काठमाडौं टेक्निकल स्कुलका सीईओ घिमिरे महासंघ शिक्षा समितिको उपसभापतिमा मनोनीत
काठमाडौं । काठमाडौं टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नेपाल उद्योग वणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनित भएका छन् । घिमिरेसँगै समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे पनि उक्त समितिमा मनोनित भएका छन् । समितिको सदस्यहरुमा नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)का महासचिव तथा सञ्चार उद्यमी नारायण प्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नव प्रवर्तन विज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल रहेका छन् । त्यसैगरी, समितिको सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्रा डा डिल्लीराज शर्मा, हिसानका सभापति रमेश शिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनीत सल्लाहकार, उपसभापति तथा सदस्यहरूलाई बुधबार महासंघको सचिवालयमा आयोजित कार्यक्रमबीच मनोनयनपत्र प्रदान गरेका थिए ।
रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो । प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको हो । विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो यसअघि स्याङ्जाको वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको प्रहरी नायब महानिरीक्षक कडायतले बताए । रासस
इन्फिनिटी लघुवित्तले पनि लाभांश नदिने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो
फिक्कल । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए । उनका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत बढेको छ । यद्यपि गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको थियो । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो । यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको प्रयोगसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापनले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताए । ‘हामीले किसानलाई विभिन्न मेसेरेनरी सामग्री तथा यन्त्र उपकरण अनुदानमा दिएका छौँ । यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्याएको छ’, उनले भने, ‘उहाँहरूले पनि उन्नत बीउबिजनको प्रयोग गर्नुभयो । मल र सिँचाइको समेत व्यवस्थापन गर्नुभयो । यसर्थ क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।’ इलाममा रन्जित, राधा–४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका एवं माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले जानकारी दिए । यसैगरी कोदोमा पनि उत्पादकत्व बढेको छ । गत वर्ष प्रतिहेक्टर एक दशमलव २० मेट्रिक टन कोदो उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर एक दशमलव २१ मेट्रिक टन कोदो उत्पादन भएको छ । यस वर्ष एक हजार पाँच सय ८० हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष एक हजार पाँच सय ९६ हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १६ मेट्रिक टनमात्र कोदो उत्पादन भएको थियो । रासस
नागार्जुन नगरवासीलाई निःशुल्क रगत
काठमाडौं । नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ । यस्तो शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ । यसका लागि नगरपालिका र वडाले रक्तदान शिविर आयोजना गर्न प्रेरित र सहजीकरण पनि गर्नेछन् । सम्झौतामा नगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी र रक्तसेवाको तर्फबाट निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गरेका छन् । भक्तपुरका सबै नगरपालिका र काठमाडौंमा महानगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका लगायत अन्य पालिकासँग पनि जनतालाई सुलभ रगतका लागि सम्झौता सम्पन्न भइसकेको छ । बाँकी सबै स्थानीय तहमा सहकार्य गर्न प्रयत्न भइरहेको नेपाल रेडक्रस सोसाइटीको समन्वय निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । रासस
एचआइडीसीएलले १ अर्ब १९ करोड करोड रुपैयाँ सेयरधनीहरूलाई बाँड्ने
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको ५.२६ प्रतिशत अर्थात् १ अर्ब १९ करोड ८७ लाख २६ हजार २८३ रुपैयाँ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २९ गते १२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साथै, लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १८ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
नेपाल एयरलाइन्सकाे ५ जहाज लिलामीमा
काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) ले ५ वटा जहाज बिक्रीमा राखेको छ। बिहीबार सूचना जारी गर्दै नेवानिले ५ जहाज लिलामीमा राखेको हो । नेवानिले २ वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ । यी चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने छ । साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ । त्यसैले निगमले ती जहाज अब नउडाउने निर्णय लिएको हो ।
गरिमा विकास बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।