आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिनुभएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिएका थिए । पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुन: सुरु गरेको छ । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट महानुभावले शुभकामना सन्देश दिएका छन् । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । राष्ट्रनिर्माताले त्यसबेला दिएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ सङ्घसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् । उनको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको हो ।
१५ प्रतिशत लाभांश पारित गर्न हिमालयन एभरेष्टले डाक्यो साधारणसभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले ३०औँ वार्षिक साधारणसभा माघ २५ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सञ्चालकको सुविधा तथा भत्ता वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । रिक्त रहेको विज्ञ स्वतन्त्र सञ्चालकको नियुक्ति र संस्थापक सञ्चालकको नियुक्ति गरी अनुमोदन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि माघ १४ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
कक्षा १० को एसइई खारेज नगर्न बोर्डको आग्रह
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ । विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिने क्रममा आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले हाल सञ्चालन भइरहेको परीक्षालाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिए । उनले हरेक दुई/दुई वर्षमा बाह्य परीक्षा हुनुपर्ने भएकाले कक्षा ८ पछि एकैपटक कक्षा १२ को परीक्षा लिने गरी राखिएको विधेयकको प्रस्ताव उचित नभएको बताए । कक्षा १० मा बोर्ड परीक्षा नलिँदा कक्षा १२ मा अनुत्तीर्ण विद्यार्थीको दर झन बढ्नसक्ने र अनुत्तीर्ण हुँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नसक्ने औंल्याउँदै शर्माले परीक्षाको स्तर र स्वीकार्यता नभएमा त्यसले अन्तर्राष्ट्रियस्तरमा मान्यता नपाउने भएकाले कानुन बनाउँदा त्यसमा ध्यान दिन आग्रह गरे । समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोर्डका पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जनको प्रक्रिया जारी रहेको बताए । उनले स्थानीय तथा मातृभाषाका पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र शिक्षकको क्षमता विकास गर्नुपर्नेमा जोड दिए । महानिर्देशक अर्यालले पाठ्यक्रममा राष्ट्र, राष्ट्रियता र मूल्यमान्यताका विषयवस्तुलाई थप्नुपर्ने महसुस गरिएको उल्लेख गर्दै हरेक पाँच÷पाँच वर्षमा पाठ्यक्रम अनिवार्य परिवर्तन हुने गरेको बताए । बैठकमा सांसदहरुले पाठ्यक्रमले विद्यार्थीलाई देशभक्तिको भाव, सीप र सक्षमता तथा रोजगारी दिन सक्नुपर्नेमा जोड दिँदै युवा विदेश पलायनका कारण कतै पाठ्यक्रम र परीक्षाको कमजोरी त होइन भन्ने प्रश्नमा अनुसन्धान गर्न माग गरे । उनीहरुले सरुवा रोगको सचेतना, ट्राफिक नियम, सामाजिक, सांस्कृतिक र धार्मिक मूल्य, मान्यताका विषयलाई पाठ्यक्रममा समावेश गर्न पनि आग्रह गरे । समितिका सभापति भानुभक्त जोशीका अध्यक्षतामा भएको बैठकमा सदस्य डा. चन्द्र भण्डारी, बद्री पाण्डे, डा. तोषिमा कार्की, विद्या भट्टराई, सरिता भुसाल, डा. कालुराम राईलगायतले आमन्त्रित पदाधिकारीसँग जिज्ञाशा राख्दै विद्यालय शिक्षालाई गुणस्तरीय र सीपमूलक बनाउन पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार हुनुपर्ने बताएका थिए । रासस
फ्री भिसा फ्री टिकटमा करोडौंको चलखेल, कामदारले तालिमै नलिई बुझाउँछन् रकम
काठमाडौं । देशमा रोजगारी नपाएर विदेश जाने नेपाली कामदारहरू वैदेशिक रोजगार व्यवसायी र तालिम प्रदायक संस्थाहरूबाट ठूलो मात्रामा ठगीमा पर्ने गरेका छन् । देशमा वर्षेनी खरबाैं भित्र्याउने कामदारहरू भिसा प्रकृयादेखि तालिमका नाममा ठूलो रकममा ठगीमा पर्दै आएको खुलेकाे छ । तर, यस विषयमा सरकार मुखदर्शक बनेकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले फ्री टिकट फ्री भिसामा विदेश जाने कामदारहरुले लाखौं रुपैयाँ रोजगार व्यवसायीलाई बुझाउने गरेको र अभिमूखिकरण तालिम समेत नलिई पैसा दिएर प्रमाणपत्र लिने अवस्था रहेको बताए । बिहीबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारमाथि भएको लुट र त्यसले सिर्जना गरेको समस्याका बारेमा बताएका थिए । वैदेशिक रोजगामारीमा जाने मजदुरहरूले पूर्व अभिमूखिकरण तालिम लिनुपर्ने व्यवस्था छ । अभिमूखिकरण तालिम कार्यविधि २०७६ अनुसार तालिम प्रदायक संस्थाले ७ सय रुपैयाँ लिएर वैदेशिक रोजगारमा जाने कामदारलाई २ दिनको तालिम दिनुपर्ने हुन्छ । तर, म्यानपावर व्यवसायी र तालिम प्रदायक संस्थाले पैसा मिलेमताेमा खाएर कामदारलाई तालिम नै नदिई प्रमाणपत्र दिने गर्दै आएका छन् । जसले गर्दा कामदार ठगिने मात्रै नभएर रोजगारीको लागि विदेश जानुपूर्व जान्नुपर्ने आधारभूत ज्ञानबाट समेत बञ्चित हुनपुग्दा उनीहरूको भविष्य नै जोखिममा पर्ने गरेको छ । मन्त्रालयका सचिव भण्डारीको समेत सहभागितामा पछिल्लो समयमा भएको अभिमूखिकरण तालिम अनुगमनमा १५ वटा संस्थाहरूले म्यानपावर व्यवसायीसँग मिलेमतो गरेर प्रमाणपत्र दिएको भेटिएको थियो । ती संस्थाहरुलाई कारबाहीको प्रकृया अगाडि बढाइएको उनले समितिको बैठकमा बताए । ‘अघिल्लो महिनामा १५ वटा प्रशिक्षणको अनुगमन गरेँ, तालिममा कामदार सहभागी छैनन्’, उनले भने, ‘४ सय म्यानपावरले लिने र ३ सय अभिमूखिकरण दिने संस्थाले लिएर प्रमाणपत्र विभागमा पेश गर्ने अवस्था छ ।’ उनका अनुसार वैदेशिक राेजगारीकाे शिलशिलामा जाने धेरै नेपालीहरू सूचनाको कमीकाे आधारमा दुःख पाउने गरेका छन् । पछिल्लो समय साउदी अरबमा काम गर्न गएका केही नेपाली कामदारले एबीसीडी अक्षर नै नजानेका कारण कुटाई खाएर कामबाट निकालिएको उनले बताए । वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै नेपालबाट औपचारिक रूपमा श्रम स्वीकृत लिएर ७ लाख १३ हजार ३ सय २७ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । जसमध्ये जिटुजी प्रकृयामा जम्मा २१ हजार ४ सय ६ जना मात्रै गएका थिए । बाँकी व्यक्तिगत र संस्थागत व्यवसायीमार्फत गएका थिए । विभागको तथ्यांकअनुसार अघिल्लो वर्ष विदेश गएका मध्ये ४ लाख ९४ हजार २ सय २४ जना नयाँ श्रम स्वीकृति लिएर गएका हुन, जसले अभिमुखिकरण तालिम लिएर जानुपर्ने हुन्छ । अहिले नेपालमा ७ सय बढी म्यानपावर व्यवसाय सञ्चालनमा रहेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालय तथा विभागको तर्फबाट अधिकांश व्यवसाय तथा तालिम प्रदायक संस्थामा अनुगमन हुने गरेको छैन । जसले गर्दा अघिल्लो आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीमा गएका ४ लाख बढी कामदार अभिमूखिकरण तालिमको नाममा ठगिएको हुनसक्ने मन्त्रालयको पछिल्लो अनुगमनमा देखिएको नतिजाको प्रवृत्तिले देखाएको छ । जसमार्फत म्यानपावर व्यवसायी तथा तालिम प्रदायकहरूले २८ करोड बढी रकम कामदारमार्फत् बिना तालिम असुल गरेको आशंका गर्न सकिन्छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । वैदेशिक रोजगारमा गएका मध्ये अधिकांशले सम्बन्धित देशको कानुन, काम लगायतका आधारभूत विषयमा जानकारीको अभावमा ज्यान गुमाएका छन् । म्यानपावर र तालिम सेवा प्रदायकको मिलेमतोमा सरकारपक्षले नजरअन्दाज गर्दा अझैपनि लाखौं कामदारहरुरूको भविष्य जोखिममा छ । फ्री भिसा फ्री टिकटमा लाखौं असुली तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले केही देशमा फ्री टिकट फ्री भिसा लागू भएको घोषणा गरेका थिए । मलेसिया, साउदी अरब, कतार, युएई, ओमान, बहराइन र कुवेत जाने कामदारले म्यानपार व्यवसायीलाई १० हजार रुपैयाँभन्दा धेरै सेवा शुल्क बुझाउन पर्दैन । तर, अधिकांश म्यानपावर व्यवासायीले कामदारसँग एक लाख रुपैयाँभन्दा धरै बुझ्ने गरेको मन्त्रालयका सचिव भण्डारीले बताएका छन् । उनले व्यवसायीहरूलाई कामदारसँग लिने गरेको अवैध रकमको श्रोत देखाउन समेत समस्या भएको बताए । ‘नगदमा लिन्छन्, जसको प्रमाण भेटिँदैन’, सचिव भण्डारीले संसदीय समितिको बैठकमा भने । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिँह भण्डारीले शून्य लागतमा वैदेशिक सेवाको व्यवस्था हुन नसक्ने बताएका छन् । उनले कुनै न कुनै पक्षले यसको शुल्क बेहोर्नुपर्ने भन्दै आफू शून्य लागतको पक्षमा नरहेको बताए ।
टेलिकमको विन्टर अफर पुस २७ गतेदेखि लागू हुने
काठमाडौं । नेपाल टेलिकमले पुस २७ गतेदेखि लागू हुने गरि विन्टर अफर २०८० ल्याएको छ । टेलिकमले यो अफरअन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो । यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई थप आकर्षक बनाउँदै टेलिकमले १ दिनको समयावधिका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध गराउने भएको छ । त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रुपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुने टेलिकमले जानकारी गराएको छ । स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन-नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ । यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ । विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।
एनएमबि बैंकको सञ्चालकमा ५ जना निर्वाचित
काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीबाट दुई जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी कूल ५ जना निर्वाचित भएका हुन् । बैंकको संस्थापक सेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । त्यस्तै, एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाइएको बैंकले जानकारी गराएको छ । बैंकको २८औं वार्षिक साधारण सभा पुस २६ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । बैंकले २०८० असारसम्ममा ३ अर्ब २२ करोड रुपैयाँ खुद नाफा, २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन र एक खर्ब ९७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।
शोधनान्तर स्थिति २ खर्ब १० अर्ब र चालु खाता डेढ खर्बले बचतमा
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको ५ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँले धनात्मक रहेको थियो ।
५ महिनामा नेपालीले पढ्न भन्दै विदेश लगे ४७ अर्ब ३५ करोड
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा नेपालीले विदेशमा पढ्न भन्दै ४७ अर्ब ३५ करोड रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीहरुले अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर रकम शिक्षाको नाममा बाहिर लगेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा नेपालीहरुले विदेशमा अध्ययन गर्नको लागि भन्दै २८ अर्ब ८१ करोड रुपैयाँ बाहिर लगेका थिए ।