ट्रंक लाईनमा जोडिएका तीन कम्पनीले तिरेनन् एक अर्ब बढीको बक्यौता, कुनले कति ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भएपछि ट्रंक लाईनमा जोडिएका तीन कम्पनीहरुले बक्यौता रकम नतिरेकोे बताएको छ । प्राधिकरणका अनुसार उक्त लाईनमा जोडिएका कम्पनीहरुले एक अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी रहेको देखिएको हो । गत मंसिर मसान्तसम्मको तथ्यांकअनुसार नारायणी स्पात मिल्स, जगदम्बा इन्टर प्राइजेज र सिद्धि लक्ष्मी स्टीलले ट्रंक लाईनमा जोडिएपछिको बस्यौता रकम तिर्न बाँकी छ । जसमध्ये सबैभन्दा वीरगञ्जको नारायणी स्पात मिल्सको ७८ करोड ४८ लाख ९७ हजार, सिमराको जगदम्बा इन्टर प्राइजेजको ४७ करोड ९८ लाख २८ हजार र परासीको सिद्धि लक्ष्मीको ४ करोड ७६ लाख ८३ हजार रुपैयाँ बस्यौता रकम रहेको छ ।
नबिल बैंकको ११ प्रतिशत लाभांश पारित
काठमाडौं । नबिल बैंकले ११ प्रतिशत लाभांश पारित गरेको छ । नबिल बैंकले आफ्नो ३९ औँ वार्षिक साधारण सभाबाट ११ प्रतिशत लाभांश पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७९/०८० को मुनाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक आ.व. २०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँ मुनाफा गर्न सफल भएको थियो । नबिलले वित्तीय क्षेत्रमा करिब चार दशक समय अघिदेखि गुणस्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय यस बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङको लागि एनबैंक सञ्चालनमा ल्याएको छ । ‘क’ वर्गको बैंकहरूमध्ये निरन्तर देशकै अग्रणी वाणिज्य बैंकको पहिचान पाएको यस बैंकले दिगो बैंकिङ प्रणालीमा जोड दिएको छ । बैंकका अध्यक्ष पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताए । ‘देशको अर्थतन्त्रको पछिल्लो परिदृष्यहरूलाई मध्यनजर गर्दै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ’, उनले भने । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको उनले बताए । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिने लक्ष्यसहित यो कार्यक्रम शुरु गरिएको हो । हालसम्म तीन सय ३५ जना विद्यार्थीहरूको सहभागिता भएको यस कार्यक्रमले ५२ वटा उद्यम जन्माएको र ८७२ जनाले रोजगारी पाएको उनले जानकारी दिए । साधारण सभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा सेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पूँजी हाल सम्म आउँदा ९६० गुणाले वृद्धि भएको कुरा बताए । संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई केन्द्रबिन्दुमा राख्दै बैंकले आफ्नो व्यवसाय विस्तार गरिरहेको र सो अन्तर्गतका विभिन्न लक्ष्यहरू जस्तै गरिबी निवारण, शिक्षा, स्वास्थ्य आदिलाई आधार मानी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत अगाडि बढाइरहेको जानकारी गराए । त्यस्तै बैंकले स्थापनाकालदेखि हालसम्म देशको राजश्वमा समेत महत्वपूर्ण योगदान दिँदै आएको जानकारी गराए ।
काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला शुरु
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला शुरु भएको छ । बिहीबारबाट शुरु भएको मेलाको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गरिन् । बिहीबारबाट शुरु भएको मेला पौष १५ गतेसम्म सञ्चालन हुनेछ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा शुरु भएको मेलाले क्रेता र बिक्रेताहरुबीचको असमझदारीलाई सम्बोधन गर्ने र अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखिएको छ । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको संघका अध्यक्ष विदुर धमलालले बताए । उनले मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी लगायतका स्टलहरु रहने बताए । मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिनेछ । मेलाबाट २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा आयोजकले लिएको छ ।
घरजग्गा कारोबारबाट मुलुकलाई अर्बको राजश्व प्राप्त भइरहेको छ : राजेन्द्र मल्ल
काठमाडौं । निजी क्षेत्रले सरकारले चालु आर्थिक वर्षको पूँजिगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन् । बिहीबारबाट काठमाडौंमा शुरु भएको आठौं घरजग्गा मेलाको उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रले सरकारले चालु खर्चलाई बढाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पूँजिगत खर्चको अवस्था ज्यादै न्युन रहेको बताए । उनले यस अवधिमा १५ प्रतिशत पनि पूँजिगत खर्च नभएको जिकिर गर्दै सरकारले अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तिब्रता दिँदै समग्र आर्थिक विकासका लागि पूँजिगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए । ‘चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पूँजिगत खर्चको अवस्था ज्यादै न्युन छ, यस अवधिमा १५ प्रतिशत पनि पूँजिगत खर्च भएको छैन, अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तिब्रता दिँदै समग्र आर्थिक विकासका लागि पूँजिगत खर्च बढाउनुपर्ने छ, पूँजिगत खर्च बढ्दै जाँदा देशको अर्थतन्त्रको चक्रलाई नै चलायमान बनाउँछ, बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ’, उनले भने । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घर जग्गा कारोबारलाई चलायमान बनाउनसके अर्थतन्त्र सबल बन्ने बताए । उनले घरजग्गा कारोबारलाई अझ व्यवस्थित गरी व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘घर जग्गा कारोबारलाई चलायमान बनाउनसक्यो भने हाम्रो अर्थतन्त्र एकदमै सबल बन्छ, घरजग्गा कारोबारबाट मोटामोटी मुलुकलाई झन्डै अर्ब हाराहारीको राजश्व प्राप्त भइरहेको छ, यसलाई अलि व्यवस्थित गरेर, व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ, कित्ताकाटलाई अलि व्यवस्थित गर्न पनि आग्रह गर्छु’, उनले भने । उनले नीति नियम निर्माणमा ढिलासुस्ती हुँदा कामहरु समयमै पाउन र पूरुा हुन नसकेको बताए । पुस १२ देखि १५ गतेसम्म मेला सञ्चालन हुनेछ । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ भने मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिनेछ ।
सलिकोको प्रदेश स्तरिय पेशागत दक्षता अभिबृद्धि तालिम सम्पन्न
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कम्पनीले लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा पौष महिनाको ९ र १० गते आयोजना गरिएको कार्यक्रममा ६५ जना भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो । कम्पनीले आफ्ना कर्मचारीको पेशागत क्षमता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीका संचालक गजेन्द्र लाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, प्रदेश प्रमुख, र विभागिय प्रमुखहरुले आ(आफ्नो प्रस्तुतिकरण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रमले कर्मचारिहरुमा ज्ञान र नविन उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बजार बिस्तारका साथै कर्मचारीहरुको क्षयमता अभिबृद्धिलाई समेत प्राथमिकता दिएको देखिन्छ । बजार बिस्तारमा सबै भन्दा ठूलो भूमिका कर्मचारीहरुकै हुने तथ्यलाई मध्यनजर राखि प्रदेश स्तरका कर्मचारीलाई दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
जसरी पनि महशुल उठाएरै छाड्छु : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जसरी पनि डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ग्राहकबाट महशुल उठाएरै छाड्ने अठोट लिएका छन् । बिहीबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् । ‘जसरी भएपनि उठाउँछौं, कुनै पनि निकायबाट नलिनु भनेर भनेको छैन, बिल गरेको रकम लिने हो, भनेरै लाइन काट्ने हो,’ उनले भने । लोडसेडिङ हुनुको कारण असमान वितरण गरेको बताउँदै उनले भने- ‘उद्योगीलाई असमान वितरण गरेको भन्दै आवाज पनि उठेको थियो । उर्जा मन्त्रालयले गठन गरेको एउटा रिपोर्टले २०७० मा असमान विद्युत वितरण भएको भन्दै निष्कर्ष निकालेको थियो, त्योभन्दा अगाडि धेरै गुनासो आएको थियो ।’ कार्यकारी निर्देशक घिसिङका अनुसार २०६५ मा डेडिकेटेड ट्रंक लाइन प्रत्यक्ष उद्योगभित्र जाने लाइन हो । उनले केही सीप नलागेपछि विद्युतको लाइन काट्नु परेको र अझैं काट्ने समेत जानकारी गराएका छन् । ‘९ वटाको काटिसक्यौं, अझै काट्छौं, अब मैले रोकेर पनि रोकिँदैन, विषय अगाडि बढिसक्यो,’ घिसिङ भन्छन् ।
मानवीय त्रुटिका कारण यति एयरलाइन्सको विमान दुर्घटना : प्रतिवेदन
काठमाडौंं । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ । पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । प्रतिवेदन बुझ्दै मन्त्री किरातीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए । रासस
आइएमई पे कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनर रुपमा रहने
काठमाडौं । ‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने भएको छ । ‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश – आन्तरिक पर्यटनको प्रवर्धन’ सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने भएको हो । ‘हङ्गकङ्ग पोखरा’, ‘तगारोमा रूमाल’, ‘लेककी हे माया’, ‘तिमी पारी’, ‘डाँडापारी’ आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक-पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही २०८० पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ । पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनि – एल्फा स्क्वायरले जनाएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा – सामीप्य, आदि सङ्घ-संस्थाले प्रवर्धन गरिरहेका छन् । सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रुपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने कम्पनीले जनाएको छ । कन्दरा ब्यान्डले नेपाली फोक-पप सङ्गीतको क्षेत्रमा पुर्याएको योगदान र नेपाली कला सङ्गीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान – पहिला घरदेश, अनि परदेशको नारालाई हामी आइएमई समूह पनि उत्तिकै गर्विलो तवरले वहन गर्दै कन्दराको प्रत्यक्ष कार्यक्रममा सहभागि भई टिकटको विक्री-वितरण गर्दा हामी सङ्गीतको क्षेत्र, पर्यटनको क्षेत्र, र समग्र नेपालको आर्थिक क्षेत्रमा नै योगदान गरिरहेको महसुस गरेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।