माछापुच्छ्रे बैंकको सीईओमा पुनः कोइराला नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ कोइरालालाई थप अर्को कार्यकालका लागि नियुक्त गरेको हो । यससँगै उनले थप ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । साढे २ दशकभन्दा लामो अनुभव बटुलेका सीईओ कोइराला आफ्नो करियरको छोटो समयमा नै सफल बैंकरको रुपमा चिनिएका छन् । आफ्नो पहिलो कार्यकालमा कोइरालाले माछापुच्छ्रे बैंकको वित्तीय सूचकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मारेका बैंकले जानकारी गराएको छ । साथै, उनले बैंकलाई संस्थागत सुशासनमा अब्बल सावित गराएका बैंकको दावी छ ।
बीमितले देशभरका अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था आवश्यक छ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा गरेका प्रत्येक नेपालीले देशभरिका तोकिएका जुनसुकै अस्पतालबाट स्वास्थ्य सेवा लिन पाउने गरी व्यवस्था गर्न सरोकारवालालाई सुझाव दिएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन कार्ययोजना हस्तान्तरण कार्यक्रममा मन्त्री बस्नेले बिमितले जुन ठाउँमा स्वास्थ्य बीमा गरे पनि आवश्यक परेका बेला जुनसुकै अस्पतालमा गएर सेवा लिन पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताए । स्वास्थ्य बीमाको अहिलेको व्यवस्थाअनुसार बीमितले बीमा गर्दा उल्लेख गरेको नजिकको पहिलो स्वास्थ्य संस्थाले थप उपचारका लागि रिफर गरेपछि मात्र अर्को अस्पतालमा उपचार गराउन पाइने व्यवस्था छ । ‘कर्मचारी निष्पक्ष नहुँदा बीमाप्रतिको आशङ्का बढेको छ’, मन्त्री बस्नेतले भने, ‘यद्यपि अहिले बीमा बोर्डले सुधारका योजना सुरु गरेको छ । जुन ठाँउबाट बीमा गरे पनि बीमितले देशभरका कुनै पनि अस्पतालबाट सेवा लिनसक्ने व्यवस्था आवश्यक छ ।’ कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य वित्त रणनीति कार्यान्वयनमा सबै एकजुट हुन आह्वान गरे । ‘रणनीति बनाउनु र पारित गर्नुभन्दा पनि महत्वपूर्ण विषय त्यसको कार्यान्वयन हो । नीति कार्यान्वयन जति चाँडो भयो, उति नै मुलुकले फाइदा लिन सक्छ’, उनले भने । कार्यक्रममा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्री बस्नेतलाई आधारभूत स्वास्थ्य सेवा अनुगमन दिग्दर्शन, ९२०८००, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ९२०८०/२०९०० तथा स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र ९२०२४–२०३०० हस्तान्तरण गरे । उनले ती तीनवटा दस्तावेज हस्तान्तरण गर्दै नीति कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य वित्त रणनीति ९२०८०/९०० गत जेठमा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएको थियो । मन्त्रालयका उपसचिव बाबुराम घिमिरे, डा समीर अधिकारी र डा पुमावति थापाको संयोजनमा द्रुत परिणाम पद्धतिमार्फत उक्त रणनीति कार्यान्वयन योजनाका लागि दस्तावेज निर्माण गरिएको हो । रासस
सर्वोच्च अदालतका नवनियुक्ति न्यायाधीशद्वारा शपथ ग्रहण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्ति न्यायाधीशहरु सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले बुधबार उनीहरुलाई न्यायाधीश पदमा नियुक्त गरेका थिए । संसदीय सुनुवाइ समितिको बैठकले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन गरेको थियो । उनीहरुको गत मङिसर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो । न्याय परिषद्को गत मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि उनीहरुको नाम सिफारिस गरेको थियो ।
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।
कार्यान्वयन हुने योजना समेटेर बन्दैछ १६ औँ योजना
काठमाडौं । मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ । आयोजना कार्यान्वयनका क्रममा के कस्ता समस्या देखिए, समाधानका लागि गरिएका प्रयास प्रभावकारी भए वा भएनन् यी र यस्तै प्रश्नको उत्तर खोज्दै जनअपेक्षा सम्बोधन गर्ने गरी नयाँ योजनाको तयारी भइरहेको आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले जानकारी दिए । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठ १६ औँ योजना तर्जुमा सम्बन्धमा हालसम्म सम्पादन भएका कार्य, योजनाको मस्यौदामाथि प्राप्त भएका मुख्य सुझाव तथा वस्तुनिष्ठ योजना बनाउनका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा जानकारी दिए । विकास निर्माणको काम प्रभावकारी हुन नसक्नुको पछाडि अन्तर सरकारी निकायबीचको समन्वयको अभाव देखिएको, वन क्षेत्रको जग्गा प्रयोग तथा भूमि प्राप्ति र जनशक्तिको उपलब्धतालगायतका अनेकन कारण, त्यसको समाधान खोज्ने लक्ष्यका साथ नयाँ योजनाको तयारी भइरहेको उनको भनाइ छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत नयाँपनको खोजी गर्न लागिएको र त्यसको सुरुआत आगामी आर्थिक वर्षदेखि नै कार्यान्वयनमा जाने उपाध्यक्ष डा श्रेष्ठको कथन छ । ‘प्रधानमन्त्रीले पनि केही नयाँ गरौँ भन्ने सोच राखेका छन् । सोहीअनुसार हामीले आवश्यक प्रबन्ध गरिरहेका छौँ । कानुनी सुधार गर्नुपर्ने भए त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ’, उनले भने । आयोगले सोह्रौँ योजनाको अन्त्यसम्म मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) रु ८० खर्ब बराबरको बनाउने लक्ष्य राखेको छ । त्यसका लागि सरकार, निजी क्षेत्रका तर्फबाट के कस्तो लगानी र तयारी आवश्यक रहेको भन्ने बारेमा छलफल अन्तिम चरणमा रहेको जनाएको छ । निजी क्षेत्रले सन् २०३० सम्म जिडिपी कूल रु एक सय खर्ब बराबरको हुने प्रक्षेपण गरेको छ । सरकार र निजी क्षेत्रले सार्वजनिक गरेको विवरण एक आपसमा मिल्ने खालको नै रहेको जानकारी दिँदै उनले पूर्वाधार क्षेत्रमा गरिएको लगानीले दिगोपन दिने बताउए । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि सञ्चालनमा आउन नसकेको भनेर तत्काल निराश हुनुपर्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले त्यसबाट क्रमशः लाभ हासिल हुने स्पष्ट पारे । सन् २०१९ मा झण्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेको तथ्य पेश गर्दै उनले सन् २०२४ मा उक्त नयाँ रेकर्ड बन्ने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउँदा पर्यटकको आवागमन बढेको विवरण पेश गर्दै उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा त्यसले थप पर्यटन भित्र्याउन सहयोग पु¥याउने बताए । सन् २०२६ मा नेपाल अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदा त्यसले लगानी भित्र्याउन थप सहयोग पुग्ने जानकारी दिँदै उपाध्यक्ष श्रेष्ठले नकारात्मक प्रचार गरेर तथ्यलाई ओझेलमा पार्न नहुने स्पष्ट पारे । ‘त्यसको नकारात्मक पक्षका बारेमा मात्रै चर्चा भएको छ । सकारात्मक पक्ष धेरै छ । यसका बारेमा आयोगले अध्ययन पनि गरेको छ । आवश्यक तयारी पनि गरेको छ’, उपाध्यक्ष श्रेष्ठले भने । प्रदेश सरकारलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै उपाध्यक्ष श्रेष्ठले सङ्घीय सरकारका तर्फबाट बनाइदिनुपर्ने ऐन, कानुन समयमा पूरा भए त्यसबाट प्रदेश अपेक्षित रुपमा सबल बन्ने उनको भनाइ छ । प्रदेश सरकारलाई कूल बजेटको ४० प्रतिशत उपलब्ध गराउनुपर्नेमा हालसम्म २९ प्रतिशत मात्रै उपलब्ध भएको, आवश्यक कानुन नभएका कारण प्रभावकारी कार्यसम्पादन गर्न नसकेको तथ्यलाई आत्मसात् गरेर जानुपर्ने उनको भनाइ छ । मन्त्रिपरिषद्ले आयोगको सिफारिसमा आयोजना वर्गीकरणको आधार तथा मापदण्ड–२०८० स्वीकृत गरिसकेको छ । यसबाट सङ्घ, प्रदेश तथा स्थानीय तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरणको आधार तथा मापदण्ड निर्धारण भएको छ । त्यसबाट आयोजनामा हुन सक्ने दोहोरोपनको समस्या अन्त्य हुने विश्वास लिइएको छ । सामाजिक सुरक्षाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहबाट विभिन्न खालका सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाइएकाले त्यसमा एकरुपता ल्याउने प्रयास गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । आयोगले बजेट तर्जुमादेखि संसद्मा बजेट भाषण गर्नेसम्मका कार्य तालिकालाई प्रणालीगत सुधार गर्ने कार्यविधि तयार भई मन्त्रिपरिषद्मा पुगेको जनाएको छ । आयोगका सदस्य डा रामकुमार फुयाँलका अनुसार बजेट निर्माण प्रक्रियालाई परिमार्जन गर्ने उद्देश्यका साथ आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोको एउटा समूहले उक्त कार्यविधि तयार पारेको हो । प्रस्तावअनुसार अब राष्ट्रिय स्रोत अनुमान समितिको बैठक माघ १५ गते बस्छ र बजेट सिलिङ सोही महिना दिइनेछ । आयोगले आगामी आवका लागि बजेट तर्जुमा गर्न सबै निकायलाई पत्र पठाइसकेको छ । सोहौँ योजना आगामी माघमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस
चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ५१९.८२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५७१.८० रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ५१९.८२ रुपैयाँलाई आधार मानेर हुने छ ।
कम्पनीको वित्तीय विवरणमा एकरुपता ल्याउन सेबोन र लेखामान बोर्डले गरे समझदारी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र लेखामान बोर्डबीच एमओयू भएको छ । सूचीकृत कम्पनीको विवरणमा एकरुपता कायम गर्न दुई संस्थाबीच गत पुस ४ गते एमओयू भएको हो । उक्त एमओयूमा सेबोनका तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाशजंग थापा, एफसिएले हस्ताक्षर गरेका हुन् । उक्त एमओयूको मुख्य उद्देश्य नेपालमा नेपाल सस्टेनयाबिलिटी रिपोर्टिङ्ग स्ट्याण्डार्ड (एनएसआरएस) को विकास तथा कार्यान्वयन गर्नु हो । नेपालको सन्दर्भमा सस्टेनयाबिलिटी रिपोर्टिङ्ग नवीन अवधारणा हो, जसले व्यवसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुने बताइएको छ । त्यस्तै, यसले वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्नेछ । एनएसआरएस विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले सो मान कार्यान्वयन गर्ने आवश्यक भूमिका निर्वाह गर्नेछ । लेखामान बोर्डले सो मानहरुसँग सम्बन्धित प्राविधिक विषयहरूमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्नेछ ।
सेयर बजारमा छिरे ठूला लगानीकर्ता
काठमाडौं । पछिल्लो केही सातायता सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । विगत केही वर्षदेखि घटेर लगानीकर्ताको मनोबल घटेको सेयर बजारमा पछिल्लो केही सातायता भने सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढेको हो । गत मंसिर २४ गते सेयर बजार ६ प्रतिशत अर्थात् १११.२० अंक बढ्यो । सो दिन कारोबार भने ४८ करोडरुपैयाँको मात्रै भयो । त्यसको भोलिपल्ट अर्थात् मंसिर २५ गते ०.७८ प्रतिशत अर्थात् १५.४० अंकले बजार घट्यो । तर, कारोबार ४ अर्ब ८४ करोड रुपैयाँबराबरको भयो । त्यसपछिका दिनहरूमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क हेर्ने हो भने प्रत्येक दिन बजार बढेको छ, कारोबार रकम पनि दैनिक बढ्दो छ । नेप्सेको तथ्यांक हेर्दा कारोबार भएको पछिल्लो ८ दिनको अवधिमा ४५ अर्ब बढीको कारोबार भएको देखिन्छ । नेप्से परिसूचक डेढ सय बिन्दुले वृद्धि हुँदा लगानीकर्ताहरूको सम्पत्ति साढे ४ खर्ब रुपैयाँ बढेको छ । विगतमा १ अर्बको कारोबार हुन धौंधौं पर्ने नेप्सेमा पछिल्ला दिनहरूमा भने दैनिक ३ अर्ब बढीको कारोबार भएको देखिन्छ । उक्त कारोबार बढेर बुधबार ७ अर्ब पुगेको छ । बिहीबार भने नेप्से करेक्सन भएको जानकारहरू बताउँछन् । बिहीबार ६अर्ब २७ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएपनि नेप्से परिसूचक भने ३२.७७ अंकले घट्यो । विगतका दिनहरूमा भइरहेको कारोबारको तुलना गर्दा पुँजी बजारमा ठूला लगानीकर्ताहरूको प्रवेशले कारोबारको आकार बढेको सेयर बजार जानकारहरू बताउँछन् । बजारले बुलको लय समातेपछि ठूला भनिएका लगानीकर्ताहरू पनि सलवलाउन थालेको उनीहरूको भनाइ छ । ब्रोकर व्यवसायी अतितलाल श्रेष्ठ टर्नओभरलाई हेर्ने हो भने सेयर बजारमा ठूला लगानीकर्ताहरूको प्रवेश भएको संकेत देखिएको बताउँछन् । क्यास होल्ड र ऋण लिएर बसेका ठूला लगानीकर्ताहरूको बजारमा प्रवेश भइरहेको उनको भनाइ छ । ‘पुँजी बजारमा माहोल राम्रो छ, बजार अझै बढ्ने देखिन्छ, बजारले सबै सप्लाइलाई खाइदिएको छ, टर्नओभरले बजारमा धेरै उत्साह छाएको छ, ६ अर्बको दैनिक टर्न ओभर हुँदा राम्रो नै हुन्छ, यो टर्नओभर हेर्दा बजारमा ठूला लगानीकर्ताहरूको प्रवेश भएको संकेत गर्छ,’ उनले भने, ‘क्यास होल्ड गरेका र ऋण लिएर लगानी गर्ने लगानीकर्ताहरू बजारमा प्रवेश गर्नु भएको हो ।’ ‘ठूला लगानीकर्ताहरू विस्तारै बजारमा प्रवेश गर्दै हुनुहुन्छ, बजारले लय समातेको हुँदा ठूला लगानीकर्ता उत्साहित भएर आउँछन्,’ उनले भने, ‘बैंकको ब्याजदर निरन्तर घटिरहेकाले अब बजार बढ्नुको विकल्प छैन ।’ उनका अनुसार अब लगानीकर्ता बाहिरिने भन्दा पनि आउनु पर्ने हो । ब्रोकर व्यवसायी भरत रानाभाट बजार चलायमान हुँदै गर्दा पुँजी बजारभन्दा बाहिरी क्षेत्र गएका लगानीकर्ताहरू फर्किन थालेको बताउँछन् । उनका अनुसार बजारमा ठूला लगानीकर्ता प्रवेश नगरी यति धेरै कारोबार हुने थिएन । साथै, बजार बढ्दै जाँदा कारोबार बढ्दै जाने र लगानीकर्ता पनि बढ्दै जाने उनको भनाइ छ । ‘बजारमा लगानीकर्ता प्रवेश नगरी यति धेरै कारोबार हुने थिएन, बजार बढ्दै जाने, कारोबार बढ्दै जाने र लगानीकर्ता पनि बढ्दै जान्छन्, भोलुम हेर्दा बजारमा लगानीकर्ता बढेको देखिन्छन्,’ उनले भने, ‘ठूला लगानीकर्ताहरू बजार छोडेर कतै गएका थिएनन्, अब सलबलाउन थालेका हुन्, चलायमान हुँदै गर्दा अन्य क्षेत्रतिर गएका लगानीकर्ता पनि फर्किन थालेका हुन् ।’ उनका अनुसार कतिपय व्यक्तिहरू आफैंमा ठूला लगानीकर्ता हुन् । साथै, म्युचुअल फण्ड, बीमा कम्पनी, इन्भेष्टमेन्ट कम्पनी ठूला लगानीकर्ता हुन् । ब्याजदर घटेसँगै अर्थतन्त्र पनि चलायमान हुने र सुधार हुने उनको अपेक्षा छ । ‘कोही कोही व्यक्ति त संस्थाभन्दा ठूला लगानीकर्ता छन्, बैंकको ब्याजदर घटिसकेको छ, तरलता प्रयाप्त छ, रेमिट्यान्स फ्लो बढिरहेको छ,’ उनले भने । ब्रोकर व्यवसायी अनन्त कुमार पौडेल बजारमा लगानीकर्ताको मनोबल बढेकाले बजार सकारात्मक बाटोमा गइरहेको बताउँछन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा केही लचिलोपना अपनाएदेखि बजार निरन्तर बढिरहेको उनको भनाइ छ । ‘बजारमा तरलता प्रशस्त छ, ब्याजदर घट्दोक्रममा छ । र, तरलता सहज भएपछि अहिले तल्लो बिन्दुबाट बजार माथि उठेको हो, मौद्रिक नीतिको त्रैमासिक समीक्षाले पनि बजारलाई सकारात्मक बाटोमा जान सपोर्ट गर्याे, सेन्टिमेन्ट पोजेटिभ बनायो,’ उनले भने, ‘लगानीकर्ताहरू उत्साहित भएर कारोबार गरिरहेका छन्, ठूला लगानीकर्ता नआएर यति ठूलो भोलुम हुन सक्दैन ।’ तर, कुनै कुनै कम्पनीबाट संस्थापक पनि एक्जिट भएर कारोबार बढेको हुन सक्ने उनको भनाइ छ । ठूला लगानीकर्ताहरू कन्भर्ट भएको सेयर बिक्री गरेर बाहिरिन खोजेका पनि हुन सक्छन् । उनका अनुसार अहिले बाहिरिने भन्दा पनि प्रवेश गर्नेको संख्या बढेको देखिन्छ । ‘ठूला लगानीकर्ताहरू कन्भर्ट भएको सेयर बिक्री गरेर बाहिरिन खोजेका पनि हुन सक्छन्, जुन कम्पनीको लकिङ अवधि सकिएको छ, ती कम्पनीको सेयर बिक्री गरिरहेका छन्, जस्तो एनआरएन, शिवम् सिमेन्ट, माउन्टेन हाइड्रोको लकिङ अवधि सकियो, कारोबारको भोलुम हेर्दा त्यहाँ भएका प्रमोटरले पनि सेयर बिक्री गरेको देखिन्छ,’ उनले भने, ‘नेप्से सूचक ३२ सय अंकबाट १८ सय बिन्दुमा झर्दा लगानीकर्ताको मनोबल गिरेको थियो, टिकिरहेका लगानीकर्ता फेरी बजार बढ्ने भयो भनेर उनीहरू जुर्मुराएका हुन् ।’ बजारमा पहिला फसेका लगानीकर्ताहरू बढ्न थालेपछि पुनः प्रवेश गरेका हुन सक्ने उनको भनाइ छ ।