विकासन्युज

सुर्यज्योती लाइफ इन्स्योरेन्सको भोलिको लागि एक्चुअरी कार्यक्रम सम्पन्न

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाल बीमा प्राधिकरण तथा एक्चुरियल सोसाइटी अफ नेपालको उपस्थितिमा एक्चुअरी फर टुमरो (भोलिको लागि एक्चुअरी) कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पुल्चोक स्थित एलिस रेस्टुरेन्टमा बीमा कम्पनीहरुको एक्चुरियल कार्य सम्बन्धी एक दिनको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एक्चुरी हसन वोद्रिनो स्कटद्वारा एक्चुरियल सोसाइटी अफ नेपालका सदस्यहरुलाई बीमाङ्की तथा अन्य बीमा सम्बन्धी प्रावधिक कार्यहरु अन्तर्गतका प्रस्तुति तथा छलफल गरिएको थियो । नेपालको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएसन, बीमालेख तयार गर्न जस्ता अन्य प्राविधिक कार्यहरु गर्नको लागि कम्पनी भित्रनै एक्चुरी सम्बन्धी अध्ययन गरेको कर्मचारीहरु भएमा प्रभावकारी हुने र भोलिको दिनमा रिक्स वेस क्यापिटल आइएफआरइस १७ जस्ता अन्य कार्यक्रमहरु कम्पनीमा संचालन गर्नको लागि एक्चुिरयल सम्बन्धी कर्मचारीहरु कम्पनी भित्रै हुनु आवश्यक रहेको कुरामा जोड दिए । सो कार्यक्रममा हसन वोद्रिनो स्कटद्वारा आफ्नो छोटो प्रस्तुती राखेका थिए जसमा अन्तराट्रिय बीमा कम्पनीहरुमा एक्चुरियल सम्बन्धी गरिने कार्यहरु सम्बन्धी ज्ञान दिनुको साथै अन्य मुलुकहरुमा रिक्स वेस क्यापिटल आइएफआरइस १७ जस्ता कार्यक्रमहरु कार्यन्वयन गर्दा देखिएको चुनौतिहरु तथा अनुभवको बारेमा जानकारी दिए । सो अवसरमा कम्पनीका कार्यकारी प्रमुखद्वारा नेपालमानै एक्चुरीहरुको विकास भएमा मात्रै बीमा क्षेत्रको विकाश हुने र सो विकाशको लागि कम्पनीबाट सक्दो सहयोगछ गरिने भनि आफ्नो भनाई राखे । बीमा प्राधिकरणका निर्देशक सुसिल सुवेदीद्वारा नेपालमा एक्चुरीहरुको अभाव रहेको, नेपालमानै एक्चुरी सम्बन्धी पढाइ तथा अभ्यासमा अझ मिहेनत गरिएमा नेपालमानै एक्चुरीहरुको उत्पादन तथा विकाश गर्न सकिने र नेपलमानै यस पेशाको आकर्षण बढ्दै जानेमा आफु विश्वस्त रहेको भनि आफ्ने भनाई राखे ।  

पोल्ट्री व्यवसायी भन्दछन् : व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ

चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई संगठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो। आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान संगठित गरेर उनले देशका ७४ जिल्लामा बजारीकरणका लागि पुगे । यद्यपि, अहिले पनि अण्डाको लागत मूल्य पाउन अझै सकेको छैन। कोभिडको महामारीपछि निरन्तर नोक्सानमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता व्यवसायीमा छ । किसान पोखरेलको नेतृत्वमा बनेको नेपाल लेयर्स कुखुरापालक संघले बजारीकरण गर्दै आएको छ। फार्मको अण्डालाई सोझै किसानको भान्सामा पुर्याउने गरी काम गरिरहेको छ । किसान पोखरेलको भनाइमा प्रतिक्रेट (३० वटा अण्डाको) लागत मूल्य रु चार सय २० हाराहारी पर्दछ। अहिले पनि प्रतिक्रेट तीन सय ७० मा बिक्री गर्नुपर्ने बाध्यता छ। संघ गठन भएपछि केही महिना लागत मूल्यसम्म पुगेको भए पनि पुनः घटेको हो । यद्यपि पहिलेको झैँ निकै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता अहिले नरहेको उनले बताए। चार वर्षअघि दैनिक ६० हजार कार्टुन (एक कार्टुनमा सात क्रेट) सम्म अण्डा उत्पादन हुने गरेकामा यो घटेर २४ हजार कार्टुन हाराहारीमा झरेको छ। एक हजार चार सय हाराहारी फार्मबाट घटेर तीन सय हाराहारीमा झरेको जनाइएको छ। ठूला फार्म सञ्चालनमा आएकाले धेरै अण्डा देखिए पनि फार्मको सङ्ख्या निकै घटेको छ। किसान र व्यवसायीको अवस्था निकै खस्किएर व्यवसाय धान्ने संघर्षमा रहेका छन् । आत्मनिर्भर यस व्यवसायलाई सरकारले सम्बोधन गर्न नसकेमा समाप्त हुने अवस्थामा पुगेको उनको भनाइ छ। उनले भने, ‘अझै पनि सरकारले सम्बोधन गर्न सक्यो भने व्यवसाय जोगिन सक्छ ।’ संघकै व्यवसायीहरुले नेपाल एग ट्रेडिङ सञ्चालन गरेर देशभरका अण्डा संकलन गरी बजारीकरणसमेत गर्दै आएका छन् । यसले अण्डाको बजारीकरणमा सहयोग पुगेको उनको भनाइ थियो । अभियानमा लागेका पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पोल्ट्रीजन्य उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्दा नियमित नोक्सान व्यहोर्नु परेको बताए । धेरै किसान विस्थापित भइसकेको उनको भनाइ छ । उनको भनाइमा विगतको तुलनामा ४० प्रतिशतभन्दा बढी लेयर्स कुखुरा घटेका छन् । ब्वायलर प्यारेन्ट ४५ प्रतिशत, लेयर्स प्यारेन्ट ४३ प्रतिशत र अण्डाको उत्पादन ६५ प्रतिशतभन्दा बढीले घटेको छ । किसानसँग कुखुरा पाल्न आर्थिक अभाव भएको उनको भनाइ थियो । सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन्। उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ । बैंकको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष एवं उद्योग संघ चितवनका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले भने, ‘धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैंकलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन् ।’ पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले बैंकको ऋणले मात्रै व्यवसाय टिकेको जनाउँदै समयमा सुधार हुन नसके कूल ग्रार्हस्थ्य उत्पादनमा चार प्रतिशतभन्दा बढी योगदान दिएको यो व्यवसाय समाप्त भएर जाने बताए । राज्यले व्यवसायीका समस्या बुझ्न नसक्दा पोल्ट्री व्यवसाय समस्यामा परेको उनले बताए । उनले भने, ‘सरकार फेरिएपिच्छे मन्त्री र प्रधानमन्त्रीसम्म कुरा पुर्याएका छौँ, हाम्रा कुरा कसैले सुनेन ।’ नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले नेपालको पोल्ट्री क्षेत्रमा रु दुई खर्बभन्दा बढी लगानी रहेको बताए। समयमै राज्यले सम्बोधन गर्न नसकेमा यहाँको पोल्ट्री व्यवसाय पूरै समाप्त हुने उनको भनाइ थियो । उनले थपे, ‘आत्मनिर्भर रहेको यो व्यवसाय जोगाउन वा समाप्त पार्ने भन्ने राज्यको हातमा छ ।’ ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष ऋषि पौडेलले कोभिड अघिसम्म तीन सय ४४ वटा ह्याचरी रहेकामा अहिले एक सय १७ मा झरेको बताए । तीमध्ये पनि ८० हाराहारीले मात्रै चल्ला उत्पादन गर्ने गरेको उनको भनाइ छ । लेयर्स चल्लाको उत्पादन लागत मूल्य ५५ प्रतिगोटा पर्ने भन्दै उनले अहिले ४५ हाराहारीमा बिक्री गर्न बाध्य रहेको बताए । निरन्तरको घाटाका कारण धेरै ह्याचरी बन्द भएको उनको भनाइ छ । सातामा लेयर्स चल्ला तीन लाख उत्पादन हुने गरेकामा अहिले यसको उत्पादन एक लाख २५ हजार र ब्वायलर चल्ला सातामा ४५ लाख उत्पादन हुने गरेकामा अहिले २० लाख मात्रै उत्पादन हुँदै आएको उनले जानकारी दिए । भारतीय खुल्ला सिमानाबाट अवैध रुपमा आउने पोल्ट्रीजन्य पदार्थ, बढ्दो बैंकको ब्याजदर, नागरिकमा घटेको क्रयशक्ति, कच्चापदार्थको लगाइएको भन्सार लगायतका कारण यो व्यवसाय टिक्न मुस्किल भएको हो । यससँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य नबढ्नु र पोल्ट्रीका लागि आवश्यक दाना, औषधि, कच्चापदार्थको मूल्य बढ्नु र जनशक्तिको पारिश्रमिक थपिँदै जानुले सन्तुलन कायम गर्न नसकेर व्यवसाय धराशयी हुने अवस्थामा पुगेको किसान बताउँछन् । सरकारको स्पष्ट नीतिको अभावमा आत्मनिर्भर व्यवसाय पलायन हुने अवस्थामा पुगेको जनाउँदै व्यवसायीले चिन्ता व्यक्त गरेका छ । यसबाट प्रत्यक्ष रुपमा बैंकिङ क्षेत्रसमेत प्रभावित हुने देखिन्छ । रासस

२५० रुपैयाँमा एनआईसी एशिया बैंकको ७ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर बिक्री प्रबन्धक एनआइएमबि एस क्यािपटलका अनुसार आज पुस ६ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले पुस २० गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

राष्ट्रिय सहकारी बैंकले निक्षेप र कर्जामा घटायो ब्याज, अब कुन खातामा कति ?

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले पुस ६ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम २ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि मंसिरमा बैंकले बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । पुसमा साधारण बचत खातामा २ प्रतिशतदेखि ३ प्रतिशत, विशेष बचतमा ३.२५ प्रतिशत, सुपर बचतमा ३.५ प्रतिशतदेखि ४ प्रतिशत तोकिएको छ । यस्तै, एनसिसिएल समुन्नत बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ४ प्रतिशतदेखि ४.५ प्रतिशत तोकिएको छ । यस्तै, अनिवार्य नियमित बचतमा ८ प्रतिशत र क्रमिक बचतमा ८ प्रतिशतदेखि ९ प्रतिशत, मुद्दती निक्षेपमा न्यूनतम ७.२५ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा ८ प्रतिशतदेखि १२.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । यसअघि मंसिरमा बैंकले ८.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । लघुवित्त कर्जा, गरिबि निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरीने जनाएको छ । साथै, मुद्दती निक्षेपको बिड रेट ९.२५ प्रतिशतसम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान गरिने छैन ।

नेपाल राष्ट्र बैंकले माग्यो ६७ जना कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । केन्द्रिय बैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी मागेको हो । बैंकले प्रशासनतर्फ अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदका लागि १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ सहायक निर्देशक पदकै लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जना सहायक निर्देशक मागेको हो । यस्तै, सहयाक द्धितिय स्तरको सहायक पदका लागि २० जना, कानुनतर्फ ४ जना र सूचना प्रविधि पदमा ११ जना कर्मचारी मागेको हो । रिक्त रहेका उक्त पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्ने राष्ट्र बैंकले जनाएको छ । योग्य नेपाली नागरिकहरूले आज पुस ६ गतेदेखि अनलाइन माध्यममार्फत दरखास्त फाराम पेश गर्नु पर्नेछ । पुस २६ गतेसम्म तोकिएको दस्तुर र माघ ४ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ ।

घोराही सिमेन्टको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । हालै प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको घोराही सिमेन्ट इण्डष्ट्रीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते दाङको घोराहीमा तेस्रो वार्षिक साधारणसभा बिहान ९ बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरण गर्दा हुन आउने खंडित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १६ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

लाभांश पारित गर्न सपोर्ट लघुवित्तले डाक्यो साधारणसभा, सञ्चालकको भत्ता संशोधन गर्ने

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले नवौं वार्षिक साधारणसभा पुस २७ गते सुनसरीमा बिहान साढे ९ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले बोनस सेयर वितरण पश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि र पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व १ जना गरी ५ जनाको निर्वाचन गर्नेछ । सञ्चालकहरूको भ्रमण भत्ता र बैठक भत्ता संशोधन र कुनै उपयुक्त संस्थासँग मर्जर गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । लघुवित्तले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १६ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

एलपी ग्यासमा १ अर्ब रुपैयाँ नोक्सानी बेहोर्दै निगम, स्वचालित मूल्य लागू गर्ने

काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले निगमले गर्ने कूल कारोबारको २० प्रतिशत हिस्सा एलपी ग्यासको रहेको जानकारी दिँदै ग्यासमा स्वचालित मूल्य कायम गर्न नसक्दा मासिक १ अर्ब रुपैयाँ नोक्सानी बेहोर्दै आएको बताएका छन् । मुख्यसचिव डा.बैकुण्ठ अर्यालले खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गरिनुपर्ने बताएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घको २४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले विविध कारणबाट स्वचालित मूल्य लागू हुन नसकेको भए पनि अब कार्यान्वन गर्नुपर्ने बताएका हुन् । उपभोक्ता सचेतना अभिवृद्धि गर्न व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अर्यालले ग्यास सिलिन्डरको सुरक्षामा ध्यान दिन व्यवसायीलाई आग्रह गरे । जनचेतना जगाउन सरकार र व्यवसायीले संयुक्त अभियान चलाउनुपर्नेमा उनले जोड दिए । मुख्य सचिव आर्यालले कोरोनाको बेलामा ग्यास अभाव हुन नदिन व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दवाडीले निजी क्षेत्रलाई सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे । उनले उपभोक्ताको हित संरक्षण गर्न र उपभोक्ता सचेतना बढाउन सरकार प्रतिबद्ध रहेको बताउ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले व्यावसायिक प्रयोजनका लागि ठूलो क्षमताका सिलिन्डर प्रयोगमा ल्याउन सहजीकरण गर्न आग्रह गरे । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र चलायमान गर्न ब्याजदरलाई एकल अङ्कमा सीमित गर्नुपर्ने बताए । सरकारलाई सहयोग गर्न व्यवसायी तयार रहेको उल्लेख गर्दै उनले सरकारी सेवा एकद्वार प्रणालीमार्फत प्रवाह गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ, वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएको उल्लेख गर्दै सरकारको समेत प्रयासबाट अर्थतन्त्र सहज हुँदै जाने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए । अफ्ठ्यारो अवस्थामा पुगेका व्यवसायीलाई सरकार छ भन्ने महसुस गराउनुपर्ने उनको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द्र थापाले ग्यास कारोबारलाई व्यवस्थित गर्न सरकारको सहयोग आवश्यक रहेको बताए । स्थानीय तहमार्फत ग्यासको सुरक्षित प्रयोगसम्बन्धी सचेतना बढाउनुपर्नेमा उनको सुझाव छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले ग्यासको प्रयोगबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न उपभोक्ता सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष शिवप्रसाद घिमिलेले ग्यास उद्योगमा निजी क्षत्रको ३० अर्ब लगानी रहेको जानकारी दिए । ग्यास उद्योग क्षेत्रबाट राजस्व सङ्कलनमा ठूलो योगदान भएको उनको भनाइ थियो । विसं २०२८ मा पहिलो पटक बालाजुमा नेपाल ग्यास स्थापना भएपछि नेपालमा ग्यासको कारोबार सुरु भएको थियो । हाल देशभर ५८ वटा ग्यास उद्योग छन् । कार्यक्रममा निगमका पूर्वकार्यकारी निर्देशक उमेशप्रसाद थानीलाई सम्मान गरिएको थियो ।