
काठमाडौं । फूल, रङ्गीविरङ्गी यस्तो चिज हो जसलाई ‘आँखामा हाले पनि बिझाउँदैन’ भनिन्छ । फूलको सुन्दरतामा नलोभिने सायदै होलान् । फूल कोपिला हुँदै हुर्किएर फक्रिएपछि मनै लोभ्याउने हुन्छ । तर, यही चित्ताकर्षक फूल फूलाउनेका कथाबारे भने कमैलाई मात्र चासो हुन्छ ।
फूललाई फूलसम्मको आकार दिन बीउ रोप्ने, बिरुवा उमार्ने, गोडमेल गर्ने, पानी हाल्ने, झार उखेल्ने, किराफट्याङ्ग्राबाट जोगाउन मल–विषादी छर्ने, दिनहुँ आफ्ना बालबच्चाझैं स्याहार गर्ने व्यवसायीहरूको कथा-व्यथा भिन्नाभिन्नै छन् ।
मनै लोभ्याउने फूल फुलाउने हजारौं छन् । तीमध्येकी एक प्रतिनिधि पात्र हुन् ललितपुरकी सावित्री थापा ।
सावित्रीले काठमाडौं बबरमहलमा लगभग दुई दशक भयो फूल फुलाउन थालेको । १८ वर्षदेखि ‘शिखा फ्लावर प्लान्ट नर्सरी’ सञ्चालन गर्दै आइरहेकी सावित्री बिहान सखारैदेखि झम्के साँझ नपरेसम्म तिनै फूल, बोटबिरुवासँगै रमाइरहेकी हुन्छिन् । उनी उठेदेखि नसुतुन्जेल फूल र बिरुवासँगै खेलेर समय कटाउँछिन् ।
‘आफ्नो पेसा नै यही भयो, फूलका बिरुवा हेरचाह गर्ने, पानी दिने, ग्राहकसँग गफिने गर्दा नै समय बित्छ,’ उनी भन्छिन्, ‘आफ्नै हातले रोपेका बीउबाट उम्रिएका बिरुवा र त्यसमा कोपिला हुँदै फक्रिने फूल देखेपछि भने मन आनन्द हुन्छ ।’
सावित्रीको नर्सरीमा विदेशबाट बीउ आयात गरेर उत्पादन गरिएका बिरुवा धेरै छन् । ‘यहाँ नै उत्पादन गरिएका बिरुवा बिक्दैनन्,’ उनी भन्छिन्, ‘मान्छेले नयाँ-नयाँ फूल खोज्छन्, नयाँ भएमात्रै धेरै बिक्री हुने हो ।’
उनको नर्सरीमा युरोपको हल्यान्डदेखि भारतका सिक्किम र अन्य ठाउँबाट बीउ ल्याएर उत्पादन गरिएका बिरुवा छन् । ‘हाम्रोमा धेरै बिरुवा सिजनल छन्,’ उनी भन्छिन्, ‘चिसो मौसममा भ्यागुते, पिटुनिया, गननिया, डेन्टास, राइनोक्लोस पेमलाका बिरुवा हुन्छन् । गर्मीमा निनिया, सयपत्री, गोदावरी, मखमली हुन्छन् । हाम्रोमा इन्डोर प्लान्ट बढी छन् ।’
अहिलेको अवस्थामा पहिलाजस्तो फूलको कारोबार हुन नसकेको सावित्री बताउँछिन् । कोरोना महामारीपछि सुस्ताएको नर्सरी व्यवसायले कोरोना अघिजस्तो गति लिन नसकेको उनको अनुभव छ ।
‘अहिले मान्छेलाई खान लाउनै धौ-धौ छ,’ सावित्री भन्छिन्, ‘फूल त सोखका लागि पनि किनिन्छ । दैनिक आवश्यकता पूरा भएपछि किनिने वस्तु न हो । तर, के गर्नु हामीजस्ता हजारौं व्यवसायी र हामीसँग आश्रित लाखौंको पनि पेटको सवाल छ ।’
सावित्रीले बबरमहलमा एक रोपनी जग्गा भाडामा लिएर नर्सरी व्यवसाय सुरु गरेकी हुन् । जग्गाको भाडा महिनाको ५० हजार तिरिरहेकी छिन् । उनको नर्सरीमा सातजनाले रोजगारी पाएका छन् । यसमानेमा पनि उनलाई सन्तोष लाग्छ, किनकि सातजनाको परिवार उनकै नर्सरीले धानिदिएको छ ।
अहिले खासै फूलको कारोबार नभएको उनी बताउँछिन् । कहिले दिनको ३/४ हजार, कहिले २० हजार पनि हुने र कहिले हुँदै नहुने उनको अनुभव छ ।
अहिलेभन्दा दसैं तिहारमा भने ३/४ लाखको कारोबार भएकोमा सावित्री सन्तोषको सास फेर्छिन् । उनको नर्सरीमा २ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्ने फूलका बिरुवा छन् । उनको महिनाको खर्च डेढ लाख रुपैयाँ निस्किन्छ । अहिले त्यो खर्च व्यवथापनसम्म भइरहेको तर बचत हुन नसकेको उनी बताउँछिन् ।
०००
फूल (पुष्प) व्यवसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले यो व्यवसायमा लागेकाहरूको हकहितका लागि काम गरेको वर्षौं भइसक्यो । सरकारले पुष्प व्यवसाय र व्यवसायीलाई कहिल्यै प्राथमिकतामा नपारेको गुनासो पुरानै हो ।
फ्यानका अध्यक्ष मीनबहादुर तामाङ तिहारपछि भने फूल कारोबार सन्तोषजनक रहेको बताउँछन् । ‘अहिले हामीले अपेक्षा गरेअनुसार नै फूलको कारोबार भइरहेको छ,’ उनी भन्छन्, ‘उत्पादन र माग दुवैमा वृद्धि भइरहेको छ ।’
उनका अनुसार गत वर्ष २०७९ मा ३ अर्ब ७ करोड रुपैयाँको फूल कारोबार भएको थियो ।
फ्यानसँग रहेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ४२ करोड रुपैयाँबराबर फूलको कारोबार भएको थियो । आव २०७६/०७७ र २०७७/०७८ मा कोरोना महामारीले फूल कारोबार ह्वात्तै घटेर डेढ अर्बहाराहारीमा सीमित हुन पुग्यो ।
कोरोनापछि बिस्तारै उकालो लागेको फूल व्यवसाय आर्थिक वर्ष २०७८/०७९ मा आइपुग्दा सवा २ अर्ब रुपैयाँ, गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब रुपैयाँ कारोबार कटेको रेकर्ड फ्यानसँग छ ।
आयात-निर्यातको कुरा गर्दा कोरोना महामारीपछि आयात बढेको देखिएको छ । तामाङको भनाइलाई सरकारी तथ्यांकले पनि पुष्टि गर्छ ।
भन्सार विभागका अनुसार २०७९/०८० मा ३३ करोड ६ लाख रुपैयाँबराबरको पुष्प तथा पुष्पजन्य वस्तु नेपाल आयात भएको थियो । २०७८/७९ मा भने ३६ करोड ५३ लाख र २०७७/७८ मा ४० करोड ७२ लाखको आयात भएको तथ्यांक भन्सारसँग छ ।
नेपालले फूल आयातमात्र गर्दैन, यहाँबाट विभिन्न देशमा निर्यात पनि हुने गरेको तथ्यांक फ्यानसँग छ । फ्यानका अनुसार बितेका चार वर्षमा नेपालबाट २ करोड ७९ लाख रुपैयाँबराबरको फूल विभिन्न देश निर्यात भएको छ । आब २०७९/०८० मा ६८ लाख, २०७८/०७९ मा ९८ लाख, २०७७/०७८ मा ५३ लाख र २०७६/०७७ मा ६० लाखको फूल निर्यात भएको थियो ।
०००
अन्य देशबाट विशेष चाडपर्व र चिसो मौसम मंसिर, पुस र माघमा फूल कम फूल्ने भएकाले भारत तथा अन्य देशबाट आयात हुने फ्यानका अध्यक्ष तामाङ बताउँछन् ।
‘यो बेला पनि नेपाली फूलले नै धान्छ,’ उनी भन्छन्, ‘अहिले हामीले बाहिरको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छैन, तिहारमा भने हाम्रो उत्पादन हुँदाहुँदै भारतीय उत्पादन आउँदा प्रतिस्पर्धा गर्न नसकिएको हो ।’
नेपालमा यति नै परिमाणमा फूल उत्पादन हुन्छ भनेर भन्न नसकिने उनी बताउँछन् । ‘फूलको धेरै प्रकृति र जात हुन्छ, मौसमी र बेमौसमी दुवैको कुरा गर्दा प्रतिगोटामै हिसाब गरिन्छ,’ उनी भन्छन्, ‘यसको हिसाब गोटामै निकाल्न सकिँदैन । हामीले कति मूल्यबराबरको कारोबार भयो भनेर भन्न सक्ने स्थिति छैन ।’
सरकारी तथ्यांकले ३ अर्बभन्दा बढीको वार्षिक फूलको कारोबार भइरहेको देखाए पनि अवैधरूपमा हुने कारोबारको लेखाजोखा नभएको अध्यक्ष गुरुङ बताउँछन् ।
‘चोरी निकासी भएर आउने वा भन्सार प्रक्रिया पूरा नगरी आउने बिरुवा तथा फूलको पनि ठूलो कारोबार छ,’ उनी भन्छन्, ‘यो कुरा तथ्यांकमा आउँदैन । तथ्यांकमा जति मूल्य देखिएको छ, त्यति नै मूल्यको अवैध कारोबार हुन्छ भन्ने हाम्रो अनुमान छ ।’
यसको अर्थ, नेपालमा फूलको कारोबार वार्षिक ६ देखि ७ करोड रुपैयाँसम्म हुने गर्छ । हालसम्म फूल व्यवसायमा ७ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको तथा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४४ हजारभन्दा बढीले रोजगारी पाएको अध्यक्ष तामाङ बताउँछन् ।
आजभन्दा १५/१६ वर्ष अगाडि नेपालबाट १९ करोड रुपैयाँसम्मको फूल निर्यात भएको तामाङको अनुभव छ । ‘त्यसपछि हामीसँग भएको एउटा फार्म बन्द भयो, त्यसपछि निर्यात घटेको छ,’ उनी भन्छन्, ‘कोभिड अगाडि पनि ३ करोडको निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षमा पनि ६८ लाखको निर्यात गरियो । यो हिसाबले थोरै मात्रामा भए पनि निर्यात छ भन्नुपर्छ ।’
नेपालमा फूल उत्पादनकै लागि भनेर त्यस्तो धेरै लगानी नभएको अध्यक्ष तामाङ बताउँछन् । ‘नेपालमा उत्पादन हुने भनेको कटिङबाट बन्ने बिरुवा हुन्, हाइब्रिड बीउ भने आयात नै गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘अहिले साना–साना स्केलमा पनि उत्पादनमा विकास हुँदै गएको छ ।’
अब कुरा सरकारी कदमको ।
चालु आर्थिक वर्ष सरकारले पुष्प विकास केन्द्र स्थापना गरेको छ । यो बागमती प्रदेशअन्तर्गतको फूलसम्बन्धी हेर्ने एउटैमात्र निकाय हो । यसले टिस्यू कल्चर ल्याब स्थापना गरिसकेको छ ।
यसको काम भनेको सानो बिरुवा आयात गरेर फूल फुलाइरहेको अवस्थालाई प्रतिस्थापन गर्ने हो । टिस्यू कल्चर ल्याबबाट बिरुवा उत्पादन भए आयात प्रतिस्थापनमा ठूलो सहयोग पुग्ने सरकारको भनाइ छ ।
फेरि, फ्यानका अध्यक्ष तामाङलाई सुनौं ।
हाल मुलुकका ४८ जिल्लामा १ हजार ११६ व्यवसायीले फूलखेती गर्ने तथ्यांक रहेको उनी बताउँछन् । यो थपिँदै जाने क्रममा रहेको उनको भनाइ छ ।
वर्तमान अवस्थामा पुष्प प्रवर्द्धन नीति २०६९ परिमार्जन गर्नुपर्ने देखिएको तामाङ बताउँछन् । ‘यो नीति देश संघीयतामा नजाँदै बनेको हो,’ उनी भन्छन्, ‘देश संघीयतामा गइसकेपछि तीनै तहको प्रदेश सरकारले कार्यान्वयन गर्ने गरी त्यो नीतिलाई पुनर्लेखन गर्नुपर्ने पहिलो आवश्यकता छ । यो नीति पुनर्लेखन भयो भने र कार्यान्वयनमा आयो भने हाम्रा धेरै समस्या समाधान हुँदै जानेछन् ।’
भन्सार सीमानाका खुला भएका कारण अवैधरूपले सामग्री भित्रिरहेका हुन्छन् । सबैभन्दा पहिले यसलाई रोक्नुपर्ने अध्यक्ष तामाङ बताउँछन् । ‘सरकारले अवैधरूपमा हुने आयात रोकिदियो भने हामी पनि प्रतिस्पर्धी बन्न सक्छौं,’ उनी भन्छन्, ‘यसपछि लगानीको वातावरण बन्छ, लगानीको वातावरण बन्यो भने उत्पादन पनि बढी हुन्छ र हामी आत्मनिर्भर बन्छौं ।’
सरकारले नेपालमा उत्पादन भएका आलु प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भनेर सूचना जारी गरेको छ । फूलमा भने त्यस्तोे हुन नसकेको उनी बताउँछन् ।
‘पुष्पजन्य वस्तुमा पनि थ्रेसहोल्डका कारण भ्याट लाग्ने अवस्था छ,’ उनी भन्छन्, ‘हाम्रो अन्तरिक उत्पादनमा भ्याट लाग्नु हुँदैन । थ्रेसहोल्ड हटाइनुपर्छ भनेर हामीले भनिरहेका छौं । त्योमात्रै हटाउन सकियो भने हाम्रो उत्पादनले भारतसँग मात्रै होइन, विश्वको कुनै पनि देशको फूल उत्पादन मूल्यसँग प्रतिस्पर्धा गर्न सक्छ ।’
भारतको उत्पादन लागतसँग तुलना गर्दा हाम्रो उत्पादन लागत मेल नखाने उनी बताउँछन् । ‘गमला, प्लास्टिक, बीउ, थोपा सिँचाइ, ग्रीन हाउस, विषादी भारतबाट आयात गरेर उत्पादन गरिराखेको अवस्था छ,’ उनी भन्छन्, ‘भारतमा त्यसको मूल्य एकदमै सस्तो छ । हामीले खरिद गर्नुपर्ने मूल्य महँगो पर्न जान्छ ।’
नेपालमा फूल उत्पादनका लागि जग्गा भाडामा लिँदा पनि महँगो तिर्नुपर्ने तामाङको भनाइ छ । ‘हामी खेती पनि सानो स्केलमा गर्छौं । बजार पनि ठूलो छैन,’ उनी भन्छन्, ‘भारतमा ठूलो स्केलमा खेती हुन्छ । त्यहाँको बजार पनि ठूलो छ । हाम्रो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि सरकारले केही न केही कदम चाल्नैपर्छ र अर्को कुरा अवैधरूपमा आउने आयात रोक्नुपर्छ ।’
फूल उत्पादनका लागि नेपालमा भारतबाहेक नेदरल्यान्ड, जापान, अमेरिका, थाइल्यान्डलगायत देशबाट बीउ आयात गरिन्छ । बिरुवा चाहिँ नेदरल्यान्ड, भियतनाम, चीन, स्पेनलगायत देशबाट आयात हुने अध्यक्ष तामाङ बताउँछन् ।
तिहारका लागि सयपत्रीको माला भारतबाट मात्रै आयात हुने गर्छ । प्रेम दिवसमा यहाँको तापक्रममा गुलाब नफुल्ने र नफक्रिने भएकाले भारतबाट आयात गरिने उनको भनाइ छ ।