काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन् ।
सोमबार त्रिभुवन विश्वविद्याालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्नेसमेत प्रतिवद्धता जनाए । नेपालमा आधारभुत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताए ।
आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने पनि बताए । उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लगिएको जानकारी दिए ।
‘कतिपय विकसित देशहरुमा आधारभुत शिक्षामात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ, आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ, विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने स्थिति हटाइ समतामुलक, सबै वर्ग, समुदायले उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ, यसका लागि उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लैजाने हाम्रो प्रयास छ, त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्ने र मेरिटको आधारमा भिसी नियुक्ति गर्ने प्रतिवद्धता जनाउँछु’, उनले भने ।
प्रधानमन्त्री दाहालले आफ्ना विद्यार्थीलाई विश्वबजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौति रहेको बताए । उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए ।