बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ। हिजो बिहिबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मेरो माइक्रोफाइनान्सले पनि लाभांश नदिने
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले आफ्नो मुनाफाबाट लाभांश वितरण नगरी संचितीमै राख्ने निर्णय गरेको छ । त्यस्तै, संस्थाले कम्पनीको २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
८ हजार तलब बुझ्ने नितिन अहिले कमाउँछन् वार्षिक ७२ करोड
काठमाडौं । केही वर्ष पहिले ८ हजार भारुको जागिरबाट आफ्नो करियर सुरु गरेका नितिन कामत अब कम्पनीको कुल सम्पत्तिको हिसाबले मुकेश अम्बानीलाई चुनौती दिने स्थितिमा पुगेका छन् । नितिनले जिममा भेटेका एक गैरआवासीय भारतीय (एनआरआई) को खाता ह्यान्डल गरेर उद्यमशीलता सुरु गरे । ती एनआरआई नितिनका पहिलो ग्राहक बने । यही अवसरबाट उत्साहित नितिनले जागिर छाडेर जेरोधा सुरु गरे । ग्राहक संख्याका हिसाबले देशकै सबैभन्दा ठूलो ब्रोकरेज फर्म जेरोधालाई नितिन र उनका भाइ निखिल कामतलगायत पाँचजनाले मिलेर स्थापना गरेका हुन् । जेरोधा कम्पनीको फाइलिङ र कर्पोरेट मामिला मन्त्रालयलाई दिएको जानकारीअनुसार नितिन र निखिल कामतले सन् २०२३ मा ७२ करोड भारु तलब लिएका छन् । २०२२ मा जेरोधाले २० अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो र यसको राजस्व आम्दानी ५० अर्बबराबर थियो। नितिन भारतकै कान्छा अर्बपतिको सूचीमा परेका छन् र अब मुकेश अम्बानीलाई चुनौती दिने स्थितिमा पुगेका छन् । नितिनको करियर यात्रा प्रतिमहिना ८ हजारमा कल सेन्टरको जागिरबाट सुरु भएको थियो । जेरोधाको सफलतालाई भारतको युनिकर्न बूमको अनुपम उदाहरणका रूपमा हेर्न सकिन्छ। नितिनले १७ वर्षको उमेरमा सेयर बजारमा कारोबार सुरु गरेका थिए । त्यतिबेला उनीहरू कल सेन्टरमा सँगै काम गर्थे । नितिनले कम्तीमा १२ ब्रोकरेज फर्ममा काम गरे । यसैबीच उनले सेयर बजार कारोबारमा धेरै ठाउँमा ठूलो खाडल रहेको र यो खाडललाई आफ्नो अनलाइन ब्रोकरेज सेवाबाट पूर्ति गरेर सफलताको मौका मिल्ने बताए । सन् २०११ मा इकोनोमिक टाइम्समा एउटा लेख प्रकाशित गरेपछि विश्वले नितिन कामतलाई याद गर्यो । जेरोधाको व्यापार मोडेल कम मार्जिन र उच्च मात्रामा आधारित छ, जसको परिणाम सम्पत्ति वितरण लगानीका लागि कुनै शुल्क र अन्य ट्रेडहरूका लागि नाममात्र शुल्क छैन । आईआईटी र आईआईएमका प्रतिभाशाली विद्यार्थीहरूलाई भर्ती गर्नुको सट्टा कामत बन्धुले विभिन्न पृष्ठभूमिका युवाहरूलाई भर्ती गर्न थाले। कामतलाई फरक तरिकाले काम गरेर जीवनमा सहजै सफलता मिल्ने विश्वास छ । एजेन्सीको सहयोगमा
मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद गरी कूल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल टेलिकमले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी १६औं वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
म्याग्दीको झीं गाउँमा आयातित मदिरा निषेध !
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । परीक्षणका रुपमा एक वर्षअघि देखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासी बताउँछन् । विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन् । विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा उक्त नियम बनाइएको रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताए । ‘बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लाग्यो, महँगा मदिरा सेवन गर्दा ठूलो धनराशि गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको छ’, उनले भने। सबैभन्दा कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने करुवा लगायतका गुणस्तर नभएका मदिराजन्य पेयपदार्थको प्रयोग गर्दा धेरैको स्वास्थ्यमा समेत जटिल रोगहरु लगेपछि स्थानीयवासी मदिरा नियन्त्रणमा सक्रिय भएका थिए । मदिरा सेवन गर्नेहरुलाई गाउँमै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको छ । युवा घरेलु मदिरा सेवन गर्न सहजै रुपमा तयार नहुने र बाहिरबाट कुनै पनि प्रकारका मदिराजन्य पदार्थ गाउँमा नभित्रने भएकाले युवालाई समेत कुलतबाट टाढै राख्न सघाउ पुगेको स्थानीय समाजसेवी गोविन्द पाइजाले बताए । विवाह, व्रतबन्ध, किरियालगायत संस्कारजन्य कार्यमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकामा आयातित मदिरालाई निषेध गरेपछि फजुल खर्च बचत हुने गरेको छ । गाउँमा हुने यस्ता संस्कारजन्य कार्यमा बजारबाट आयातित पेयपदार्थहरुको समेत प्रयोगलाई हटाइएको छ । गत वर्ष आफ्नो छोरी सुस्मा पाइजा पुनको विवाहबाट यो नियमलाई समेत गाउँमा कार्यान्वनयमा ल्याइएको समाजसेवी पाइजाले बताए । गाउँमा आयातिय मदिरा र संस्कारजन्य कार्यमा चिसो पेयपदार्थहरुलाई प्रयोगमा निषेध गरेपछि एउटा विवाहमा रु एकदेखि दुई लाखसम्म फजुल खर्च कटौती हुने गरेको उनले अनुभव सुनाए । मगर समुदायको बाहुल्य बसोबास रहेको झीं गाउँमा करिब तीन सय ४० घरधुरी रहेका छन् । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँका रुपमा परिचित झीं गाउँमा घरबाससमेत सञ्चालनमा छ । यहाँ आउने पर्यटकहरुलाई स्थानीय कोदो, मकै, जौ, गहुँ लगायतको अन्नबाट परम्परागत विधिबाट बनाइएको मदिराको प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातित मदिराको बिक्री तथा सेवनमा रोक लगाएका थिए । रासस
ढिके नुनबाट टाढिँदै बझाङी
चैनपुर । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए । उमेरले सात दशक नाघेका उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन् । विगत सम्झँदै उनी भन्छन्, ‘साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे । ताक्लाकोट (चीन) बाट बखरका बखर (भेडाच्याङ्ग्राको समूह)मा नुन ल्याउँथ्यौँ । बखर चराउँदै बेच्थ्यौँ ।’ उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो । ‘नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पुर्याउँथ्यौँ । ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन । नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो,’ उनी भन्छन् । तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो । ‘बुढ्यौलीले छोयो । ताक्लाकोट जान पनि सकिँदैन । कोरोना आएपछि नाका बन्द भयो । गाउँमा पाकेटकमा धुलो नुन (आयोडिनयुक्त) आउन थाल्यो ।’ वस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उनले बताए । ‘आजकल ढिके नुन खाँदा विराम हुन्छ भन्छन् । त्यसैले गाउँमा सबै पाकेटकै आयोडिनयुक्त नुन खान थालेका छन् । हामी ढिके नुन खाँएर हुर्कियो , केही भएन । क्या हो, क्या हो ।’ खप्तडछान्ना गाउँपालिका–५ की देवकी जोशीलाई पनि ढिके नुनसँग चामल साटेको हिजो जस्तै लाग्छ । ‘गाउँमा भेडावालासँग नुन चामल साट्न छोडेको डेढ दशक भइसकेछ । अहिले त गाउँमा न भेडा आउँछन्, न ढिके नुन नै ।’ गाउँमा २०६४/६५ सालभन्दा अगाडि धेरै मान्छे आँखाका बिरामी भेटिन्थे । एकपटक सदरमुकामबाट आएका मान्छेले ढिके नुनका कारण आँखामा समस्या आएको भनेपछि पाकेटको नुन खान थालेको उनले सुनाए । ‘सदरमुकामको टोलीले नुनमा आयोडिन हुने हुँदा दाल उम्लने बेला, तरकारी पाक्ने बेला मात्रै नुनको प्रयोग गर्नु भन्नुभएको थियो । त्यो अहिले पनि सम्झना छ ।’ त्यसपछि पाकेटको नुन नै गाउँमा नियमित भएको उनले बताए । वर्षौंदेखि घरमा ढिके नुनकै प्रयोग गर्दै आएका गाउँलेले आयोडिनयुक्त नुन पाएपछि ढिके नुन छोडेको उनले बताए । ‘सुरुमा सरकारले सहुलियतमा दिने नुन नपाए पनि पाकेटको नुन किनेर खान्थ्यौँ । आजभोलि त घर घरै साल्ट्र ट्रेडिङको नुन पुगिसक्यो,’ उनले भने । जिल्लाभर आयोडिनयुक्त नुनको प्रयोग बढिरहेको छ । सबैभन्दा टाढा साइपालको धुली डिपोबाट पनि नियमित नुन बिक्री भइरहेको साल्ट्र ट्रेडिङ कर्पोरेसन बझाङ नरेन्द्र भाटले जानकारी दिए । उनले भने, ‘अहिले सबै ठाउँमा पर्याप्त नुन छ । साइपालको धुलीमा हिउँ पर्न सक्छ भनेर एक सय क्विन्टल थप्न लागेका छौँ । धुलीमा हिमपात भएपछि ढुवानी गर्न सकिँदैन भनेर आज साइपालमा आएका छौँ । अब एक–दुई दिनमै नुन धुलीमा पठाउने तयारी छ ।’ अन्य ठाउँमा अहिलेलाई नुन पर्याप्त भएको उनले बताए । उनका अनुसार बझाङमा वार्षिक १४ हजार क्विन्टलको हाराहारीमा नुन आवश्यक पर्छ । यस वर्ष भने झण्डै दुई हजार क्विन्टल कम आएको उनले बताए । ‘सरकारले विगतका वर्षहरुमा भन्दा कम वजेट विनियोजन गरेकाले यसपटक कम परिणाम आएको छ । थपका लागि पत्राचार भएरहेको छ । ‘ डिपोबाट हरेक दिन बिक्री भइरहेको नुन गत महिनादेखि भने आइतबार मात्रै बेच्ने गरेको भाटले बताए । ‘पहिले नियमित बिक्री गथ्र्यौं । अहिले अपुग हुने देखेपछि एकै दिनमा समेत क्विन्टलको हाराहारीमा बिक्री हुन थाल्यो । त्यसैले साप्ताहिक रूपमा बेच्न सुरु गरेका हौँ,’ उनले भने । के हो आयोडिनयुक्त नुन ? साल्ट्र ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा आयोडिन एउटा पोषक तत्व भएको बताउछन् । उन भन्छन्, ‘आयोडिन हाम्रो माटोमा हुन्छ । यदि माटोमा आयोडिनको कमी भयो भने त्यहाँ उत्पादित सामग्री अन्न, तरकारी, फलफूलमा समेत आयोडिनको अभाव हुने गर्छ ।’ उनले नेपालको भूगोल भिरालो भएकाले आयोडिन माथिल्लो लेअरबाट बग्ने गरेको बताए । ‘माथिल्लो लेअरमा भएको आयोडिन वर्षा, बाढी, पहिरो, भूक्षय, हावाहुरीले सबै बगाएर लिन्छ । यसैले हाम्रो मुलुकमा पाउँदैन । अहिले आयोडिनको मुख्य स्रोत भनेको समुन्द्रको पानी, समुन्द्री जीवजन्तु हुन गएको छ ।’ उनले थाइल्यान्डमा अण्डालाई आणाइजेसन प्रविधिबाट आयोडिन मिसाएर समुदायमा वितरण गर्ने गरेको बताए । ‘विभिन्न मुलुकमा आफ्नै तरिकाले आयोडिन उत्पादन गरिरहेका छन् । चीनमा आयोडिन मिसाएको पानीबाट सिँचाइ गरिन्छ । कतिपय देशमा खानामा पाउरोटी हुने र त्यसैमा आयोडिन मिसाउने गरेका छन् । नेपालमा भने समुन्द्रको नुनकै भर पर्नुपरेको छ,’ उनले भए । आयोडिनको कमी हुँदा के हुन्छ ? गर्भावस्थामा आयोडिन पुगेन भने आमाको गर्भ तुहिन सक्ने अवस्था आउन सक्छ । जन्मिएपछि पनि बालबालिका अपाङ्गता हुने, सुस्तःमनस्थिति, गलगाडको समस्या, बच्चा जन्मने वा गर्भमै मर्नसक्ने लक्षण भएको नायब महाप्रबन्धक झाले बताए । उनका अनुसार आयोडिन नपुगेको बालबालिका चलाख र क्षमतावान् हुन सक्दैन । मानसिक विकास, बौद्धिक क्षमता, खेलकुदलगायत क्षेत्रमा निकै कमजोर हुने गर्छ । महिनावारी हुने अवस्थामा पुगेका किशोरीको महिनावारी गडबढी, अत्यधिक रक्तस्राव हुने, पेट दुख्नेलगायत समस्या पनि आयोडिनको अभावले हुने गरेको उनले बताए । ‘बालबालिका मात्रै नभई विभिन्न उमेर समूहमा मान्छेलाई पनि आयोडिनको अभावले धेरै प्रकारका रोगहरू देखिने गरेका छन् ।’ विभागीय प्रबन्धक झाले अहिले साल्ट्र ट्रेडिङले हरेक नागरिकलाई पुग्ने गरी मात्रा कायम गरेर सहुलियतमा आयोडिन नुन बिक्री वितरण गर्ने गरेको बताए । उनका अनुसार आयोडिनको अपुगले निकै समस्या देखिएपछि सन् १९६५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन ( डब्ल्युएचओ), युनिसेफले संयुक्त रूपमा सर्वेक्षण गरेको थियो । त्यो बेलामा ५५ प्रतिशत नेपालीलाई कुनै न कुनै रोग लागेको देखिएको थियो । त्यसपछि आयोडिनयुक्त नुन वितरण गर्दै १९८०, १९९८, २००७ र २०१६ मा गरिएको सर्वेक्षणले भने नेपालीको स्वास्थ्य सुधारोन्मुख देखिएको उनले बताए । रासस
कक्षा १० मा अध्ययनरत सबिनले उडाए ‘नमूना हवाईजहाज’
झापा । बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन् । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै थिए । सो अवसरमा अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभालाई अद्भुत बताए । बुद्धशान्ति-१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाईजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ। जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उनले बताए । धावनमार्गमा झैँ दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो । जहाजलाई बाँस्कोटाले भुइँबाट रिमोटमार्फत नियन्त्रण गरेका थिए । खेर गइरहेको टिनको पाता, फलामको टुक्राटुक्री, प्लास्टिक र तार प्रयोग गरेर बनाइएको जहाज दुई दिनअघि गाउँपालिका परिसरमा उडाउँदा सयौँ दर्शक रोमाञ्चित बनेका थिए । गाउँपालिकाको बैठक बसेर प्रतिभाशाली विद्यार्थी बाँस्कोटालाई आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष प्रसाईंले प्रतिबद्धता व्यक्त गरेका छन् । छात्र बाँस्कोटाले तीनवटा जहाजको नमूना र अन्य वैज्ञानिक उपकरण निर्माण गरेका छन् । बनाएका सामानले उनको घरको कोठाहरु भरिएका छन् । बनाएका जहाजहरुलाई उनले नेपाल एयरलायन्स, तारा एयरलायन्स र ग्रेटर नेपाल नाम दिएका छन् । अन्य उपकरणमा बिजुली साइकल, पाइप एसी, गल्र्स सेफ्टी, इन्फ्रारेड धारा, रोबोट, सोलार चार्जरलगायत छन् । गरिब परिवारमा जन्मेका छात्र बाँस्कोटाले घरमै अध्ययन र अभ्यास गरेर वैज्ञानिक उपकरण बनाउने गरेका जनाइएको छ। ‘सानैदेखि विज्ञान सामग्री बनाउनेमा चाख थियो,’ उनले भने, ‘सुरुसुरुमा आमाबुबाले गाली गरे पनि अहिले सहयोग गरेका छन् । आर्थिक स्रोत हुने हो भने अझ धेरै ठूलाठूला उपकरण बनाउन सक्नेथिएँ ।’ एउटा हवाईजहाज बनाउन ६५ हजार खर्च भएको उनले जानकारी दिए। भर्खर कक्षा १० मा पढ्दै गरेको विद्यार्थीमा विज्ञान उपकरण निर्माणमा यतिधेरै चाख र क्षमता भएको देखेर आश्चर्य लागेको बुद्धशान्ति-१ का वडाध्यक्ष अनिल वाग्लेले बताए । ‘एउटा सानो भाइमा यस्तो प्रतिभा हुनु सामान्य हुँदैहोइन,’ उनले भने, ‘हौसला र आर्थिक स्रोत हुने हो भने दुनियाँलाई छक्क पारेर देखाउने क्षमता रहेछ । उहाँले हामी सबैका अगाडि हवाईजहाजलगायत उपकरणहरु प्रदर्शनी गरेर देखाउनुभयो ।’ सबिनकी आमा चेलीमायाले गहना र गाईबाख्रा बेचेर उपकरण बनाउन सहयोग गरेको बताए । विद्यालय जाँदा खाजा खान दिएको २० पनि बचत गरेर चार हजार बनाएको देखेपछि छोरोको चाहना पूरा गर्न आफूले गहना बेचेको उनले बताइन् । सानैदेखि तीक्ष्ण दिमागको सबिनमा घरका रेडियो र ब्याट्री खोलेर जोड्न रमाउने चकचके स्वभाव थियो । चेलीमायाका अनुसार नयाँ किनेर ल्याएका रेडियो, टर्च लाइट र मोबाइल उपकरण सबै बिगार्ने र बनाउने गरेर सबिनले सुरुमा घरमा हैरानी दिने गरेका थिए । ‘असाध्यै चुलबुले र तेज दिमागवाला थियो’, छोराको बाल्यकाल सम्झँदै आमा चेलीमाया भन्छिन्, ‘दुःख गरेर कमाएको पैसाले ल्याएको सामान भत्काएर हैरान नै पाथ्र्यो ।’ तर, अहिले हवाईजहाज समेत बनाएर उडाउन थालेपछि परिवारका सबै खुशी छन् । सबिनले बनाएको अर्को सामान बिजुली साइकल हो । चलिरहेको पाइडल साइकलमा उनले आफूद्वारा निर्मित ब्याट्री जोडेका छन् । उक्त ब्याट्री चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि साइकललाई दिनभरि कुदाउन सकिने उनको दाबी छ । बिजुली साइकल बनाउन २० हजार खर्च भएको छ । बिग्रेको चार्जर र एडप्टर जोडेर ‘गल्र्स सेफ्टी’ नामको नयाँ डिभाइस उनले बनाएका छन् । जसले कुनै पनि युवतीलाई दुव्र्यवहार भएमा बिजुलीको करेन्ट प्रवाह गरिदिने उनको दाबी छ । डिभाइसका कारण दुव्र्यवहारबाट जोगाउने उपकरण भएकाले यसको नाम ‘गल्र्स सेफ्टी’ राखिएको रहेछ । ‘भ्वाइस कमान्ड’बाट चल्ने रोबोट र बमबार्ड गर्ने ड्रोन बनाउन सक्ने उनको दाबी छ । एउटा रोबोट निर्माण अन्तिम चरणमा छ । कोठाभरि चिसो बाफ फ्याँक्ने इलेक्ट्रोनिक डिभाइस उनले बनाएर प्रदर्शन समेत गरेका छन् । ‘पाइप एसी’ नाम दिइएको उक्त डिभाइस बिजुलीबाट चल्छ । मिहनेत र खर्चले यस्ता उपकरण बनाउने सबिनले भविष्यमा धेरै पढेर मेकानिकल इन्जिनियर बन्ने सपना साँचेका छन् । ‘आठ महिना लाग्यो । कैयौंपटक बनाउँदै भत्काउँदै गर्दा मात्र यो सम्भव भएको हो’, उनले भने, ‘सामान किन्न धेरै पैसा चाहिन्थ्यो । त्यो सबै मेरी आमाले गाई, बाख्रा र गहना बेचेर पुर्याउनुभयो ।’ पाँचथरको हिलिहाङमा जन्मेका सबिनलाई उनका बुबा कृष्णले राम्रो शिक्षा दिने उद्देश्यले सात वर्षअघि पहाडबाट मधेसको झापा ल्याएर पढाउन थालेका थिए । मधेसमा बाँस्कोटा परिवारको दुई कट्ठा घडेरीमात्र छ । उक्त जग्गामा टिनको छानो र बाँसको भाटाले बारेको एउटा घर छ । बुबाआमाले अर्कैको खेतबारी अधिया–ठेक्कामा लिएर परिवारको जीविका चलाउँदै आएका छन् । आर्थिक स्रोत नभएकाले छोरालाई खासै सहयोग पुर्याउन नसकेको वुबा कृष्ण बताउँछन् । घरमा वाइफाई नभएका कारण सबिन गाउँको वाइफाइमा गएर मोबाइल चलाउने गर्छन् । ‘यति धेरै विज्ञानका सामान बनाउने छोरोलाई सहयोग नगरौं भन्ने त मनमा हुँदैन नि,’ मनको बह पोख्दै उनले भने, ‘घरमा वाइफाई जोडिदिन सकेको छैन । एउटा राम्रो मोबाइल पनि किनिदिन सकेको छुइन ।’ रासस