लाभांश नदिने कम्पनीहरुको संख्या बढ्दै, सीवाईसी नेपाल लघुवित्तले पनि नदिने
काठमाडौं । यो वर्ष लाभांश नदिने कम्पनीहरुको संख्या बढ्दो छ । सूचीकृत कम्पनीहरुमध्ये प्राय कम्पनीहरुले यो वर्ष लाभांश घोषणा गरेका छैनन् । हालसम्म सार्वजनिक भएको जानकारी अनुसार अधिकांश लघुवित्तहरुले पनि गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएका छन् भने केहीले अझै घोषणा गर्नै बाँकी छ । सीवाईसी नेपाल लघुवित्तले पनि गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको पुस ३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम संस्थाले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ ।
स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कामभन्दा विदेश भ्रमण प्यारो, ८ महिनामा ४४० जनालाई घुमघामको अवसर
काठमाडौं । पछिल्लो ८ महिनाको अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न विदेशी निकायहरुले १७८ वटा कार्यक्रममा आमन्त्रण गरेका थिए । जसमा स्वास्थ्य मन्त्रालय र केही अन्य सम्बन्धित निकायको तर्फबाट ४४० जना सहभागी भएका छन् । मन्त्रालयले विकासन्युजलाई उपलब्ध गराएको वैदेशिक कार्यक्रममा सहभागिताको तथ्यांक हेर्दा मन्त्रीदेखि विभिन्न निकायमा आवद्ध कर्मचारीहरूले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण अन्तर्राष्ट्रिय स्तरका तालिम, कार्यशाला र अवलोकन जस्ता कार्यक्रमहरुमा सहभागिता जनाएको देखिन्छ । कतिपय कर्मचारीहरूले धेरैपटक दोहोरिएर गएकाे देखिन्छ भने कतिपय कर्मचारीहरूले एकपटक ती कार्यक्रममा सहभागी भएको तथ्यांकमा उल्लेख छ । कर्मचारीहरूले वैदेशिक भ्रमण तथा कार्यक्रममा गरेको समय खर्च हेर्दा उपलब्धि महत्वपूर्ण हुनुपर्ने र त्यसले नेपालको स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्याउनुपर्ने देखिन्छ । तर, त्यसको नतिजा भने विरोधाभाषपूर्ण नै भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनको मात्रै ११० वटा कार्यक्रम पछिल्लो आठ महिनामा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले सबैभन्दा धेरै विश्व स्वास्थ्य संगठनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् । वैशाख १ गतेदेखि मंसिर १५ गतेसम्म मात्रै विश्व स्वास्थ्य संगठनले आयोजना गरेका विभिन्न १०९ वटा कार्यक्रममा नेपालको स्वास्थ्य तथाा जनसंख्या मन्त्रालयलाई आमन्त्रण गरेको थियो । जसमा स्वास्थ्य मन्त्रालय लगायत विभिन्न अन्य निकायबाट ३३१ जना सहभागी भएका थिए । विश्व स्वास्थ्य संगठनले नेपाली प्रतिनिधिहरुलाई विभिन्न अन्तर्राष्ट्रिय स्तरको वर्कसप, सम्मेलन, बैठक लगायतका महत्वपूर्ण कार्यक्रममा सहभागी गराउने गरेको छ । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष विश्व स्वास्थ्य संगठनले धेरै कार्यक्रम आयोजना गरेको तथ्यांकले देखाएको छ । त्यसैगरी युनिसेफ, युएसआइडी नेपाल, परराष्ट्र मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका अन्य निकायहरुले विदेशमा आयोजना गरेको स्वास्थ्य सम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्रालयलाई सहभागी गराएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिड महामारीदेखि अघिल्ला वर्षहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रम कमि भएको र पछिल्लो समयमा भएका नियमित कार्यक्रमहरु बढी देखिएको बताए । मन्त्रालयले कार्यक्रमअनुसार संघीय मन्त्रालयदेखि स्थानीय अस्पतालसम्मका कर्मचारीलाई सहभागी गराएको तथ्यांकमा उल्लेख गरिएको छ । उपलब्धि के ? मन्त्रालय र सम्बद्ध निकायहरूको दैनिक कामकाज छोडेर वैदेशिक संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सयौं कर्मचारी सहभागी हुँदा पक्कै पनि मन्त्रालयका विभिन्न कामहरू प्रभावित भएका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग र आधुनिकीकरणको विषयमा प्रश्नहरु उठ्दै आएका पनि छन् । वैदेशिक कार्यक्रमहरूमा सरकारका पदाधिकारीहरू र कर्मचारीहरू सहभागी हुने तर, त्यसको प्रभाव नीति तथा कार्यक्रमहरुमा भने नपरेको गुनासो विज्ञहरूले गर्दै आएका छन् । तर, विदेशी संघ संस्थाहरूले दिएको आफ्नै खर्चमा नेपालीलाई विभिन्न कार्यक्रममा सहभागी गराउँदा त्यसले नेपालको स्वास्थ्य क्षेत्रलाई दीर्घकालीन फाइदा पुर्याउने मन्त्रालयका सचिव डा. रोशन पोखरेलको भनाइ छ । विदेशी संस्थाहरूले आयोजना गरेर आमन्त्रण गरेको कार्यक्रममा नेपालको तर्फबाट अनिवार्य सहभागिता जनाउनुपर्ने भन्दै उनले भने, ‘नेपाल सरकारलाई व्ययभार नपर्नेगरी विदेशी संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा नेपाललाई अल्पकालीन र दीर्घकालीन दुवै फाइदा हुन्छ, अल्पकालीन प्रभाव तत्कालै देखिन्छ तर, दीर्घकालिन प्रभाव भने व्यक्तिको क्षमता विकास र राज्यको स्वास्थ्य नीति र कार्यक्रममा देखिन्छ ।’ हेर्नुहोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका कार्यालयको तर्फबाट आठ महिनामा भएको विदेश भ्रमणको विवरण [pdf id=453435]
चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा, छैन लाभांश प्रस्ताव
काठमाडौं । चन्द्रागिरि हिल्सले आगामी पुस २६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले १४औं साधारण सभा पुस २६ गते बिहीबार दिउँसो साढे १२ बजे कम्पनीको कार्यालय थानकोट परिसरमा गर्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि आगामी पुस १३ गते बुक क्लोज हुँदै छ । तर, सभामा कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । अघिल्लो वर्ष पनि लाभांश नदिएको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने जानकारी गराएको छ ।
क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कारबाट सम्मानित
काठमाडौं । क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्सलाई भारत सरकार, ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्यूरोद्वारा प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३ बाट सम्मानित गरिएको छ । यस अवसरमा चौधरी ग्रुपले क्रम्प्टनलाई बधाईको साथ दुई कम्पनी बिचको सहकार्यमा सन्तुष्टि जनाएको छ । उक्त पुरस्कार डिसेम्बर १४, २०२३ मा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले विज्ञान भवन, नयाँ दिल्लीमा राष्ट्रिय ऊर्जा संरक्षण दिवसमा प्रदान गरेकी थिइन् । कम्पनीका अनुसार राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार एक प्रमुख वार्षिक कार्यक्रम हो जसले ऊर्जा संरक्षणमा असाधारण योगदानहरूलाई हाइलाइट गर्दछ । डिसेम्बर १४, १९९१ मा यसको स्थापनापछि, भारत सरकारका सम्मानित गणमान्य व्यक्तिहरूबाट यी पुरस्कारहरू अर्थव्यवस्थाको विभिन्न क्षेत्रहरूमा ऊर्जा संरक्षणमा उदाहरणीय प्रयासहरूलाई प्रस्तुत गर्दछ । ‘वर्षको सबैभन्दा ऊर्जा कुशल उपकरण’ श्रेणीमा फोकसले उपभोक्ताको आवश्यकता पूरा गर्ने मात्र नभई ऊर्जा संरक्षणमा पनि योगदान पुर्याउने उत्पादनहरू सिर्जना गर्न नवप्रवर्तनको महत्त्वलाई जोड दिइन्छ । नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले क्रम्प्टन ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ । चौधरी ग्रुपले नेपालमा क्रम्प्टनका फ्यान, हिटर, गिजर, इमर्सन रड, आइरन, मिक्स्चर ग्राइन्डर, इन्डक्सन र एयर कुलर बेच्दै आइराखेको छ ।
ज्योति विकास बैंकले पनि सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम बैंकले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने छ ।
हिमालयन बैंकले पनि लाभांश नदिने
काठमाडौं । हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम बैंकले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने छ ।
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो
काठमाडौं । चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । गान्सुमा १ सय १३ र छिङहाईमा १८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ७ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ । चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप–राहत आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा केन्द्रिय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नि नियन्त्रक पठाइएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । मंगलवार बेलुका ७ बजेसम्म ७४ जनाको उद्धार गरिएको छ । मङ्गलबार गान्सु र छिमेकी छिङहाइ प्रान्तमा भूकम्पबाट प्रभावितलाई आधारभुत आवश्यकता पूरा गर्न १ लाख ३३ हजार ५ सय राहत सामग्री पठाइएको छ । भूकम्पले नराम्ररी प्रभावित क्षेत्र जोड्ने सबै ग्रामीण राजमार्गमा साँझ ७ बजेदेखि आवागमन सुचारु गरिएको छ । गान्सु र छिङहाईका सबै द्रुतमार्गहरू साथै राष्ट्रिय र प्रादेशिक ट्रंक सडकहरू सुचारु रूपमा सञ्चालन भइरहेका छन् र राहत कर्मचारी, आपूर्ति र सवारी साधनहरू विपद् प्रभावित क्षेत्रमा निर्बाध रूपमा पुग्न सक्ने यातायात मन्त्रालयले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न पनि प्रयास भइरहेको बताइएको छ ।
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ छ । जसको ६.४० प्रतिशतले कूल २६ करोड ६९ लाख रुपैयाँ नगद लाभांश सेयरधनीलाई वितरण गर्ने कम्पनीले जानकारी गराएको छ ।