ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त हुन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् । दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । उनले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गरेका छन् । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आएका छन् । चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती सुरु गरेका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ । उनको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका दुई सय खम्बामा चार सयवटा ड्रागन फलका बोट छन् । सबै बोटले उत्पादनसमेत दिन थालेका छन् । ‘छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरी रु दुई लाखको लगानीमा ड्रागन फलको खेती सुरु गरेका हुन्। उनलाई उत्पादन नहुँदासम्म भने फाइदा हुँदैनजस्तो लागेको थियो । बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो । तर अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै बिक्री हुन थालेपछि उनी हर्षित छन् । उनले फलका अतिरिक्त बिरुवा उत्पादनको कामसमेत गर्दै आएका छन् । उनले यो वर्ष मात्र रु दुई लाख १० हजार आम्दानी गरेका छन् । फल बिक्री गरेर रु एक लाख ३० हजार र बिरुवा बिक्री गरेर रु ८० हजार आम्दानी गरेकाे उनले बताए । ‘जनताको काम गरेर उब्रेको समय ड्रागन खेतीमा नै बिताउने गरेको छु । आम्दानीसमेत राम्रै हुँदो रहेछ’, सदस्य लिम्बूले भने, ‘वार्षिक रुपमा रु दुई लाख बढी आम्दानी हुने रहेछ । यसैले नानीहरु पढाउन र घरखर्च चलाउन मज्जाले पुगेको छु ।’ उनले परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्राजतिको खेती गर्न एकैपटक चार सय बिरुवा रोपेका थिए । उनले पैसा कमाउन विदेश जानैपर्ने बाध्यता नरहेको बताए । ‘युवामा पैसा कमाउनकै लागि विदेश जानु पर्दैन । आफैँ लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ । यही सन्देश दिन मैले व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ’, उनले भने । लिम्बूले उत्पादन गरेको ड्रागन फल नजिकै झापाको दमक बजारमा नै बिक्री गरेको छ । सरदरमा प्रतिकेजी रु चार सयदेखि पाँच सयमा बिक्री हुने उनले बताए । विरुवा भने स्थानीय स्तरमा नै बिक्री हुने गरेको छ । बिरुवा पनि प्रतिगोटा रु दुई सय ५०सम्ममा बिक्री हुने गर्दछ । लिम्बू २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन् । ड्रागन फुड फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ । टिपेर राख्दा १०/१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रुपमा फल दिने ड्रागन फल वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । ड्रागन फ्रुड रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ । जग्गामा ड्राङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फुड पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ । एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेती तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाइ छ । ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँ तराई, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने विज्ञहरुको निष्कर्ष छ । रासस
४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्रयाट’ बजारमा
काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्रयाट’ बजारमा ल्याएको छ । मदिरा उत्पादन गर्ने युगौदेखिको स्कटिश परम्पराबाट प्रेरित हुँदै उच्चकोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको छ । कम्पनीका अनुसार हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा मीठो सुक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ भने स्वादमा एक प्रिमियम ह्वीस्की जस्तै हल्का फ्रुटी नोटको अनुभव हुन्छ । कुनै पनि उत्कृष्ट मदिरामा पिउँदा मात्र राम्रो नभएर पिइसकेपछि त्यसले दिने सुगन्ध अनि लामो अनुभव मुख्य गुण हो, जुन यो मदिराको प्रत्यक घुट्कीमा पाइन्छ । सर्वाधिक लोकप्रिय ब्राण्ड ‘खुकुरी रम’को उत्पादक दि नेपाल डिष्टिलरिजका लागि विशेष रुपमा तयार गरिएको यस अद्वितीय बोतलको आकार ऐतिहासिक युरोपिय महलका स्तम्भबाट प्रेरित छ । यसको सन्तुलित आकार, सुगठित काँध र स्थिर पिंधले एक प्रिमियम मदिरा हुनुको समग्र छविलाई पूर्णता दिन्छ । यसको लेबल पनि निकै आकर्षक छ । जहाँ शक्ति र सहासको प्रतिक सिंहले हाम्रो सम्पदाको सुरक्षा गर्र्दै गरेको आकर्षक आकृति पनि राखिएको कम्पनीले जनाएको छ । यस्तै, लेबलमा भएको चहकिलो कालो रङ्गले आधुनिक मदिराको छविलाई चित्रित गर्छ भने जीवन्त रातो रङ्गले गहिराइ, शक्ति र यस रङ्गसँग हाम्रो गहिरो भावनात्मक सम्बन्धलाई दर्शाउँछ । आफ्ना उपभोक्ताहरुको माग तथा उनीहरुको प्रिमियम मदिरातर्फको आकर्षणलाई ध्यानमा राख्दै नेपाली मौलिक स्वादलाई कायमै राखी यो उत्पादन तयार गरिएको दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए । उनका अनुसार कम्पनीको पोर्टफोेलियोमा पहिलो ४० यूपीको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’लाई विकास गर्नुअघि र पछि २ वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरु सञ्चालन गरिएका थिए । प्रत्येक पटकको परीक्षणमा सहभागी उपभोक्ताहरुबाट उत्साहजनक प्रतिक्रियाहरु प्राप्त भएका थिए । ४० यूपीको मदिरामा एबीभी(अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ । नेपाल डिस्टीलरिजले मुख्यरुपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा यसअघि आफ्ना उत्कृष्ट उत्पादनहरु खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश छन् ।
अटिजम रोग होइन, समस्या हो
चितवन । बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यहाँ आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित चार हजार आठ सय ८६ जना रहेका छन् । मन्त्रालयका विज्ञ चिकित्सक डा शाकार खनालका अनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्ने हो भने एक सयमा एक जनामा गरी करिब तीन लाख जनामा यो समस्या रहेको अनुमान गरिएको छ । एकजना महिला बराबर चारजना पुरुषमा यो समस्या हुने देखिएको उनले जानकारी दिए । उनले भने, ‘भौगोलिक अवस्थाअनुसार हिमालमा तीन सय २८, पहाडमा दुई हजार दुई सय २९, तराईमा दुई हजार तीन सय २९ जनामा यो समस्या रहेको छ ।’ अटिजमको समस्या गाउँमा भन्दा सहरी क्षेत्रमा बढिरहेको कार्यक्रममा जानकारी दिइयो । गाउँमा एक हजार सात सय २८ र सहरमा तीन हजार एक सय ५८ जनामा यो समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ । अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम रोग नभई समस्या हो । नेपालमा अटिजम भएको १८ महिनादेखि पत्ता लाग्ने गरेको उनले बताए । उनले भने, ‘विश्वका विभिन्न देशमा ६ महिनादेखि समस्या पत्ता लगाउने गरेको भए पनि नेपालमा भने १८ महिनापछि मात्र पत्ता लाग्ने गरेको छ ।’ नेपालमा रहेका अपाङ्गहरुमध्ये ० दशमलब ८० प्रतिशत अटिजमका रहेको जनाउँदै उनले अटिजम जन्मजात आउने अवस्था रहेको बताए । यो समस्या वंशाणुगत, वातावरण र सङ्क्रमण्का कारणले हुने गर्दछ । यसको अहिलेसम्म उपचार नभएको जनाउँदै उनले विभिन्न किसिमको थेरापी तथा पुनस्थापनाले सुधार गर्न सकिने जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव दीपक तिवारीले अटिजम भएकाको विषयमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पहिलोपटक प्रयास गरेको बताएयो । यस प्रकारका कार्यक्रमले सरकारका भावी कामहरु र वास्तविक तथ्याङ्क सङ्कलनमा सहज हुने उनको भनाइ थियो । गोष्ठीमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि एवं अटिजम क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो । रासस
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् । उनीहरूलाई प्रहरीले मङ्गलवार साँझ सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई भरतपुर महानगरपालिका–१ स्थित आँपटारीबाट पक्राउ गरिएको हो । उनीहरूले भारतीय नं प्लेटको जेएच ०२ डब्लु ९६३१ नंको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाई प्लास्टिकको बोरामा २८ पोका बनाई लुकाई–छिपाई मुग्लिनबाट नारायणगढतर्फ ल्याउँदै गर्दा पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई लागूऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
टक्सार पिखुवा खोला हाइड्रोपावरको सिइओमा नविन सिलवाल नियुक्त
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुष १ गतेदेखि लागु हुने गरी कम्पनीले सिलवाललाई सिइओमा नियुक्त गरेको हो । उर्जा क्षेत्रमा सिलवालको ६ वर्ष भन्दा लामो कामको अनुभव रहेको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवातदेखि नै सिलवाल कम्पनीमा आवद्ध थिए । कम्पनीमा सिलवालले सुरुमा वित्त प्रमुख भएर काम गरेका थिए । उर्जा क्षेत्रमा छोटो समयमा आफूलाई अब्बल र सवल बनाउन सफल सिलवाल टक्सार पिखुवा खोला हाइड्रो पावरको आईपीओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतको पखार्ईमा रहेका छन् । कम्पनीले करिब साढे ४७ लाख कित्ता साधारण सेयर निकासनको लागि धितोपत्र बोर्डमा निवदेन पेश गरिसकेको छ । आईपीओ निश्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिसकेको छ । कम्पनीको भोजपुरमा ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ चैतदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत उत्पादनबाट नियमित आम्दानी गर्दै आईरहेको छ । आईपीओ जारी गरी उठेको रकम कम्पनीको बाँकी ऋण तिरी निकट भविश्यमै लगानीकर्तालाई लाभांश दिने कम्पनीले जनाएको छ ।
कैलाश हेलीकप्टरको १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कैलाश हेलीकप्टर सर्भिसेस् लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा दिउँसो साढे २ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
नेपाल एयरलाइन्सको आम्दानी २२ अर्ब २४ करोड, ३ वर्षमा ११४ प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत ३ वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेको थियो । आव २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले गत ३ वर्षको आम्दानीमा ११४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ । विगत ८ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ र आन्तरिकतर्फ २ जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।
वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा
काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी र्दिए। उनीहरुलाई हाल लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ । उनले भने, “मुद्दा अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजनालाई निलम्बन गरिएको हो ।” प्रहरीले अधिकृत पोखरेललाई यही मङ्सिर २५ गते तथा वरिष्ठ सहायक यादवलाई मङ्सिर २७ गते पक्राउ गरेको थियो । सो घटनाबारे छानबिन भइरहेको छ ।