काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र लेखामान बोर्डबीच एमओयू भएको छ । सूचीकृत कम्पनीको विवरणमा एकरुपता कायम गर्न दुई संस्थाबीच गत पुस ४ गते एमओयू भएको हो ।
उक्त एमओयूमा सेबोनका तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाशजंग थापा, एफसिएले हस्ताक्षर गरेका हुन् ।
उक्त एमओयूको मुख्य उद्देश्य नेपालमा नेपाल सस्टेनयाबिलिटी रिपोर्टिङ्ग स्ट्याण्डार्ड (एनएसआरएस) को विकास तथा कार्यान्वयन गर्नु हो । नेपालको सन्दर्भमा सस्टेनयाबिलिटी रिपोर्टिङ्ग नवीन अवधारणा हो, जसले व्यवसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुने बताइएको छ । त्यस्तै, यसले वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्नेछ ।
एनएसआरएस विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले सो मान कार्यान्वयन गर्ने आवश्यक भूमिका निर्वाह गर्नेछ । लेखामान बोर्डले सो मानहरुसँग सम्बन्धित प्राविधिक विषयहरूमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्नेछ ।