विकासन्युज

विन्टर सेल अफर : सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । सोनामले यही मंसिर २८ देखि पौष १५ सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरूमा वार्षिक विन्टर छुट योजना चलाइरहेको छ । यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायाँ सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा  पनि सोनमका सोरुम ओपन भइसकेको छ ।

माछापुच्छ्रे बैंकद्वारा व्यवसायिक सिपमूलक तालिम आयोजना

काठमाडौं । माछापुच्छ्रे बैंकले सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायिक र प्राविधिक ज्ञान एवम् सिपको विकास गर्ने उद्धेश्यले बैंकले इन्जिनियर्स वीथआउट बोर्डर्स नामक संस्था संगको सहकार्यमा व्यवसायिक सिपमुलक तालिम आयोजना गरेको हो । एक सातासम्म स्कुल प्राङ्गणमा सञ्चालित कार्यक्रम आज समापनको गरेको थियो । उक्त कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री एवम् बैंकका पूर्व अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले विद्यालयस्तर देखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरुले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने बताए । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानिय निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

दुग्ध पदार्थ बिक्री नहुँदा कृषकलाई ‘मिल्क होलिडे’ को त्रास

इलाम । सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन् । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्छन् । पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू र छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ । ‘हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ’ उनी भन्छन्, ‘दुग्ध विकेन भने किसानले हातमुख कसरी जोड्ने ? घर–घरमा अभाव छिर्ने खतरा बढ्यो ।’ दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ । घ्यू र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीले समेत किसानको दूधको भुक्तानी दिन सकेका छैनन् । यसका कारण कृषक अप्ठ्यारोमा परेका छन् । ‘यसअघि गुणस्तरको आधारमा प्रतिलिटर रु ७० सम्म दूधको मूल्य पाएका किसानले अहिले रु ४०–५० मा चित्त बुझाउनुपरेको छ ।’ सूर्योदय नगरपालिका–१ मकरजुङका किसान जीवन पोखरेल भन्छन्, ‘न समयमा पेमेन्ट हुन्छ, सबै उद्योगमा सामान स्टक देखिन्छ । यो पाराले त मिल्क हालिडे होलाजस्तो भइसक्यो ।’ इलाममा दुग्ध विकास संस्थान (डिडिसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब चार हजार परिवार कृषकको यस्तै पीडा छ । सूर्योदयका दुग्ध व्यवसायी अमृत पाण्डेले घ्यू र छुर्पी बिक्री नभएपछि निजी डेरीहरूले दूधको मूल्य घटाउन बाध्य हुनुपरेको गुनासो गरे । सन्राइज डेरी उद्योगमा दैनिक दुग्ध सङ्कलन गर्दै आएका पाण्डेसँग हाल घ्यू छुर्पी स्टक रहेको छ । उनी भन्छन्, ‘सकेसम्म ऋण लिएर पनि किसानको भुक्तानी समयमा गरिरहेको थिएँ तर, अब अवस्था जटिल भइसक्यो ।’ आयोजनाले पनि घ्यू, पाउडर दूधको बिक्री सहज नभएसम्म किसानको दूधको मूल्य भुक्तानी सहज नहुने जनाएको छ । विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले अहिले घ्यू र पाउडर गरेर एक सय ३३ टन दुग्ध पदार्थ स्टकमा रहेको जानकारी दिए । ‘भण्डारण कक्ष कुनै खाली छैनन्’ उनले भने, ‘बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक संकलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गएको छ ।’ पशुलाई दाना खुवाउन पनि ऋण काँड्नुपर्ने अवस्था आएको गुनासो पोख्दै कृषक राजन भट्टराईले निजी डेरीले दूध लिनै छोड्छन् की भन्ने डर सुरु भएको बताए । उनलाई आयोजनाले दूध थेग्न नसकेपछि मिल्क होलिडे सुरु हुने आशंका छ । सूर्योदय नगरपालिका–१२ का अर्का कृषक भूपेन्द्र गड्तौला आयोजनाले कृषकको दूध खरिद गर्दिन भन्न नमिल्ने बताउँछन् । उनी भन्छन्, ‘डिडिसी सरकारको निकाय हो, उसले किसानको दूध अस्वीकार गर्न मिल्दैन ।’ आयोजना प्रमुख चौधरीले क्षमताले धान्न नसक्ने अवस्था आउन लागेको बताए । ‘आयोजनालाई छोडेर निजी डेरीसँग कारोबार गर्न थालेका दुग्ध कारोबार गर्ने सहकारीले आयोजनामै दूध पठाउन थालेपछि आयाजनाको क्षमताले थाम्न मुस्किल भएको छ’ उनले भने । गत जेठ महिनादेखि आयोजनामा दूध बिक्रीको चाप बढ्न थालेको हो । दुग्ध पदार्थ बिक्री नभएपछि आयोजनाले कृषकलाई पुस महिनादेखिको दूधको रु ३० करोड भुक्तानी दिन नसकेको चौधरीले स्वीकार गरे । उनका अनुसार, आयोजनाले इलाम, झापा, धनकुटा, तेह्रथुम र विराटनगरका स्थानीय कृषकबाट दैनिक २२ हजार लिटर दूध संकलन गर्ने गरेको छ भने अन्य आयोजनाबाट १५ हजार लिटर खरिद गरेर दैनिक ३७ हजार लिटर दूध जम्मा गर्ने गरेको छ । जम्मा भएको दूधमध्ये दैनिक पाँच हजार लिटर स्थानीय बजारमा खपत भए पनि अरू प्रशोधन गरेर घ्यू र पाउडर दूध बनाउने गरिएको छ । आयोजनाले इलामबाट दैनिक आठ हजार लिटर, झापाबाट पाँच हजार लिटर, धनकुटाबाट छ हजार लिटर, तेह्रथुमबाट दुई हजार लिटर, आयोजना आसपासका कृषकबाट एक हजार लिटर र अन्य आयोजनाबाट १५ हजार लिटर दूध खरिद गर्दै आएको छ । विसं २०३० देखि दुग्ध संकलन गर्दै आएको छ । पाँच बिघा क्षेत्रमा फैलिएको आयोजनाको दुग्ध स्टोर गर्ने क्षमता एक लाख लिटर छ भने प्रतिघण्टा पाँच हजार लिटर प्रशोधन गर्न सक्छ । विराटनगर आयोजनाले इलामको शान्ति डाँडा, पूवाखोला, बिब्ल्याटे, लक्ष्मीपुर, तीनघरे, फिक्कल, कुटी डाँडा, झापाको गरामनी, धनकुटाको हिले र चित्रेमा चिलिङ सेन्टर स्थापना गरेर कृषकको दुग्ध सङ्कलन गर्दै आए पनि दुग्ध सहकारीले आयोजनालाई दुग्ध दिन बन्द गरेपछि पुवाखोला, लक्ष्मीपुर, कुटी डाँडाको चिलिङ सेन्टर बन्द गरेको छ । इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ । निजी डेरीमा मात्रै एक हजारभन्दा बढी कृषकले दुग्ध बिक्री गर्दै आएका छन् । इलामका १८  चिज कारखानाले दैनिक २७ हजार लिटर दुग्ध सङ्कलन गर्ने आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दुग्ध बिक्री हुने गरेको छ । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेको छ । ललिपप, बम्बैसनजस्ता मिठाई बनाउने उद्योगले तीन हजार लिटर र भारतका बजारमा तीन हजार लिटर दुग्ध बिक्री हुने गरेको दुग्ध व्यवसायमा संलग्न व्यवसायी बताउँछन् । इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ । इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ । गाईपालनमा किसानको ठूलो लगानी भए पनि अनिश्चित बजार र सरकारको बेवास्ताको कारण दुग्ध व्यवसाय सङ्कटमा पर्दै गएको राष्ट्रिय कृषक समूह महासंघ इलाम अध्यक्ष विष्णु दुलालले बताए । रासस

निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्यो ११२ जना ऋणी र जमानीकर्ताको तीन पुस्ते

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने ११२ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने ११२ जना ऋणीको नाम सार्वजनिक गरेको हो । लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकमसमेत समयमा तिर्नु पर्ने हो । तर, उक्त रकम नतिरी कर्जा सम्बन्धी सर्त बन्देज उल्लङ्घन गरेकाले पटकपटक ताकेता गर्दा समेत भुक्तानी गर्न चासो नदेखाई बेवास्ता गरेकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको लघुवित्तले जनाएको छ । सूचना प्रकाशित भएको ३५ दिनभित्र यस लघुवित्तमा सम्पर्क राखि साँवा ब्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न लघुवित्तले अनुरोध गरेको छ । यदि नतिरेको खण्डमा प्रचलित ऐन, कानून तथा यस लघुवित्तसँग गरेको लिखत बमोजिम ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने लघुवित्तले जनाएको छ । साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी लघुवित्त संस्थाको आफ्नो लेना रकम असुल उपर गरिने सूचनामा उल्लेख छ ।

एक वर्षमा थपिए दुई लाख व्यक्तिगत करदाता

काठमाडौं । एक वर्षको अन्तरमा करिब दुई लाख व्यक्तिगत करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७९ कात्तिकदेखि २०८० कात्तिकसम्मको अवधिमा एक लाख ९९ हजार ३६१ जनाले स्थायी लेखा नम्बर लिएर करदाताका रूपमा आफूलाई दर्ता गराएका हुन् । सोही अवधिमा ४१ हजार ८३३ वटा संस्थाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका हुन् । त्यस्तै एक वर्षभित्र दुई हजार १२६ वटा करकट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार सबै किसिमका करदाता गरेर मुलुकमा स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ५७ लाख ९७ हजार ३४६ पुगेको छ । २०७९ कात्तिकमा ५५ लाख ५४ हजार २६ जना करदाता रहेकामा एक वर्षमा दुई लाख ४३ हजार ३२० करदाता थपिँदा कुल करदाताको सङ्ख्या करिब ५८ लाख पुगेको हो । एक वर्षको अवधिमा नयाँ करिब १० हजार मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । यससँगै मूअ करमा दर्ता हुनेको सङ्ख्या तीन लाख १८ हजार ३६२ पुगेको छ । गत वर्ष कात्तिकमा यस्तो सङ्ख्या तीन लाख आठ हजार ४७७ थियो । त्यस्तै यसबिचमा चार हजार ६४१ वटा निकाय अन्तःशुल्कमा दर्ता भएका छन् । योसहित मूअ करमा दर्ता हुनेको सङ्ख्या एक लाख २१ हजार ३१६ पुगेको छ । सरकारले करको दरभन्दा दायरा वृद्धि गर्ने लक्ष्य अनुसार करदाताको सङ्ख्या बढाउने गरी कार्यक्रम कार्यान्वयन गरेको छ । दुई हजार रुपियाँभन्दा बढीको कारोबारमा स्थायी लेखा नम्बर अनिवार्य गरेपछि त्यसले पनि करदाताको सङ्ख्या बढाउन उल्लेख्य भूमिका पुगेको देखिन्छ । करदाताको सङ्ख्या बढे पनि करिब ३० प्रतिशतले भने शून्य कर विवरण बुझाएको आन्तरिक राजस्व विभागको तथ्याङ्क छ । जसले गर्दा करदाताको दर्ता बढे पनि कर राजस्व वृद्धि भने सो अनुरूप बढ्न नसकेको विभागले जनाएको छ । गोरखापत्रबाट ।

बढ्यो विदेशी लगानी, पाँच महिनामा २४ अर्बको प्रतिबद्धता

काठमाडौं । एक वर्षको अवधिमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) को प्रतिबद्धता र लगानी दुवै बढेको छ । अर्थतन्त्र लयमा आउन थालेसँगै विदेशी लगानीमा सुधार आएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) मा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ६४ करोड रुपियाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ४२ करोड ९२ लाख रुपियाँमा सीमित थियो । चालु आवको पहिलो चार महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोड रुपियाँले धनात्मक छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी एक अर्ब ४० करोड रुपियाँले ऋणात्मक थियो । लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको हो । यस्तै भदौ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले धनात्मक थियो भने अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९७ लाख रुपियाँले ऋणात्मक थियो । असोजमा तीन अर्ब ३७ करोड रुपियाँले खुद प्रत्यक्ष वैदेशिक लगानी धनात्मक रहेकामा अघिल्लो वर्षको सोही अवधिमा सात करोड ९६ लाख रुपियाँले धनात्मक रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको पाँच महिना (साउन–मङ्सिर) मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । यस अवधिमा १९९ उद्योगमार्फत कुल २४ अर्ब ३५ करोड ७२ लाख ३७ हजार रुपियाँ प्रतिबद्धता आएको छ । गत वर्ष सो अवधिमा १११ उद्योगमार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानीकर्ताको लगानीको आकर्षण क्षेत्र पर्यटन र सेवा क्षेत्रमा रहेको छ । साउनमा मात्र वैदेशिक लगानी उत्साहजनक रूपमा बढेको छ । यस महिनामा करिब १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ । यो अघिल्लो आवको साउनको तुलनामा साढे चार गुणाले बढी हो । अघिल्लो आवको साउनमा दुई अर्ब ६४ करोड लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार भदौमा दुई अर्ब ७२ करोड र असोजमा एक अर्ब ९८ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । यस्तै कात्तिकमा एक अर्ब ७५ करोड र मङ्सिरमा दुई अर्ब २५ करोड रुपियाँको लगानी प्रतिबद्धता रहेको विभागको तथ्याङ्क छ । विभागका महानिर्देशक बाबुराम गौतमले लगानीयोग्य वातावरणका साथै नीतिगत सुधारका कारण मुलुकमा भित्रिने लगानीमा सुधार आएको जानकारी दिए । औद्योगिक क्षेत्रलाई प्रवर्धन गर्ने सरकारको नीति छ, प्रक्रियागत सरलीकरण, अन्तरनिकाय समन्वय, लगानीकर्तालाई प्रतिफल लैजानका लागि गरिने शीघ्र निर्णयले पनि यस वर्ष विदेशी लगानी बढेको उनको भनाइ छ । ‘कोभिडपछि पर्यटक आगमन बढ्नु, जलविद्युत् क्षेत्रमा भएको नीतिगत सुधार, लगानीकर्ताले यी क्षेत्रमा लगानीको सम्भावना उच्च देखेकाले पनि लगानी बढ्दै गएको छ’, महानिर्देशक गौतमले भने, ‘विभागले लगानी भित्र्याउने गरी प्रक्रियागत प्रणालीलाई सरलीकरण गराउँदै गएको छ ।’ सरकारले विदेशी लगानीलाई सहजीकरण गर्न गत वर्षको मङ्सिरदेखि विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँ बनाएको छ । वैदेशिक लगानीमा सुधार ल्याउन सरकारले चालु आर्थिक वर्षको बजेटबाट नीतिगत सुधारका कार्यव्रmम अघि बढाएको थियो । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आव २०७८र७९ मा ५४ अर्ब १५ करोड आठ लाख रुपियाँ प्रतिबद्धता आएकामा १८ अर्ब ५६ करोड रुपियाँ भित्रिएको थियो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ को व्यवस्था अनुसार छ अर्ब रुपियाँसम्मको विदेशी लगानीको स्वीकृत उद्योग विभागले गर्छ । छ अर्ब रुपियाँभन्दा बढीको विदेशी लगानीको स्वीकृति लगानी बोर्डको कार्यालयले गर्छ । पर्यटन र सेवा क्षेत्रमा आकर्षण यसैबिच वैदेशिक लगानीको उद्योग दर्ताको सङ्ख्यामा पनि सुधार देखिएको छ । गत आवको साउन–मङ्सिरसम्म १२८ वटा उद्योग दर्ता भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ५६ प्रतिशतले बढेर १९९ वटा पुगेको विभागको तथ्याङ्क छ । विभागका अनुसार पर्यटन उद्योगमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । पाँच महिनाको अवधिमा २० अर्ब ६० करोड रुपियाँको लगानी प्रतिबद्धतामध्ये नौ अर्ब ५५ करोड रुपियाँ पर्यटन उद्योगमा आएको हो । सेवा क्षेत्रमा सात अर्ब ४४ करोड, उत्पादनमूलक उद्योगतर्फ एक अर्ब ९१ करोड र अन्यमा एक अर्ब ७१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । लगानीकर्ता साना उद्योगमा लगानी गर्न आकर्षित देखिएका छन् । १९९ वटा लगानी स्वीकृतिमध्ये १८९ वटा स्वीकृत साना उद्योग सञ्चालनका लागि छ । मध्यमस्तरको उद्योगका लागि सात र ठुला उद्योगका लागि तीन वटा उद्योगले स्वीकृति लिएको विभागले जनाएको छ । गोरखापत्रबाट ।

महाकाली करिडोर : कञ्चनपुर खण्डमा खोलियो ‘ट्र्याक’

काठमाडौं । महाकाली करिडोरअन्तर्गत कञ्चनपुर–डडेल्धुरा खण्डमा सडकको ‘ट्र्याक’ खोलिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सादनीसम्मको ट्र्याक खोलिएको हो । ट्र्याक खुलेसँगै ब्रह्मदेव भएर डडेल्धुराको परशुरामसम्म गाडी सञ्चालन गर्न सकिने निर्माण कम्पनी दिवा सनिदेव जेभीका सञ्चालक देवीदत्त भट्टले जानकारी दिए । “जिरो प्वाइन्टदेखि डडेल्धुरासम्मको १५ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ । तत्काल एकतर्फी गाडी चलाउन सकिन्छ”, उनले भने, “दुईतर्फी गाडी चलाउन मिल्ने गरी फराकिलो बनाउँछौँ ।” उनका अनुसार हाल ५ मिटर चौडाइ रहेको सडक १० मिटर चौडाइसम्म पुर्याइनेछ । ट्र्याक खोल्ने क्रममा कटान गरिएका रूख सङ्कलन गर्ने कार्य भइरहेको उनले बताए । विसं २०७८ मा दिवा सनिदेव जेभीले ब्रह्मदेवदेखि कञ्चनपुर खण्डमा पर्ने ११ किलोमिटर र डडेल्धुरा खण्डको ४ किलोमिटर गरेर १५ किलोमिटरको ठेक्का पाएको थियो । कटान आदेश नआउँदा सडक निर्माणको काम अघि बढ्न सकेको थिएन । विसं २०७९ फागुनमा कटान आदेश आएसँगै सडक निर्माणको कामले गति लिएको थियो । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि डडेल्धुराको सीमासम्म ११ किलोमिटरमा १ हजार ५३२ रूख र ४१९ पोल साइजका साना रूख पर्छन् । तीमध्ये रूख र पोल साइजका गरी १ हजार ९५१ रूख कटानको आदेश आएको एक वर्षको अवधिमा ट्र्याक खोलिएको हो । कञ्चनपुर–डडेल्धुरा सडक खण्डको १५ किलोमिटर ट्र्याक खुलेसँगै डडेल्धुराको जोगबुढासम्म सवारी साधन गुडाउन मिल्ने भन्दै यस क्षेत्रका स्थानीय खुसी भएका छन् । “बाटो नहुँदा जोगबुढा तथा महेन्द्रनगरतर्फ आउजाउ गर्न समस्या थियो । ट्र्याक खोलेसँगै सहज हुनेछ”, भीमदत्त नगरपालिका–९ मसेट्टीका स्थानीय कर्ण विकले भने, “छिट्टै गन्तव्यमा पुगिन्छ । अब चाँडै कालोपत्र भए हुन्थ्यो ।”

आक्र्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै

काठमाडौं । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ ।नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आक्र्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो । मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन गर्न अत्यन्तै व्यावहारिक हुने १४ सिट क्षमताको माइक्रो भ्यान शीघ्र बजारमा उपलब्ध हुने आक्र्स ग्रुपले जनाएको छ । हाइलोङ अटोमोबाइल ब्राण्डका गाडीहरु चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् । हाइलोङको स्थानीय साझेदार आक्र्सले ग्रुप ४५ वर्षदेखि नेपालको विभिन्न क्षेत्रमा गतिशील व्यावसायिक समूहको रूपमा स्थापित रहँदै आएको छ । यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा मात्र २५ वर्षको अनुभव रहेको छ ।