काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत ३ वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेको थियो ।
आव २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले गत ३ वर्षको आम्दानीमा ११४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।
विगत ८ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ र आन्तरिकतर्फ २ जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।