
काठमाडौं । आजियाटा कम्पनीले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलमा भएको आफ्नो स्वामित्वको सेयर न्यून मूल्य ६ अर्ब रुपैयाँमा बिक्री गरेपछि जनमानसदेखि सरकारसम्म धेरै आशंका र प्रश्नहरु उठेका थिए । मंगलबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा शुसाशन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति पछाडि भने एनसेलको मुद्दाको छिनोफानो सरकार, ठूलो दल नेपाली कांग्रेस र प्रतिपक्ष दल एमालेको नेतृत्वसँग पुगेर जोडिएको छ ।
सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको आजियाटाले ७ वर्षपछि अस्वभाविक मूल्य ६ अर्बमा बिक्री गर्दा धेरै प्रश्न तथा आशंकाहरु उब्जिएका थिए । बुट मोडेलबाट सञ्चालन भएको एनसेल सन् २०२९ मा नेपाल सरकारको पूर्ण स्वामित्वमा आउनुपर्नेमा त्यसो हुनबाट रोक्नको लागि, पुँजीगत लाभकर छल्नका लागि लगायतका आशंकाहरु जनमानसदेखि राजनीतिक नेतृत्वले अभिव्यक्त गरेका थिए ।
एनसेलको खरिदबिक्रीको विषयलाई लिएर प्रधानमन्त्रीको छोरी र नेपाली कांग्रेशका नेता शेरबहादुर देउवाको छोराको समेत नाम लिएर सांसद अमरेशकुमार सिंहले पत्रकार सम्मेलनदेखि समितिसम्म विभिन्न आरोप लगाउँदै आएका थिए । सात वर्ष अगाडि डेढ खर्ब बराबर भएको एनसेलको शेयर ६ अर्बमा बिक्री गर्ने विषयको पछाडि ठूलो शक्तिको आड रहेको भन्दै टिकाटिप्पणी गरिएपनि त्यो सम्बन्धको वास्तविक खुलासा भने हुन सकिरहेको थिएन ।
मंगलबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा शुसाशन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले भने आजियाटाबाट ८० प्रतिशत शेयर खरिद गर्ने बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेड कम्पनीका मालिक शतिशलाल आचार्यको मुख्य सम्बन्ध प्रधानमन्त्री स्वयं, प्रतिनिधिसभाको ठूलो दल तथा सत्ता साझेदार नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवा र प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग रहेको खुलेको छ ।
प्रधानमन्त्री प्रचण्डले स्पेक्ट्रलाइट यूके लिमिटेड कम्पनीका मालिकलाई राम्रोसँग चिनेको र उसको सिंगापुरस्थित घरमा उनी आफ्नो श्रीमति सिता दाहालको उपचारको क्रममा बसेको र देउबा ओली पनि त्यहाँ बसेको राज्यव्यवस्था तथा शुसाशन समितिको बैठकमा बताए ।
‘मेरो श्रीमति बिमारी भएको बेलामा आचार्यकै घरमा बसेको छु, शेरबहादुरजी र ओलीजी पनि उहाँको घरमा बस्नुभएको छ, हामी बीचमा कुरा पनि हुन्छ, चिनजान भएकै आधारमा कसैलाई छोडिँदैन,’ बैठकमा उनले भने ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले एनसेल खरिदबिक्रीको विषय गम्भीर भएको र सो विषयसँग प्रधानमन्त्रीको छोरी र शेरबहादुर देउवाको छोराको नामसमेत जोडिएको भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए । साथै, नेपाल दूरसञ्चार प्राधिकरणको कार्यक्षेत्र हुँदाहुँदै हतारमा समिति बनाइनु र समितिको नेतृत्वमा विवादास्पद व्यक्ति चयन गरिएको भन्दै थप आशंका सहित सांसदहरुले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए ।
केही नेता तथा सांसदहरुले एनसेलको खरिदबिक्रीको विषयमा आवेगात्मक तथा आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका भएपनि मुख्य ठूला दलमध्ये सत्ता साझेदार कांग्रेस र एमालेको नेतृत्वले भने खासै टिकाटिप्पणी गरिरहेका थिएनन् । साथै संसदको विभिन्न समितिको बैठकमा ती दुई दलका सांसद प्रतिनिधिहरुले नरम रुपमा आफ्नो विषय राख्दै आएको देखिन्थ्यो ।
तर, सत्ता संरचनामा नभिजेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने समितिको गठन लगायतको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी गर्दै आएको थियो । एनसेलको शेयर खरिदबिक्रीको विषयमा मुख्य ठूला दल नरम हुनुको पछाडि आशंका गरिएको नेतृत्वको सम्बन्ध नै भएको प्रधानमन्त्रीको भनाइले पुष्टि गरेको छ ।
समितिको बैठकमा बोल्ने सांसदहरुले विगतमा बनाइएका समितिहरुको नतिजा राम्रो नभएको भन्दै नतिजामा सरकार नै मुख्य जिम्मेवार भएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल दूरसञ्चार प्राधिकरणको कार्यक्षेत्रमा सरकारले समिति बनाएको भन्दै विरोध जनाए । समितिको बैठकमा बोल्दै सभापति लामिछानेले एनसेलले सरकार अदालत प्रभावित पार्छु भनेर काम गरेको भन्दै एनसेलको मालिकको आतिथ्यता नेताहरुले लिएको उपचार गरेको औंल्याए ।
‘प्राधिकरणको क्षेत्राधिकार भित्र किन समिति बनाउनुहुन्छ ? एनसेलले सरकार अदालत प्रभावित पार्छु भन्ने पालेको छ’, उनले भने, ‘उसकै आतिथ्यतामा उपचार गरेको स्वागत गरेको भन्ने पनि आएको छ ।’
सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको तर्फबाट दह्रो कमिटमेन्टको आवश्यकता भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीको दह्रो टिप्पणीको आवश्यकता पर्यो, उहाँको परिवारको नाम पनि जोडियो, जोडिएको छैन भने गर्न सक्छौं नत्र नाटक मात्रै हुन्छ’, समितिको बैठकमा नेता पाण्डेले भने ।
त्यस्तै, सांसद इश्वरी न्यौपानेले प्रधानमन्त्रीको परिवार जोडिएको विषयलाई लिएर गणतन्त्रमाथि प्रहार गर्ने काम भएको भन्ने अभिव्यक्तिसँग जोडेर प्रधानमन्त्रीले व्यवहारबाट देखाउनुपर्ने बताएकी थिइन । ‘प्रधानमन्त्रीको परिवार जोडिएको देखिएको छ, यो गणतन्त्रमाथिको प्रहार हो वा प्रहार गरिएको भनिएको हो ? उहाँले भनाइबाट होइन कामबाट देखाउनु हुनेछ’, उनले भनिन् ।
सांसद चन्दा कार्की भण्डारीले एनसेलले नेता तथा कर्मचारीलाई पैसा नखुवाइकन नेपालमा काम गर्न नसकिने भनेर नेपालको बेइज्जेत गरेर गएको विषय गम्भीर भएको भन्दै प्रधानमन्त्रीलाई थाहा नभइ कसरी काम भयो भनेर प्रश्न गरेकी थिइन ।
सांसद बलराम अधिकारीले अनुमति नलिई बेच्ने हिम्मत आजियाटाले कसरी गर्यो भन्दै उसकाे गल्तिमा पहिला कारबाही गरेर अनुसन्धान पछि गर्नुपर्ने भन्दै सरकारले बनाएको समितिको विषयमा असहमति जनाएका थिए ।
सांसद रघुजी पन्तले प्रधानमन्त्रीले सरकारको हातबाट एनसेल जाँदैन भन्ने विषयमा सरकारले ग्यारेन्टी गर्नुपर्ने धारणा राखेका थिए ।
सांसदहरुको आशंकापूर्ण, सरकार र आफूतर्फ सोझिएका प्रश्नहरुलाई ग्रहण गर्दै आफूहरुको सम्बन्ध स्पेक्ट्रलाइट यूके लिमिटेड कम्पनीका मालिकसँग रहेको तर, सम्बन्धकै आधारमा राष्ट्र र जनताको अहितमा काम हुन नदिने भन्दै प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई आश्वस्त पारे ।
‘चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन, राष्ट्रको हित र जनताको हित नै मुख्य कुरा हो, यो कुरा प्रस्ट पार्न चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने ।
आम जनमानस र कतिपय जनप्रतिनिधिहरुले आशंका गरेजस्तै शिर्ष नेतृत्वहरुको एनसेलको मालिकसँग सम्बन्ध रहेको प्रधानमन्त्रीले सार्वजनिक रुपमा स्वीकार गरेपछि अब आजियाटाको शेयर खरिदबिक्रीको यथार्थताको सार्वजनिकीकरण पनि सरकार र ठूला दलका शिर्ष नेतृत्वतर्फ नै सोझिएको छ ।