रुकुममा टेलिकमको एफटीटीएच, १०२४ लाइन क्षमताको नेटवर्क तयार
काठमाडौं । नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहेको छ । आईतबार देखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब अन्तिम प्राविधिक परीक्षण पश्चात छिट्टै ग्राहकहरुमा समेत सेवाको सुरुवात गरिने टेलिकमले जानकारी दिएको छ । यसका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ । अब रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने कम्पनीले जानकारी दिएको छ । हाल रुकुमकोटमा रहेका करिव दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा रुपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने छ । यससँगै एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ । अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ । फटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्रान्डिङ गरेको छ । नेपाल टेलिकमले एनटी फाइबर अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका लागि विभिन्न प्याकेज समेत उपलब्ध गराइरहेको छ ।
चिनी प्रतिस्थापन उद्योगको बजार २७ अर्ब डलरको हुँदै, सस्तो र स्वस्थ विकल्प खोजिँदै
काठमाडौं । सेतो दानादार पाउडर एल्युलोजलाई लिएर डा. जिब ज्वेइगाफ्ट भन्छन्, ‘हामीलाई लाग्छ कि यो पवित्र प्याला हो जसले चिनीलाई प्रतिस्थापन गर्ने छ ।’ एल्युलोजमा चिनीको तुलनामा ७० प्रतिशत मिठास हुन्छ । तर, यसमा धेरै कम क्यालोरी हुन्छ । यति कम छ कि यसले शरीरको चिनीको स्तरमा धेरै कम प्रभाव पार्छ, जुन ग्लाइसेमिक सूचकांकद्वारा मापन गरिन्छ । एल्युलोज प्राकृतिकरूपमा धेरै थोरै मात्रामा पाइन्छ । यो अन्जीर र किशमिशमा पाइन्छ । एल्युलोज पहिलोपटक अमेरिकामा लगभग एक दशक पहिले स्वीकृत भएको थियो । यो तथाकथित दुर्लभ चिनी फ्रक्टोज (फलमा पाइने चिनी) बाट ठूलो मात्रामा उत्पादन गरिन्छ । तर, धेरै अवस्थामा यसलाई चिनीभन्दा राम्रो विकल्प मानिन्छ । चिनीजस्तै स्वादिलो हुन्छ । इजरायली स्टार्टअप एम्ब्रोसिया बायोका डा. ज्वेइगाफ्टले यसलाई सस्तोमा तयार गर्ने तरिका पत्ता लगाएका छन् । उनीहरूले यसलाई आनुवंशिकरूपमा परिमार्जित इन्जाइमको सहयोगमा तयार गरिरहेका छन् । यसका लागि तिनीहरू चिनी वा मकैको सिरप प्रयोग गर्छन् । ज्वेइगाफ्टले चिनी उत्पादन गर्ने कम्पनीहरूसँग साझेदारी गरेर एल्युलोजलाई लोकप्रिय बनाउने आशा गरेका छन् । मोटोपना र मधुमेहका केसहरू तीव्र गतिमा बढिरहेका छन् । यस्तो अवस्थामा मानिसहरू चिनीभन्दा पनि स्वास्थ्यका लागि राम्रो मिठासको विकल्प खोजिरहेका छन् । धेरै प्रविधि स्टार्टअपहरू यी विकल्पहरू ठूला खाद्य कम्पनीहरूलाई बेच्न चाहन्छन् ताकि उनीहरूले तिनीहरूलाई आफ्ना उत्पादनहरूमा प्रयोग गर्न सकुन् । इनोभेसन कन्सल्टेन्सी ग्राबीका विश्लेषक गौरव साहनी भन्छन्, ‘अहिले विश्वमा चिनी प्रतिस्थापनको उद्योग बढिरहेको छ ।’ चिनीमा कर लगाएर सरकारले पनि यस उद्योगको विकासमा टेवा पुर्याइरहेको उनको भनाइ छ । यो बजार आज लगभग १७ अर्ब अमेरिकी डलरबराबर भएको छ र एक दशकभित्र २७ अर्ब डलरभन्दा बढीको हुने ग्राबीको अनुमान छ । चिनीको विकल्प के हो ? त्यहाँ धेरै चिनी विकल्पहरू उपलब्ध छन् । जस्तै, एस्पार्टम, स्याकरिन र सुक्रालोजजस्ता पुराना कृत्रिम स्वीटनरहरू जुन डाइट ड्रिंक्समा प्रयोग गरिन्छ । त्यसैगरी त्यहाँ स्टेभिया र भिक्षु फलजस्ता मिठासहरू पनि छन्, जुन बोटबिरुवाबाट निकालिन्छन् । तर, अमेरिका र युरोपेली संघले मंक फललाई खानाका रूपमा प्रयोग गर्न अनुमति दिएका छैनन् । यी मिठाईहरू कहिलेकाहीँ चिनीभन्दा मिठो हुन्छ र थोरै मात्रामा प्रयोग गर्नुपर्छ । यसबाहेक, त्यहाँ पोलियोल वा चिनी अल्कोहलहरू छन्, जस्तै एरिथ्रिटोल जुन हालै लोकप्रिय भएको छ। यी प्राकृतिकरूपमा पनि पाइन्छ । तर, व्यावसायिकरूपमा तिनीहरू चिनी र स्टार्चबाट तयार हुन्छन् । तिनीहरू चिनीजत्तिकै मिठो हुँदैनन्, तर बेकरी र प्रशोधित खानाहरूमा प्रयोग गर्न सकिन्छ । यद्यपि, यी सबै विकल्पहरू पूर्णरूपमा चिनीसँग मिल्दोजुल्दो छैनन् । सबैभन्दा ठूलो समस्या भनेको खाएपछिको स्वाद हो । यस्तै, चिनीले खानाहरूमा रङ वा बनावट थप्छ जुन यसको विकल्पहरूले गर्दैन । यसबाहेक खाद्य पदार्थलाई बिग्रिनबाट जोगाउन पनि चिनीको प्रयोग गरिन्छ । अमेरिकी बायोटेक कम्पनी जिङ्को बायोवर्क्सका वरिष्ठ निर्देशक मेरबिन डिसुजा भन्छिन्, ‘चिनी मिठासको स्रोतमात्र होइन । कि त्यहाँ विकल्पहरूसँग सम्बन्धित अन्य जोखिमहरू छन्, जस्तै यदि पोलियोलहरू ठूलो मात्रामा लिइयो भने पेट दुख्ने जोखिम हुन्छ ।’ खतराहरू के हुन् ? एरिथ्रिटोल स्ट्रोक र हृदयघातसँग पनि जोडिएको छ । यद्यपि, केही अन्य विशेषज्ञहरूले यस सम्बन्धमा अनुसन्धानलाई पर्याप्त ठान्दैनन् । एस्पार्टमका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विज्ञहरूले यसले क्यान्सर निम्त्याउन सक्ने डर व्यक्त गरेका छन् । तर, डब्ल्यूएचओको अर्को संस्थाले यसलाई सीमित मात्रामा लिने हो भने खतरा नहुने बताएको छ । मे महिनामा डब्ल्यूएचओले तौल नियन्त्रण गर्न चिनीरहित मिठाई प्रयोग नगर्न सल्लाह दिएको थियो । यसले मधुमेह र मुटुसँग सम्बन्धित रोगको जोखिम बढाउन सक्ने बताइएको छ । यो कुरा बजारमा पाइने स्टेभियाजस्ता अन्य उत्पादनहरूका बारेमा भनिएको थियो । तर, मङ्क फल, एरिथ्रिटोल वा एल्युलोज यसमा समावेश गरिएको थिएन । गर्न धेरै बाँकी छ प्राकृतिकरूपमा दुर्लभ चिनी सस्तो बनाउन खोज्ने एम्ब्रोसिया बायोमात्र कम्पनी होइन । अमेरिकी स्टार्टअप बोनुमोसले उखुबाट चिनी उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी एएसआर ग्रुपको सहयोगमा नयाँ प्लान्ट खोलेको छ । टागाटोज नामक नयाँ बिरुवा यहाँ हुर्काइँदैछ । टागाटोज हरेक हिसाबले चिनीको राम्रो विकल्प मानिन्छ । यसले मिठासको सन्दर्भमा एल्युलोजलाई पनि पार गर्छ । यो ९० प्रतिशत चिनी जत्तिकै मिठो हुन्छ । बोनुमोजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एड रोजर्स भन्छन्, ‘यो चिनीजस्तै हो । यो राखेर धेरै मिठाईहरू उत्पादन भइरहेका छन्, तर ती धेरै मात्रामा खानामा थप्नुपर्छ।’ बेलायतको सप्लान्ट कम्पनीले कम क्यालोरी हुने र शरीरमा चिनीको मात्रा घटाउने उत्पादनको विकास गरेको छ । यो मकै कटाइपछि छाडिएको डाँठ, भुसी र काण्डजस्ता कृषि उत्पादनका बाँकी भागहरूबाट बनाइन्छ । यसमा फंगसको सहयोग लिइन्छ । कम्पनीका सीईओ डा. टम सिन्सले यो चिनीजस्तै भएको र यसलाई बनाउन प्रयोग हुने सामग्रीको कुनै कमी नरहेको बताए । साथै, यी सस्तो र वातावरणलाई हानी नगर्ने रहेको उनको भनाइ छ । अर्को इजरायली स्टार्टअप इन्क्रेडोले चिनीको दानालाई खनिज सिलिकासँग मिलाउँछ । यसप्रकारको सिलिका थोरै मात्रामा खानामा थपिएको छ । यसरी मुखमा चिनी सजिलै पग्लिन्छ र कम चिनीले बढी मिठास पाउँछ । इन्क्रेडोका ग्राहक कम्पनीहरूमा अमेरिकी चकलेट कम्पनी ब्लूमर पनि समावेश छ । यसका अतिरिक्त तथाकथित मिठो प्रोटिन पनि एक विकल्प हो । यी प्रोटिनहरू चिनीभन्दा हजारौं गुणा मिठो हुन्छन् र केही फलफूल र जामुनहरूमा पाइन्छ । अमेरिकी स्टार्टअप ओब्लीले यी प्रोटिनहरू चिनीबाट तयार गर्छ । यसका लागि आनुवंशिकरूपमा परिमार्जित खमीरको मद्दत लिइन्छ । ओब्लीका सीईओ अली विङ भन्छन्, ‘यी मिठो प्रोटिनहरू सफ्ट ड्रिङ्कहरूमा प्रयोग गर्न सकिन्छ ।’ चुनौतीहरू चिनी हटाउने काममा धेरै अवरोधहरू छन् । पहिले तपाईंले ग्राहकहरू खोज्नुपर्छ । ठूलो मात्रामा नयाँ उत्पादन बनाउन धेरै वर्ष लाग्न सक्छ । त्यसपछि स्टार्टअपहरूले प्रमाणित गर्नुपर्ने छ कि उनीहरूले यी विकल्पहरूलाई ठूलो मात्रामा विश्वसनीयरूपमा उत्पादन गर्न सक्छन् । यस्तै खरिददारहरू नयाँ उत्पादनहरू प्रयास गर्न हिच्किचाउन सक्छन्। यसको शीर्षमा, प्रयोगका लागि नियन्त्रण निकायहरूबाट स्वीकृति प्राप्त गर्नु पनि सजिलो काम होइन। कम्पनीका नयाँ विकल्पहरू अमेरिकामा सुरक्षित घोषणा गरिए पनि युरोपमा अनुमोदन गराउनु गाह्रो काम हो । एल्युकोज अझैसम्म बेलायत र यूरोपेली संघमा प्रयोगका लागि अनुमोदन गरिएको छैन । यद्यपि, धेरै कम्पनीहरूले यसका लागि प्रयास गरिरहेका छन् । सप्लान्ट कम्पनीले कागजातहरू तयार गरेको छ, जुन उसले बेलायत र युरोपेली संघका नियामकहरूलाई पेस गर्न चाहन्छ । यो अमेरिका, बेलायत र युरोपेली संघमा स्वीकृत छ । तर, यसलाई बजार गर्न गाह्रो हुनेछ। तपाईं यसलाई एल्युलोजजस्तै शून्य चिनी भन्न सक्नुहुन्न, किनभने यसमा एल्युलोजभन्दा धेरै क्यालोरीहरू छन् । यूनिभर्सिटी अफ क्यालिफोर्नियाका पौष्टिक अनुसन्धान जीव वैज्ञानिक किम्बर स्ट्यानहोप भन्छन्, ‘चिनीका कतिवटा विकल्पहरू देखापर्दैछन् भनेर हेर्नु रोचक छ। सबैभन्दा राम्रो उपाय भनेको चिनी हटाउनु हो, तर त्यसो गर्न गाह्रो हुनेछ। हामीलाई यी उत्पादनहरू चाहिन्छ ।’ डब्ल्यूएचओको विपरीत स्ट्यानहोपले चिनीरहित मिठाईहरूले वजन घटाउन र मधुमेहको जोखिम कम गर्न मद्दत गर्दछ । डब्ल्यूएचओले तौलका सम्बन्धमा एउटामात्र अनुसन्धानका आधारमा यस्तो चेतावनी दिएको उनको भनाइ छ । तर, नयाँ उत्पादनलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने उनको भनाइ छ । तिनीहरू सुरक्षित छन् वा छैनन् र तिनीहरूका फाइदाहरू के छन् भनेर हेर्न । उनी भन्छन्, ‘यसका लागि हामीले क्लिनिकल ट्रायल गर्नुपर्ने छ ।’ बीबीसी
डेडिकेटेड र ट्रंकलाइन विवाद, रोजगारी र राजस्वमा असर पर्ने महासंघको भनाई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाईन समस्याको समाधानका लागि एक उच्चस्तरिय अधिकार सम्पन्न आयोग गठन गर्न आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले यसको विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत लाइन काट्न थालिएको भन्दै यसमा गहन अध्ययन र समाधान गर्नुपर्ने बताएको हो । सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकार रहेको र समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा यस विषयलाई टुंगोमा पुर्याउन एक उच्चस्तरिय अधिकारसम्पन्न आयोग स्थापना गनुपर्ने माग महासंघले राखेको हो । निजी क्षेत्रका प्रतिनिधि पनि रहने उक्त आयोगले विगतमा भएका अध्ययन, अहिलेको अवस्था, टिओडि मिटर आदिको अध्ययन गरि निष्पक्ष राय दिने महासंघको भनाई छ ।यही भदौ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग निजी क्षेत्रको भेटमा प्रधानमन्त्री दाहालले लाइन नकाट्न निर्देशन दिएका थिए । त्यसपछि विभिन्न निकायमा यसबारे छलफल भएको र लाइन नकाटि समस्या समाधान हुनेमा उद्यमी व्यवसायी आश्वस्त थिए । तर एकाएक केहिदिन अघिको एक मन्त्रिस्तरिय बैठकमा प्रधानमन्त्री दाहालले उर्जामन्त्रीलाई नै डेडिकेटेड ट्रंक लाईनको महशुल नतिर्ने उद्योगीको बिजुली नै काटिदिन निर्देशन दिएपछि सोमबारसम्म ९ उद्योगको बिजुली काटिसकिएको छ । यसरी लाईन नै काट्न थालेपछि महासंघले विभिन्न समयमा वभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच मत भिन्नता रहेको बताएको छ । यसैका कारण धेरै समयदेखि यो बिषय अल्झिएको महासंघको भनाई छ । उद्योगीहरुका अनुसार यसबारे विवाद भएको समयमा आफले निरन्तर विद्युत महसुल बुझाएको र तीन बर्षपछि विल आएको छ । उद्यमी व्यवसायीहरु डेडिकेटेड र ट्रंकलाइनको उपभोगको नियमानुसार (टिओडी मिटरको आधारमा) तिर्नुपर्ने रकम तिर्न तयार रहेको बताउँदै आएका छन् । यसबारे कानुनसम्मत रुपमा कुनै उद्योगले तिर्नुपर्ने देखिन्छ भने उक्त उद्योगले भुक्तानी गर्नुपर्ने र नतिर्नु पर्ने देखिएमा जबरजस्ती भुक्तानीका लागि वाध्य गर्न नहुने महासंघले माग राखेको छ । यो विषय तत्काल सम्बोधन नभए धरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असर पर्ने महासंघको भनाई छ ।
पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ, अधिकांश युवा विदेशमा
म्याग्दी । म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स–रे सेवा उपलब्ध छ । गाउँ नजिकै विद्यालय छन् । सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको छ । स्वास्थ्य चौकीमा सेवा लिने बिरामी पनि घट्दै गएका छन् । पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जतिजति पूर्वाधारको विकास भए पनि बढी बसाइँसराइ गरेर बाहिर जानेहरुको सङ्ख्या पनि बढ्दै गएको छ । गाउँपालिकाले किसान लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन र व्यवस्थापनमा महत्व दिन थालेपछि कृषि उत्पादन पनि बढ्दै गएको छ । छवटै स्थानीय तहममा कृषि उत्पादन वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । एक/डेढ दशकअघिसम्म ‘गाउँमा अभाव छ, अवसरै छैन’ भन्ने मानसिकता रहेकामा अहिले विकासको पूर्वाधार बढे पनि सुविधाको उपयोग गर्ने जनता भने घट्दै गएका मालिका गाउँपालिका– २ का वडासदस्य भक्तबहादुर पुन बताउँछन् । गत वर्ष साउनदेखि चैत मसान्तसम्म जिल्लाका एक हजार ९१ घर परिवार अन्य ठाउँमा बसाइ सरेको स्थानीय तहहरुको तथ्याङ्कले देखाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तहबाट एक हजार ९१ जना बसाइँसराइ गरी काठमाडौँ, पोखरा, चितवन, नवलपुर, बुटवललगायत ठाउँमा गएका हुन् । स्थानीय तहको पञ्जीकरण शाखाका अनुसार गत आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा बेनी नगरपालिकाबाट दुई सय ४२, रघुगङ्गा गाउँपालिकाबाट एक सय १४, मङ्गला गाउँपालिकाबाट एक सय ६०, मालिका गाउँपालिकाबाट एक सय २४, धौलागिरि गाउँपालिकाबाट तीन सय चार र अन्नपूर्ण गाउँपालिकाबाट एक सय ४७ गरी एक हजार ९१ घर परिवार बसाइँसराइ गरेका थिए । ‘गाउँमा जतिजति विकासका पूर्वाधार थपिदै गए त्यति त्यति बस्ती खाली हुँदै जान थाले, यस्तो अवस्था किन उत्पन्न हुँदैछ भन्ने विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण हुन जरुरी छ’, दरबाङका बालकृष्ण शर्मा भन्छन्, ‘गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । विकास र अवसरलाई सदुपयोग गर्ने युवा छैनन् ।’ सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ स्थित बगरफाँट गाउँको स्थिति यस्तै छ । राजनीति गर्ने नेताहरुदेखि लिएर पढेलेखेका र निजामती सेवाको उपल्लो तहमा पुगेका मानिसको पुख्र्यौली यो गाउँ अहिले बसाइँसराइका कारण रित्तिँदै जान थालेको छ । यहाँका अधिकांश युवा विदेशमा छन् । गाउँमा बाँकी रहेका र उमेर पुगेका युवा पनि विदेश जाने तयारीमा छन् । अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापानदेखि लिएर युरोप र खाडी मुलुकसम्म यहाँका युवाको गन्तव्य हुने गरेको छ । गाउँ सुन्दर छ । सुगम छ । विकासका सबै पूर्वाधार यहाँ उपलब्ध छन् । गाउँको शिरानमा जङ्गल, पुछारमा म्याग्दी नदी र बीचमा समथर उर्बर फाँट छ । विदेशबाट रेमिट्यान्स आउँछ तर काठमाडौँ, पोखराजस्ता सहरमा घरघडेरीका लागि जान्छ । गाउँको जमिनमा लगानी गर्ने, उत्पादन र बिक्री गर्नेतर्फ कसैको ध्यान नजाँदा कतिपय उर्वर जमिन पाखोमा परिणत भएको छ । थोरै जमिनमा गरिएको खेतीले नै यहाँका स्थानीयलाई पुगेपछि अरु जमिन बाँझै छोडिएको छ । गाउँमा जतिजति विदेशी आम्दानी भित्रिँदै छ त्यति नै बढी परनिर्भरता पनि बढ्दै गएको छ । यो बगरफाँट गाउँको मात्र अवस्था होइन म्याग्दीका प्रायः सबै गाउँको यही अवस्था रहेको छ । बगरफाँटका बेदप्रसाद उपाध्याय गाउँका खेतबारी बाझिँदै गएकामा चिन्तित छन् । पशुपालन घट्दै गएको छ । व्यावसायिकरुपमा केही युवाले गरेको कृषि पेसा रहरलाग्दो देखिए पनि उत्पादित कृषिउपजले राम्रो बजार पाउन नसक्दा कृषि पेसाप्रति नै वितृष्णा उत्पन्न हुन थालेको व्यावसायिक कृषकहरुले बताउन थालेका छन् । वार्षिक करोडौँ रुपैयाँको आयातित तरकारी खपत हुने म्याग्दीमा स्थानीय उत्पादनले लागतअनुसारको मूल्य नपाउँदा कृषक निरास भएका अगुवा कृषक चन्द्रबहादुर कार्की बताउँछन् । ‘बारीभरी बन्दा र टमाटर छन्, तर मूल्य छैन । बाहिरबाट आएको तरकारी सस्तोमा पाइन्छ तर यहाँको प्राङ्गारिक उत्पादनलाई व्यापारीले सस्तोमा खोज्छन्’, उनको गुनासो छ । बसाइँसराइको मुख्य कारण गाउँमा सुविधाको कमी र अवसरको अभाव नभएर सुखसुविधा र जीवनशैली नै भएको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको भनाइ छ । नेपाल कांग्रेसका जिल्लासचिवसमेत रहेका मीनबहादुर कार्कीले गाउँमा अब अवसरै अवसर र सुविधै सुविधा छ तर ती अवसर र सुविधाभन्दा बढी अवसर र सुविधाको खोजीमा बसाइँसराइ गरी अन्य ठाउँमा जानेक्रम नरोकिएको बताउँछन् । रासस
चिसोबाट बच्न शतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध
काठमाडौं । देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेकाले आवश्यक शर्तकता अपनाउन सबैमा अनुरोध गरे । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । ‘पश्चिमी वायुको आंशिक प्रभाव छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन’, मौसमविद् पुडासैनीले भने । आज कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सु/कुइरो लागेको थियो । आज काठमाडौंको न्यूनतम तापक्रम पाँच दशमलव चार र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको छ । तापक्रम घटेकाले काठमाडौंमा अत्याधिक चिसो बढेको छ । दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव आठ डिग्रिसेल्सियस तापक्रम मापन गरिएको महाशाले उल्लेख गरेको छ ।
प्रधानमन्त्री दाहालले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लागेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
विकासले गति लिँदैछ दुर्गम गाउँमा, स्थानीयलाई सुविस्ता
ढोरपाटन । काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ । चालु आर्थिक वर्षमा यस वडामा रू सात करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा रहेको छ । पच्चिसवटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन् । लेखानीमा विनियोजित रकममध्ये रू पाँच करोड ५५ लाख सङ्घीय र रू ९० लाख प्रदेश सरकारबाट तथा रू ८८ लाख ६४ हजार काठेखोला गाउँपालिकाबाट विनियोजन भएको गाउँपालिका कार्यालयले जनाएको छ । चालु आवमा पदमार्गका नौ योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट गरी रू ५८ लाख ७४ हजार चार सय विनियोजन भएको काठेखोला–८ का वडाध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिए । उनका अनुसार मोटरबाटो निर्माणका लागि छ योजनामा गाउँपालिका, गण्डकी प्रदेश र सङ्घीय सरकारको गरी रू पाँच करोड ९९ लाख बजेट व्यवस्थापन भएको हो । दुई खेल मैदान निर्माणका लागि चालु आवमा काठेखोला र गण्डकी प्रदेशले लेखानीमा रू १४ लाख विनियोजन गरेका छन् भने विद्यालय सुधार तथा गुणस्तरीय शिक्षा कार्यक्रमका लागि गण्डकी प्रदेशबाट रू पाँच लाख प्राप्त हुनेछ । सिँचाइ तथा खानेपानीका लागि प्रदेश र गाउँपालिकाको रू १२ लाख, पोखरी तथा ताल निर्माणका दुई योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट रू ११ लाख, वातावरण संरक्षण तथा झाँडी सरसफाइका लागि गाउँपालिका र सङ्घीय सरकारबाट रू २३ लाख ९० हजार बजेट विनियोजन भएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि गाउँपालिकाले रू १० लाख बजेट विनियोजन गरेको छ । सबैभन्दा ठूलो रकम सङ्घीय सरकारबाट सुल्डाँडा लेखानी सेतीचौर देउराली सडक स्तरोन्नतिका लागि रू पाँच करोड विनियोजन भएको प्रवक्ता विकले बताए । ओखले कोटपखेरा बराहथान पहिरो नियन्त्रणका लागि रू २० लाख र थाननेटा गाजा दह हुँदै शान्तिपुर जोड्ने सडक निर्माणका लागि सङ्घीय सरकारबाट रू ३५ लाख विनियोजन भएको वडाध्यक्ष कँडेलले जानकारी दिए । सुल्डाँडा लेखानी सेतीचौर देउराल सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट रू २५ लाख, लेखानी प्रावि हुँदै भट्टेबारी पदमार्गका लागि रू पाँच लाख, काशीराम छन्त्याल प्रावि मर्मतका लागि रू पाँच लाख, सेतीचौर जलाशय निर्माणका लागि रू १० लाख विनियोजन भएको छ । त्यस्तै, प्रदेश सरकारबाटै फार्सलखोला कोलेलीडाँडा सिँचाइ कुलोका लागि रू १० लाख, कादेश आधारभूत विद्यालय खेलमैदान निर्माण गर्न रू पाँच लाख र कादेश चित्रेदेउराली सडक निर्माण गर्न रू ३० लाख बजेट विनियोजन गरेको वडाध्यक्ष कँडेलले जानकारी दिए । उनका अनुसार काठेखोला गाउँपालिकाबाट भुमेचौर गौडा हुँदै कादेश मोटरबाटोका लागि रू आठ लाख, रोगालखोला माटखत्री पातल पदमार्ग निर्माण गर्न रू नौ लाख ७४ हजार, सिमथानदेखि डैलेखानी घुम्तीसम्म पदमार्गलाई रू नौ लाख, भुमेचौर माईस्थान च्यानडाँडा हुँदै उपल्लाथर पदमार्ग निर्माण गर्न रू नौ लाख विनियान भएको छ । झाँडी तथा रुख कटानका लागि काठेखोलाबाट रू तीन लाख ९० हजार, कादेश खानेपानी योजना मर्मतका लागि रू दुई लाख, भुमेचौर खेलमैदान निर्माण गर्न रू नौ लाख, छेडादेखि वडा कार्यालयसम्म पदमार्गका लागि रू १० लाख, झरुवापाटा भिरकुना पदमार्गका लागि रू चार लाख विनियोजन गरिएको कँडेलले बताए । पीपलबोट भ्यूटावर सेतीचौर पदमार्गलाई रू चार लाख, सेतीचौर कुटाखर्क हलहले पदमार्गलाई रू चार लाख, सडक मर्मत सुधार योजनाका लागि रू चार लाख, पुच्छरघर माईथान पदमार्गलाई रू चार लाख, खाली पोखरी निर्माणका लागि रू एक लाख र लेखानी स्वास्थ्यचौकी ट्रस निर्माणका तथा मर्मत योजनाका लागि रू १० लाख विनियोजन भएको कँडेलले जानकारी दिए । उनका अनुसार लेखानीले यसपटक गाउँपालिकाको बजेटबाट १५ वटा योजना बनाएको छ । थोरै योजना बनाएर देखिनेगरी बजेट खर्चनुपर्ने वडाध्यक्ष कँडेलले बताए । यस आवमा गाउँपालिकाले दसैँको छेको पारेर योजना सम्झौतासहितको एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । काठेखोला–८ लेखानीले भने त्यसअगावै उपभोक्ता समिति गठन गरेर अधिकांश योजना सम्झौता गरेर कार्यान्वयनको चरणमा पुगिसकेको जनाएको छ । ‘अहिलेसम्म यस वडामा जनचाहनाअनुसार विकास हुन सकेको थिएन । विकासका लागि धेरै बजेट चाहिन्छ, गाउँपालिकाको बजेट मात्रै कुरेर बस्ने हो भने काम गर्नै सकिन्न’, वडाध्यक्ष कँडेलले भने, ‘पालिकामा आउने सीमित बजेट हुन्छ, प्रदेश र सङ्घीय सरकारबाट योजना पार्नसके मात्रै काम देखिने हो । अहिले प्रदेश र सङ्घीय सरकारबाट योजना परेसँगै बजेट पनि ल्याउन सकिएको छ । अब विकासले फड्को मार्नेछ ।’ गाउँपालिकाका प्रवक्ता विकले वडा नं ८ पछिल्लो समय अब्बल वडा बन्दै गएको बताए । यस वडामा विगतदेखि ससाना योजना परेर काम भए पनि ठूला विकास निर्माण भने कम भएको उनको भनाइ थियो । पालिकाले सबै वडालाई समानुपातिकरुपमा बजेट विनियोजन गर्दै आएको प्रवक्ता विकले बताए । रासस
बढ्दै जाजरकोट भूकम्प प्रभावितको संख्या, ८० हजार पुग्ने अनुमान
जाजरकोट । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय ८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्याङ्कमा झण्डै नौ हजार थपिएका हुन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सङ्ख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए । सुरुमा २८ हजार लाभग्राही कायम भएको थियो । त्यसपछि चार हजार थपिएर ३२ हजार हुनपुग्यो । बढ्दै जाँदा ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघेको हो । प्राप्त विवरणअनुसार अहिलेसम्म जिल्लामा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार छ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ लाभग्राही कायम भएको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले जानकारी दिए । लाभग्राहीको सङ्ख्या बढिरहेसँगै उनीहरुका लागि पुनःस्थापन तथा अस्थायी आवास निर्माणको लागत पनि बढ्नेछ । अहिलेसम्म ती लाभग्राहीको अस्थायी आवास निर्माणका लागि दुई अर्ब २६ करोड रुपैयाँभन्दाबढी केन्द्रबाट जिल्लामा रकम पठाइसकिएको छ । अझै लाभग्राही बढ्नसक्ने हुँदा अनुमानित लाभग्राहीका आधारमा चार अर्ब ७५ करोड रुपैयाँ आवश्यक हुने देखिएकाले थप रकम मागका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पु¥याएको थियो । अहिले सो क्षेत्रका पीडितको अस्थायी आवास निर्माणको काम जारी रहेको छ । रासस