विकासन्युज

सांसद अधिकारीको प्रश्न : सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने ?

काठमाडौं । वर्तमान संसद् गठन भएको झण्डै एक वर्ष पुग्नै लागेको छ । सङ्घीय संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण भए पनि पछिल्ला एक वर्षमा संसद्मा देखिएको गतिविधि र अभिव्यक्ति आलोचनाको विषय बनेका छन् । शान्ति प्रक्रिया र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विधेयक अझै निष्कर्षमा पुग्न सकेका छैनन् । सरकार र संसद्को कार्यशैली तथा उपलब्धिबाट सांसद स्वयम् सन्तुष्ट हुन नसकेको गुनासा सार्वजनिक भइरहेका छन् । नेपाली कांग्रेसका नेता एवं धादिङ क्षेत्र नं २ का सांसद रामनाथ अधिकारी सङ्घीय संसद्को एकवर्षे उपलब्धिबाट सन्तुष्ट हुने अवस्थामा आफू नरहेको बताउँछन् । ‘संविधानलाई कार्यान्वयनको चरणमा लैजान विभिन्न ऐन कानुनको अभाव छ । ती कानुन निर्माण गर्नुपर्ने जरुरी थियो, त्यो वातावरण अहिलेसम्म हुन सकेको छैन,’  उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नका निम्ति संसद्ले जुन भूमिका खेल्नुपर्ने थियो, ती काम हुन सकेनन्, अपेक्षा गरेको भन्दा पृथक ढङ्गबाट संसद् अघि बढेको छ । त्यसकारण बढी सन्तुष्ट हुने ठाउँ फेला परेको छैन ।’ आशा गरेअनुसार नभएको हुँदा आफू प्रतिनिधिसभाको सांसद हो भनेर भन्न कताकता असजिलो हुने महसुस गरेको उनको बुझाइ छ । ‘जुन ढङ्गको आशा, अपेक्षा र कल्पना गरेको थिएँ, त्यो पाउन सकिएन’, उनले भने। संसद्ले प्रभावकारी काम गर्न नसक्नुमा सरकार र संसद् प्रमुख नै बढी जिम्मेवार भएको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारतः कार्यान्वयन गर्न जेजति काम गर्नुपर्ने थियो, त्यो अधुरो र अपुरो नै रहेका कारणले आफू सन्तुष्ट हुन नसकेको बताए । नयाँ संविधानले तीन तहको सरकारको व्यवस्था गरिसकेपछि सङ्घीय सांसदको भूमिका कानुन निर्माणमा केन्द्रित हुनुपर्छ भन्ने चेतना विस्तार गर्न नसकिएको उनको भनाइ छ । उनले जनतालाई उक्त विषय बुझाउन नसक्नुमा राजनीतिक दल र सांसद नै जिम्मेवार रहेको ठहर्याए । ‘तर सांसदलाई बाध्यता पनि छ, जनताको अपेक्षा प्रशस्त छन्, सडकको न्यूनतम व्यवस्था पनि छैन’, सांसद अधिकारीले भने, ‘अहिलेसम्मको विकास दीर्घकालीन भएन, गाउँगाउँमा खानेपानीको अभाव छ, यी सबै पीडा सांसदले भोगेका छौँ, त्यसकारण हामी विकास होइन, कानुन निर्माणमा मात्रै खट्छौँ भन्न मिल्दैन ।’ सांसद जनताको विकास निर्माणका अपेक्षासँग जोडिएर सहजीकरण गर्नुपर्ने अवस्था रहेको अधिकारीको भनाइ छ । सांसद विकाससँग नजोडिने हो भने दूरदराजको जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? उनले प्रश्न भने । ‘संविधानसभाबाट संविधान जारी गर्यौँ, सबै नेपाली जनता सार्वभौम बन्नुभयो, सिंहदरबारका अधिकार आँगनमा पुर्याउँछौँ भनेका थियौँ, तर यो अवस्था अझै पनि फेला परेको छैन’, सांसद अधिकारीले भने, ‘कतिपय ठाउँमा अन्धकारमा गुज्रिनु परेको छ । खानेपानीको अभाव छ, हिउँदे बाटो मात्रै तयार भएका छन्, बर्खामा गाउँगाउँसम्म पुग्ने स्थायी सडक छैन ।’ जनताका यावत समस्या सांसदले उठाउनुपर्ने र समस्या समाधानका लागि प्रयत्न गर्नुपर्ने भएकाले सांसदको उपस्थिति विकासे अड्डामा देखिएको हुनसक्ने उनी बताउँछन् । प्रतिनिधिसभाका सांसद ऐन कानुन निर्माणमा केन्द्रित हुने हो तथा विकास प्रदेश र स्थानीय सरकारले गर्ने हो भन्नेमा जागरुकता ल्याउन नसकेकाले यस्तो परिस्थिति उत्पन्न भएको उनको बुझाइ छ । सरकार र प्रतिपक्षीबीच दूरी बढ्दा यसपटकको यसपटकको प्रतिनिधिसभा निरन्तर सञ्चालन हुन नसकेको उल्लेख गर्दै सांसद अधिकारीले भने, ‘प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षीका कारण सांसद निरन्तर अघि बढ्न सकेन । त्यसकारण पनि ऐन कानुन निर्माणमा ढिलाइ भएको छ ।’ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने ठाउँमा सरकार र प्रतिपक्षका बीचमा दूरी बढ्दा त्यसको प्रभाव संसद्मा परेको उनको भनाइ छ । ‘हामीले लडेर ल्याएको अधिकारका विषयलाई जनताका बीचमा पुर्याउन सकेनौँ भनेर छलफल हुनुपर्नेमा त्यसो हुन सकेन । तत्कालीन समयमा उठेका समस्याका विषय समाधान गर्दै अघि बढ्दा प्रतिनिधिसभामा सांसदले जुन भूमिका निर्वाह गर्नुपर्ने थियो, संसद् आफ्नो भूमिकाबाट टाढा रहँदा समस्या पैदा भएको छ’, उनले भने । प्रतिनिधिसभा बैठक सुरु भएपछि कार्यसूचीमा प्रवेश नगरी अन्त्यैतर्फ मोडिने स्थिति देखिएको उल्लेख गर्दै उनले भने, ‘यसपटकको प्रतिनिधिसभाले जति काम गर्नुपर्ने थियो, त्यति भएनन् जनताको अपेक्षा पूरा हुन सकेन ।’ सरकारले सदनलाई ‘बिजनेस’ दिन नसक्दा पनि केही समस्या देखिएको जनाउँदै उनले यसमा नेतृत्वको मात्रै दोष नभएर सबैको उत्तिकै भूमिका रहेको बताए । प्रमुख प्रतिपक्षीलाई सत्ताबाट बाहिरिनुपरेको चर्को पीडाका कारण पनि संसद् प्रभावित बनेको उनको भनाइ छ । प्रतिष्ठालाई सम्पत्तिका रूपमा हेर्नुपर्नेमा पछिल्ला समय राजनीतिक र प्रशासनिक नेतृत्वमा लोभ, मोह र स्वार्थ देखिन थालेकामा चिन्ता व्यक्त गर्दै उनले भ्रष्टाचार अन्त्य गर्न सबैको समूहिक पहल र प्रयत्न आवश्यक भएको बताए । २०१८ साल भदौ १५ गते जन्मिएका सांसद अधिकारीले २०३९ सालदेखि राजनीति यात्रा प्रारम्भ गरेका थिए । २०४२ सालमा नौ महिना जेल परेका उनी २०५६ को आम निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । २०५४ देखि २०७२ सम्म नेपाली कांग्रेस धादिङको जिल्ला सभापति रहेका उनी दोस्रो जनआन्दोलनमा ककनी र भक्तपुरमा गरी पाँच महिना प्रहरी हिरासतमा परेका थिए । नेता अधिकारी धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष र शान्ति समिति धादिङको अध्यक्षसमेत रहेका थिए । संसदीय मर्यादामा सबै सांसद अडिग रहनुपर्नेमा जोड दिँदै उनले संसदीय मर्यादा र गरिमाभित्र रहेर मात्रै आफ्नो अभिव्यक्ति दिनुपर्ने बताए । ‘संसदीय मर्यादाको पालना आफैँले गर्ने हो, शीर्ष नेतादेखि नवप्रवेशी सांसद समेतले संसदीय मर्यादा पालना गर्नुपर्छ, प्रतिपक्षीले सरकारलाई रचनात्मक सुझाव र ढाडस पनि दिन सक्नुपर्छ, प्रतिपक्षीको असल सुझाव ग्रहण गर्नुपर्छ, तर यसपटकको संसद्मा देखिएको गतिविधि र अभिव्यक्तिप्रति आफू सन्तुष्ट छैन’, सांसद अधिकारीले भने । संसद् प्रतिपक्षीको सत्ता भए पनि त्यसको दायरा र अनुशासन हुने जनाउँदै उनले सत्ता पक्ष र प्रतिपक्ष अनुशासनभन्दा बाहिर जान नमिल्ने बताए । संसदीय अभ्यासमा सबै सचेत हुनुपर्ने उनको सुझाव छ । उनले मुलुकको नेतृत्व गर्नेले आफू सुध्रेर ग्रामीण भेकमा रहेका जनताका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । ‘जनताको विश्वास जित्न सक्नुपर्छ, हिजो जनतासमक्ष गरेका बाचा पूरा गर्नुपर्छ’, उनले भने । सिंहदरबारको अधिकार जनताको घर दैलोमा पुर्याउँछौँ भनेर गरेको कबोललाई जनताले विश्वास गरेर मत दिएको उल्लेख गर्दै उनले कुनै पनि तहमा जनतमाथि बेइमानी गर्न नहुने बताए । ‘वडा, पालिका, प्रदेश र सङ्घमा रहेका जनप्रतिनिधिले जनतमाथि अन्याय र बेइमानी गर्ने कल्पनासमेत गर्न हुँदैन’, उनले भने, ‘परिवर्तनका लागि मरिमेटेर लागेका शक्ति जनताको अधिकारका लागि फेरि एकताबद्ध भएर अगाडि बढौँ ।’ रासस

भिभोको छैठौं वार्षिकोत्सव सेल्स कार्निभल : सेलिब्रेसन, अफर र सरप्राइजहरू

काठमाडौं । प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोको नेपालमा स्थापनको ६ वर्ष पूरा भएको छ । यस छैठौं वार्षिकोत्सवको अवसरमा भिभोले ग्राहकहरुलाई उत्सवमा सहभागी हुने समय भएको आभास गराएको छ । कम्पनीका अनुसार यो सेलिब्रेशनले भिभोले नेपालमा भित्र्याएको नवीनता, प्रविधि र कनेक्टिभिटीको सारलाई प्रतिध्वनित गर्दछ । भिभोले आफ्ना ग्राहकवर्गसंग उत्सवको उत्साहलाई बाड्दैं सबैलाई आकर्षक अफरहरू तथा पुरस्कारहरू प्रदान गर्न आफ्नो वार्षिक डिसेम्बर सेल्स कार्निभल घोषणा गरेको हो । यो एक्सक्लुसिभ सेल्स कार्निभल डिसेम्बर ७ तारिख देखि शुरु भएर ५ जनवरी, २०२४ सम्म सञ्चालनमा रहनेछ । नेपाली स्मार्टफोन बजारमा, अग्रणी ब्राण्ड मध्ये एक भिभो उत्कृष्ट प्रविधिसहित नवीन विशेषताका स्मार्टफोनहरू प्रदान गर्न प्रतिबद्ध रहेको छ । भिभोले शुरुवातदेखि नै नेपाली बजारमा आफ्नो स्थानलाई सुदृढ गर्दै धेरै कोशेढुङ्गाहरू पार गर्दै आइरहेको छ । भिभोको नोभेम्बर २०२३ को समग्र सेल्स १७८ प्रतिशतलले वृद्धि भएको छ जुन अघिल्लो वर्षको तुलनामा १९६ प्रतिशतले वृद्धि भएको हो । स्लीक डिजाइन, अत्याधुनिक प्रविधि र प्रयोगकर्ताको सन्तुष्टिप्रतिको प्रतिबद्धताले ब्रान्डलाई प्रयोगकर्ताहरुको मन जित्न र धेरै माया प्राप्त गर्न मद्दत पुगेको कम्पनीले जनाएको छ । भिभोको वार्षिक सेल्स कार्निभल २०२३ हरेक भिभो स्मार्टफोन खरिदमा ग्राहकहरुले नयाँ प्रविधिसंगै लकी ड्र मा सामेल भएर आकर्षक पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । भिभो वाई२७एस खरिद गर्ने पहिलो १००० ग्राहकहरूले नयाँ स्मार्टफोनको साथै ६ महिनासम्मको थप वारेन्टी पाउनेछन् । साथै, एक जना बम्पर पुरस्कार विजेताको भाग्यशाली जोडीले निकै रोमाञ्चक एवं आकर्षक शहर दुबई घुम्ने अवसर प्राप्त गर्नेछन् । यसको साथै लक्की ड्र मा ग्राहकहरुको मन लोभ्याउने धेरै आकर्षक उपहारहरू रहेका छन् । ग्राहकहरुले लक्की ड्र मा भिभोको नयाँ भी सिरिजका स्मार्टफोनहरुदेखि, रिभरसङ् इयरबडहरू, एक महिनासम्म निशुल्क स्क्रिन रिप्लेसमेन्ट, स्पिकर, साइड ब्याग, तथा बोतलहरु जित्ने अवसर प्राप्त गर्न सक्नेछन् जसले प्रत्येक प्रविधि प्रेमीहरूको सपना पूरा गर्दछ । यसै उत्साहका बीचमा, भिभोले वाई सिरिजमा नयाँ स्मार्टफोन – वाई१७एस (४जीवी+१२जीवी) सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनमा शक्तिशाली ५००० एमएएचको ब्याट्री, मिडियाटेक जी८५ प्रोसेसरको रहेको छ । वाई१७एस प्रयोगकर्ताहरुले निकै रुचाएका दुई आकर्षक – फरेस्ट ग्रीन र ग्लिटर पर्पल रंगहरूमा उपलब्ध छ । सेल्स कार्निभलकै सबैभन्दा आकर्षक अफर मध्ये एक यो स्मार्टफोन निकै सुलभ मुल्य रु १४,९९९ मा उपलब्ध हुनेछ । भिभोले पहिला नै वाई१७एस (६ जीवी+१२८ जीवी) मा १६,९९९ मा सार्वजनिक गरेको थियो र यो नयाँ स्मार्टफोनले ग्राहकहरुलाई नयाँ र्याम र रोमसहित परिष्कृत प्रयोगकर्ता अनुभव प्रदान गर्नेछ ।

लाभांश नदिने कम्पनीहरुको संख्या बढ्दै, सीवाईसी नेपाल लघुवित्तले पनि नदिने

काठमाडौं । यो वर्ष लाभांश नदिने कम्पनीहरुको संख्या बढ्दो छ । सूचीकृत कम्पनीहरुमध्ये प्राय कम्पनीहरुले यो वर्ष लाभांश घोषणा गरेका छैनन् । हालसम्म सार्वजनिक भएको जानकारी अनुसार अधिकांश लघुवित्तहरुले पनि गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएका छन् भने केहीले अझै घोषणा गर्नै बाँकी छ । सीवाईसी नेपाल लघुवित्तले पनि गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको पुस ३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम संस्थाले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ ।

स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कामभन्दा विदेश भ्रमण प्यारो, ८ महिनामा ४४० जनालाई घुमघामको अवसर

काठमाडौं । पछिल्लो ८ महिनाको अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न विदेशी निकायहरुले १७८ वटा कार्यक्रममा आमन्त्रण गरेका थिए । जसमा स्वास्थ्य मन्त्रालय र केही अन्य सम्बन्धित निकायको तर्फबाट ४४० जना सहभागी भएका छन् । मन्त्रालयले विकासन्युजलाई उपलब्ध गराएको वैदेशिक कार्यक्रममा सहभागिताको तथ्यांक हेर्दा मन्त्रीदेखि विभिन्न निकायमा आवद्ध कर्मचारीहरूले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण अन्तर्राष्ट्रिय स्तरका तालिम, कार्यशाला र अवलोकन जस्ता कार्यक्रमहरुमा सहभागिता जनाएको देखिन्छ । कतिपय कर्मचारीहरूले धेरैपटक दोहोरिएर गएकाे देखिन्छ भने कतिपय कर्मचारीहरूले एकपटक ती कार्यक्रममा सहभागी भएको तथ्यांकमा उल्लेख छ । कर्मचारीहरूले वैदेशिक भ्रमण तथा कार्यक्रममा गरेको समय खर्च हेर्दा उपलब्धि महत्वपूर्ण हुनुपर्ने र त्यसले नेपालको स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्याउनुपर्ने देखिन्छ । तर, त्यसको नतिजा भने विरोधाभाषपूर्ण नै भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनको मात्रै ११० वटा कार्यक्रम पछिल्लो आठ महिनामा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले सबैभन्दा धेरै विश्व स्वास्थ्य संगठनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् । वैशाख १ गतेदेखि मंसिर १५ गतेसम्म मात्रै विश्व स्वास्थ्य संगठनले आयोजना गरेका विभिन्न १०९ वटा कार्यक्रममा नेपालको स्वास्थ्य तथाा जनसंख्या मन्त्रालयलाई आमन्त्रण गरेको थियो । जसमा स्वास्थ्य मन्त्रालय लगायत विभिन्न अन्य निकायबाट ३३१ जना सहभागी भएका थिए । विश्व स्वास्थ्य संगठनले नेपाली प्रतिनिधिहरुलाई विभिन्न अन्तर्राष्ट्रिय स्तरको वर्कसप, सम्मेलन, बैठक लगायतका महत्वपूर्ण कार्यक्रममा सहभागी गराउने गरेको छ । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष विश्व स्वास्थ्य संगठनले धेरै कार्यक्रम आयोजना गरेको तथ्यांकले देखाएको छ । त्यसैगरी युनिसेफ, युएसआइडी नेपाल, परराष्ट्र मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका अन्य निकायहरुले विदेशमा आयोजना गरेको स्वास्थ्य सम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्रालयलाई सहभागी गराएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिड महामारीदेखि अघिल्ला वर्षहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रम कमि भएको र पछिल्लो समयमा भएका नियमित कार्यक्रमहरु बढी देखिएको बताए । मन्त्रालयले कार्यक्रमअनुसार संघीय मन्त्रालयदेखि स्थानीय अस्पतालसम्मका कर्मचारीलाई सहभागी गराएको तथ्यांकमा उल्लेख गरिएको छ । उपलब्धि के ? मन्त्रालय र सम्बद्ध निकायहरूको दैनिक कामकाज छोडेर वैदेशिक संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सयौं कर्मचारी सहभागी हुँदा पक्कै पनि मन्त्रालयका विभिन्न कामहरू प्रभावित भएका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग र आधुनिकीकरणको विषयमा प्रश्नहरु उठ्दै आएका पनि छन् । वैदेशिक कार्यक्रमहरूमा सरकारका पदाधिकारीहरू र कर्मचारीहरू सहभागी हुने तर, त्यसको प्रभाव नीति तथा कार्यक्रमहरुमा भने नपरेको गुनासो विज्ञहरूले गर्दै आएका छन् । तर, विदेशी संघ संस्थाहरूले दिएको आफ्नै खर्चमा नेपालीलाई विभिन्न कार्यक्रममा सहभागी गराउँदा त्यसले नेपालको स्वास्थ्य क्षेत्रलाई दीर्घकालीन फाइदा पुर्याउने मन्त्रालयका सचिव डा. रोशन पोखरेलको भनाइ छ । विदेशी संस्थाहरूले आयोजना गरेर आमन्त्रण गरेको कार्यक्रममा नेपालको तर्फबाट अनिवार्य सहभागिता जनाउनुपर्ने भन्दै उनले भने, ‘नेपाल सरकारलाई व्ययभार नपर्नेगरी विदेशी संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा नेपाललाई अल्पकालीन र दीर्घकालीन दुवै फाइदा हुन्छ, अल्पकालीन प्रभाव तत्कालै देखिन्छ तर, दीर्घकालिन प्रभाव भने व्यक्तिको क्षमता विकास र राज्यको स्वास्थ्य नीति र कार्यक्रममा देखिन्छ ।’ हेर्नुहोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका कार्यालयको तर्फबाट आठ महिनामा भएको विदेश भ्रमणको विवरण [pdf id=453435]

चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा, छैन लाभांश प्रस्ताव

काठमाडौं । चन्द्रागिरि हिल्सले आगामी पुस २६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले १४औं साधारण सभा पुस २६ गते बिहीबार दिउँसो साढे १२ बजे कम्पनीको कार्यालय थानकोट परिसरमा गर्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि आगामी पुस १३ गते बुक क्लोज हुँदै छ । तर, सभामा कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । अघिल्लो वर्ष पनि लाभांश नदिएको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने जानकारी गराएको छ ।

क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कारबाट सम्मानित

काठमाडौं । क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्सलाई भारत सरकार, ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्यूरोद्वारा प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३ बाट सम्मानित गरिएको छ । यस अवसरमा चौधरी ग्रुपले क्रम्प्टनलाई बधाईको साथ दुई कम्पनी बिचको सहकार्यमा सन्तुष्टि जनाएको छ । उक्त पुरस्कार डिसेम्बर १४, २०२३ मा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले विज्ञान भवन, नयाँ दिल्लीमा राष्ट्रिय ऊर्जा संरक्षण दिवसमा प्रदान गरेकी थिइन् । कम्पनीका अनुसार राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार एक प्रमुख वार्षिक कार्यक्रम हो जसले ऊर्जा संरक्षणमा असाधारण योगदानहरूलाई हाइलाइट गर्दछ । डिसेम्बर १४, १९९१ मा यसको स्थापनापछि, भारत सरकारका सम्मानित गणमान्य व्यक्तिहरूबाट यी पुरस्कारहरू अर्थव्यवस्थाको विभिन्न क्षेत्रहरूमा ऊर्जा संरक्षणमा उदाहरणीय प्रयासहरूलाई प्रस्तुत गर्दछ । ‘वर्षको सबैभन्दा ऊर्जा कुशल उपकरण’ श्रेणीमा फोकसले उपभोक्ताको आवश्यकता पूरा गर्ने मात्र नभई ऊर्जा संरक्षणमा पनि योगदान पुर्याउने उत्पादनहरू सिर्जना गर्न नवप्रवर्तनको महत्त्वलाई जोड दिइन्छ । नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले क्रम्प्टन ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ । चौधरी ग्रुपले नेपालमा क्रम्प्टनका फ्यान, हिटर, गिजर, इमर्सन रड, आइरन, मिक्स्चर ग्राइन्डर, इन्डक्सन र एयर कुलर बेच्दै आइराखेको छ ।

ज्योति विकास बैंकले पनि सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम बैंकले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने छ ।

हिमालयन बैंकले पनि लाभांश नदिने

काठमाडौं । हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम बैंकले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने छ ।