विकासन्युज

चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् । उनीहरूलाई प्रहरीले मङ्गलवार साँझ सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई भरतपुर महानगरपालिका–१ स्थित आँपटारीबाट पक्राउ गरिएको हो । उनीहरूले भारतीय नं प्लेटको जेएच ०२ डब्लु ९६३१ नंको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाई प्लास्टिकको बोरामा २८ पोका बनाई लुकाई–छिपाई मुग्लिनबाट नारायणगढतर्फ ल्याउँदै गर्दा पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई लागूऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

टक्सार पिखुवा खोला हाइड्रोपावरको सिइओमा नविन सिलवाल नियुक्त

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुष १ गतेदेखि लागु हुने गरी कम्पनीले सिलवाललाई सिइओमा नियुक्त गरेको हो । उर्जा क्षेत्रमा सिलवालको ६ वर्ष भन्दा लामो कामको अनुभव रहेको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवातदेखि नै सिलवाल कम्पनीमा आवद्ध थिए । कम्पनीमा सिलवालले सुरुमा वित्त प्रमुख भएर काम गरेका थिए । उर्जा क्षेत्रमा छोटो समयमा आफूलाई अब्बल र सवल बनाउन सफल सिलवाल टक्सार पिखुवा खोला हाइड्रो पावरको आईपीओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतको पखार्ईमा रहेका छन् । कम्पनीले करिब साढे ४७ लाख कित्ता साधारण सेयर निकासनको लागि धितोपत्र बोर्डमा निवदेन पेश गरिसकेको छ । आईपीओ निश्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिसकेको छ । कम्पनीको भोजपुरमा ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ चैतदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत उत्पादनबाट नियमित आम्दानी गर्दै आईरहेको छ । आईपीओ जारी गरी उठेको रकम कम्पनीको बाँकी ऋण तिरी निकट भविश्यमै लगानीकर्तालाई लाभांश दिने कम्पनीले जनाएको छ ।

कैलाश हेलीकप्टरको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कैलाश हेलीकप्टर सर्भिसेस् लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा दिउँसो साढे २ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।  

नेपाल एयरलाइन्सको आम्दानी २२ अर्ब २४ करोड, ३ वर्षमा ११४ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत ३ वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेको थियो । आव २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले गत ३ वर्षको आम्दानीमा ११४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ । विगत ८ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ र आन्तरिकतर्फ २ जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।

वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी र्दिए। उनीहरुलाई हाल लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ । उनले भने, “मुद्दा अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजनालाई निलम्बन गरिएको हो ।” प्रहरीले अधिकृत पोखरेललाई यही मङ्सिर २५ गते तथा वरिष्ठ सहायक यादवलाई मङ्सिर २७ गते पक्राउ गरेको थियो । सो घटनाबारे छानबिन भइरहेको छ ।

एक जना नेपालीको टाउकोमा ८१ हजार ऋण

काठमाडौं । सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण वर्षेनी सार्वजनिक ऋण हवात्तै बढ्ने क्रम देखिएको छ । हाल सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड पुगेको छ । जसअनुसार प्रति नेपालीको टाउकोमा सार्वजनिक ऋण ८१ हजार ३ सय ६ रुपियाँ थपिएको छ । कुल सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड रुपियाँलाई २०७८ सालको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मा भाग लगाउँदा प्रतिव्यक्ति ऋणको हिस्सा ८१ हजार रुपियाँ नाघेको हो । गत कात्तिकसम्म प्रतिव्यक्ति ऋणको हिस्सा ८० हजार ८ सय १९ रुपियाँ रहेको थियो । अर्थविद् चन्द्रमणि अधिकारीले निरन्तर आन्तरिक ऋण लिंदा ब्याज बढी पर्ने र ब्याज तिर्दैमा रकम सकिने हुँदा विकास निर्माणको कार्य गर्न नसकिने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

दुई कम्पनीको साढे ३ लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । विभिन्न दुई कम्पनीको संस्थापक सेयर बिक्री खुला गरिएको छ । सिद्धिार्थ प्रिमियर इन्स्योरेन्स र सांग्रिला डेभलपमेन्ट बैंकको गरी कूल ३ लाख ४९ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । सिद्धिार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक समूहतर्फको १ लाख ७८ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार आज पुस ४ गतेदेखि लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले पुस १३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी ईमान बहादुर गुरुङको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । म्यादभित्र आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने बैंकले जनाएको छ ।

आज यी २ कम्पनीको सेयर खरिद गर्यो भने ३१.५७ प्रतिशतसम्म लाभांश पाइने

काठमाडौं । बुधबार विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ दुवै कम्पनीले पुस ५ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् । भगवती हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले २३औं वार्षिक साधारणसभा पुस २४ गते काठमाडौंमा बिहान १० बजे डाकेको हो । यस्तै, सोल्टी होटलले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २६.५७८९ प्रतिशत नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले ४९औं वार्षिक साधारणसभा पुस २६ गते बिहान साढे १० बजे बोलाएको हो ।