विकासन्युज

घोरेपानी-पुनहिललाई बिर्साउने ‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’

सोलुखुम्बु । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।। वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो गीतलाई सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित माप्य दूधकोसी गाउँपालिकामा भर्खरै सुरू गरिएको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ले पूरा गरिदिएको छ । माप्य दुधकोशी गाउँपालिका-५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्ने बित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । गाउँपालिकाले ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको सहकार्यमा गत शुक्रबारदेखि सुरु गरेको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’का अधिकांश स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल हेरेर मज्जा लिन सकिन्छ । आँखाको सामुन्ने टलटल टल्किने हिमालले यस पदमार्गमा जोडिने जो कोहीलाई स्वर्गीय अनुभूति त हुन्छ नै । त्यो भन्दा बढी यस पदमार्गलाई उपयोग गरी आर्थिक समृद्धिको बाटो पहिल्याउन ढिला गरिएकामा पछुतो लाग्दछ । तीन हजार छ मिटर उचाइमा रहेको सिलगुडी डाँडाबाट सुरु भएको पदमार्ग विभिन्न १४ प्रजातिका लालीगुँरास फुल्ने दाप्सा सामुदायिक वनको जङ्गलैजङ्गल हुँदै करिब चार घण्टामा घुम्ने मेरा भन्ने स्थानमा पुग्छ । घुम्ने मेरामा पुगेर शेर्पा समुदायको स्याब्रु नाचको मज्जा लिन सकिन्छ । शेर्पा समुदायको संस्कृतिसँग जोडेको उक्त पदमार्ग ‘कुधाम भ्यू प्वाइन्ट’ पुग्छ । उक्त भ्यू प्वाइन्टमा राति बस्नका लागि वासस्थान निर्माणको कामलाई गाउँपालिकाले अगाडि बढाएको छ । तीन हजार १६८ मिटर उचाइमा रहेको कुधाम भ्यू प्वाइन्टबाट विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र सहजै देख्न सकिन्छ । उक्त डाँडाँबाट आठ हजार आठ सय ४८ मिटर उचाइमा रहेको सगरमाथासहित बाताङ्गा (५०७७), चोयम (४७१३), विगफेरा (६६००), नुम्बुरचुली (६९६०), कार्लुङ (६५११), कोङदेरी (६१८७) देख्न सकिन्छ । यस्तै, खुङ्वाकाङ (७७४३), ग्यानचोङकाङ (७९५२), चुम्बु (६८५९), लोबुचे (६९९५), काङ्तेका (६७८३), क्यासार (६७६९), मेरापिक (६४७६), चाम्लाङ (७३१९), नौलेख (६३६३), पाङ्वो (६३९०) लगायत २७ हिमाल देख्न सकिन्छ । सो डाँडाबाट लुक्ला विमानस्थलमा जहाज अवतरण गरेको र नाम्चे बजारको मनोरम दृश्यसमेत देख्न सकिन्छ । कुधामबाट अर्को दिन योतेल्मे पुग्न सकिन्छ ।योतेल्मेमा गाउँपालिकाले पर्यटक खान र बस्न मिल्ने गरी गोठ निर्माण गरेको छ । योतेल्मेबाट दूधकोशीको किनारा सगरमाथा जाने सडक अधेँरीखोला पुग्न सकिन्छ । सो गाउँपालिका-२ मा पर्ने अधेरीखोला, डाँडागाउँ घुमेपछि मगर खालिङ राईको सङ्ग्रहालय हेर्न सकिन्छ । उक्त वडामा राईको बसोबास भएकाले साकेला, भूमे नाचको मज्जा समेत लिन सकिन्छ । पर्यटन व्यवसायी पासाङ शेर्पा हिमाल, वन, चराचुरुङ्गी, विभिन्न किसिमका लालिगुराँस हेर्न पाइने भएकाले ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’ को ठूलो सम्भावना रहेको बताउँछन् ।  ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सञ्चालन गर्नका लागि ट्रेकिङ एजेन्सीज् एशोसिशयन अफ नेपाल (टान) र माप्य दूधकोशी गाउँपालिकाबीच गत वर्ष सम्झौता भएको थियो । उक्त पदमार्ग सञ्चालन गर्नका लागि टानले गत वर्ष अध्ययन गरेर नक्सासमेत तयार गरिसकेको छ । टानका अध्यक्ष निलहरि बाँस्तोला सोलुखुम्बुमा भर्खरै शुभारम्भ गरिएको यस सांस्कृतिक पदमार्ग’ घोरेपानी–पुनहिललाई बिर्साउने पदमार्ग भएको बताउँछन् ।’तीन हजारभन्दा बढी उचाइमा रहेको उक्त पदमार्गबाट हिमाल, लालिगुराँस र चराचुरुङ्गीको मिठो आवाजसँगै शेर्पा, राई, तामाङ र विभिन्न समुदायको संस्कृति थाहा पाउने भएकाले उत्कृष्ट गन्तव्य बन्नेछ”, उनी भन्छन् । अध्यक्ष बाँस्तोला जनकपुर र हलेसी दर्शनका लागि आएका पर्यटकलाई ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’मा लैजान सकिए सोलुखुम्बुको पर्यटन क्षेत्रले कोल्टे फेर्ने बताउँछन् । विश्वमै पदयात्राका लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएका छन् । नेपालमा पदयात्राको सम्भावना र महत्व देखेर नै विश्वका नागरिक यहाँ आउने गरेका छन् । नेपाल आएका पर्यटकमध्ये करिब ३० देखि ४० प्रतिशत पदयात्रामा जाने गरेका छन् । नेपाल पर्यटन वोर्डका सूचना अधिकारी मणिराज लामिछाने नेपालको पदयात्रा पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन वोर्डले लामो समयदेखि काम गर्दै आएको बताउँछन् ।’जतिसक्दो धेरै पर्यटक भित्र्याउनका लागि पर्यटन वोर्ड लागेको छ,’ उनी भन्छन् । आगामी दिनमा माप्य दूधकोशी गाउँपालिकासँग मिलेर ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को पर्यटन प्रवद्र्धनमा लाग्ने उनको भनाइ छ । कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको विकासलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताउँछन् । ‘सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई माप्य दुधकोशी गाउँपालिकामा भित्र्याउन सके यस क्षेत्रको पर्यटनले गति लिन सक्थ्यो,’ उनी भन्छन् । टानका महासचिव विनोद सापकोटा पछिल्लो समय स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा पदमार्गहरू मासिँदै गएको बताउँछन् । ‘स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा धेरै पदमार्गहरू मासिँदै गएका छन्, यसलाई जोगाउँदै नयाँ पदमार्ग निर्माणका लागि टान लागेको छ,’ उनी भन्छन् । टानले यसबाहेक गोरखाको बारपाक-सुलिकोट गाउँपालिकादेखि अजिरकोट गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका हुँदै मस्र्याङ्दी गाउँपालिका जोड्ने ‘बुद्ध हिमाल-हिमचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्न लागेको छ । उक्त पदमार्ग १८ दिनको हुनेछ । यसैगरी काभ्रेपलाञ्चोकको चौँरी देउरालीमा तिमालबाट चौँरी देउराली हुँदै सैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवद्र्धन गर्नका लागि टानले सो नगरपालिकासँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । माप्य गाउँपालिकाका वरिष्ठ पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्की प्रकृति र संस्कृति दुबै हेर्नका लागि ‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’को परिकल्पना गरिएको बताउँछन् । ‘सगरमाथा हेर्न चाहेका तर थोरै समय भएका पर्यटकलाई लक्षित गरी उक्त पदमार्ग निर्माण गरिएको हो,’ उनी भन्छन् । टानका पूर्व उपाध्यक्ष कार्कीले उक्त पदमार्गको समय बढाउन सकिने बताउँछन् । उक्त पदमार्गबाट सिलगुढी, घुम्ने मेरा, कुधम, योतेल्मे, राप्छा, माझगाउँ, खास्ताव, भुमेथान, पास्दा झरना, महभीरलगायतको स्थान हेर्न सकिन्छ । त्यसबाहेक उक्त पदमार्गबाट दुधकुण्ड हिमाल, सगरमाथा, मेरापिक क्षेत्रमा समेत जान सकिन्छ । नयाँ निर्माण भएको पदमार्गमा फुर्वा शेर्पा र किरण तामाङले साइक्लिङसमेत गरेका थिए । गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई गाउँपालिकाले आगामी दिनमा सातै वडालाई जोड्ने गरी नयाँ पदमार्ग निर्माण गर्ने बताउँछन् । अघिल्लो कार्यकालमा समेत गाउँपालिकाका अध्यक्ष हुनुभएका राईले गाउँपालिकाले पर्यटनको विकासलाई विशेष प्राथमिकतामा राखेर सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको बताउँछन् । ‘गाउँपालिकाले वार्षिक कुल बजेटको २० देखि २५ प्रतिशत रकम पर्यटन विकासका लागि विनियोजन गर्दै आएको छ’, उनी भन्छन् । पर्यटकलाई कम खर्चमा धेरै स्थान देखाउन सकिने अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले उक्त पदमार्गको पर्यटन विकासका लागि होमस्टे(घरवास पर्यटन) निर्माण, कुक तालिम, गोठ निर्माण, टेन्ट क्याम्पिङको व्यवस्थापन गर्दै आएको छ । सो गाउँपालिकाले आइतबार मात्र गाउँपालिका–५ स्थित महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना समेत गरेको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पा स्वदेशी तथा विदेशी पर्यटकलाई लुकेको कुरा देखाउन सके पर्यटन क्षेत्रको विकास सहज रूपमा गर्न सकिने बताउँछन् । ‘पर्यटकले नयाँ कुराहरू हेर्न चाहेको हुन्छ, नयाँ कुरा देखाउन सकिए मात्र पर्यटन क्षेत्रको विकास हुन्छ,’ आरोही शेर्पा भन्छन् । अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनोमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गा क्षेत्र पदयात्राका लागि राम्रा गन्तव्य हुन् । नेपालमा वार्षिक रूपमा स्वदेशी तथा विदेशी दुई लाखभन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेको पाइन्छ । पछिल्लो समय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ । ब्याक प्याकर्स एडभेन्चरका सञ्चालक एवं पर्यटन व्यवसायी दुर्गाप्रसाद (कृष्ण) रेग्मी संसारको सबैभन्दा राम्रो पदयात्रा गन्तव्य नेपाल भएको बताउँछन् । नेपालमा धेरै ट्रेकिङ क्षेत्र भए पनि सञ्चालनमा भने कमै कम मात्र आएका छन् । अन्नपूर्ण, सगरमाथा, लाङ्टाङ, मुस्ताङ, डोल्पालगायत आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । विश्वका विभिन्न ट्राभल एडभाइजरहरूले पनि नेपालका विभिन्न पदयात्रा मार्गहरूलाई विश्वकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा व्याख्या गरेका छन् । रासस

नेपालमै बन्छन् करोडसम्म पर्ने हस्तकलाका सामग्री, यी हुन् महँगा ९ वस्तु

काठमाडौं । परम्परागत शैलीमा तयार गरिने हस्तकलाका सामग्री धेरैको रोजाइमा पर्छन् । मौलिकता झल्किने र विशेष महत्व बोकेका हस्तकलाका सामग्री नेपालबाट विश्वका धेरै मुलुकहरूमा पनि निर्यात हुन्छन् । घर सजाउन होस् वा अन्य कुनै प्रयोजनको लागि पनि सबैभन्दा बढी प्रयोग हुने वस्तु हो हस्तकला । नेपाल हस्तकला महासंघका अनुसार नेपालबाट विश्वका विभिन्न ६० भन्दा बढी देशहरूमा वार्षिक १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका वस्तुहरू निर्यात हुन्छ । विभिन्न धातुले निर्माण भएका वस्तु, बाँसका सामग्री, मूर्तिकला, पोस्टरकला, चित्रकला, सेरामिक, हाते कागज, वेतबास, थान्का र रेशाजन्य कपडालगायतका हस्तकलाका सामग्री नेपालमा उत्पादन हुन्छन् । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला उद्योगकमा करिब ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको जानकारी दिए । हस्तकलाका सामग्री धार्मिक आस्थासँग पनि जोडिएले धेरैको माग हुने उनको भनाइ छ । शाक्यले देशको अर्थतन्त्रमा हस्तकलाको पनि ठूलो योगदान रहेको बताउँदै ठूलो परिमाणमा निर्यात हुने वस्तुमध्ये हस्तकला पनि एक रहेको बताए । हस्तकला सामग्रीका विषयमा विकसित राष्ट्र र विकासोन्मुख देशबिच बुझ्ने शैलीमा फरक छ । नेपालमा विदेशीहरू घुम्न आउँदा हस्तकलाका सामग्री उपहार स्वरुप लैजाने अभ्यास पनि छ । मनै लोभ्याउने हस्तकलाका सामग्री सजावटको लागि धेरैले प्रयोग गर्ने गरेका छन् । नेपालमा लाखौं रुपैयाँसम्म पर्ने हस्तकलाको सामग्रीहरू उत्पादन हुँदै आएका छन् । हस्तकलाका कलकारहरूले पुराना तथा महत्वकांक्षी विषयलाई समेटेर तयार गरेको हस्तकलाका सामग्री प्रायः विदेश निर्यात हुने व्यवसायीहरू बताउँछन् । कलाकार शङ्कर नारायण श्रेष्ठ धेरै मूल्य पर्ने सामग्रीहरू प्रायः विदेश निर्यात हुने बताउँछन् । ‘हामीले बनाएका सबै सामग्री नेपालभित्रै खपत हुँदैनन्, विदेशबाट आएको अर्डरअनुसार सामग्री तयार पार्छौं,’ उनी भन्छन्, ‘लाखौं पर्ने सामान तयार हुन्छन् ।’ कुनै सामग्रीहरू तयार गर्दा धेरै समय लाग्ने श्रेष्ठले सुनाए । ‘कुनै–कुनै सामग्री बनाउन एक वर्ष समय लाग्छ, वर्षौं लगाएर बनाएको वस्तु महँगो नैपर्छ,’ उनले भने । बजारमा हस्तकलाका सामग्री लाखौं रुपैयाँसम्म पाइन्छन् । आकाश भैरव आकाश भैरव ( नेवारीः आजु) भैरवको विभिन्न रूपमध्ये एक रूप हो । आकाश भैरवको घेरालाई नेपालको नेको प्रतिकका रूपमा येन भनिन्छ । हस्तकलाकार कपिल शाक्यले तयार गरेको आकाश भैरवको रिपाउसे आर्टले धेरैको मन लोभ्याउँछ । हेर्दा आकर्षक र विशेष महत्व बोकेको आकाश भैरवको मूल्य शाक्यले २१ लाख रुपैयाँ निर्धारण गरेका छन् । चतुर्भुज महाकाल एक नजर हेर्दै धेरै अर्थ दिने चित्रकला हो ‘चतुर्भुज महाकाल’ । बालकृष्ण महर्जनले तयार गरेको यो महाकाल लोकप्रिय चित्रकलाभित्र पर्छ । चतुर्भुज महाकालको मूल्य महर्जनले १० लाख ५० हजार रुपैयाँ तोकेका छन् । हालाल भैरव कलाकार काजी रत्न शाक्यले तयार गरेको उक्त भैरवको मूर्तिले पनि इतिहास बोकेको छ । शाक्यले उत्पादन गरेको रिपाउसे आर्ट श्रेणी अन्तर्गतको सो भैरव आफैंमा महत्पूर्ण कलाका रूपमा लिन्छ । जसलाई नेपाली बजारमा १२ लाख ६० हजार रुपैयाँ मूल्यपर्छ । चक्रसंवर चक्रसंवरले एउटा छुट्टै इतिहास बोकेको छ । मौलिक संस्कृतिलाई झल्काउने चक्रसंवर धेरैको आकर्षणको केन्द्रमा पर्छ । चक्रसंवर धेरैले खरिद गर्नेमध्येको मुर्तिमा पर्छ । फिलिगिरी आर्ट श्रेणीमा पर्ने चक्रसंवर कलाकार दीपेन्द्र शाक्यले तयार गरेका हुन् । शाक्यले चक्रसंवरको मूल्य ८९ लाख २५ हजार रुपैयाँ राखेका छन् । सन्दुका (खजाना बक्स) सन्दुका बक्स निकै रोचक छ । चलचित्रमा खजाना राखिएजस्तै देखिने उक्त बक्स झट्ट हेर्दा पुरानो पुस्ताको सामान राख्ने भाँडो जस्तो देखिन्छ । यो बक्स धेरैको रोजाइमा पर्नेगर्छ । सिभर फिलिगिरी श्रेणी अन्तर्गतको यो बक्स बहुमूल्य सामग्री राख्न पनि प्रयोग गरिएको पाइन्छ । कलाकार खेम मुनि बज्राचार्यले तयार गरेको यो बक्सको मूल्य १२ लाख ६० हजार रुपैयाँ तोकिएको छ । मिलारेपा मिलारेपा बौद्ध धर्मप्रति लक्षित रहेका बताइएको छ । काठ शिल्प अन्तर्गतको यो मूर्तिले मानवमा भएका अंगहरूलाई झल्काउँछ । हेर्दा बुढो मानिसले कान कमजोर सुनेर ध्यान दिएर सुनिरहेको जस्तो देखिन्छ । कलाकार प्रथम राज बज्राचार्यले बनाएको यो मूर्तिको मूल्य २६ लाख २५ हजार रुपैयाँ राखिएको छ । मैत्री बुद्ध यो नयाँ डिजाइनमा तयार गरिएको मैत्री बुद्ध नाम मूर्ति हो । विशेष धातुले तयार गरिएको मैत्री बुद्ध रिपाउसे आर्टको श्रेणीमा पर्ने बताइएको छ । सन्तरत्न बज्राचार्यले तयार गरेको यो मूर्तिको मूल्य २७ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ । उग्रतारा उग्रतारा चित्रकला धार्मिक आस्थामा लक्षित छ । पाउभा चित्रकला श्रेणी अन्तर्गतको यो चित्रकालाई सजावटको लागि प्रयोग गरिँदै आएको छ । उग्रतारा कलाकार प्रिया शाक्यले तयार पारेकी हुन् । उग्रताराको मूल्य शाक्यले १० लाख ५० हजार रुपैयाँ निर्धारण गरेकी छन् । शाक्यमुनि बुद्ध लाइफ कलाकार निरोज महर्जनले तयार गरेको गौतम बुद्धको शाक्यमुनि बुद्ध लाइफ नामक मूर्ति हेर्दा निकै आकर्षक देखिन्छ । यो मेटल क्राफ्ट श्रेणी अन्तर्गत पर्छ । फरक र आकर्षक लुक्समा रहेको शाक्यमुनि बुद्धको मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सरकारले अनुदान दिएर मात्रै उदयपुर सिमेन्टको समस्या समाधान हुँदैन : अर्थमन्त्री महत

उदयपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन् । बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताएका हुन् । सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको निरीक्षणका क्रममा मन्त्री डा. महतले बताएका हुन् । उनले भने ‘सरकारले अनुदान दिएर मात्र समाधान निस्कदैन । व्यवस्थापन सुध्रिनुपर्यो, श्रमिकले जिम्मेवारीबोध गर्नुपर्यो । कसले जिम्मेवारी बोध नगर्दा यो अवस्था सिर्जना भयो ? यसको हामी सबैले मूल्यांकन र विश्लेषण गरौं । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ ।’ ‘निजी क्षेत्रमा धेरै उद्योग व्यवसाय सञ्चालन हुन्छ । पाँच दर्जनभन्दा बढी निजी क्षेत्रको सिमेन्ट उद्योग छ । व्यवस्थापन र सरकारले ध्यान नदिएको श्रमिक साथीहरुबाट आयो’ उनले भने, ‘निजी क्षेत्रले आफैले जमिन किन्छ, उद्योग आफै बनाउँछ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।’ ‘उदयपुर सिमेन्ट कारखाना जापान सरकारले सहयोग गरेको हो । त्यसबेला ४४ करोड लगानी भएको छ । अहिले पनि एक अर्ब रुपैयाँको साउब्याज केही तिर्नुपर्दैन, तिरेको पनि छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर सञ्चालन खर्चको दायित्व पनि पूर्ति गर्न सकेको छैन । अहिले ७५ करोड रुपैयाँको दायित्व देखिन्छ’ मन्त्री डा. महतले भने । उनले भने, ‘सरकारले व्यवस्थापक नियुक्ति गर्यो, त्यहाँ पनि कमजोरी छ । व्यवसायिकतालाई हामीले महत्व दिएनौं । व्यवस्थापनको नेतृत्व पनि त्यस्तै । श्रमिकले पनि हाम्रो जिम्मेवारी भनेको त सुविधा माग गर्ने हो भन्ने मात्र ठाने । त्यसको साझा परिणाम उद्योगको अहिलेको अवस्था हो ।’ ‘कोभिडपछि मात्र यस्तो भएको हो भन्ने ठाउँ छैन । त्योभन्दा अगाडिदेखि नै समस्या थपिँदै आएको थियो । कोभिड तत्कालिक समस्या हो । समस्या आयो भनेर जिम्मेवारीबाट पन्छिने अवस्था पनि छैन । हामी सबै सुध्रिनेबाहेक अर्को विकल्प छैन’ उनले भने, ‘मेरोभन्दा पनि अझ बढी महत्व दिएर यसको सम्पत्ति रक्षा गर्नुपर्छ भन्ने मानसिकता हामीसँग भएन । यसैकारण नेपालमा सार्वजनिक क्षेत्र सफल हुन सकेको छैन ।’ ‘मन्त्री डा. महतले भने, ‘उद्योगमा सरकारको सहभागिता जरुरी होइन । निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन र मनोपलाइज हुन नदिन सरकारले लगानी गर्यो, विदेशी मित्र राष्ट्रले पनि सहयोग गर्यो, यसलाई निरन्तरता दिउँ भन्ने हो भने हामी सबैले थप जिम्मेवारीका साथ काम गर्न म अनुरोध गर्न चाहन्छु ।’ ‘जापानको सहयोगमा बनेको हो, कामको संस्कृति पनि हामीले जापानको जस्तै विकसित गर्नुपर्छ । अप्ठ्यारो परेका बेला हामीले कम्पनीसँग माग्ने होइन, दिनुपर्छ भन्ने मानसिकता बनाउनुपर्छ’ मन्त्री डा. महतले भने, ‘अहिले हामीलाई सुविधा चाहिँदैन भन्नुपर्छ, रातविरात नभनी काम गर्नुपर्छ । यसलाई बचाउनु हाम्रो जिम्मेवारी हो, यसलाई बचायौं भने पछि सुविधा माग गरौंला । यो समृद्ध भयो भने त्यहीअनुसार माग गर्न पाइन्छ । यो नै मर्यो भने कहाँ कोसँग के माग्ने ?’ ‘यो संस्कृति विकसित गरियो भने मात्र हामीले यो उद्योग बचाउन सक्छौं । यो परिवेश निर्माण भयो भने मात्र सरकार तत्कालिक अप्ठ्यारो फुकाउन लाग्छ’ उनले भने, ‘यसको लागि सामूहिक प्रतिबद्धता तपाईंहरुबाट आउनुपर्छ ।’ व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने उनका भनाइ थियो । उद्योग बचाउने प्रतिबद्धता गर्ने हो भने समयसँग नयाँ प्रविधिको उपयोग गरेर धेरै काम गर्न सकिन्छ । उदयपुर जिल्लाकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको यस उद्योग बचाउनुपर्छ भन्ने मानसिकता बोकेर काम गरियो भने सरकारले पनि सहयोग गर्छ उनले भने । ‘दीर्घकालीन सोच राख्न म अनुरोध गर्छु, अहिले मैले के पाउँछु, के पाउँदिन भन्ने हेरियो भने भोलि केही पनि पाइँदैन । भोलिसम्म पाउन सुनिश्चिता गर्ने हो भने यहाँ भएका सबैको काममा व्यवसायिकता देखिनुपर्छ । यो संसारमा जो प्रतिस्पर्धी व्यवसायी हुँदैन, त्यो टिक्दैन’ मन्त्री डा. महतले भने, ‘प्रतिस्पर्धामा टिक्नुपर्छ । यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जर्बजस्ती बचाउन सकिँदैन । यसलाई बचाउने हो भने व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता गरौं । यो प्रतिबद्धता आयो भने नगरिनहुने काममा सरकारले पहिलो चरणमा हेर्नेछ । त्यसपछि तपाईंहरुको परफमेन्स हेरेर सरकारले अगाडिको कदम चाल्नेछ ।’

त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा

काठमाडौं । एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ । उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९औँ दीक्षान्त समारोहमा अफिसियल वल्र्ड रेकर्डका प्रतिनिधि आएर अवलोकन गरेको र आफूहरूले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिका लागि दाबी गरेको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति तथा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको उक्त समारोहमा त्रिविका विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका थिए । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका थिए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । रासस

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुस्तगतिमा

दमौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुस्तगतिमा अगाडि बढेको छ । आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणले सोचेअनुरुप गति लिन नसकेको हो । यो प्याकेजको सम्झौता अवधि एक वर्ष बाँकी रहँदा हालसम्म ७० प्रतिशत काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । तेस्रो प्याकेजको सम्झौता अवधि सन् २०२४ डिसेम्बर १९ सम्म रहेको छ । केइसी इन्टरनेसनल भारतले दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ को महामारी र वन क्षेत्रका रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद थप गरिएको थियो । शिल्पकारले भने, ‘अहिले वनको नीतिगत समस्याका कारण काममा ढिलाइ भएको हो, समस्या समाधान गर्दै अगाडि बढ्ने प्रयत्न भइरहेको छ, डिभिजन वन कार्यालय तनहुँबाट भने पूर्णरूपमा सहयोग पाएका छौँ ।’ नीतिगत समस्या हटेर पूर्णरूपमा काम गर्न पाएको भए अझै धेरै प्रगति भइसक्ने शिल्पकारको भनाइ थियो । उनका अनुसार केही समय रोकिएको उक्त प्याकेजको काम अहिले सुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि ७० वटा टावरको जग हाल्ने कार्य सकिएको छ । त्यस्तै ३३ टावर जडानकार्य सकिएको छ । हालसम्म नौ सय ८८ दशमलव तीन मिटर तार तान्ने काम सकिएको शिल्पकारले बताए । प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता ९२३ रोपनी पाँच आना० जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ । आयोजनाले प्याकेज १, २ र ३ मा हालसम्म ४६ प्रतिशत प्रगति हासिल गरेको छ । प्याकेज–१ मा २५, प्याकेज–२ मा ४७ र प्याकेज–३ मा ६९ प्रतिशत प्रगति हासिल भएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्गदा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । त्यसअन्तर्गत अहिले मुख्य बाँध निर्माणको काम सुरु भएको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो चीनले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर ब्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

नेप्सेमा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत, बिहीबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार मात्रै नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिर्ख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ सूचीकृत भएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बुधबार सूचीकृत भएको कम्पनीको सेयर बिहीबार अर्थात पुस ५ गतेदेखि कारोबारमा आउने छ । जसमध्ये नेपाल वेयरहाउजिङ्ग कम्पनीको ६८ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्यूनतम ९३.०४ रुपैयाँ र अधिकतम २७९.१२ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने ‘एनडब्लुसीएल’ रहेको छ । त्यस्तै, नेप्से सिम्बोल ‘सीकेएचएल’ रहेको चिर्ख्वा हाइड्रोपावरको ४० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १००.०१ र अधिकतम ३००.३ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बिहीबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । त्यसैगरी, भिजन लुम्बिनी उर्जा कम्पनीको एक करोड ९१ लाख २५ हजार कित्ता आईपीओ दोश्रो बजारमा सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम १२१.७८ र अधिकतम ३६५.३४ रुपैयाँ तोकिदिएको छ । यससँगै कम्पनीले नेप्से सिम्बोल ‘भीएलयूसीएल’को नामबाट बिहीबारदेखि सेयर किनबेच गर्ने छ । यी तीन वटै कम्पनीले हालै सर्वसाधारणमा आईपीओ जारी गरेका हुन् । जुन सूचीकृत भएपछि दोश्रो बजारबाट किनबेच गर्न पाइने व्यवस्था छ ।

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो । यस विषयमा मङिसर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो । न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो ।

भूकम्पपीडितले पाएनन् अस्थायी आवास निर्माणका लागि अनुदान रकम

जाजरकोट । जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या हालसम्म ३३ हजार २५ पुगेको छ । अस्थायी आवास निर्माणका लागि अनुदान दिन स्थानीय पालिकाले पीडित परिवारलाई लाभग्राहीको सूचीमा राख्दै अनुदान वितरण गर्न थालेका छन् ।  जिल्लाका नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाले रकम अभावका कारण लाभग्राहीलाई अनुदान रकम दिन नसकिएको जनाएका छन् । रकम लिइसकेका पालिकाको ढिलासुस्तीका कारण उनीहरूका खातामा पैसा जम्मा भएर बसेकाले समस्या भएको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले बताएका छन् । अस्थायी आवासका लागि आवश्यक पर्ने थप ५० करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा माग गरेको ११ दिनपछि चार करोडमात्र आएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म तीन हजार सात सय २१ परिवारको खातामा पहिलो किस्ताबापत प्रति परिवार रू २५ हजारका दरले निकासा भएको छ ।  भेरी नगरपालिकाले चार हजार पाँच सय ४९ लाभग्राही कायम गरेको छ । चार सय ८४ परिवारसँग सम्झौता गरेर रू एक करोड २१ लाख लाभग्राहीको खातामा निकासा दिएको सुनारले जानकारी दिएका छन् । बारेकोटले पाँच हजार पाँच सय ८६ लाभग्राही कायम गरी एक हजार ६५ परिवारलाई पहिलो किस्ताबापत रू दुई करोड ६६ लाख २५ हजार अनुदान रकम प्रदान गरेको उनको भनाइ थियो ।  कुशे गाउँपालिकाले पाँच हजार दुई सय ८७ लाभग्राही कायम गरेको छ । शिवालयले तीन हजार तीन सय नौ लाभग्राही कायम गरी दुई हजार एक सय ७२ परिवारको खातामा रू पाँच करोड ४३ लाख अनुदान दिएको छ । हालसम्म रू नौ करोड ३० लाख २५ हजार पीडित व्यक्तिका खातामा रकम गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । भूकम्पले घरबारविहीन बनाएपछि त्रिपालमा बस्दै आएका यहाँका भूकम्पपीडितलाई मङ्सिरभित्र अस्थायी आवासमा सार्ने भन्दै संघीय सरकारले पठाएको रू ५० करोड केही पालिकाका खातामा गएर थन्किएकाले केही पालिकाले रकम पाउन नसकेका प्रजिअ सुनारले बताए।  उनका अनुसार सरकारले माग गरेअनुसारको रकम नपठाउँदा नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाले अस्थायी आवासका लागि रकम पाउन नसकेका हुन् । रकम निकासा लिएका शिवालय, भेरी, छेडागाड, कुशे र बारेकोट गाउँपालिकाले लाभग्राही पहिचान गरी सम्झौता गर्ने प्रक्रियामा ढिलाइ गरेकाले पीडित परिवारले रकम पाउन नसकेका हुन् ।   ५० करोड ९८ लाख ७५ हजार सम्बन्धित पालिकाको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले जानकारी दिए । ‘केही पालिकाले सबै लाभग्राहीलाई अस्थायी आवासका लागि रकम बाँड्न सकेका छैनन् । थोरै लाभग्राहीको खातामा मात्र रकम निकासा गरिएको छ’, उनले भने ।  नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले सरकारले अस्थायी आवासका लागि रकम नपठाउँदा काम अघि बढ्न नसकेको बताएका छन् । ‘पैसा कहिले आउँछ भनेर पीडित परिवारले बारम्बार सोधिरहेका छन् तर रकम नै आउँदैन कसरी काम गर्ने रु, त्रिपालबाट अस्थायी आवासमा सार्ने योजना अधूरै भएको छ’, उनले भने।  पीडित त्रिपालको चिसोले बिरामी परेर ज्यान गइरहेको छ तर प्रक्रियागत झन्झटका कारण भूकम्पपीडितले अस्थायी आवासका लागि अनुदान रकम लिन नपाएका रावतको भनाइ थियो । उनका अनुसार खाता नभएकालाई नगद दिने सरकारले निर्णय गरे पनि स्थानीय सरकारले सबै लाभग्राहीलाई खाता खोल्न लगाएका छन् ।  खाता खोल्न बैंक जानुपर्ने, कतिपयको नागरिकता नभएको, घर भत्किएको विवरण, प्रहरीको मुचुल्कालगायत कागजपत्र चाहिने भएकाले प्रक्रियागत झन्झटका कारण अस्थायी आवासका लागि रकम पाउन निकै सास्ती भएको भेरी नगरपालिका–३ का भूकम्पपीडित सञ्जीव श्रेष्ठले बताए । घर भत्किएको प्रहरी मुचुल्का, जिल्ला बाहिर अन्य ठाउँमा कतै पनि घर नभएको स्वघोषणा फारम, बैंक खातालगायतका काम समयमा हुन नसक्दा लाभग्राहीले समयमा अनुदान पाउन ढिलाइ भएको उनको भनाइ थियो ।  भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा रू २५ हजार र निर्माण सम्पन्न भएपछि रू २५ हजार गरी प्रतिपरिवार रू ५० हजारका दरले अनुदान दिने सरकारले निर्णय गरेको डेढ महिना पुगिसकेको छ । जिल्ला विपद् व्यवस्थापन कोषमा रकम नहुँदा उनीहरूले निकासा पाउन नसकेका प्रजिअ सुनारले बताएका छन् । नलगाड, भेरी र जुनीचाँदे गाउँपालिकाका लागि आवश्यक पर्ने थप रू ५० करोड माग गरेको ११ दिनपछि रू चार करोड मात्र पठाएका समस्या भएको उनको भनाइ थियो । लाभग्राहीसँग सम्झौता गर्दा आवश्यक पर्ने कागजात समयमा जुटाउन नसक्दा त्रिपालबाट अस्थायी आवासमा सार्ने योजनामा ढिलाइ भएको प्रजिअ सुनारले बताए । वडा कार्यालयमा दक्ष र पर्याप्त जनशक्ति नहुँदा अनुदान पाउन ढिलाइ भएको पीडितको गुनासो छ । भूकम्पपीडित त्रिपालमा बस्नुपर्ने बाध्यताका बीच बढ्दै गएको चिसोले धेरै बिरामी पर्न थालेका छन् । रासस