काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा १४४ प्रतिशतले वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७९/८० प्रारम्भिक कुल आम्दानी सो मात्राले बढेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख आम्दानी गरेको निगमले आर्थिक वर्ष २०७९/८०मा कूल २२ अर्ब २४ करोड १९ लाख रुपैयाँ प्रारम्भिक कुल आम्दानी गरेको छ । प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार निगमले आर्थिक वर्ष २०७८/७९ मा निगमको आम्दानी १६ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ थियो ।
‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ, हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
निगमले विगत आठ वर्षदेखि अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडान गरिरहेको छ । पछिल्लो समय जहाजको कमी भएको भन्दै निगमले जहाज खरिदको प्रकृया समेत अघि बढाएको जानकारी गराएको हो ।