विकासन्युज

नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता

काठमाडौं । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता भएको छ । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । यस साझेदारी अन्तर्गत, बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय बिजनेश सोलुशन्सको सेवा लिने छन् । उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ । नबिल बैंक, प्रमुख एसएमई, एमएफ र एसबी प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, प्रमुख एसएमई, एमएफ र एसबी अमित श्रेष्ठले भने, ‘नबिल बैंक, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथाशिघ्र ऋण उपलब्ध गराउनुका साथै विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेकोछ। हामीलाई आशा छ कि यो साझेदारीले साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ।’ उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले भनिन्, ‘नबिल बैंकसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी हुनेछ।’ उनले थपीन्, ‘उपायले कर्जा सम्बन्धी सेवाहरूका साथै वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन सम्बन्धी व्यवसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएकोछ र यो साझेदारीले पनि थप मद्दत पुर्याउनेछ।’

नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार, लगानीबारे छलफल

काठमाडौं । नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ । नेपाल–श्रीलङ्का संयुक्त आयोगको आज यहाँ भएको बैठकमा व्यापार तथा लगानी अभिवृद्धि, दुई देशबीच  हवाई सम्पर्क विस्तार, संस्कृति, पर्यटन एवं शिक्षा क्षेत्रमा सहकार्य, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० र  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० प्रक्रियालाई सुदृढ गर्ने तथा क्षेत्रीय सहयोगका साथै बहुपक्षीय मञ्चमा सहकार्य गर्ने सम्बन्धमा विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री एमयुएम अली साब्रीले गरेका थिए । बैठकमा काठमाडौं–कोलम्बो हवाई सेवा प्रारम्भ भएकामा दुवै पक्षले सन्तुष्टि जनाउँदै  कोलम्बो र लुम्बिनीबीच पनि हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको थियो । दुवै देशका मन्त्रीले जलवायु परिवर्तनका कारण आफ्नो देशले भोग्नुपरेको असरबारे विचार आदानप्रदान गरेका थिए । उनीहरूले जलवायु न्याय, हानिनोक्सान कोषको प्रारम्भिक परिचालनका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग प्रवद्र्धनमा जोड दिएका थिए ।

आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा थापा र अग्रवाल नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा सिताराम थापा र संदिप अग्रवाल नियुक्त भएका छन् । पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले थापा र अग्रवाललाई रिक्त रहेको संस्थापक सेयरधनी समूह तर्फको सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह तर्फबाट प्रतिनिधित्व गरेको आईएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकले आफ्नो प्रतिनिधि फिर्ता बोलाएपछि रिक्त रहेको स्थानमा थापा र अग्रवाल नियुक्त भएका हुन् । यससँगै उनीहरुले बाँकी कार्यकाल सम्हाल्ने छन् ।

वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार ९६३ विदेशी पर्यटक भित्रिए

वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा एक हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म सो नाकाबाट एक हजार नौ सय ६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने एक हजार नौ सय ६२ विदेशी पर्यटक बाहिरिएका छन् । अघिल्लो वर्ष सोही अवधिमा वीरगञ्ज नाकाबाट छ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएको पाँच सय पाँच विदेशी पर्यटक बाहिरिएका थिए । नेपालको हावापानी र घुमफिर गर्ने मौसमको दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुस महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या अन्य महिनाको तुलनामा बढी रहेको पर्यटन प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक अनिलकुमार महतोले जानकारी दिए । नेपालमा पर्यटकीय आकर्षणका क्षेत्र बढ्दै गएको, हावापानी उपयुक्त भएको र कोरोना सङ्क्रमण न्यून भइसकेकोलगायत कारणले वीरगञ्ज नाकाबाट पर्यटक भित्रिने क्रम बढेको उनको भनाइ थियो । भारतको विभिन्न हुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने पर्यटकमा बढी अमेरिका, फ्रान्स, थाइल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक रहेको प्रहरी नायब निरीक्षक महतोले बताए । वीरगञ्ज नाकाबाट भित्रिने विदेशी पर्यटकलाई होटल, यातायात तथा अन्य क्षेत्रमा असुविधा वा ठगी हुन नदिन सचेत गराउनाका साथै दुर्घटनामा परी घाइते भएका विदेशी पर्यटकलाई उपचार गराई परिवारको जिम्मा लगाउने कार्यसमेत पर्यटक प्रहरी कार्यालयले गर्दै आएको उनको भनाइ थियो । रासस

लगातार ७ दिन बढेको बजारमा ३२ अंकको करेक्सन, कारोबार पनि घट्यो

काठमाडौं । पछिल्लो समय सात दिनसम्म निरन्तर बढेको बजारमा बिहीबार करेक्सन देखिएको छ । सात दिनसम्म १९३.२७ अंकले बढेको बजारमा बिहीबार ३२.७७ अंकको करेक्सन देखिएको हो । कारोबार खुल्नासाथ ओरालोको बाटो तय गरेको परिसूचक कारोबार बन्द हुँदा ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा झरेकोे छ । जुन अघिल्लो दिनको तुलनामा १.५३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ । बुधबार ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका २४४ कम्पनीमध्ये ५० वटाको सेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ । घटेको बजारमा पनि १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

‘चिनियाँ जहाजको कारण १ अर्ब ९० करोड घाटा भयो, अब उसिनेर सुप खाने ?’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चिनियाँ जहाज नबेचेर उसिनेर सुप खाने हो र भनेर प्रश्न गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले जहाज बेच्ने विषयमा सांसदहरूले गरेको विरोधको प्रतिवाद गर्दै यस्तो प्रश्न गरेका हुन् । ‘संसदमा चिनियाँ जहाज सेतो हात्ती भयो भन्ने पनि हामी नै हौं । तर, बेच्न खोज्दा किन बेच्न खोजियो भन्ने ?’, वार्षिक २० करोडभन्दा बढी घाटा भएको छ,’ मन्त्री किराँतीले भने । यो कसको स्वार्थमा किनियो भनेर खोज्दै जाँदा म किन जन्मिएँ भन्नेमा पुगिने उनको भनाइ छ । उनले जहाजको लागि पाइलट नपाइने, इन्स्योरेन्स महँगो पर्ने र जहाजका पार्टस् खरिद गर्न पनि चीन जानु पर्ने बाध्यता रहेको बताए । उनका अनुसार २०७५/७६ देखि अहिलेसम्म १ अर्ब ९० करोड घाटा भएको छ । ‘समितिले भनोस् कि चिनियाँ जहाज के गरौं ? घाममा सेकेर राखौं कि सुप बनाएर खाऔं ?’ उनले प्रश्न गरे ।  

सरकारी विद्यालयका शिक्षकलाई घाँस बेचेर तलब

कञ्चनपुर । एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर त्यो यथार्थ डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयका निजी स्तरका शिक्षकले भोग्दै आएका छन् । विसं २०३१ मा स्थापना भएको विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेर शिक्षा, स्वास्थ्य, कर्मचारी र राजनीतिक क्षेत्रमा दक्षजनशक्ति दिएको उक्त विद्यालयको आन्तरिक स्रोत नहुँदा समस्या छ । निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब खुवाउनकै लागि गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर समेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताए । ‘स्थानीय सामुदायिक वनले विगतमा सहयोग गर्दा विद्यालय सञ्चालनमा अलि सहयोग पुगेको थियो,’ प्रधानाध्यापक भट्टराईले भने, ‘केही वर्षयता वन पदाधीकारी मुद्दामा मुछिएपछि त्यो पनि बन्द भयो ।’ प्राविदेखि दश जोड दुईसम्म २७२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा २० जना शिक्षक कर्मचारी कार्यरत छन् । ‘मैदानको घाँस बिक्रीबाट १५/२० हजार र अर्को स्कूलको एउटा घर प्रहरी चौकीलाई भाडामा दिँदा मासिक चार हजार आउँछ,’ उनले भने ‘त्यो बाहेक विद्यार्थीको प्रमाणपत्र लिँदाको शुल्क र स्थानीयले दिएको चन्दा सहयोगले पनि जेनतेन निजी शिक्षकलाई तलब खुवाउनु परेको छ ।’ विद्यालयमा कम्प्युटर सहायक, पुस्तकालय सहायक, परिचर र एक जना दश जोड दुई तहमा अध्यापनरत शिक्षक गरी चार जना निजी स्रोतका शिक्षक रहेका छन् । स्थानीय तहको निर्वाचनका बेला परशुराम नगरपालिकाले निजी स्रोतका शिक्षकलाई ३५ हजार रुपैयाँ मासिक दिने भनेर आश्वासन दिएपनि त्यो कार्यान्वयन नभएको प्रधानाध्यापक भट्टराईको गुनासो छ । ‘नगरपालिकामै बोलाएर आश्वासन दिएपनि रकम प्राप्त भएको छैन्,’ उनले भने, ‘निजी स्रोतका शिक्षकलाई विदाई गरौँ यता पढाई प्रभावित हुने चिन्ता छ ।’ उनले निजी स्रोतका शिक्षक कर्मचारीमा मासिक ८० हजार खर्च हुने गरेको जानकारी दिए । विद्यालयको मुद्दती खातामा रहेको रकमबाट मासिक ६० हजार व्याज आउने भएकाले पनि केही राहत भएको उनको भनाइ थियो । विद्यालयमा सात जना शिक्षक स्थायी, चार जना निजी स्रोत र बाँकी नौ जना राहत र करारमा कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ । रासस

मिलनचोक–रातोढुुङ्गा प्रसारण लाइनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीमा ३३–११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन आयोजनाको आजदेखि परीक्षण सुरु भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइनबाट रातोढुुङ्गामा निर्माण भएको ३३–११ केभी क्षमताको सवस्टेशन विद्युत् आपूर्ति गराउन परीक्षण थालिएको हो । नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाले करेन्ट प्रवाह गरिने भएकाले मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनका खम्बा, तार, स्टेलगायत संरचना नछुन र नचलाउन सूचनामार्फत अनुरोध गरेको छ । आयोजनाका प्राविधिक रोहन शर्माले प्रसारण लाइनको परीक्षण र सवस्टेशन चार्ज गर्न लागिएको बताए । प्रसारण लाइनको खम्बा गाड्ने, तार तान्ने, सवस्टेशनमा संरचना निर्माण तथा उपकरण जडानको काम सकिएको छ । रातोढुङ्गामा सवस्टेशनको आवास भवन निर्माण अन्तिम चरणमा छ । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले एक हप्ताअघिदेखि पहिलो चरणको परीक्षणको काम थालेको थियो । परीक्षणपछि कुुनै समस्या आएन भने डिसेम्बर महिनाको अन्तिमसम्म प्रसारण लाइन र सवस्टेशन सञ्चालन गर्ने तयारी रहेको निर्माण कम्पनी ए टु जेड इञ्जिनियरीङका प्रतिनिधि पद्यसागर लुइँटेलले बताए । नेपाल विद्युत् प्राधिकरणमार्फत सो कम्पनीले सन् २०१६ मा ठेक्का लिएको सवस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । खम्बा गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सञ्चालन भएको थियो । चार वर्षअघि नै सम्पन्न हुनुपर्ने सवस्टेशन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ ।  रातोढुुङ्गा सवस्टेशन र प्रसारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए । ‘हाल मिलनचोक सबस्टेशनबाट चार फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ’, उनले भने, ‘२० किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किमीसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या अब हट्ने छ ।’ रासस