मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ । क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार क्वार्टर निर्माणको काममा खटिएका मजदुरहरुले खाना पकाउने क्रममा आगो लागेको हो । जुन हाल नियन्त्रणमा आइसकेको समेत प्रहरीले बताएको छ । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान जलेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विदेशी फूलको सुगन्धमा सरकार, स्वदेशी व्यवसायीप्रति छैन चासो
काठमाडौं । फूल, रङ्गीविरङ्गी यस्तो चिज हो जसलाई ‘आँखामा हाले पनि बिझाउँदैन’ भनिन्छ । फूलको सुन्दरतामा नलोभिने सायदै होलान् । फूल कोपिला हुँदै हुर्किएर फक्रिएपछि मनै लोभ्याउने हुन्छ । तर, यही चित्ताकर्षक फूल फूलाउनेका कथाबारे भने कमैलाई मात्र चासो हुन्छ । फूललाई फूलसम्मको आकार दिन बीउ रोप्ने, बिरुवा उमार्ने, गोडमेल गर्ने, पानी हाल्ने, झार उखेल्ने, किराफट्याङ्ग्राबाट जोगाउन मल–विषादी छर्ने, दिनहुँ आफ्ना बालबच्चाझैं स्याहार गर्ने व्यवसायीहरूको कथा-व्यथा भिन्नाभिन्नै छन् । मनै लोभ्याउने फूल फुलाउने हजारौं छन् । तीमध्येकी एक प्रतिनिधि पात्र हुन् ललितपुरकी सावित्री थापा । सावित्रीले काठमाडौं बबरमहलमा लगभग दुई दशक भयो फूल फुलाउन थालेको । १८ वर्षदेखि ‘शिखा फ्लावर प्लान्ट नर्सरी’ सञ्चालन गर्दै आइरहेकी सावित्री बिहान सखारैदेखि झम्के साँझ नपरेसम्म तिनै फूल, बोटबिरुवासँगै रमाइरहेकी हुन्छिन् । उनी उठेदेखि नसुतुन्जेल फूल र बिरुवासँगै खेलेर समय कटाउँछिन् । ‘आफ्नो पेसा नै यही भयो, फूलका बिरुवा हेरचाह गर्ने, पानी दिने, ग्राहकसँग गफिने गर्दा नै समय बित्छ,’ उनी भन्छिन्, ‘आफ्नै हातले रोपेका बीउबाट उम्रिएका बिरुवा र त्यसमा कोपिला हुँदै फक्रिने फूल देखेपछि भने मन आनन्द हुन्छ ।’ सावित्रीको नर्सरीमा विदेशबाट बीउ आयात गरेर उत्पादन गरिएका बिरुवा धेरै छन् । ‘यहाँ नै उत्पादन गरिएका बिरुवा बिक्दैनन्,’ उनी भन्छिन्, ‘मान्छेले नयाँ-नयाँ फूल खोज्छन्, नयाँ भएमात्रै धेरै बिक्री हुने हो ।’ उनको नर्सरीमा युरोपको हल्यान्डदेखि भारतका सिक्किम र अन्य ठाउँबाट बीउ ल्याएर उत्पादन गरिएका बिरुवा छन् । ‘हाम्रोमा धेरै बिरुवा सिजनल छन्,’ उनी भन्छिन्, ‘चिसो मौसममा भ्यागुते, पिटुनिया, गननिया, डेन्टास, राइनोक्लोस पेमलाका बिरुवा हुन्छन् । गर्मीमा निनिया, सयपत्री, गोदावरी, मखमली हुन्छन् । हाम्रोमा इन्डोर प्लान्ट बढी छन् ।’ अहिलेको अवस्थामा पहिलाजस्तो फूलको कारोबार हुन नसकेको सावित्री बताउँछिन् । कोरोना महामारीपछि सुस्ताएको नर्सरी व्यवसायले कोरोना अघिजस्तो गति लिन नसकेको उनको अनुभव छ । ‘अहिले मान्छेलाई खान लाउनै धौ-धौ छ,’ सावित्री भन्छिन्, ‘फूल त सोखका लागि पनि किनिन्छ । दैनिक आवश्यकता पूरा भएपछि किनिने वस्तु न हो । तर, के गर्नु हामीजस्ता हजारौं व्यवसायी र हामीसँग आश्रित लाखौंको पनि पेटको सवाल छ ।’ सावित्रीले बबरमहलमा एक रोपनी जग्गा भाडामा लिएर नर्सरी व्यवसाय सुरु गरेकी हुन् । जग्गाको भाडा महिनाको ५० हजार तिरिरहेकी छिन् । उनको नर्सरीमा सातजनाले रोजगारी पाएका छन् । यसमानेमा पनि उनलाई सन्तोष लाग्छ, किनकि सातजनाको परिवार उनकै नर्सरीले धानिदिएको छ । अहिले खासै फूलको कारोबार नभएको उनी बताउँछिन् । कहिले दिनको ३/४ हजार, कहिले २० हजार पनि हुने र कहिले हुँदै नहुने उनको अनुभव छ । अहिलेभन्दा दसैं तिहारमा भने ३/४ लाखको कारोबार भएकोमा सावित्री सन्तोषको सास फेर्छिन् । उनको नर्सरीमा २ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्ने फूलका बिरुवा छन् । उनको महिनाको खर्च डेढ लाख रुपैयाँ निस्किन्छ । अहिले त्यो खर्च व्यवथापनसम्म भइरहेको तर बचत हुन नसकेको उनी बताउँछिन् । ००० फूल (पुष्प) व्यवसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले यो व्यवसायमा लागेकाहरूको हकहितका लागि काम गरेको वर्षौं भइसक्यो । सरकारले पुष्प व्यवसाय र व्यवसायीलाई कहिल्यै प्राथमिकतामा नपारेको गुनासो पुरानै हो । फ्यानका अध्यक्ष मीनबहादुर तामाङ तिहारपछि भने फूल कारोबार सन्तोषजनक रहेको बताउँछन् । ‘अहिले हामीले अपेक्षा गरेअनुसार नै फूलको कारोबार भइरहेको छ,’ उनी भन्छन्, ‘उत्पादन र माग दुवैमा वृद्धि भइरहेको छ ।’ उनका अनुसार गत वर्ष २०७९ मा ३ अर्ब ७ करोड रुपैयाँको फूल कारोबार भएको थियो । फ्यानसँग रहेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ४२ करोड रुपैयाँबराबर फूलको कारोबार भएको थियो । आव २०७६/०७७ र २०७७/०७८ मा कोरोना महामारीले फूल कारोबार ह्वात्तै घटेर डेढ अर्बहाराहारीमा सीमित हुन पुग्यो । कोरोनापछि बिस्तारै उकालो लागेको फूल व्यवसाय आर्थिक वर्ष २०७८/०७९ मा आइपुग्दा सवा २ अर्ब रुपैयाँ, गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब रुपैयाँ कारोबार कटेको रेकर्ड फ्यानसँग छ । आयात-निर्यातको कुरा गर्दा कोरोना महामारीपछि आयात बढेको देखिएको छ । तामाङको भनाइलाई सरकारी तथ्यांकले पनि पुष्टि गर्छ । भन्सार विभागका अनुसार २०७९/०८० मा ३३ करोड ६ लाख रुपैयाँबराबरको पुष्प तथा पुष्पजन्य वस्तु नेपाल आयात भएको थियो । २०७८/७९ मा भने ३६ करोड ५३ लाख र २०७७/७८ मा ४० करोड ७२ लाखको आयात भएको तथ्यांक भन्सारसँग छ । नेपालले फूल आयातमात्र गर्दैन, यहाँबाट विभिन्न देशमा निर्यात पनि हुने गरेको तथ्यांक फ्यानसँग छ । फ्यानका अनुसार बितेका चार वर्षमा नेपालबाट २ करोड ७९ लाख रुपैयाँबराबरको फूल विभिन्न देश निर्यात भएको छ । आब २०७९/०८० मा ६८ लाख, २०७८/०७९ मा ९८ लाख, २०७७/०७८ मा ५३ लाख र २०७६/०७७ मा ६० लाखको फूल निर्यात भएको थियो । ००० अन्य देशबाट विशेष चाडपर्व र चिसो मौसम मंसिर, पुस र माघमा फूल कम फूल्ने भएकाले भारत तथा अन्य देशबाट आयात हुने फ्यानका अध्यक्ष तामाङ बताउँछन् । ‘यो बेला पनि नेपाली फूलले नै धान्छ,’ उनी भन्छन्, ‘अहिले हामीले बाहिरको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छैन, तिहारमा भने हाम्रो उत्पादन हुँदाहुँदै भारतीय उत्पादन आउँदा प्रतिस्पर्धा गर्न नसकिएको हो ।’ नेपालमा यति नै परिमाणमा फूल उत्पादन हुन्छ भनेर भन्न नसकिने उनी बताउँछन् । ‘फूलको धेरै प्रकृति र जात हुन्छ, मौसमी र बेमौसमी दुवैको कुरा गर्दा प्रतिगोटामै हिसाब गरिन्छ,’ उनी भन्छन्, ‘यसको हिसाब गोटामै निकाल्न सकिँदैन । हामीले कति मूल्यबराबरको कारोबार भयो भनेर भन्न सक्ने स्थिति छैन ।’ सरकारी तथ्यांकले ३ अर्बभन्दा बढीको वार्षिक फूलको कारोबार भइरहेको देखाए पनि अवैधरूपमा हुने कारोबारको लेखाजोखा नभएको अध्यक्ष गुरुङ बताउँछन् । ‘चोरी निकासी भएर आउने वा भन्सार प्रक्रिया पूरा नगरी आउने बिरुवा तथा फूलको पनि ठूलो कारोबार छ,’ उनी भन्छन्, ‘यो कुरा तथ्यांकमा आउँदैन । तथ्यांकमा जति मूल्य देखिएको छ, त्यति नै मूल्यको अवैध कारोबार हुन्छ भन्ने हाम्रो अनुमान छ ।’ यसको अर्थ, नेपालमा फूलको कारोबार वार्षिक ६ देखि ७ करोड रुपैयाँसम्म हुने गर्छ । हालसम्म फूल व्यवसायमा ७ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको तथा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४४ हजारभन्दा बढीले रोजगारी पाएको अध्यक्ष तामाङ बताउँछन् । आजभन्दा १५/१६ वर्ष अगाडि नेपालबाट १९ करोड रुपैयाँसम्मको फूल निर्यात भएको तामाङको अनुभव छ । ‘त्यसपछि हामीसँग भएको एउटा फार्म बन्द भयो, त्यसपछि निर्यात घटेको छ,’ उनी भन्छन्, ‘कोभिड अगाडि पनि ३ करोडको निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षमा पनि ६८ लाखको निर्यात गरियो । यो हिसाबले थोरै मात्रामा भए पनि निर्यात छ भन्नुपर्छ ।’ नेपालमा फूल उत्पादनकै लागि भनेर त्यस्तो धेरै लगानी नभएको अध्यक्ष तामाङ बताउँछन् । ‘नेपालमा उत्पादन हुने भनेको कटिङबाट बन्ने बिरुवा हुन्, हाइब्रिड बीउ भने आयात नै गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘अहिले साना–साना स्केलमा पनि उत्पादनमा विकास हुँदै गएको छ ।’ अब कुरा सरकारी कदमको । चालु आर्थिक वर्ष सरकारले पुष्प विकास केन्द्र स्थापना गरेको छ । यो बागमती प्रदेशअन्तर्गतको फूलसम्बन्धी हेर्ने एउटैमात्र निकाय हो । यसले टिस्यू कल्चर ल्याब स्थापना गरिसकेको छ । यसको काम भनेको सानो बिरुवा आयात गरेर फूल फुलाइरहेको अवस्थालाई प्रतिस्थापन गर्ने हो । टिस्यू कल्चर ल्याबबाट बिरुवा उत्पादन भए आयात प्रतिस्थापनमा ठूलो सहयोग पुग्ने सरकारको भनाइ छ । फेरि, फ्यानका अध्यक्ष तामाङलाई सुनौं । हाल मुलुकका ४८ जिल्लामा १ हजार ११६ व्यवसायीले फूलखेती गर्ने तथ्यांक रहेको उनी बताउँछन् । यो थपिँदै जाने क्रममा रहेको उनको भनाइ छ । वर्तमान अवस्थामा पुष्प प्रवर्द्धन नीति २०६९ परिमार्जन गर्नुपर्ने देखिएको तामाङ बताउँछन् । ‘यो नीति देश संघीयतामा नजाँदै बनेको हो,’ उनी भन्छन्, ‘देश संघीयतामा गइसकेपछि तीनै तहको प्रदेश सरकारले कार्यान्वयन गर्ने गरी त्यो नीतिलाई पुनर्लेखन गर्नुपर्ने पहिलो आवश्यकता छ । यो नीति पुनर्लेखन भयो भने र कार्यान्वयनमा आयो भने हाम्रा धेरै समस्या समाधान हुँदै जानेछन् ।’ भन्सार सीमानाका खुला भएका कारण अवैधरूपले सामग्री भित्रिरहेका हुन्छन् । सबैभन्दा पहिले यसलाई रोक्नुपर्ने अध्यक्ष तामाङ बताउँछन् । ‘सरकारले अवैधरूपमा हुने आयात रोकिदियो भने हामी पनि प्रतिस्पर्धी बन्न सक्छौं,’ उनी भन्छन्, ‘यसपछि लगानीको वातावरण बन्छ, लगानीको वातावरण बन्यो भने उत्पादन पनि बढी हुन्छ र हामी आत्मनिर्भर बन्छौं ।’ सरकारले नेपालमा उत्पादन भएका आलु प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भनेर सूचना जारी गरेको छ । फूलमा भने त्यस्तोे हुन नसकेको उनी बताउँछन् । ‘पुष्पजन्य वस्तुमा पनि थ्रेसहोल्डका कारण भ्याट लाग्ने अवस्था छ,’ उनी भन्छन्, ‘हाम्रो अन्तरिक उत्पादनमा भ्याट लाग्नु हुँदैन । थ्रेसहोल्ड हटाइनुपर्छ भनेर हामीले भनिरहेका छौं । त्योमात्रै हटाउन सकियो भने हाम्रो उत्पादनले भारतसँग मात्रै होइन, विश्वको कुनै पनि देशको फूल उत्पादन मूल्यसँग प्रतिस्पर्धा गर्न सक्छ ।’ भारतको उत्पादन लागतसँग तुलना गर्दा हाम्रो उत्पादन लागत मेल नखाने उनी बताउँछन् । ‘गमला, प्लास्टिक, बीउ, थोपा सिँचाइ, ग्रीन हाउस, विषादी भारतबाट आयात गरेर उत्पादन गरिराखेको अवस्था छ,’ उनी भन्छन्, ‘भारतमा त्यसको मूल्य एकदमै सस्तो छ । हामीले खरिद गर्नुपर्ने मूल्य महँगो पर्न जान्छ ।’ नेपालमा फूल उत्पादनका लागि जग्गा भाडामा लिँदा पनि महँगो तिर्नुपर्ने तामाङको भनाइ छ । ‘हामी खेती पनि सानो स्केलमा गर्छौं । बजार पनि ठूलो छैन,’ उनी भन्छन्, ‘भारतमा ठूलो स्केलमा खेती हुन्छ । त्यहाँको बजार पनि ठूलो छ । हाम्रो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि सरकारले केही न केही कदम चाल्नैपर्छ र अर्को कुरा अवैधरूपमा आउने आयात रोक्नुपर्छ ।’ फूल उत्पादनका लागि नेपालमा भारतबाहेक नेदरल्यान्ड, जापान, अमेरिका, थाइल्यान्डलगायत देशबाट बीउ आयात गरिन्छ । बिरुवा चाहिँ नेदरल्यान्ड, भियतनाम, चीन, स्पेनलगायत देशबाट आयात हुने अध्यक्ष तामाङ बताउँछन् । तिहारका लागि सयपत्रीको माला भारतबाट मात्रै आयात हुने गर्छ । प्रेम दिवसमा यहाँको तापक्रममा गुलाब नफुल्ने र नफक्रिने भएकाले भारतबाट आयात गरिने उनको भनाइ छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि तिर्यो प्रिमियम रकम बापतको कर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि प्रिमियम रकम वापतको कर तिरेको छ । कम्पनीले सेयर प्रिमियमको रकमलाई निकायको आयमा समावेश गरी कर वापत १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको हो । सरकारको निर्णयलाई सर्वोच्च अदालतले सफाई दिएपछि कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) मार्फत जारी गरेको सेयरबाट प्राप्त प्रिमियमको रकम र हकप्रद सेयर लिलामबाट प्राप्त भएको प्रिमियम रकमलाई आयकार मानि उक्त रकम कर बापत दाखिला गरेको हो । सरकारले आर्थिक ऐन, २०५० को दफा २६ मा एफपीओबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस सेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था गरेको छ । र, सो कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था भएको र सर्वोच्च अदालतको सो सम्बन्धी बैंक तथा बीमा कम्पनीको रिट खारेजीको निर्णयका आधारमा कम्पनीले उक्त रकम बराबरको कर तिरेको हो ।
गुणस्तरीय बीमा व्यवसाय गर्न कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरुसँग आयोजित अन्तर्क्रियालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न निर्देशन दिएका हुन् । ‘बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ताहरुले बैंक र बीमाबीचको फरक नागरिकलाई बुझाउनुपर्छ’, उनले भने, ‘कागजको पूर्णता, ग्राहकको पहिचान र बीमितको स्रोत सुनिश्चितता भएपछि मात्र बीमा गर्नुपर्छ ।’ सम्पत्ति शुद्धीकरण गर्ने गरी बीमा गरेको पाइएमा कारबाही गरिने चेतावनी पनि अध्यक्ष सिलवालले दिए। ‘बीमकहरुले संस्थागत सामाजिक उत्तरदायित्व र कर्मचारीहरुको तालिमका लागि रकम छुट्याउनुपर्छ, कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्छ’, उनले भने, ‘बीमकका कर्मचारीहरुले पनि बजारको अध्ययन अनुसन्धान गरेर नयाँ नयाँ बीमालेख ल्याउन माग गर्नुपर्छ ।’ अध्यक्ष सिलवालले बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरुको हितविपरीत कार्य भएमा त्यसका बारेमा गोप्य रुपमा जानकारी दिन सुझाव दिए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति नागरिकको विश्वास बढ्ने गरी स्वच्छ रुपमा बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए । कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र सानिमा जीआईसी इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले कार्यक्रममा उठेका प्रश्नहरुको जबाफ दिएका थिए । कार्यक्रममा सहभागीहरुले बीमकका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन, अधिकार प्रत्योजन गर्न, जोखिमाङ्कन, दावी व्यवस्थापन र बजारीकरण सम्बन्धी तालिम दिन, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गको पाठ्यक्रममा बीमा विषय समावेश गराउनका लागि पहल गर्न, सञ्चालक र व्यवस्थापकको मात्र नभई कर्मचारीहरुको समेत वृत्ति विकासको व्यवस्था गर्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले गरेका थिए। कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख, बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
सबस्टेशन निर्माणमा ढिलाइ, विद्युत् अनियमितताले व्यापार-व्यवसायमा समस्या
काठमाडौं । प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको छ । विद्युतको अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन । सबस्टेशन नहुँदा विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या भइरहेको स्थानीय व्यवसायी शिशिर थापाले गुनासो गरे । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न लागिएको वर्षौ बित्दा पनि सबस्टेशन सञ्चालनमा ल्याइएको छैन । विसं २०७३ देखि निर्माण थालिएको सबस्टेशन २०७४ असार मसान्तसम्म सम्पन्न गरी सञ्चालन गरिनुपर्ने भए पनि छ वर्षसम्म निर्माण सम्पन्न हुनसकेको छैन । दम्तीमा ११ रोपनी जग्गामा एक ‘कन्ट्रोल भवन’ र दुईवटा ‘स्टाप क्वार्टर’ निर्माण गरिएको छ । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न तार टाँग्ने काम अधुरै छ । सबस्टेशनसम्म विद्युतीय लाइन विस्तार नहुँदा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको नेपालगञ्जस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख ई हरिप्रसाद पाण्डेले बताए । उनले भने, ‘धेरै ठाउँमा तार टाँगिएको छ, पुलमा जमिनमुनिबाट तार बिछ्याउने ठाउँमा ढुङ्गा भेटिएकाले समय लागेको छ ।’ सात करोड ५० लाखको लागतमा सबस्टेशन निर्माणको काम काठमाडौँको आरके इन्टरनेसनलले र रु पाँच करोड ३३ लाखको लागतमा लाइन विस्तारको ठेक्का त्रिपुरेश्वर–जयदुर्गा जेभीले जिम्मा लिएका थिए । प्रमुख पाण्डेले सबस्टेशन शीघ्र सञ्चालनका लागि प्रयास भइरहेको जानकारी दिए । सबस्टेशन सञ्चालन र सडकमा टाँगिएको अव्यवस्थित तार व्यवस्थापन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिँदै आएका छन् । सबस्टेशन नजिकैका सडकमा होचा पोलमा भएका तार व्यवस्थित गर्न अतिआवश्यक भएको स्थानीयवासी शशिधर पण्डितले बताए । विद्युत् प्रसारण लाइनका लागि नदी किनारमा बाँध नहुँदा बगाउने जोखिम र सडकमा होचा तारले अग्ला गाडीमा करेन्टको जोमिख रहेको भन्दै लाइन सुरक्षित गर्न समेत आग्रह गर्दै आएका उनको भनाइ थियो । रासस
एनसेलको सेयर खरिदबिक्री ठीक ढंगबाट भएको छैन, सरकारले एक्सन लिन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको खरिदबिक्री ठीक ढंगबाट नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘मैले एनसेलको सेयर खरिद बिक्री प्रकरणको विश्लेषण गरिरहेको पनि मैले बुझेको छु । समितिको एकिन राय प्राप्त भएपछि सरकारले मुद्रा सटही, कर प्रशासन लगायतका विषयमा नयाँ कदम चाल्नेछ, मलाई शुरुमा नै यो ठिक ढंगले भएको छैन भन्ने लागेको हो,’ उनले भने । त्यस्तै, सरकार यो विषयमा गम्भीर र संवेदनशील रुपमा लागेको र कानुन तथा कर प्रणाली अनुसार छ खरिद बिक्री भएको छ वा छैन भन्ने विषयमा लागि परेको उनले बताए । ‘विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको छ । यसको कारोबार भएको बेलामा म देशबाहिर थिएँ । सोही समयमा मैले यो समाचार दुबैइमा सुने, फर्कनेबित्तिकै सञ्चार मन्त्रालय, प्राधिकरणलाई निर्देशन दिन मुख्यसचिवलाई ड्राफ्ट गर्न लगाएर निर्देशन दिएँ,’ उनले भने । पछि सञ्चार मन्त्रालयलसँग छलफल गरि मंसिर २१ गते छानबिन समिति गठन गरिएको समेत उनले जानकारी गराए । प्राधानमन्त्री प्रचण्डले यो प्रकरण कसैलाई ओभरल्याप गर्ने गरी नगरिएको, छानबिनबाट नेपालको दूरसञ्चार क्षेत्रमा पर्ने प्रभाव, विदेशी लगानिमा पर्नसक्ने प्रभाव र नेपालको कर क्षेत्रमा पर्न सक्ने प्रभावको बारेमा अध्ययन गर्न निदेशन दिइएको बताए ।
पुस ५ गतेदेखि नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी हुँदै
काठमाडौं । ‘नेपाल फर्मा एन्ड हेल्थ’ नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुँदै छ । पुस ५ देखि ७ गतेसम्मभृकुटी मण्डप प्रदर्शनीस्थलमा ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी’ जुन मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् संयोजकत्वमा प्रदर्शनी आयोजना हुन लागेको हो। उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनीमा प्रदर्शनी, सम्मेलन र साझेदारी रहनेछन् । यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने जनाइएको छ। नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको आयोजनकले जनाएको छ । यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहेको बताइएको छ । नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरूमा भारत लगभग ८०५ आयातको साझेदार हो, तसर्थ यो अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीपका विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्न निकै मद्दत गर्दछ । नेपाली चिकित्साप्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्नेछ । नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने बागडोर पनि बन्नेछ। यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिस्पर्धात्मक रूपमा योगदान पुर्याउने आयोजनकले विश्वास लिएको छ। यो प्रदर्शनीले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा आउने चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क गरिएको छ भने प्रदर्शनीमा सहभागी हुन चाहने सम्पूर्णमा दर्ता खुला भएको आयोजकले जानकारी दिएका छन् ।
शिवम् सिमेन्टले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीले आगामी पुस २७ गते शुक्रबारको दिन आफ्नो आठौं वार्षिक साधारण सभा डाकेको छ । र, सभामा जाने प्रयोजनको लागि आगामी पुस १९ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।