नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तिर्यो करिब दुई अर्ब कर
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि सरकारलाई करबापत करिब दुई अर्ब रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले एक अर्ब ९२ करोड २३ लाख २१ हजार ९८१ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो । हालै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन खारेज भएसँगै बैंकले अन्य वित्तीय संस्थासँग मर्ज हुँदा वा अन्य संस्थालाई प्राप्तिमा सौदावाजी गर्दा र फर्दर पब्लिक अफरिङ्गमा प्रिमियमवापत प्राप्त रकम समेतलाई आयकार मानी दायित्व भुक्तानी गरेको बैंकले जानकारी गराएको छ ।
साँदनी खोलाको पुलले बस्तीमा दिएको खुसी, व्यापार बढाउन हौसिए
कञ्चनपुर । डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो । गाउँमै सामान्यस्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उनी हिजोआज भने बस्तीमा क्रमिक रुपमा हुँदै गएको विकासले हर्षित मात्रै होइन, व्यापार बढाउन हौसिएका छन् । परशुराम नगरपालिकाभित्र भौगोलिक रुपले विकास साँदनी गाउँ आवतजावत गर्न विगतमा भोग्नुपरेको बाध्यता हटेसँगै गाउँमा खुसीयाली छाएको छ । विसं २०२८ मा बैतडीको पुर्चौडी क्षेत्रबाट साँदनी सरेका भट्टले विगतमा दिनभर हिँडेर कञ्चनपुरको महेन्द्रनगर, भारतको टनकपुर झरेर कुटानीपिसानी गरेर जीविका चलाएको विगत सुनाए । तर हालै परशुराम –६ चन्दनी र ७ को बीचमा पर्ने साँदनी खोलामा पक्की मोटेरेवल पुल बनेपछि गाउँको विकासको ढोका खुलेको भट्टको भनाइ छ । ‘हामी त कुवाका भ्यागुतासँगै भएर चार दशक सङ्घर्ष गर्दै दुर्गम बस्ती बस्यौँ ।’ उनले भने, ‘यो पुल हिँडडुलका लागि मात्रै होइन महाकाली करिडोरमा समेत पर्ने भएकाले यसको महत्व धेरै छ ।’ उनले पुल नहुँदा पारी चन्दनीमा रहेको विद्यालयमा बर्खामा विद्यार्थीले जानसमेत छाडेको विगतको अवस्था सुनाए । ‘पुल नभएकै कारण खोलामा पानीको बहाव बढ्दा स्कुले बालबालिका चन्दनीको बस्तीमा आश्रय लिएरै पनि बसे ।’ उनले भने,’आज भन्दा डेढ दशकअघि मेरै छोरी विद्यालय जाँदा खोलामा बगेपछि मुस्किलले ज्यान जोगायौंँ ।’ साँदनीका स्थानीय व्यापारीले बर्षात अघि तीन/चार महिनाका लागि अगावै सामान भण्डार गर्नुपर्ने बाध्यता पनि पुल बनेपछि हटेको उनको भनाइ छ । त्यसैगरी बस्ती भएरै महाकाली करिडोरको ‘ट्र्याक’समेत खोल्ने काम थालिएपछि साँदनीबासीमा खुसीको सीमा छैन् । स्थानीय ८० वर्षीय वृद्ध गंगादत्त भट्टले साँदनीवासीले निकै अभाव र गरिबीकाबीच महाकाली नदी र साँदनी खोलाको पीडा सहेर बस्ती बचाएको बताए । ‘बस्तीमा बिरामी पर्दा डोकोमा बोकेर महाकालीमा तुईनमा तारेर भारतीय बजारमा उपचारका लागि जानुपर्ने बाध्यता थियो ।’ उनले भने, ‘अहिले पुल, सडक लगायतका विकास पूर्वाधार जोडिँदा गरिबका पनि दिन आएजस्तो भान भयो ।’ उनले साँदनी खोलामा बस्ती बसेको साँढे पाँच दशकपछि पुल बनेको बताए । ‘उत्तरतिर चुरे पहाड, पश्चिम दक्षिणमा महाकाली र पूर्वतर्फको साँदनी खोला भएको यो बस्तीमा बर्खामा त हलचलसमेत गर्न गाह्रो हुन्थ्यो ।’ उनले भने, ‘अहिले त गाउँमै मोटर गाडी आउन थालेपछि सपना जस्तै लाग्छ ।’ यसैगरी विसं २०२६ मा बैतडीबाट साँदनी सरेका उज्वलदत्त भट्टले आफूहरु खेतीपानी अन्न फल्ने आशमै यहाँ आएको बताए । ‘त्यो बेलाको जस्तो अन्न फल्न पनि अहिले छोड्यो ।’ उनले भने, ‘नब्बे किलोग्राम चामल महेन्द्रनगरबाट बोकेर पनि परिवारको छाक टारेका थियौं।’ उनले पनि साँदनी खोलाको पुल आफूहरुका लागि बरदान जस्तै भएको बताए । ‘जोगबुढा र आलिताल क्षेत्रमा मात्रै ठेक्का भएर पनि सडक र पुल लामो समयदेखि अलपत्र नै छन् ।’ उनले भने, ‘तर साँदनी खोलामा तोकिएको समय भन्दा सात महिना अघि नै पुल बन्दा गाउँलेहरु खुसीले गद्गद् छन् ।’ उनले खोलामा पुल नहुँदा विसं २०५२ मा विद्यार्थीको एसएलसी परीक्षा नै प्रभावित भएको बताए । ‘जोगबुढा बजार गएर दैनिक उपभोग्य सामान ल्याउन अब दिनरात जतिबेला जाँदा नी सहज भयो ।’ उनले भने, ‘विेद्यार्थी अहिले पुल तरेर विद्यालय आवतजावत गरेको देख्दै आनन्द लाग्छ।’ त्यसैगरी पुल छेउमै (पारी) तर्फ रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले सडक पूर्वाधार क्रमिक रुपले विकास भएसँगै बस्तीको मुहार फेरिएको बताए । २६ वर्षदेखि सोही विद्यालयमा कार्यरत उहाँले विगतमा खोलामा पुल नहुँदा दर्जनौँ विद्यार्थी समस्यामा पर्ने गरेको बताए। ‘खोला बढ्यो की ३०/४० विद्यार्थी साँदनी गाउँमै रोकिन्थे ।’ उनले भने, ‘अलि पानी कम भएका बेला अभिभावक र विद्यालयका शिक्षकले विद्यार्थी तार्ने काम गर्थे ।’ त्यसैगरी साँदनीमा स्वास्थ्य चौकी उपचारका लागि जानवारी चन्दनीका स्थानीयवासीलाई समस्या हुन्थ्यो । महाकाली करिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुराम पुग्ने ट्र्याकसमेत हालै खुलिसकेको छ । लामो समय रुख कटानकै कारण कञ्चनपुर र डडेल्धुरालाई करिडोरले जोड्न सकेको थिएन् । साँदनीका स्थानीयवासीले करिडोरको ट्र्याक खुलेपछि आवागमन पनि हुन थालेको बताएका छन् । ४२ महिनाको समयावधि पाएर पुल निर्माण थालेको लुम्बिनी–कुमार– राजेन्द्र जेभीका इञ्जीनीयर किशोरराज पाण्डेले ३४ महिनामै काम सकेर पुल सञ्चालनमा ल्याएको बताए । ३२ करोड ६१ लाख लागतमा निर्मित पुलको लम्बाइ दुई सय पचास मिटर रहेको छ । उनले उक्त पुल महाकाली करिडोर अन्र्तगत नै पर्ने भएकाले महाकाली पुल योजना कार्यालय मार्फत बनेको बताए। ‘पुलको दुवै तर्फ गरेर पाँच सय मिटर पहुँच मार्ग र नौ सय मिटर खोलाको तटवन्ध समेत निर्माण भएको छ ।’ उनले भने–’पुल बनेपछि गाउँहरुबाट पनि राम्रो प्रतिक्रिया पायौं।’ उनले निर्धारित समय भन्दा आठ महिना अघि नै पुल निर्माण गरेर पुल योजना कार्यालयलाई हस्तान्तरण गरेर बोसनका लागि समेत निर्माण कम्पनी दाबेदार बनेको बताए । ‘तोकिएको भन्दा २ सय दिन अगाढी काम सके सरकारले प्रोत्साहन स्वरुप रकम दिने सम्झौतामा उल्लेख छ ।’ उनले भने, ‘सोही अनुसार हामीले पनि बोनसका लागि दाबी गरेका छौं ।’ रासस
प्राइम बैंकले पनि लाभांश नदिने
काठमाडौं । प्राइम कमर्शियल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम बैंकले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ । क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार क्वार्टर निर्माणको काममा खटिएका मजदुरहरुले खाना पकाउने क्रममा आगो लागेको हो । जुन हाल नियन्त्रणमा आइसकेको समेत प्रहरीले बताएको छ । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान जलेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विदेशी फूलको सुगन्धमा सरकार, स्वदेशी व्यवसायीप्रति छैन चासो
काठमाडौं । फूल, रङ्गीविरङ्गी यस्तो चिज हो जसलाई ‘आँखामा हाले पनि बिझाउँदैन’ भनिन्छ । फूलको सुन्दरतामा नलोभिने सायदै होलान् । फूल कोपिला हुँदै हुर्किएर फक्रिएपछि मनै लोभ्याउने हुन्छ । तर, यही चित्ताकर्षक फूल फूलाउनेका कथाबारे भने कमैलाई मात्र चासो हुन्छ । फूललाई फूलसम्मको आकार दिन बीउ रोप्ने, बिरुवा उमार्ने, गोडमेल गर्ने, पानी हाल्ने, झार उखेल्ने, किराफट्याङ्ग्राबाट जोगाउन मल–विषादी छर्ने, दिनहुँ आफ्ना बालबच्चाझैं स्याहार गर्ने व्यवसायीहरूको कथा-व्यथा भिन्नाभिन्नै छन् । मनै लोभ्याउने फूल फुलाउने हजारौं छन् । तीमध्येकी एक प्रतिनिधि पात्र हुन् ललितपुरकी सावित्री थापा । सावित्रीले काठमाडौं बबरमहलमा लगभग दुई दशक भयो फूल फुलाउन थालेको । १८ वर्षदेखि ‘शिखा फ्लावर प्लान्ट नर्सरी’ सञ्चालन गर्दै आइरहेकी सावित्री बिहान सखारैदेखि झम्के साँझ नपरेसम्म तिनै फूल, बोटबिरुवासँगै रमाइरहेकी हुन्छिन् । उनी उठेदेखि नसुतुन्जेल फूल र बिरुवासँगै खेलेर समय कटाउँछिन् । ‘आफ्नो पेसा नै यही भयो, फूलका बिरुवा हेरचाह गर्ने, पानी दिने, ग्राहकसँग गफिने गर्दा नै समय बित्छ,’ उनी भन्छिन्, ‘आफ्नै हातले रोपेका बीउबाट उम्रिएका बिरुवा र त्यसमा कोपिला हुँदै फक्रिने फूल देखेपछि भने मन आनन्द हुन्छ ।’ सावित्रीको नर्सरीमा विदेशबाट बीउ आयात गरेर उत्पादन गरिएका बिरुवा धेरै छन् । ‘यहाँ नै उत्पादन गरिएका बिरुवा बिक्दैनन्,’ उनी भन्छिन्, ‘मान्छेले नयाँ-नयाँ फूल खोज्छन्, नयाँ भएमात्रै धेरै बिक्री हुने हो ।’ उनको नर्सरीमा युरोपको हल्यान्डदेखि भारतका सिक्किम र अन्य ठाउँबाट बीउ ल्याएर उत्पादन गरिएका बिरुवा छन् । ‘हाम्रोमा धेरै बिरुवा सिजनल छन्,’ उनी भन्छिन्, ‘चिसो मौसममा भ्यागुते, पिटुनिया, गननिया, डेन्टास, राइनोक्लोस पेमलाका बिरुवा हुन्छन् । गर्मीमा निनिया, सयपत्री, गोदावरी, मखमली हुन्छन् । हाम्रोमा इन्डोर प्लान्ट बढी छन् ।’ अहिलेको अवस्थामा पहिलाजस्तो फूलको कारोबार हुन नसकेको सावित्री बताउँछिन् । कोरोना महामारीपछि सुस्ताएको नर्सरी व्यवसायले कोरोना अघिजस्तो गति लिन नसकेको उनको अनुभव छ । ‘अहिले मान्छेलाई खान लाउनै धौ-धौ छ,’ सावित्री भन्छिन्, ‘फूल त सोखका लागि पनि किनिन्छ । दैनिक आवश्यकता पूरा भएपछि किनिने वस्तु न हो । तर, के गर्नु हामीजस्ता हजारौं व्यवसायी र हामीसँग आश्रित लाखौंको पनि पेटको सवाल छ ।’ सावित्रीले बबरमहलमा एक रोपनी जग्गा भाडामा लिएर नर्सरी व्यवसाय सुरु गरेकी हुन् । जग्गाको भाडा महिनाको ५० हजार तिरिरहेकी छिन् । उनको नर्सरीमा सातजनाले रोजगारी पाएका छन् । यसमानेमा पनि उनलाई सन्तोष लाग्छ, किनकि सातजनाको परिवार उनकै नर्सरीले धानिदिएको छ । अहिले खासै फूलको कारोबार नभएको उनी बताउँछिन् । कहिले दिनको ३/४ हजार, कहिले २० हजार पनि हुने र कहिले हुँदै नहुने उनको अनुभव छ । अहिलेभन्दा दसैं तिहारमा भने ३/४ लाखको कारोबार भएकोमा सावित्री सन्तोषको सास फेर्छिन् । उनको नर्सरीमा २ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्ने फूलका बिरुवा छन् । उनको महिनाको खर्च डेढ लाख रुपैयाँ निस्किन्छ । अहिले त्यो खर्च व्यवथापनसम्म भइरहेको तर बचत हुन नसकेको उनी बताउँछिन् । ००० फूल (पुष्प) व्यवसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले यो व्यवसायमा लागेकाहरूको हकहितका लागि काम गरेको वर्षौं भइसक्यो । सरकारले पुष्प व्यवसाय र व्यवसायीलाई कहिल्यै प्राथमिकतामा नपारेको गुनासो पुरानै हो । फ्यानका अध्यक्ष मीनबहादुर तामाङ तिहारपछि भने फूल कारोबार सन्तोषजनक रहेको बताउँछन् । ‘अहिले हामीले अपेक्षा गरेअनुसार नै फूलको कारोबार भइरहेको छ,’ उनी भन्छन्, ‘उत्पादन र माग दुवैमा वृद्धि भइरहेको छ ।’ उनका अनुसार गत वर्ष २०७९ मा ३ अर्ब ७ करोड रुपैयाँको फूल कारोबार भएको थियो । फ्यानसँग रहेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ४२ करोड रुपैयाँबराबर फूलको कारोबार भएको थियो । आव २०७६/०७७ र २०७७/०७८ मा कोरोना महामारीले फूल कारोबार ह्वात्तै घटेर डेढ अर्बहाराहारीमा सीमित हुन पुग्यो । कोरोनापछि बिस्तारै उकालो लागेको फूल व्यवसाय आर्थिक वर्ष २०७८/०७९ मा आइपुग्दा सवा २ अर्ब रुपैयाँ, गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब रुपैयाँ कारोबार कटेको रेकर्ड फ्यानसँग छ । आयात-निर्यातको कुरा गर्दा कोरोना महामारीपछि आयात बढेको देखिएको छ । तामाङको भनाइलाई सरकारी तथ्यांकले पनि पुष्टि गर्छ । भन्सार विभागका अनुसार २०७९/०८० मा ३३ करोड ६ लाख रुपैयाँबराबरको पुष्प तथा पुष्पजन्य वस्तु नेपाल आयात भएको थियो । २०७८/७९ मा भने ३६ करोड ५३ लाख र २०७७/७८ मा ४० करोड ७२ लाखको आयात भएको तथ्यांक भन्सारसँग छ । नेपालले फूल आयातमात्र गर्दैन, यहाँबाट विभिन्न देशमा निर्यात पनि हुने गरेको तथ्यांक फ्यानसँग छ । फ्यानका अनुसार बितेका चार वर्षमा नेपालबाट २ करोड ७९ लाख रुपैयाँबराबरको फूल विभिन्न देश निर्यात भएको छ । आब २०७९/०८० मा ६८ लाख, २०७८/०७९ मा ९८ लाख, २०७७/०७८ मा ५३ लाख र २०७६/०७७ मा ६० लाखको फूल निर्यात भएको थियो । ००० अन्य देशबाट विशेष चाडपर्व र चिसो मौसम मंसिर, पुस र माघमा फूल कम फूल्ने भएकाले भारत तथा अन्य देशबाट आयात हुने फ्यानका अध्यक्ष तामाङ बताउँछन् । ‘यो बेला पनि नेपाली फूलले नै धान्छ,’ उनी भन्छन्, ‘अहिले हामीले बाहिरको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छैन, तिहारमा भने हाम्रो उत्पादन हुँदाहुँदै भारतीय उत्पादन आउँदा प्रतिस्पर्धा गर्न नसकिएको हो ।’ नेपालमा यति नै परिमाणमा फूल उत्पादन हुन्छ भनेर भन्न नसकिने उनी बताउँछन् । ‘फूलको धेरै प्रकृति र जात हुन्छ, मौसमी र बेमौसमी दुवैको कुरा गर्दा प्रतिगोटामै हिसाब गरिन्छ,’ उनी भन्छन्, ‘यसको हिसाब गोटामै निकाल्न सकिँदैन । हामीले कति मूल्यबराबरको कारोबार भयो भनेर भन्न सक्ने स्थिति छैन ।’ सरकारी तथ्यांकले ३ अर्बभन्दा बढीको वार्षिक फूलको कारोबार भइरहेको देखाए पनि अवैधरूपमा हुने कारोबारको लेखाजोखा नभएको अध्यक्ष गुरुङ बताउँछन् । ‘चोरी निकासी भएर आउने वा भन्सार प्रक्रिया पूरा नगरी आउने बिरुवा तथा फूलको पनि ठूलो कारोबार छ,’ उनी भन्छन्, ‘यो कुरा तथ्यांकमा आउँदैन । तथ्यांकमा जति मूल्य देखिएको छ, त्यति नै मूल्यको अवैध कारोबार हुन्छ भन्ने हाम्रो अनुमान छ ।’ यसको अर्थ, नेपालमा फूलको कारोबार वार्षिक ६ देखि ७ करोड रुपैयाँसम्म हुने गर्छ । हालसम्म फूल व्यवसायमा ७ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको तथा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४४ हजारभन्दा बढीले रोजगारी पाएको अध्यक्ष तामाङ बताउँछन् । आजभन्दा १५/१६ वर्ष अगाडि नेपालबाट १९ करोड रुपैयाँसम्मको फूल निर्यात भएको तामाङको अनुभव छ । ‘त्यसपछि हामीसँग भएको एउटा फार्म बन्द भयो, त्यसपछि निर्यात घटेको छ,’ उनी भन्छन्, ‘कोभिड अगाडि पनि ३ करोडको निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षमा पनि ६८ लाखको निर्यात गरियो । यो हिसाबले थोरै मात्रामा भए पनि निर्यात छ भन्नुपर्छ ।’ नेपालमा फूल उत्पादनकै लागि भनेर त्यस्तो धेरै लगानी नभएको अध्यक्ष तामाङ बताउँछन् । ‘नेपालमा उत्पादन हुने भनेको कटिङबाट बन्ने बिरुवा हुन्, हाइब्रिड बीउ भने आयात नै गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘अहिले साना–साना स्केलमा पनि उत्पादनमा विकास हुँदै गएको छ ।’ अब कुरा सरकारी कदमको । चालु आर्थिक वर्ष सरकारले पुष्प विकास केन्द्र स्थापना गरेको छ । यो बागमती प्रदेशअन्तर्गतको फूलसम्बन्धी हेर्ने एउटैमात्र निकाय हो । यसले टिस्यू कल्चर ल्याब स्थापना गरिसकेको छ । यसको काम भनेको सानो बिरुवा आयात गरेर फूल फुलाइरहेको अवस्थालाई प्रतिस्थापन गर्ने हो । टिस्यू कल्चर ल्याबबाट बिरुवा उत्पादन भए आयात प्रतिस्थापनमा ठूलो सहयोग पुग्ने सरकारको भनाइ छ । फेरि, फ्यानका अध्यक्ष तामाङलाई सुनौं । हाल मुलुकका ४८ जिल्लामा १ हजार ११६ व्यवसायीले फूलखेती गर्ने तथ्यांक रहेको उनी बताउँछन् । यो थपिँदै जाने क्रममा रहेको उनको भनाइ छ । वर्तमान अवस्थामा पुष्प प्रवर्द्धन नीति २०६९ परिमार्जन गर्नुपर्ने देखिएको तामाङ बताउँछन् । ‘यो नीति देश संघीयतामा नजाँदै बनेको हो,’ उनी भन्छन्, ‘देश संघीयतामा गइसकेपछि तीनै तहको प्रदेश सरकारले कार्यान्वयन गर्ने गरी त्यो नीतिलाई पुनर्लेखन गर्नुपर्ने पहिलो आवश्यकता छ । यो नीति पुनर्लेखन भयो भने र कार्यान्वयनमा आयो भने हाम्रा धेरै समस्या समाधान हुँदै जानेछन् ।’ भन्सार सीमानाका खुला भएका कारण अवैधरूपले सामग्री भित्रिरहेका हुन्छन् । सबैभन्दा पहिले यसलाई रोक्नुपर्ने अध्यक्ष तामाङ बताउँछन् । ‘सरकारले अवैधरूपमा हुने आयात रोकिदियो भने हामी पनि प्रतिस्पर्धी बन्न सक्छौं,’ उनी भन्छन्, ‘यसपछि लगानीको वातावरण बन्छ, लगानीको वातावरण बन्यो भने उत्पादन पनि बढी हुन्छ र हामी आत्मनिर्भर बन्छौं ।’ सरकारले नेपालमा उत्पादन भएका आलु प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भनेर सूचना जारी गरेको छ । फूलमा भने त्यस्तोे हुन नसकेको उनी बताउँछन् । ‘पुष्पजन्य वस्तुमा पनि थ्रेसहोल्डका कारण भ्याट लाग्ने अवस्था छ,’ उनी भन्छन्, ‘हाम्रो अन्तरिक उत्पादनमा भ्याट लाग्नु हुँदैन । थ्रेसहोल्ड हटाइनुपर्छ भनेर हामीले भनिरहेका छौं । त्योमात्रै हटाउन सकियो भने हाम्रो उत्पादनले भारतसँग मात्रै होइन, विश्वको कुनै पनि देशको फूल उत्पादन मूल्यसँग प्रतिस्पर्धा गर्न सक्छ ।’ भारतको उत्पादन लागतसँग तुलना गर्दा हाम्रो उत्पादन लागत मेल नखाने उनी बताउँछन् । ‘गमला, प्लास्टिक, बीउ, थोपा सिँचाइ, ग्रीन हाउस, विषादी भारतबाट आयात गरेर उत्पादन गरिराखेको अवस्था छ,’ उनी भन्छन्, ‘भारतमा त्यसको मूल्य एकदमै सस्तो छ । हामीले खरिद गर्नुपर्ने मूल्य महँगो पर्न जान्छ ।’ नेपालमा फूल उत्पादनका लागि जग्गा भाडामा लिँदा पनि महँगो तिर्नुपर्ने तामाङको भनाइ छ । ‘हामी खेती पनि सानो स्केलमा गर्छौं । बजार पनि ठूलो छैन,’ उनी भन्छन्, ‘भारतमा ठूलो स्केलमा खेती हुन्छ । त्यहाँको बजार पनि ठूलो छ । हाम्रो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि सरकारले केही न केही कदम चाल्नैपर्छ र अर्को कुरा अवैधरूपमा आउने आयात रोक्नुपर्छ ।’ फूल उत्पादनका लागि नेपालमा भारतबाहेक नेदरल्यान्ड, जापान, अमेरिका, थाइल्यान्डलगायत देशबाट बीउ आयात गरिन्छ । बिरुवा चाहिँ नेदरल्यान्ड, भियतनाम, चीन, स्पेनलगायत देशबाट आयात हुने अध्यक्ष तामाङ बताउँछन् । तिहारका लागि सयपत्रीको माला भारतबाट मात्रै आयात हुने गर्छ । प्रेम दिवसमा यहाँको तापक्रममा गुलाब नफुल्ने र नफक्रिने भएकाले भारतबाट आयात गरिने उनको भनाइ छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि तिर्यो प्रिमियम रकम बापतको कर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि प्रिमियम रकम वापतको कर तिरेको छ । कम्पनीले सेयर प्रिमियमको रकमलाई निकायको आयमा समावेश गरी कर वापत १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको हो । सरकारको निर्णयलाई सर्वोच्च अदालतले सफाई दिएपछि कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) मार्फत जारी गरेको सेयरबाट प्राप्त प्रिमियमको रकम र हकप्रद सेयर लिलामबाट प्राप्त भएको प्रिमियम रकमलाई आयकार मानि उक्त रकम कर बापत दाखिला गरेको हो । सरकारले आर्थिक ऐन, २०५० को दफा २६ मा एफपीओबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस सेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था गरेको छ । र, सो कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था भएको र सर्वोच्च अदालतको सो सम्बन्धी बैंक तथा बीमा कम्पनीको रिट खारेजीको निर्णयका आधारमा कम्पनीले उक्त रकम बराबरको कर तिरेको हो ।
गुणस्तरीय बीमा व्यवसाय गर्न कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरुसँग आयोजित अन्तर्क्रियालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न निर्देशन दिएका हुन् । ‘बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ताहरुले बैंक र बीमाबीचको फरक नागरिकलाई बुझाउनुपर्छ’, उनले भने, ‘कागजको पूर्णता, ग्राहकको पहिचान र बीमितको स्रोत सुनिश्चितता भएपछि मात्र बीमा गर्नुपर्छ ।’ सम्पत्ति शुद्धीकरण गर्ने गरी बीमा गरेको पाइएमा कारबाही गरिने चेतावनी पनि अध्यक्ष सिलवालले दिए। ‘बीमकहरुले संस्थागत सामाजिक उत्तरदायित्व र कर्मचारीहरुको तालिमका लागि रकम छुट्याउनुपर्छ, कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्छ’, उनले भने, ‘बीमकका कर्मचारीहरुले पनि बजारको अध्ययन अनुसन्धान गरेर नयाँ नयाँ बीमालेख ल्याउन माग गर्नुपर्छ ।’ अध्यक्ष सिलवालले बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरुको हितविपरीत कार्य भएमा त्यसका बारेमा गोप्य रुपमा जानकारी दिन सुझाव दिए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति नागरिकको विश्वास बढ्ने गरी स्वच्छ रुपमा बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए । कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र सानिमा जीआईसी इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले कार्यक्रममा उठेका प्रश्नहरुको जबाफ दिएका थिए । कार्यक्रममा सहभागीहरुले बीमकका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन, अधिकार प्रत्योजन गर्न, जोखिमाङ्कन, दावी व्यवस्थापन र बजारीकरण सम्बन्धी तालिम दिन, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गको पाठ्यक्रममा बीमा विषय समावेश गराउनका लागि पहल गर्न, सञ्चालक र व्यवस्थापकको मात्र नभई कर्मचारीहरुको समेत वृत्ति विकासको व्यवस्था गर्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले गरेका थिए। कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख, बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
सबस्टेशन निर्माणमा ढिलाइ, विद्युत् अनियमितताले व्यापार-व्यवसायमा समस्या
काठमाडौं । प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको छ । विद्युतको अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन । सबस्टेशन नहुँदा विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या भइरहेको स्थानीय व्यवसायी शिशिर थापाले गुनासो गरे । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न लागिएको वर्षौ बित्दा पनि सबस्टेशन सञ्चालनमा ल्याइएको छैन । विसं २०७३ देखि निर्माण थालिएको सबस्टेशन २०७४ असार मसान्तसम्म सम्पन्न गरी सञ्चालन गरिनुपर्ने भए पनि छ वर्षसम्म निर्माण सम्पन्न हुनसकेको छैन । दम्तीमा ११ रोपनी जग्गामा एक ‘कन्ट्रोल भवन’ र दुईवटा ‘स्टाप क्वार्टर’ निर्माण गरिएको छ । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न तार टाँग्ने काम अधुरै छ । सबस्टेशनसम्म विद्युतीय लाइन विस्तार नहुँदा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको नेपालगञ्जस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख ई हरिप्रसाद पाण्डेले बताए । उनले भने, ‘धेरै ठाउँमा तार टाँगिएको छ, पुलमा जमिनमुनिबाट तार बिछ्याउने ठाउँमा ढुङ्गा भेटिएकाले समय लागेको छ ।’ सात करोड ५० लाखको लागतमा सबस्टेशन निर्माणको काम काठमाडौँको आरके इन्टरनेसनलले र रु पाँच करोड ३३ लाखको लागतमा लाइन विस्तारको ठेक्का त्रिपुरेश्वर–जयदुर्गा जेभीले जिम्मा लिएका थिए । प्रमुख पाण्डेले सबस्टेशन शीघ्र सञ्चालनका लागि प्रयास भइरहेको जानकारी दिए । सबस्टेशन सञ्चालन र सडकमा टाँगिएको अव्यवस्थित तार व्यवस्थापन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिँदै आएका छन् । सबस्टेशन नजिकैका सडकमा होचा पोलमा भएका तार व्यवस्थित गर्न अतिआवश्यक भएको स्थानीयवासी शशिधर पण्डितले बताए । विद्युत् प्रसारण लाइनका लागि नदी किनारमा बाँध नहुँदा बगाउने जोखिम र सडकमा होचा तारले अग्ला गाडीमा करेन्टको जोमिख रहेको भन्दै लाइन सुरक्षित गर्न समेत आग्रह गर्दै आएका उनको भनाइ थियो । रासस