विन्ध्यवासीनी हाईड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले तोक्यो ?
काठमाडौं । विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ३ गते बैठकले चुक्ता पुँजीको ५.२६३२ प्रतिशतका दरले नगल लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २६ गते काठमाडौंमा बिहान १० बजे सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस १७ गत बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
विश्वविद्यालय स्थापना गर्ने बागमती प्रदेशको निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । प्रदेशको शैक्षिक विकासका लागि प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए । विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली मस्यौदा परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । यस्तै बैठकले बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालयको सङ्गठन संरचना र दरबन्दी स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको मन्त्री दुलालले बताए । स्वास्थ्य मन्त्रालयतर्फको स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी पदपूर्ति गर्न समेत प्रदेश लोकसेवा आयोगलाई अनुमति दिने निर्णय गरिएको छ ।
अर्को पटकको अध्यक्ष म नै हो : आकाश गोल्छा
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका उम्मेदवार आकाश गोल्छाले अर्को पटक आफू नै नाडाको अध्यक्ष बन्ने बताएका छन् । मंगलबारको बैठकले करण चौधरीलाई अध्यक्ष बनाउने सहमति गरेपछि अर्को पटक आफूलाई नै अध्यक्ष बनाउने सहमति भएको उनले बताएका हुन् । अर्को पटक आफूलाई सहयोग गर्ने प्रतिवद्धता पाएपछि आफूले समर्थन गरेको उनको भनाइ छ । ‘सहमतिमा एक जनाले छोड्नु नै थियो, करण सर अघिल्लो निर्वाचनमा उम्मेदवार बनेर पराजित भएको र यस पटक पनि इच्छा देखाएकोले सहमतिमा हामी ब्याक भएका हौं, पूर्व अध्यक्षहरूले पनि मिलेर जानु पर्छ भनेर सुझाव दिनुभयो, अहिले अर्थतन्त्र समस्यामा परेको बेला मिलेर नै जानुपर्छ भनेपछि हामी सहमतिमा गएका हौं,’ गोल्छाले विकासन्युजसँग भने । उनले नयाँ बन्ने कार्यसमितिमा आफू पनि रहने बताएका छन् । तर, पद भने उनले खुलाउन मानेनन् । सम्भवतः उनी वरिष्ठ उपाध्यक्ष बन्ने चर्चा पनि छ । गोल्छासँगै करण चौधरी र प्रकाश कपुरी नाडाको अध्यक्ष बन्ने प्रतिस्पर्धामा थिए । तर, अन्ततः गोल्छा र कपुरीले चौधरीलाई समर्थन गरेका हुन् ।
नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन, बिक्री बन्द
काठमाडौं । नबिल बैंकले बिक्री खुला गरेको डिबेन्चरमा मागभन्दा बढी आवेदन दिएको छ । मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म आवेदन खुलेको उक्त डिबेन्चरमा मागभन्दा बढी आवेदन परेको हो । बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री पुस ३ गते बैंकिङ समय पश्चात् बन्द भएको हो । प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकोमा पहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको बैंकले जनाएको छ । बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री खुल्ला गरिएको थियो । सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो । यस सात वर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ । बैंकले हाल २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । यस बैंकबाट १८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिँदै आएका छन् ।
१४४ प्रतिशतले बढ्यो नेपाल एयरलाइन्सको आम्दानी, अघि बढाउँदै जहाज खरिद प्रक्रिया
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा १४४ प्रतिशतले वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७९/८० प्रारम्भिक कुल आम्दानी सो मात्राले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख आम्दानी गरेको निगमले आर्थिक वर्ष २०७९/८०मा कूल २२ अर्ब २४ करोड १९ लाख रुपैयाँ प्रारम्भिक कुल आम्दानी गरेको छ । प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार निगमले आर्थिक वर्ष २०७८/७९ मा निगमको आम्दानी १६ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ थियो । ‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ, हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । निगमले विगत आठ वर्षदेखि अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडान गरिरहेको छ । पछिल्लो समय जहाजको कमी भएको भन्दै निगमले जहाज खरिदको प्रकृया समेत अघि बढाएको जानकारी गराएको हो ।
नाडाको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालकाे अध्यक्ष करण चौधरीलाई बनाउने सहमति भएको छ । मंगलबार बसेको तीन जना उम्मेदवारहरूबीचको बैठकले चौधरीलाई नै अध्यक्ष बनाउने सहमति भएको हो । नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार नाडाको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका आकाश गोल्छा र प्रकाश कपुरीको समर्थनमा चौधरी आगामी कार्यकालका लागि अध्यक्ष बन्ने भएका हुन् । ‘अब नाडाको अध्यक्ष करणजी बन्नुहुन्छ, दुवै उम्मेदवारले उहाँलाई नै समर्थन गर्नुभयो, अब दुई वर्षको कार्यकालका लागि उहाँ नै अध्यक्ष बन्नुहुन्छ,’ अध्यक्ष थापाले भने । पुस २० र २१ गते हुने नाडाको ४७औं साधारण सभाबाट चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन् । अध्यक्षका आकांक्षीहरूले निर्वाचनको पनि तयारी गरेपछि अध्यक्ष थापाले सहमतिका लागि आज बैठक बोलाएका थिए । उनले बोलाएको बैठकले सफलता पनि पाएको छ । अर्थतन्त्रमा एक किसिमको मन्दी सिर्जना भइरहेको अहिलेकाे अवस्थामा निर्वाचन नगरेर सहमतिबाटै अगाडि बढ्नु पर्ने अडान थापाको थियो । त्यसैका लागि उनले आजकाे बैठक बोलाएका थिए ।
रामु पौडेल बने एनसीएचएलको अध्यक्ष, राष्ट्र बैंकमा दुई दशक लामो अनुभव
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । पौडेलले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पौडेलसँग केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ । नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।