनी त्रिभुवन विश्वविद्यालयको प्रोफसर वा लेख्चरको रुपमा भेट्नु पर्थ्यो वा कुनै कलेजको प्रिन्सिपलको रुपमा भेट्नु पर्थ्यो तर, बिडम्बना उनलाई सामाजिक सञ्जालमा खोज्नुपर्छ । उनले नेपालमै अवसर नपाएको पनि हैन । व्याकरण, समलोचना, कविता लेखेर पनि भात खान पुगेकै थियो । तर, यतिले परिवार पाल्न प्रयाप्त थिएन । उनले नेपालका विभिन्न विद्यालय कलेजमा पनि पढाए । नेपालमा सामान्य जीवन बिताइरहेका उनी अहिले सबैको सपनाको देश अमेरिका पुगेका छन् । गोल्ड मेडलिस्टलाई टीयूले नै पत्याउँदैन त्रिभुवन विश्व विद्यालयबाट गोल्ड मेडलिस्ट बन्ने मध्येकी एक हुन् युवा नेतृ मानुषीयामी भट्टराई  । उनले आजभन्दा १२ वर्ष पहिले ‘राजनीति शास्त्र’ विषयमा उत्कृष्ट बन्दै गोल्ड मेडल पाइन् । तर, यो मेडलले आफ्नो बायोग्राफीमा एउटा बुँदा थप्नुबाहेक अरु खासै केही नभएको उनको अनुभव छ । यो पदक पाउँदा के लाभ पाइन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘केही लाभ हुन्छ भन्ने मलाई थाहा छैन, कहिँलेकाहीँ तपाईंहरुले गोल्ड मेडलिस्ट भनेर सम्झनुहुन्छ त्यही हो, अर्को एउटा तक्मा, सर्टीफिकेट पाएँ त्यही हो ।’ उनलाई आफू पढेको विद्यालय र पदक पाएको विषयबाटै सेवा गर्ने ईच्छा थियो तर, अवसर नै नपाएको बताइन् । उनी थप्छिन्, ‘अब कति गुनोसो मात्र गर्ने यसैमा केही गरौँ भन्ने सोच थियो, ठ्याक्कै तीन वर्ष पहिले त्रिभुवन विश्वविद्यालयमै सेवा आयोग खुल्यो तर, यत्रो वर्ष हुँदा समेत अहिलेसम्म टीयू सेवा आयोगले परीक्षा नै लिएको छैन ।’ यहिँको गोल्ड मेडलिस्ट यहिँ केही गर्छु भन्दा पनि टीयूले पूर्णरुपले ढोका खोल्न नसकेको उनले सुनाइन् । उनीसँगै मेडल पाएका साथीहरु कहाँ के गर्छन् भन्ने पनि उनलाई त्यत्ति थाहा छैन । तर उनी आफ्नो हकमा यो मेडलले खासै प्रभाव नपारेको बताउँछिन् । तर, यो मेडलले उनलाई साथीभाईले हेर्ने नजर गर्ने व्यवहारमा भने फरक भयो । स्नातकोत्तरमा मात्र हैन मानुषी हरेक वर्ष आफ्नो कक्षामा टप हुन्थिन् । उनी भन्छिन्, ‘म जहिले कक्षा टप हुँदै आएकोले होला यो मेडल पाउँदा नि त्यति महत्व लागेन, तर, साथीभाईले गर्ने व्यवहारमा भने फरक भएको महसुस गरेँ ।’ मानुषीले कहिल्यै यो पदक पाउँछु भनेर मिहिनेत गरिनन् । उनलाई फिजिक्स, कम्प्युटर, साइन्स पढ्दा मजा लाग्थ्यो तर, साइन्समा केमेस्ट्री त्यत्ति मन पर्दैनथ्यो भने, हिस्ट्री पनि त्यत्ति मन पर्दैनथ्यो । उनलाई मनपर्ने भनेको जीओग्राफी र नेपाली, अंग्रेजी दुवै भाषा पढ्न खुब मन पर्थ्यो । पढाइको कुरा गर्दा उनले भनिन्, ‘मलाई कलेजमा राजनीति विज्ञान पढ्दा सार्वजनिक प्रशासन (पब्लिक एडमिनिस्ट्रेसन) एकदम पट्यार लाग्दो लाग्थ्यो तर, पछि राजनीतिमा सकृय हुँदा सबैभन्दा काम लाग्ने भनेकै पब्लिक एडमिनिस्ट्रेसन रहेछ । ’ पदक पाएर मात्र के गर्नु गोल्ड मेडल पदक पाएकाहरूका लागि कुनै छुट्टै ऐन नियम छैन । यो कनैपनि विद्यार्थीले आफुले पढेको विषय वा शंकायमा सर्वोत्कष्ट अंक ल्याउँछ भने त्यस्तो विद्यार्थीलाई दिइने पदकमात्र हो । गोल्ड मेडलको पदक पाइसकेपछि के हुन्छ भन्ने विकासन्युजको जिज्ञासामा शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘यसमा त्यस्तो कुनै व्यवस्था छैन, पहिले एक पटक यो विषयमा छुट्टै नीति बनाउने विषय उठेको थियो । तर, अहिले त्यस्तो केही छैन ।’ रिस्ता श्रेष्ठ यो मेडलपछि कुनै छुट्टै नयाँ अनुभव नभएको बताउँछिन् । उनी भन्छिन्, ‘यो पदक पाउँदा सबैले बधाइ त भनेका थिए । तर, त्यस्तो कुनै फरक खालको सम्मान वा केही त्यस्तो फरक महसुस गरिनँ ।’ अर्घाखाँचीका विकासको अनुभव अलि फरक छ । उनी यो पदक पाइसकेपछि आफूलाई हेर्न दृष्टिकोणमा फरक परेको बताउँछन् । उनी भन्छन्, ‘गोल्ड मेडलिस्ट भनिसकेपछि अरुभन्दा यसमा केही एक्स्ट्रा अथवा यो मान्छे दक्ष छ है भन्ने फरक चाहिँ हुन्छ ।’ मेडल र जागिरको सम्बन्ध कुनै पनि विद्यार्थी दक्ष छ भने उसलाई जागिर खोज्न त्यति समस्या हुँदैन । तर, पढाइमा मात्र दक्ष र काम गर्नुपर्ने ठाउँमा अदक्ष छ भने मेडलले मात्र केही हुँदैन । तर, प्राय गोल्ड मेडल पाउने विद्यार्थीहरूमा भने केही फरक पक्कै हुन्छ । मेडल पाएका विद्यार्थी जागिर र मेडलसँग कुनै सम्बन्ध नरहने बताउँछन् । विकास भन्छन् , ‘जागिर र यसको केही सम्बन्ध हुँदैन, मैले यो पदक पाइसकेपछि न कसैले मेरो खोजी गर्यो न मैले म यस्तो हुँ भन्दै काम खोज्न गएँ, आयोगमा नाम निकालेर आफैँ जागिर गरेँ ।’ रिस्ता पनि यो विषयमा त्यस्तै भन्छिन् । ‘मलाई आफै केही गर्नुपर्छ भन्ने लाग्थ्यो, मैले अन्त काम पनि खोजिनँ, अहिले आफ्नै कम्पनी खोलेर काम गरिरहेकी छुँ । ’ उनले भनिन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. शिवलाल भुसाल गोल्ड मेडल र जागिर बीचको सम्बन्ध नभएको बताउँछन् । उनी भन्छन्, ‘पदकदाताहरूले तोकेको क्राइटेरिया र विद्यार्थीले ल्याएको अंक मिल्यो भने उनीहरूलाई दिइने पदक हो, यसका लागि त्यस्तो छुट्टै केही छैन ।’ ‘उनीहरूलाई पदकको नामले कुनै ठाउँमा प्रतिस्पर्धा गर्दा पक्कै सहज हुन्छ नै । तर, यो पदक पाइसकेपछि उनीहरुले कुनै क्षेत्रमा जागिर पाउँछन् भन्ने ग्यारेन्टी हुँदैन,’ भुसालले भने ।