विकासन्युज

किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का नियुक्त

काठमाडौं । किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन् । माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) खड्कालाई सीईओ पदमा नियुक्त गरेको हो । खड्काले माघ ४ गतेदेखि नै लागू हुने गरी निमित्त सीईआको जिम्मेवारी सम्हालेका छन् । यसअघि सीईओ पदमा पर्वतकुमार कार्की थिए । कार्कीलाई सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै उनले लघुवित्तबाट राजीनामा दिएका हुन् ।  

‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’

गलेश्वर । ‘हातका मैला, सुनका थौला के गर्नु धनले ? साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमा रुपक अलङ्कारमार्फत धन कमाउन भोट जान लागेका मदनलाई पत्नी मुनाको मुखबाट अभिव्यक्त गराएको यो पंक्तिले नेपाली समाजको बाध्यकारी विगत र उस्तै वर्तमानको यथार्थतालाई अभिव्यक्त गरेको छ । स्व.महाकवि देवकोटाले देखे भोगेको नेपाली समाज र ६५ वर्षयताको नेपाली समाजमा धन कमाउन विदेसिनै पर्ने प्रवृति र बहाना एकै किसिमको पाइन्छ । खण्डकाव्यको कथाअनुसार व्यापार गरी पैसा कमाउने उद्देश्य लिई घरमा तरुनी स्वास्नी र बुढी आमालाई छाडेर मदन ल्हासा जान्छन् । मदनको धनार्जन गर्ने उद्देश्य बुढी भएकी आमाले बुढेसकालमा सुख प्राप्त गरुन्, मीठोमसिनो जुटोस्, इच्छाएका धार्मिक र सामाजिक/सांस्कृतिक कृत्य पूरा गर्न पाइयोस्, ऋणमुक्त भइयोस् अनि सुख समृद्धिपूर्वक जीवनयापन होस् भन्ने देखिन्छ । करिब ८० वर्षअघि स्व.देवकोटाले आफ्नो कृति मुनामदन खण्डकाव्यको मुख्य पात्र मदनमा धन कमाउन र पारिवारिक कर्तव्य पूरा गर्न विदेशिनै पर्ने जुन बाध्यकारी अवस्था चित्रण गरेका छन् ठ्याक्कै त्यस्तो अवस्था अहिलेको नेपाली समाजमा नभए पनि प्रवृति भने उही रहेको पाइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागका अनुसार सन् २०२३ मा १६ लाख तीन हजार आठ सय, ३६ जना नेपाली विदेशमा पुगेका छन् । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार आठ लाखभन्दा बढी रोजगारीको लागि मात्रै विदेश गएका छन् भने अरु आठ लाख नेपालीहरु अध्ययन तथा अन्यप्रयोजनका लागि विदेश गएका हुन् । के भन्छन् विदेश गएका युवा : कस्तो छ त्यहाँको अवस्था ?  बर्सेनि यतिधेरै नेपालीहरु विदेसिनुको कारण देशमा रोजगार नपाएर, आयआर्जन र जीविकोपार्जनको कुनै सम्भावना नै नदेखेर वा विदेश नगए घर व्यवहार नै चलाउन नसक्ने अवस्था आएर भने होइन । नेपालको स्थायी जागिर नै छोडेर, राम्रैसँग चलेको व्यापार व्यावसाय बन्द गरेर, पुर्खौदेखि कमाउँदै आएको खेतबारी बाँझै छोडेर र आफ्नै गाउँघर र सदरमुकामका स्कुल कलेजमा पढेर ‘ए प्लस’ र ‘ए’ जिपिए ल्याउन सकेका युवायुवतीहरु पनि छोटो समयमा अझ धेरै पैसा कमाउने, छरछिमेकी र साथीभाइभन्दा धनी देखिने र विदेशमा गुणस्तरीय शिक्षा आर्जन गरी स्तरीय जीन्दगी बिताउने उच्च महत्वकांक्षाका साथ विदेशिने गरेको पाइएको छ । हाल अमेरिकामा रहेका म्याग्दीको मङगला गाउँपालिकाका विराज सापकोटाले विदेशमा आएपछि नेपालमा अवसर र सम्भावना नै नदेखेर आएँ भन्नु झुट बोल्नु हो भने । ‘आँट र जाँगर हुने हो भने नेपालमा सम्भावनै सम्भावना छ । नदीको ढुङ्गा बालुवादेखि वनका झाडी र जटिबुटीसम्म पैसैपैसा छ । गाउँमा छँदा ती सम्भावनाहरुलाई पहिचान गर्न सकिएन, विदेश आएर पछुताउनु परेको छ’, सापकोटाले भने । आफ्नो विगत र वर्तमानको अवस्था बुझाउँदै सापकोटाले भने ‘नेपालमा मलाई राम्रै थियो, घर पाइक परेको शिक्षकको जागिर, परिवारसँग बसेर रमाइलैसँग दिनहरु बिताएको थिएँ’, सापकोटाले थपे ‘रु ६४ लाख खर्च गरेर अमेरिका आएँ, यहाँ आएर तीन महिना हण्डर खाएपछि बल्ल काम पाएको छु । महिनाको साढे दुई लाख जति बच्छ, ऋणको व्याज तिर्न ठिक्कै छ ।’ सापकोटाले तल्लोबाटो (गैरकानुनी बाटो) हुँदै अमेरिका आउनुभन्दा आफ्नै गाउँ ठाउँको सानो कमाइमा नै रमाउनु बढी बुद्धिमानी हुने बताए । विदेश सोचेजस्तो सजिलो नभएको बताउँदै सापकोटाले भने, ‘कानुनीरुपमा प्रक्रिया पुर्याएर यहाँ आएकाहरु पनि सन्तुष्ट छैनन् । फेसबुकमा समुद्र किनारमा डुलेको, कारमा घुमेको, रमाएको, मीठामीठा परिकारहरु खाएको, सफा अनि महङ्गा कपडाहरु लगाएको देखिए पनि वास्तविक जीवन भने सोचेभन्दा फरक छ ।’ क्यानडाको ब्रह्मापोटनको कलेजमा अध्ययनरत म्याग्दीकी अंकिता उपाध्यायले पछिल्लो समय (सन् २०२३ सेप्टेम्वर यता) क्यानडामा अध्ययनका लागि आएका विद्यार्थीहरु काम नपाएर घरबाट पैसा मगाएर खाने र कोठा भाडा तिर्ने बाध्यतामा रहेको बताए । ‘यहाँ सन् २०२३ यता आएका नेपालीहरुको बिजोग छ । एक वर्षको फि लगायत अन्य गरी २०/२५ लाख खर्च गरेर अध्ययन र कामका लागि यहाँ आएका नेपालीले कामै नपाएपछि अर्को सेमिस्टरको फि कसरी जम्मा गर्ने, कोठा भाडा कसरी तिर्ने र के खाने रु भन्ने समस्याले पिरोलिएका छन्’ उनले भने, ‘सजिलो छैन विदेश, हामीले दुःख पाए पनि अरुले नछोड्नु होला आफ्नो देश ।’ त्यसैगरी हाल साउदी अरबमा रहेका सुजन मगरले जति राम्रो काम र आकर्षक तलब भनेर विदेश आए पनि मेनपावर कम्पनीले भने जस्तो केही नहुने गरेको बताए । ‘यहाँ १२ घण्टाको काम भए पनि १८ घण्टाको खटाइ हुन्छ, कम्पनीले भनेको जस्तोसुकै कुरा पनि मान्नै पर्छ, आफूले भनेको कुरा कसैले सुन्दैन, बिरामी भएको बेलामा समेत मेडिकलमा जाने छुट्टी पाइँदैन’ मगरले भने, ‘सेफ्टिी एक्युप्मेन्ट सुरक्षित र भरपर्दो नहुने, एग्रीमेन्टको पालन नगरिने, कैयौं विषाक्त रसायन भएको ठाउँमा काम गर्नु पर्ने जस्ता कैयौं समस्यासँग जुधेर काम गर्दा पनि सम्झौताको कागजमा उल्लेख गरिएको पारिश्रमिक नपाउने जस्ता समस्या रहेका छन् ।’ पछुताउनु बाहेक छैन उपाय  अध्ययन होओस् वा रोजगारी जुनसुकै उद्धेश्यले विदेश गए पनि त्यहाँ भनेजस्तो नभएपछि बल्ल नेपालको अवसर र सम्भावनालाई सम्झेर पछुताउनेहरु धेरै छन् । ‘विदेश जान  पाए ‘लाइफ बन्थ्यो’ भन्नेहरु विदेश आएर भनेजस्तो नभएपछि धुरुधुरु रोएको मैले देखेको छु’ हाल अष्ट्रेलियामा रहेका प्रेम खत्रीले भने, ‘मैले यहाँ आएर बुझेँ, पढ्न सक्ने र गर्न सक्ने हो भने नेपालमा अवसरको कमी छैन । आफ्नो देशमा आफ्नै स्वाभिमान हुन्छ । इज्जेत, मान, सम्मान सबै पाइन्छ । दुःख पर्दा आफन्तको साथ हुन्छ, साहे गाहेमा सहयोगी हात हुन्छन् । तर, विदेशमा यी सबै कुराहरु कल्पेर बस्नुबाहेक अरु केही पाइँदैन ।’ विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन र त्यसपछि प्राप्त राजनीतिक परिवर्तनले देशमा प्रशस्तै अवसर र सम्भावनाहरुको ढोका खोलेको भए पनि धेरै नेपालीले ती सम्भावना र अवसरहरुभन्दा उच्च महत्वकांक्षा र विदेश गए छिट्टै धनी बनिन्छ भन्ने बुझाइलाई महत्व दिँदा अहिलेको युवा पुस्ता देश छोडेर विदश उड्ने गरेको उनले बताए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेपछि योग्य व्यक्तिलाई अवसरको कुनै कमी नरहेको बताउँछन् । उनले भने, ‘विदेश गएर प्रशस्तै पैसा कमाउने र छिट्टै धनी बन्ने महत्वकांक्षाले अहिलेका युवाहरुले देशमा सम्भावना छैन भनिरहेका छन् । तर देशमै छन् प्रशस्तै सम्भावनाहरु । हामीले विदेश गएका युवाहरुले फेसबुकमा हालेका समुद्रका किनारमा रमाएका फोटा मात्र देख्छौं, उनीहरुले त्यहाँ भोग्नु परेका समस्या र वाध्यताहरुलाई देख्दैनौ । ती समस्या र वाध्यताहरु हामीले देख्यौं र बुझ्यौं भने विदेश जाने विषयमा हामी एक पटक गहिरिएर सोच्न बाध्य हुन्छौं ।’ नेपाली कांग्रेस म्याग्दीका नेता क्या. मिनबहादुर कार्कीको पनि समान धारणा छ । ‘देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दु्रतरुपमा भैरहेको विकास र उत्पन्न भएका आयआर्जनका अवसरहरुलाई हामीले प्राथमिकतामा राख्नै सकेनौं’ कार्कीले भने, ‘राजनीतिक सङ्क्रिणता हाबी हुँदै गयो, प्राप्त स्वतन्त्रताको सदुपयोगभन्दा दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गयो । युवा पुस्तामा छिटो धनी बन्ने र सुखसयलको जिन्दगी जिउने उच्च महत्वकांक्षाका कारण देश छोडेर विदेश जाने क्रम बढ्दै गएको हो ।’ नेपालमा स्तरीय स्कुल/कलेजहरुको संख्या बढेको छ तर कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या घट्दै जाँदा स्नातक र स्नातकोत्तर तहका कलेजहरु खाली हुँदै गएका छन् । ‘विद्यालयहरुमा गणित, विज्ञान र अंग्रजी विषयका शिक्षकहरुको अभाव उत्पन्न हुन थालेको छ । प्राविधिक शिक्षालयहरुमा निर्धारित कोटा पुरा हुन सकेका छैनन् । चिकित्सा शास्त्र र इन्जिनियरिङ कलेजहरुको अवस्था पनि यस्तै छ’ के वि एकेडेमीका प्रिन्सिपल बिमल शर्माले भने ‘सरकारले शिक्षा क्षेत्रमा यति धेरै लगानी गरेको छ । लोक सेवा आयोग र शिक्षा आयोगले वर्षेनी परीक्षा लिने र पदपुर्ति गर्न थालेको छ । तर युवाहरु भने नेपालमा सम्भावना नै छैन भनेर विदेशतिर जाँदैछन्, यो देशका लागि पनि राम्रो सङ्केत होइन ।’ बाहिरिदै गयो सम्पत्ति र जनशक्ति  नेपाल राष्ट्र वैंकले हालै प्रकाशित गरेको एक तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ । बैंकका अनुसार चालु आव २०८०/८१ को पहिलो पाँचभ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड रुपैयाँ बढी हो । गतवर्ष पाँच महिनामा शिक्षामा २८ अर्ब ८१ करोड रुपैयाँ विदेशिएको थियो । यसरी वर्षेनी देशबाट जनशक्ति र सम्पत्ति दुवै बाहिरिने क्रम बढ्दै जानु देशकै लागि घातक भएको सरोकारवालाहरुको भनाइ रहेको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले देशमा भएका अवसर र सम्भावनाहरुलाई युवाहरुले चिन्नुपर्ने बताउँछन् । उनले भने ‘अब देशमा अवसरको कमी छैन, उच्च महत्वकांक्षा लिनुभन्दा पनि पूरा गर्न सक्ने सपना युवाहरुले देख्नु पर्छ । देशले दक्ष जनशक्ति मागेको छ, अब विदेश होइन आफ्नै गाउँठाउँलाई परिवर्तन गर्नेतर्फ युवाहरु लाग्नुपर्छ ।’ छ महिनामा पाँच सय ३९ जनाको मृत्यु  नियति देवकोटाकै मुनामदन खण्डकाव्यको कथानक जस्तै छ । फरक के छ भने मुनामदनमा  धन कमाउन विदेश (भोट) गएका मदन बिरामी परेर बाटोमा नै ज्यान गुमाउन बाध्य हुन्छन् । मदनलाई एक जना भोटेले घरमा राख्छ,औषधीमुलो गर्छ । सकेसम्मको सहयोग गर्छ तर अहिले विदेशमा त्यस्ता मनकारी व्यक्तिहरु भेटिदैनन् । विदेश गएका कतिपयको काम गर्दागर्दै उपचार नपाएर मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार चालु आवको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीको क्रममा बिरामी तथा अङ्गभङ्ग हुनेको सङ्ख्या दुई सय २१ रहेको छ । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको घटना बढेका हुन् । मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र घाइते हुने गरेका पाइएको छ । रासस

आइएमई पे एपमा १ रुपैयाँको खेल : उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्ट

काठमाडौं । ‘आइएमई पे’ ले यहि माघ महिना देखि आफ्नो एपमा ‘हिले नखेले कहिले’नामक १ रुपैयाँको खेल सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ १ रुपैयाँ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले १ रुपैयाँमा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् । यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने छ । साथै, प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ गते देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५५ अतिरिक्त छुट (१५० रुपैयाँ सम्म) पनि प्राप्त गर्न सक्नेछन् ।

नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष सुवेदीले पुस २६ गते गोपनीयता र इमान्दारीताको सपथ लिएका हुन् । यसअघि टेलिकमको पूर्व पदाधिकारी कृष्ण बहादुर राउत थिए ।

कालीगण्डकी करिडोर : बेनी-जोमसोम-कोरला सडक अन्तिम चरणमा

म्याग्दी । गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई गण्डकीको भाग्यरेखा मानिएको हो । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख धु्रव झाले बताए। ‘छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ’, उनले भने, ‘योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएको छ ।’ रु सात अर्ब ५५ करोड लागत अनुुमान गरिएको योजनाका लागि आव २०७९/८० सम्म रु छ अर्बभन्दा बढी खर्च भएको छ । पर्वतको मालढुङ्गा–बेनी, म्याग्दीको राहुघाट–दाना, मुस्ताङको खन्ती–जोमसोम, जोमसोम–कागबेनी खण्डमा कालोपत्र र चराङ–छोसेर खण्डमा ग्राभेल गर्ने ठेक्काको काममा ढिलासुस्ती भएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए। ‘सङ्घीय सरकारका विभागीय मन्त्री, प्रधानमन्त्री, आयोजनासँग समन्वय गरेर निर्माण व्यवसायीलाई तीन–चार वर्षपछि काममा फर्काइएको छ’, उनले भने, ‘नदीजन्य निर्माण सामग्रीको व्यवस्थापन र निर्माणस्थलमा देखिएका समस्या समाधानका लागि स्थलगत अध्ययन गरेर पहल थालेका छौँ ।’ सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुुर गर्बुजा (खम्बिर), सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतको टोलीले शनिबार सडकको म्याग्दी खण्डको अनुगमन गरेको छ । नदीजन्य निर्माण सामग्रीको अभाव र प्रतिकुूल भूूगोल चुुनौती बनेको छ । सर्वोच्च अदालतको विसं २०७८ असार २९ गतेको आदेशका कारण कालीगण्डकी करिडोरअन्तर्गत गण्डकी प्रदेशमा सञ्चालित पूूर्वाधार आयोजनामा नदीजन्य निर्माण सामग्रीको अभाव भएको छ । सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा निकासीमा रोक लगाएपछि विकास आयोजना निर्माण प्रभावित भएको हो । मन्त्री ज्वालाले स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या समाधानका लागि जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको र मन्त्रालय तहबाट गर्नुपर्ने पहलका विषयमा तत्कालै सहजीकरण गरिने र सडक निर्माणले गति लिने वातावरण बनाउने बताए । टोलीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र सिरुवारीस्थित पहिरोग्रस्त क्षेत्रको पनि अनुगमन गरेको थियो । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिबाट वडा नं ६ पोखरेबगर र भुरुङ तातोपानी क्षेत्रमा तीन किलोमिटर सडक कालोपत्र गर्न थालिएको छ । रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी–जोमसोम–कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो । मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माणकार्य विसं २०७७ हिउँददेखि सुस्ताएको थियो । शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दूरीमा सबबेस र बेस राख्ने काम सकिएको बताए । रघुगङ्गा गाउँपालिकाको राहुपारेबाट बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गाबाट काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सुरु भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गाबाट वडा नं ३ को काभ्रे खण्डमा सडक निर्माणको काम गत महिनादेखि सुरु भएको हो । रासस

पुलचोक-गोन्द्राङ ६ लेन सडकको काम अन्तिम चरणमा

भरतपुर । चितवनको भरतपुरस्थित पुलचोक-गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहले वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म र चौबिसकोठीमा सर्भिस लेन बनाउन बाँकी छ भने अन्य क्षेत्रमा लाइटिङको काम बाँकी छ । उनका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम अगाडि बढेको छ । सो निर्माण कम्पनीले २०७७ माघ २८ भित्र विस्तार गरी सक्नेगरी कामको जिम्मा लिएको थियो । सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ । अन्तिमपटक मङ्सिरमा भदौसम्म सक्नेगरी म्याद थप गरिएको शाहले जानकारी दिए । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी छ दशमलव ०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडकको लागत एक अर्ब ७६ करोड रुपैयाँ छ । भौतिक प्रगति ७५ प्रतिशत भए पनि वित्तीय प्रगती ६५ प्रतिशतमात्र भएको शाहले जानकारी दिए । उनका अनुसार यस सडकलाई यस वर्ष पाँच करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको थियो । बाँकी रकम नपुगेर मन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए । ‘भुक्तानी लगभग ६५ प्रतिशत भएको छ, अझै ४५ करोड रुपैयाँ निर्माण कम्पनीलाई दिन बाँकी छ’, उनले भने, ‘सडक विभागमा फाइल पठाएका छौँ, भुक्तानी छिट्टै हुनेमा आशावादी छौँ ।’ अहिलेसम्म भुक्तानी समयमा नहुँदा सडक विस्तार गर्न समस्या परेको निर्माण कम्पनीले जनाएको छ । फागुनको पहिलो सातासम्म पुलचोकबाट वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्र हुने पुलचोक–गोन्द्राङ छ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङ्गानाले जानकारी दिए । वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म नाला निर्माणकार्य अन्तिम चरणमा पुगेको उनले बताए । सडकसँग जोडएका १४ स्थानमा सडकको पानी फाल्ने, गाडी, बाइक धुने कार्यले सडक निर्माण र गुणस्तरमा असर परेकाले महानगरले सचेत गराएको महानगरका इन्जिनियर साकार लामाले बताए । उनले महानगर प्रमुख दाहालले सडक निर्माणको दैनिक रिपोर्टिङ लिने गरेको जानकारी दिए । बीस दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको लामाले बताए । महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताए । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको प्रमुख दाहालले जानकारी दिए । उनले सडक निर्माणमा देखिएका समस्या समाधानका लागि महानगरपालिकाले सहजीकरण गरेर काम गरिरहेको बताए । पचास मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजना छ । सडकको दायाँबायाँ ११ दशलमलव पाँच–११ दशमलव पाँच मिटरको पिच हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बन्ने छ । रासस

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.८०१३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ ।

यस्तो छ बीवाईडी सीलको तीन भेरिएन्ट

काठमाडौं । बीवाइडीको प्रिमियम इलेक्ट्रिक सेडान सीलको नेपालमा बिक्री सुरु भएको छ । कुल तीनवटा भेरिएन्टमा उपलब्ध यसको सुरुवाती मूल्य १ करोड ५ लाख तोकिएको छ । भेरिएन्ट अनुसार यसमा मोटर, ब्याट्री र फिचर समेत फरक पाउन सकिन्छ । ब्याट्री र रेन्ज सीलमा कम्पनीको आफ्नै ब्लेड ब्याट्री जडान गरिएको छ । यो नयाँ कारको डाइनामिक भेरिएन्टमा ६१.४ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ भने प्रिमियम र पर्फमेन्स भेरिएन्टमा ८२.५६ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । कारको रेन्ज क्रमशः ४६०, ५७० र ५२० किलोमिटर दावी गरिएको छ । मोटर र पावर भेरिएन्ट अनुसार यसमा छुट्टाछुट्टै मोटर पाउन सकिन्छ । जस्तो, डाइनामिक भेरिएन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने प्रिमियमा २३० किलोवाट र पर्फमेन्समा ३९० किलोवाट क्षमताको मोटर दिइएको छ । भेरिएन्ट अनुसार यसको पावर क्रमशः १३५, ३१२ र ५३० पीएस रहेको छ । साथै टर्क पनि क्रमशः ३१०, ३६० र ६७० एनएम रहेको छ । बीवाइडीले यसमा पीएमएसएम मोटर दिएको हो । पर्फमेन्स र विशेषता १८० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने यस कारको डाइनामिक र प्रिमियम भेरिएन्टमा रियल ह्विल ड्राइभ सिस्टम पाउन सकिन्छ भने पर्फमेन्स भेरिएन्टमा अल ह्विल ड्राइभ सिस्टम दिइएको छ । लक्जरी सेडान भएका कारण यसको ग्राउन्ड क्लिरियन्स भने जम्मा १५० एमएम मात्र छ । ११ किलोवाटको चार्जर सपोर्ट गर्ने यो नयाँ कारलाई डिसी फास्ट चार्जरको साहयतामा जम्मा ३७ मिनेटभित्रै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कारमा ४०० लिटरको बुट स्पेस पाउन सकिन्छ भने भेइकल–टु–लोड फिचर पनि उपलब्ध भएका कारण कारबाटै अन्य इलेक्ट्रोनिक सामान समेत चार्ज गर्न मिल्छ । महत्वपूर्ण फिचर बीवाइडी सीलमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोड अप्सन, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम विथ एचयूडी, पीएम २.५ एयर फिल्टर, फ्ल्याट–बटम स्टेयरिङ ह्विल, ठूलो एसी भेन्ट, वायरलेस स्मार्टफोन चार्जरलगायत फिचर्स पाउन सकिन्छ । साथै यसमा ६ वटा एयर ब्याग, एविएस, ईबीडी, इएससी, ट्रयाक्सन कन्ट्रोल सिस्टम र एडास लगायत अन्य थुप्रै सेफ्टि फिचर राखिएको छ । यो नयाँ कारले यूरो एनक्यापको सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । मूल्य बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यसको डाइनामिक भेरिएन्टलाई १ करोड ५ लाख, प्रिमियमलाई १ करोड ३९ लाख र पर्फमेन्स भेरिएन्टलाई १ करोड ८५ लाख निर्धारण गरेको छ । यो कारले नेपाली बजारमा टेस्ला, किया ईभी६ र हुन्डाई आयोनिक ५ संग प्रतिस्पर्धा गर्ने देखिन्छ ।