१४४ प्रतिशतले बढ्यो नेपाल एयरलाइन्सको आम्दानी, अघि बढाउँदै जहाज खरिद प्रक्रिया
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा १४४ प्रतिशतले वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७९/८० प्रारम्भिक कुल आम्दानी सो मात्राले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख आम्दानी गरेको निगमले आर्थिक वर्ष २०७९/८०मा कूल २२ अर्ब २४ करोड १९ लाख रुपैयाँ प्रारम्भिक कुल आम्दानी गरेको छ । प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार निगमले आर्थिक वर्ष २०७८/७९ मा निगमको आम्दानी १६ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ थियो । ‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ, हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । निगमले विगत आठ वर्षदेखि अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडान गरिरहेको छ । पछिल्लो समय जहाजको कमी भएको भन्दै निगमले जहाज खरिदको प्रकृया समेत अघि बढाएको जानकारी गराएको हो ।
नाडाको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालकाे अध्यक्ष करण चौधरीलाई बनाउने सहमति भएको छ । मंगलबार बसेको तीन जना उम्मेदवारहरूबीचको बैठकले चौधरीलाई नै अध्यक्ष बनाउने सहमति भएको हो । नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार नाडाको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका आकाश गोल्छा र प्रकाश कपुरीको समर्थनमा चौधरी आगामी कार्यकालका लागि अध्यक्ष बन्ने भएका हुन् । ‘अब नाडाको अध्यक्ष करणजी बन्नुहुन्छ, दुवै उम्मेदवारले उहाँलाई नै समर्थन गर्नुभयो, अब दुई वर्षको कार्यकालका लागि उहाँ नै अध्यक्ष बन्नुहुन्छ,’ अध्यक्ष थापाले भने । पुस २० र २१ गते हुने नाडाको ४७औं साधारण सभाबाट चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन् । अध्यक्षका आकांक्षीहरूले निर्वाचनको पनि तयारी गरेपछि अध्यक्ष थापाले सहमतिका लागि आज बैठक बोलाएका थिए । उनले बोलाएको बैठकले सफलता पनि पाएको छ । अर्थतन्त्रमा एक किसिमको मन्दी सिर्जना भइरहेको अहिलेकाे अवस्थामा निर्वाचन नगरेर सहमतिबाटै अगाडि बढ्नु पर्ने अडान थापाको थियो । त्यसैका लागि उनले आजकाे बैठक बोलाएका थिए ।
रामु पौडेल बने एनसीएचएलको अध्यक्ष, राष्ट्र बैंकमा दुई दशक लामो अनुभव
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । पौडेलले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पौडेलसँग केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ । नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।
एनसेल खरिदबिक्रीका चुनौतीपूर्ण प्रश्नहरु सोझिए सरकार र शिर्ष नेताहरुतर्फ
काठमाडौं । आजियाटा कम्पनीले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलमा भएको आफ्नो स्वामित्वको सेयर न्यून मूल्य ६ अर्ब रुपैयाँमा बिक्री गरेपछि जनमानसदेखि सरकारसम्म धेरै आशंका र प्रश्नहरु उठेका थिए । मंगलबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा शुसाशन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति पछाडि भने एनसेलको मुद्दाको छिनोफानो सरकार, ठूलो दल नेपाली कांग्रेस र प्रतिपक्ष दल एमालेको नेतृत्वसँग पुगेर जोडिएको छ । सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको आजियाटाले ७ वर्षपछि अस्वभाविक मूल्य ६ अर्बमा बिक्री गर्दा धेरै प्रश्न तथा आशंकाहरु उब्जिएका थिए । बुट मोडेलबाट सञ्चालन भएको एनसेल सन् २०२९ मा नेपाल सरकारको पूर्ण स्वामित्वमा आउनुपर्नेमा त्यसो हुनबाट रोक्नको लागि, पुँजीगत लाभकर छल्नका लागि लगायतका आशंकाहरु जनमानसदेखि राजनीतिक नेतृत्वले अभिव्यक्त गरेका थिए । एनसेलको खरिदबिक्रीको विषयलाई लिएर प्रधानमन्त्रीको छोरी र नेपाली कांग्रेशका नेता शेरबहादुर देउवाको छोराको समेत नाम लिएर सांसद अमरेशकुमार सिंहले पत्रकार सम्मेलनदेखि समितिसम्म विभिन्न आरोप लगाउँदै आएका थिए । सात वर्ष अगाडि डेढ खर्ब बराबर भएको एनसेलको शेयर ६ अर्बमा बिक्री गर्ने विषयको पछाडि ठूलो शक्तिको आड रहेको भन्दै टिकाटिप्पणी गरिएपनि त्यो सम्बन्धको वास्तविक खुलासा भने हुन सकिरहेको थिएन । मंगलबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा शुसाशन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले भने आजियाटाबाट ८० प्रतिशत शेयर खरिद गर्ने बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेड कम्पनीका मालिक शतिशलाल आचार्यको मुख्य सम्बन्ध प्रधानमन्त्री स्वयं, प्रतिनिधिसभाको ठूलो दल तथा सत्ता साझेदार नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवा र प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग रहेको खुलेको छ । प्रधानमन्त्री प्रचण्डले स्पेक्ट्रलाइट यूके लिमिटेड कम्पनीका मालिकलाई राम्रोसँग चिनेको र उसको सिंगापुरस्थित घरमा उनी आफ्नो श्रीमति सिता दाहालको उपचारको क्रममा बसेको र देउबा ओली पनि त्यहाँ बसेको राज्यव्यवस्था तथा शुसाशन समितिको बैठकमा बताए । ‘मेरो श्रीमति बिमारी भएको बेलामा आचार्यकै घरमा बसेको छु, शेरबहादुरजी र ओलीजी पनि उहाँको घरमा बस्नुभएको छ, हामी बीचमा कुरा पनि हुन्छ, चिनजान भएकै आधारमा कसैलाई छोडिँदैन,’ बैठकमा उनले भने । बैठकमा बोल्ने अधिकांश सांसदहरुले एनसेल खरिदबिक्रीको विषय गम्भीर भएको र सो विषयसँग प्रधानमन्त्रीको छोरी र शेरबहादुर देउवाको छोराको नामसमेत जोडिएको भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए । साथै, नेपाल दूरसञ्चार प्राधिकरणको कार्यक्षेत्र हुँदाहुँदै हतारमा समिति बनाइनु र समितिको नेतृत्वमा विवादास्पद व्यक्ति चयन गरिएको भन्दै थप आशंका सहित सांसदहरुले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए । केही नेता तथा सांसदहरुले एनसेलको खरिदबिक्रीको विषयमा आवेगात्मक तथा आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका भएपनि मुख्य ठूला दलमध्ये सत्ता साझेदार कांग्रेस र एमालेको नेतृत्वले भने खासै टिकाटिप्पणी गरिरहेका थिएनन् । साथै संसदको विभिन्न समितिको बैठकमा ती दुई दलका सांसद प्रतिनिधिहरुले नरम रुपमा आफ्नो विषय राख्दै आएको देखिन्थ्यो । तर, सत्ता संरचनामा नभिजेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने समितिको गठन लगायतको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी गर्दै आएको थियो । एनसेलको शेयर खरिदबिक्रीको विषयमा मुख्य ठूला दल नरम हुनुको पछाडि आशंका गरिएको नेतृत्वको सम्बन्ध नै भएको प्रधानमन्त्रीको भनाइले पुष्टि गरेको छ । समितिको बैठकमा बोल्ने सांसदहरुले विगतमा बनाइएका समितिहरुको नतिजा राम्रो नभएको भन्दै नतिजामा सरकार नै मुख्य जिम्मेवार भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल दूरसञ्चार प्राधिकरणको कार्यक्षेत्रमा सरकारले समिति बनाएको भन्दै विरोध जनाए । समितिको बैठकमा बोल्दै सभापति लामिछानेले एनसेलले सरकार अदालत प्रभावित पार्छु भनेर काम गरेको भन्दै एनसेलको मालिकको आतिथ्यता नेताहरुले लिएको उपचार गरेको औंल्याए । ‘प्राधिकरणको क्षेत्राधिकार भित्र किन समिति बनाउनुहुन्छ ? एनसेलले सरकार अदालत प्रभावित पार्छु भन्ने पालेको छ’, उनले भने, ‘उसकै आतिथ्यतामा उपचार गरेको स्वागत गरेको भन्ने पनि आएको छ ।’ सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको तर्फबाट दह्रो कमिटमेन्टको आवश्यकता भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीको दह्रो टिप्पणीको आवश्यकता पर्यो, उहाँको परिवारको नाम पनि जोडियो, जोडिएको छैन भने गर्न सक्छौं नत्र नाटक मात्रै हुन्छ’, समितिको बैठकमा नेता पाण्डेले भने । त्यस्तै, सांसद इश्वरी न्यौपानेले प्रधानमन्त्रीको परिवार जोडिएको विषयलाई लिएर गणतन्त्रमाथि प्रहार गर्ने काम भएको भन्ने अभिव्यक्तिसँग जोडेर प्रधानमन्त्रीले व्यवहारबाट देखाउनुपर्ने बताएकी थिइन । ‘प्रधानमन्त्रीको परिवार जोडिएको देखिएको छ, यो गणतन्त्रमाथिको प्रहार हो वा प्रहार गरिएको भनिएको हो ? उहाँले भनाइबाट होइन कामबाट देखाउनु हुनेछ’, उनले भनिन् । सांसद चन्दा कार्की भण्डारीले एनसेलले नेता तथा कर्मचारीलाई पैसा नखुवाइकन नेपालमा काम गर्न नसकिने भनेर नेपालको बेइज्जेत गरेर गएको विषय गम्भीर भएको भन्दै प्रधानमन्त्रीलाई थाहा नभइ कसरी काम भयो भनेर प्रश्न गरेकी थिइन । सांसद बलराम अधिकारीले अनुमति नलिई बेच्ने हिम्मत आजियाटाले कसरी गर्यो भन्दै उसकाे गल्तिमा पहिला कारबाही गरेर अनुसन्धान पछि गर्नुपर्ने भन्दै सरकारले बनाएको समितिको विषयमा असहमति जनाएका थिए । सांसद रघुजी पन्तले प्रधानमन्त्रीले सरकारको हातबाट एनसेल जाँदैन भन्ने विषयमा सरकारले ग्यारेन्टी गर्नुपर्ने धारणा राखेका थिए । सांसदहरुको आशंकापूर्ण, सरकार र आफूतर्फ सोझिएका प्रश्नहरुलाई ग्रहण गर्दै आफूहरुको सम्बन्ध स्पेक्ट्रलाइट यूके लिमिटेड कम्पनीका मालिकसँग रहेको तर, सम्बन्धकै आधारमा राष्ट्र र जनताको अहितमा काम हुन नदिने भन्दै प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई आश्वस्त पारे । ‘चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन, राष्ट्रको हित र जनताको हित नै मुख्य कुरा हो, यो कुरा प्रस्ट पार्न चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने । आम जनमानस र कतिपय जनप्रतिनिधिहरुले आशंका गरेजस्तै शिर्ष नेतृत्वहरुको एनसेलको मालिकसँग सम्बन्ध रहेको प्रधानमन्त्रीले सार्वजनिक रुपमा स्वीकार गरेपछि अब आजियाटाको शेयर खरिदबिक्रीको यथार्थताको सार्वजनिकीकरण पनि सरकार र ठूला दलका शिर्ष नेतृत्वतर्फ नै सोझिएको छ ।
उदयपुर र हेटौंडा सिमेन्ट उद्योगलाई दुई अर्ब खाँचो, सञ्चालकहरु भन्छन् : सरकारले सहयोग नगरे बन्द गर्छौं
काठमाडौं । सरकारबाट सञ्चालित उदयपुर र हेटौंडा सिमेन्ट उद्योग सञ्चालन हुन नसक्ने अवस्थामा पुगेका छन् । उद्योगका सञ्चालक समितिका पदाधिकारीहरुका अनुसार बढ्दो सञ्चालक खर्च, आर्थिक स्रोतको समस्याले उद्योगबाट सिमेन्ट उत्पादनमा कमि आएसँगै उक्त दुई सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । उदयपुर सिमेन्ट उद्योगका सञ्चालक समितिका अध्यक्ष केशव कुमार बस्नेतले उद्योगलाई स्तरोन्नति नगरेसम्म पूर्ण रूपमा उद्योग सञ्चालन गर्न नसकिने बताए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकमा बस्नेतले उद्योगलाई अपडेट नगरे सञ्चालन गर्न कठिन हुने बताए । उदयपुर सिमेन्ट उद्योगको दैनिक १७ हजार बोरा सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेता पनि हाल १/२ बोरा सिमेन्ट पनि उत्पादन गर्न गाह्रो भएको बस्नेतले जानकारी दिए । ‘उद्योगमा प्रयोग भएको मेसिन २५ वर्ष पुरानो छ, कहिले काहिँ मेसिन चल्दा चल्दै आफै बन्द हुन्छ, यस्तो कारणले गर्दा महिनामा १० दिन पनि राम्रोसँग चलाउन मुस्किल परेको छ,’ उनले भने, ‘समयमै उद्योगको अपडेट नगरे उद्योग बन्द हुने अवस्था छ ।’ बस्नेतका अनुसार एकपटक मेसिन बिग्रेर मर्मत गर्दा १५/१६ लाख रुपैयाँ खर्च हुन्छ । हाल बजारमा सिमेन्टको माग कमि भएको बताउँदै प्रतिबोरा २५० रुपैयाँसम्म घाटा खाएर सिमेन्ट बेच्नु परेको उनको भनाई छ । उद्योगबाट गुणस्तर सिमेन्ट उत्पादन हुने भएकाले अन्य सिमेन्ट उद्योगको तुलनामा उत्पादित सिमेन्टको मूल्य महँगो रहेको पनि उनले जानकारी गराए । उद्योग समितिले उदयपुर सिमेन्ट उद्योगलाई अपडेट गर्नको लागि अर्थ मन्त्रालयमा ४० करोड रुपैयाँ बजेट माग गरेको छ । उक्त रकम खर्च गरेर उद्योगको स्तरोन्नति गरे झण्डै १० अर्ब रुपैयाँ राज्यको सम्पत्ति बचाउन सकिने बस्नेत बताउँछन् । ‘स्तरोन्नति गरी उद्योगलाई पूर्ण रूपमा सञ्चालन गरी दैनिक १३ हजार बोरा उत्पादन गर्न सकेमा लागत घट्न गई प्रतिस्पर्धी क्षमता पनि बढ्थ्यो, कर्मचारीको दायित्व उद्योग आफैले बहन गर्दै थप लगानी समेत फिर्ता गर्न सकिन्थ्यो,’ उनले भने । उनका अनुसार उक्त उद्योग घाटामा सञ्चालन भइरहेको छ । यस्तै, हेटौंडा सिमेन्ट उद्योगको पनि अवस्था नाजुक बन्दै गएको हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक वसन्त कुमार पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त उद्योगबाट दिनहुँ उत्पादकत्व क्षमता घट्दै गएको छ । ‘हेटौंडा सिमेन्ट उद्योगको प्राविधिक अवस्था राम्रो छैन, यसमा ४० वर्ष पुरानो प्रविधिको प्रयोग भएको छ, हाल उद्योगमा कोइला चुनढुंगा लगायत आवश्यक कच्चा पदार्थको अभावका कारण उद्योग बन्द छ । दैनिक खर्च टार्न समेत मुस्किल छ,’ उनले भने । प्रतिबोरा ८ सयमा सिमेन्ट उत्पादन गरेर साढे ६ सयमा बेच्नु पर्ने अवस्था रहेको पाण्डे बताउँछन् । नेपाल सरकारले हेटौंडा सिमेन्ट उद्योग स्थापनाकालमा एशियाली विकास बैंकबाट लिएको कुल ऋण ७१ करोड ८८ लाख ८३ हजार रुपैयाँमध्ये हालसम्म सावा ब्याज गरी १ अर्ब ३० करोड २० लाख भुक्तानी भइसकेका छ । तर पनि आर्थिक वर्ष २०७९/८० को अन्तिमसम्ममा अझै १२ करोड सावा र ३४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । पाण्डेले उद्योगबाट वार्षिक ५२ लाख बोरा सिमेन्ट उत्पादन गर्न सकिने क्षमता रहेकोमा गत आर्थिक वर्षमा ९ लाख ३७ हजार १ सय मात्र ३८ बोरामात्र सिमेन्ट बिक्री भएको बताए । उक्त उद्योगबाट चालु आर्थिक वर्ष २०८०/८१ को कार्तिकसम्ममा १ लाख ५७ हजार बोरा सिमेन्ट बिक्री भएको छ । पाण्डेले सिमेन्टको मागमा ८० प्रतिशत कमि आएको बताउँदै उद्योग चलाए पनि घाटा नचलाए पनि घाटा रहेको बताए । हेटौंडा उद्योग बचाएर सञ्चालन गर्नुपर्ने छ भने उद्योग सञ्चालनको मोडल पनि परिवर्तन गर्नुपर्ने पाण्डेको भनाई छ । उनका अनुसार यसको मोडल र मेसिन परिवर्तन गर्नको लागि एक अर्ब ६० करोडको रुपैयाँ आवश्यकता पर्छ । बन्द हुने अवस्थामा पुगेका यी उद्योग सञ्चालनको लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत नपाएको उद्योगका सञ्चालक समितिका पदाधिकारीहरुको गुनासो छ । सांसद महेश बर्तौलाले उद्योग चलाउने ज्ञान पदाधिकारीहरूलाई नहुँदा पनि उद्योग समस्यामा पर्ने गरेको बताए । उद्योगलाई सहजिकरणको वातावरण बनाएर उपयुक्त नीति नियम बनाउनु पर्नेमा उनको जोड छ ।
कुमारी बैंक ल्यायो ‘फेस्टिभ अफर’
काठमाडौं । कुमारी बैंकले चाड पर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कुमारी बैंकले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । बैंकका अनुसार पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वष सम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्युनतम रकम एक हजार रुपैयाँ हुनुपर्नेछ । उत्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ । डिजिटल बैंकिङ्ग सेवाहरुलाई प्रोत्सहान गर्नका साथै बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैब तत्पर छ । आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
भेरी बबई डाइभर्सन आयोजनालाई गति दिन मन्त्री बस्नेतको निर्देशन
काठमाडौं । राष्ट्रिय गौरवको सूचीमा रहेको भए पनि भेरी बबई आयोजनाको कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल कामलाई गति दिन निर्देशन दिएका छन् । ‘आयोजनाको काममा ढिलाइ गर्ने छुट कोही कसैलाई पनि छैन’, मन्त्री बस्नेतले भने । सिंहदरबारस्थित आज ऊर्जा मन्त्रालयमा सिँचाइतर्फबाट उच्च अधिकारी, आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई अब ढिलाइ सह्य नहुने जनाउँदै तत्काल काममा गति दिन निर्देशन दिएका हुन् । सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँधस्थल र विद्युत् गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।आयोजना सम्वद्ध अधिकारी आयोजनास्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमा समेत समस्या पैदा भएको छ । आयोजनाको प्रगतिको अवस्थाका बारेमा ऊर्जामन्त्री बस्नेतले नियमित रुपमा जानकारी लिँदै आएका छन् । नेकपा(एमाले)को मध्यपहाडी राजमार्ग केन्द्रीत अभियानका क्रममा सो पार्टी सम्वद्ध शीर्ष नेतालेसमेत स्थलगत निरीक्षण गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि नै प्रधानमन्त्री कार्यालय मातहतमा रहेको एक्सन रुममार्फत अवस्थाको बारेमा जानकारी लिएका थिए । कामले अपेक्षित गति नलिएपछि आज मन्त्री बस्नेतले अब पनि अपेक्षित प्रगति नभए सहन नसकिने भन्दै आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई चेतावनी दिए । छलफलमा समेत सहभागी निर्माण व्यवसायी रहेका रमण कन्स्ट्रक्सनका प्रमुख रमणकुमार महताेले आयोजनाका अधिकारीले समयमा भुक्तानी नगरिदिएको तथा अन्य अत्यावश्यक काम नगरिदिएका कारण आयोजनास्थलमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको भन्दै गुनासो गरे । एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाइ गरेको भन्दै मन्त्री बस्नेतले भने, ‘एकले अर्कोलाई दोष देखाएर राष्ट्रिय गौरवको आयोजनामा समस्या सिर्जना गर्ने काम नगर्नुस । समस्या के हो ? समाधानको उपाय के हो ? त्यो प्रस्तुत गर्नुस् ।’ उनले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभागले र हरेक महिनामा मन्त्रालयकातर्फबाट आयोजनाको निरीक्षण गर्ने बताए । आयोजना निर्देशक बमले दैनिक रुपमा दुई सय ६० घनमिटरका दरमा ढलान तथा कङ्क्रिटको काम हुनुपर्ने बताए। उनले आयोजनालाई दैनिक तीन वटा शत्रमा काम गर्ने वातावरण मिलाइने विश्वास दिलाए । छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले राज्यको साधन र स्रोत लगानी भएको आयोजनामा कुनै पनि ढिलाइ नगर्न सम्वद्ध पक्षलाई निर्देशन दिए । छलफलमा सिँचाइतर्फका सहसचिव सुशीलचन्द्र आचार्य, मोहन शाक्य, सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओली, उपमहानिर्देशक सञ्जीव बराल र दिनेश रजौरियालगायतको उपस्थिति थियो । रासस
गठबन्धन सरकार अहिलेको बाध्यता हो : अर्थमन्त्री डा. महत
मकवानपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताएका छन् । नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘कतिपय साथीहरुलाई गठनबन्धन किन गर्नुप¥यो भन्ने लागेको होला । यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ । तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन ।’ ‘मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन छ । एकल बहुमतका लागि हामीले ठूलै जनप्रभाह हासिल गर्नुपर्ने उनको भनाइ थियो’ उनले भने, ‘कांग्रेसबाट सरकारमा सहभागी भएका हामीले काम गरिरहेका छौं, तर देशमा समस्या धेरै छ, आवश्यकता धेरै छन् । तर हाम्रो सामथ्र्य कम छ । देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकैपटक हुँदैन । तर समस्या समाधानका लागि हामीले इमान्दार प्रयास गरिरहेका छौं, समर्पणका साथ काम गरिरहेका छौं ।’ मन्त्री डा. महतले भने, ‘म अर्थमन्त्री बनेका बेला हाम्रो अर्थतन्त्र अत्यन्त अप्ठ्यारोमा थियो, अघिल्लो सरकारले सिर्जना गरेको समस्या थुप्रिरहेका थिए । त्यसबेला ठूल–ठूलो बिल्डिङ बन्ने घोषणा भए, बिल्डिङ बनुन्जेल रोजगारी पाइन्छ, सिमेन्ट, छठ बिक्री हुन्छ, केही आर्थिक गतिविधि पनि बढ्छ । बिल्डिङ बनिसकेपछि उत्पादन दिन छोड्छ । घरबाट निस्कन नमिल्ने बेलामा धेरै ऋण प्रवाह भयो । त्यो ऋण जग्गा र सेयर बजारमा लगानी भयो । जग्गा र सेयरको भाउ बढिहाल्छ भनेर लगानी भएको थियो । तर सधैं भाउ बढ्ने अवस्था थिएन । त्यसबेला जसले ऋण लिए उनीहरु अहिले समस्यामा छन् ।’ बहुमत ल्याएर कांग्रेसको एकल सरकार निर्माणका लागि एकता, सद्भाव र जिम्मेवारीप्रति उच्च समर्पणभाव आवश्यक रहेको मन्त्री डा. महतको भनाइ छ । उनले भने, ‘नेपाली कांग्रेस पार्टीले गरेको काम र भोलि गरिने कामप्रति सबैले गर्व गर्नुपर्छ, हामी जुन संस्थामा लागेका छौं, यो संस्थामा पुरानो र युवा पुस्ता छ । यो पार्टी एउटा परिवारजस्तो पार्टी हो । लामो समयदेखि दुःखसुखमा हामी सँगै छौं, लामो उठबस भएपछि १९–२० हुनु स्वभाविक हो । ठूलो पार्टी भएको हुनाले सबैले एकैपटक जिम्मेवारी पाउन कठिन हुन्छ । मान्छे खोजीखोजी ल्याएर राख्ने नयाँ पार्टीजस्तो कांग्रेस होइन ।’ आम निर्वाचनमा पार्टीको पक्षमा एकत्रित भएर उभ्यौं भने कांग्रेसले बहुमत ल्याउन सक्छ । एकताभाव, सद्भाव, सहकार्य र समर्पण कमी आउनु हुँदैन । हाम्रो कतिपय उठबसमा देखिएका समस्याले तिक्तता विकसित हुन्छ । यो तिक्तता आम निर्वाचनमा अभिव्यक्त हुन थाल्यो भने पार्टीका लागि दुर्भाग्य हुने उनले बताए । ‘कांग्रेसभित्र समस्या छ, यसलाई सम्बोधन गर्नेवित्तिकै हाम्रो पार्टीले बहुमत ल्याउन सक्छ । नयाँ कुरा लिएर नयाँ पार्टी आउन सक्छन्, तर कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ । कुराको पछाडि होइन, कामको आधारमा पार्टीहरुको मूल्यांकन हुनुपर्छ’ मन्त्री डा. महतले भने, ‘बीपी कोइरालाले भन्नुहुन्थ्यो, ‘सत्यको मुख बन्द भयो भने झुटोको थुतुनो चल्छ । सत्य बुझेर पनि हामी झुटोको अगाडि चुप लाग्यौ भने, झुटोको थुतुनो चलेको चलै हुन्छ । आम जनताले त्यही झुटोलाई सत्य ठान्छन् । झुटोलाई चिर्न सत्यको मुख बन्द हुनुहुन्न ।’ हाम्रो मुख पार्टीभित्रै साथीहरुको आलोचना गर्न प्रयोग हुनुको सट्टा, जसले हामीविरुद्ध झुटो प्रचार गरिरहेका छन्, त्यसको खिलाफमा हाम्रो पार्टीका साथीहरुको मुख खुल्नुपर्छ । यति गर्न सकियो भने मित्थ्या प्रचारको अन्त्य हुन्छ, झुठ पराजित हुन्छ । यो कुरा हाम्रा साथीहरुले आत्मसाथ गर्न मन्त्री डा. महतले आग्रह गरे । मन्त्री डा. महतले भने, ‘कांग्रेसको सबैभन्दा ठूलो कमजोरी भनेको प्रचार हो । हाम्रा कुरा राख्दैनौं, अरुको कुरा सुन्ने, त्यसबाट प्रभावित हुने र आफैलाई गाली गर्ने प्रवृत्ति हामीकहाँ विद्यमान छ । झुटोको थुतुनो सुनेर हामी प्रभावित हुनुभएन ।’