विकासन्युज

नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, दुई लघुवित्तसहित तीन कम्पनीको सेयरमा सर्किट

काठमाडौं । बुधबार झिनो अंकले बढेको नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ । बिहीबारको सेयर मूल्य मापक नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबारको बजारमा एक अर्ब ६५ करोड रुपैयाँ बढी सेयर कारोबार भएको छ । बुधबार एक अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार बढेर २ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । नेपाल पुनर्बीमा कम्पनीका संस्थापकले धमाधम सेयर बिक्री गरेसँगै बिहीबारको कारोबार रकम बढ्नमा टेवा पुगेको हो । एकैदिन कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । परिसूचक र कारोबार रकम दुबै बढेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमध्ये त्रिशुली जलविद्युत्को १० प्रतिशतले बढेर प्रतिकित्ता २९४.८० रुपैयाँ, समाज लघुवित्तको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १३६.८० रुपैयाँ र सीवाईसी नेपालको सेयर मूल्य ९.९१ प्रतिशतले बढेर प्रतिकित्ता ९८४ रुपैयाँ पुगेको छ । टप गेनरको शीर्ष स्थानमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ७.८१ प्रतिशतले घटेर प्रतिकित्ता ७९१ रुपैयाँमा झरेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका अधिकांश समूह हरिया देखिएका छन् । ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह बढेर हरिया देखिएका हुन् ।

नेपाल रिबाट बाहिरिए विशाल ग्रुप र नेपाल इन्स्योरेन्स, एक अर्बको कारोबार

काठमाडौं । दोस्रो बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको पौने १ अर्ब रुपैयाँबराबरको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार बिहीबार कम्पनीको २९ लाख ७९ हजार ४२४ कित्ता सेयर खरिद बिक्री हुँदा ८६ करोड ५९ लाख ५३ हजार २ सय रुपैयाँबराबरको कारोबार भएको हो । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स र विशाल ग्रुपले बिक्रीमा राखेको नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर नै बिहीबार नेप्सेमा कारोबार भएको हो । पछिल्लो समय विभिन्न तीन वटा कम्पनीले नेपाल रिइन्स्योरेन्सको सेयर बिक्री गरिरहेका छन् । नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र विशाल ग्रुपले कम्पनीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेका थिए । जसमध्ये नेपाल इन्स्योरेन्स र विशाल ग्रुपको सेयर पूर्ण रुपमा बिक्री भएको बुझिएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्सले बिक्रीमा राखेको सेयर हिमालयन लाइफले खरिद गरेको हो । हिमालयन लाइफले कम्पनीको १९ लाख ७९ हजार २४२ कित्ता सेयर खरिद गरेको हो । उक्त सेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले खरिद गरेको हिमालयन लाइफ स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त सेयर कम्पनीले ५९ करोड ३८ लाख २७ हजार २ सय रुपैयाँमा खरिद गरेको हो । विशाल ग्रुपले भने प्रतिकित्ता ३० रुपैयाँसम्म कम मूल्यमा सेयर बिक्री गरेको छ । विशाल ग्रुपले बिक्रीमा राखेको सेयर एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको स्रोतले बताएको छ । विशाल ग्रुपले १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । विशाल ग्रुपले बिक्रीमा राखेको संस्थापक सेयर छुट्टाछुट्टै मूल्यमा बिक्री भएको छ । नेप्सेका अनुसार प्रतिकित्ता २८० रुपैयाँका दरले २ लाख ७५ हजार ४५० कित्ता, प्रतिकित्ता २७८ रुपैयाँमा ५ लाख कित्ता र प्रतिकित्ता २७० रुपैयाँमा २ लाख २४ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएको हो । विशाल ग्रुपले प्रतिकित्ता २८० रुपैयाँका दरले बिक्री गर्दा ७ करोड ७१ लाख २६ हजार रुपैयाँ, प्रतिकित्ता २७८ रुपैयाँमा बिक्री गर्दा १३ करोड ३९ लाख ९० लाख रुपैयाँ र प्रतिकित्ता २७० रुपैयाँमा बिक्री गर्दा ६ करोड ६ लाख २८ हजार ५ सय रुपैयाँ असुल गरेको छ । यस आधारमा ग्रुपले कम्पनीको सेयर बिक्रीबापत् २७ करोड ६७ लाख ५४ हजार ५ सय रुपैयाँ संकलन गरेको हो । विशाल ग्रुपले पहिलो पटक प्रतिकित्ता ३३५ रुपैयाँमा १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । तर, सो मूल्यमा कुनै पनि लगानीकर्ताले सेयर खरिद गर्न तयार नभएपछि प्रतिकित्ता २७० रुपैयाँका दरले सेयर बिक्रीमा राखेको थियो ।

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो । सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारंगा सुवेदीका नाममा छ, टेकप्रसाद ढुंगानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए । उनका अनुसार सिफारिस भएका न्यायाधीशमा महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी परेको छैन । समितिका सदस्यहरुले उजुरीउपर र कार्ययोजनाको विषयमा विस्तृतरुपमा अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेपछि अध्ययन समितिले सिफारिस भएका न्यायाधीशहरुको सुनुवाइका लागि यही मंसिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, आजको बैठकमा सुनुवाइका लागि मङ्सिर २९, आगामी पुस १ र २ गते दुई-दुई जनाको गर्ने निर्णय भएको हो । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो । पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार संसदीय सुनुवाइ समितिको आजको बैठकले पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस हुनु भएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने भएको छ । समितिका सभापति जबराले आज उनीविरुद्ध एक उजुरी परेको जानकारी दिँदै उनको सुनुवाइ भोलि (शुक्रबार) २ः३० बजेका लागि तय भएको जानकारी दिए । बैठकमा मुलुक आर्थिक संकटमा परिरहेको अवस्थामा के कारणले त्यहाँ दूतावास खोल्नुपरेको हो सोको कारणबारे समितिका सदस्य महेश बर्तौलाले सरकारका तर्फबाट जानकारी गराउनुपर्र्ने माग गरेका थिए । सोही विषयमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विषयमा परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर छलफल गर्नुपर्ने बताए । उक्त विषयलाई लिएर समितिका सभापति जबराले राजदूतको सुनुवाइ हुनुभन्दा अगाडि परराष्ट्रमन्त्रीलाई बोलाएर उक्त विषयमा जानकारी लिने बैठकमा जानकारी दिए । रासस

थप सुरक्षित र व्यवस्थित बन्दै ठमेल क्षेत्र, एकैपटक जडान भए ८० वटा सिसी क्यामरा

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसी क्यामरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामरा जडान सुरु गरिएको जानकारी दिए । अध्यक्ष शर्माले ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० सिसी क्यामरा जडान गरिएको बताए । ‘चार ठूला क्यामरासहित एक सय १२ सिसी क्यामरा जडान गर्नेगरी काम भइरहेको छ, हाल ८० क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ’, अध्यक्ष शर्माले भने । ठमेल क्षेत्रभित्र सिसी क्यामरा जडान गर्न यसअघि काठमाडौं महानगर प्रहरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि सिसि क्यामराले सहयोग पुग्ने बताए । विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ । यस्तै परिषद्ले ठमेलभित्रका प्रत्येक गल्लीलाई कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहलकदमी लिँदै आएको छ भने प्रत्येक बिजुलीका खम्बामा सडक बत्ती जडानको कामलाई समेत अगाडि सारेको छ ।

खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा गौतम नियुक्त

काठमाडौं । सरकारले खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । साथै बैठकले आयोगको सदस्यमा सदस्यमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको छ । अध्यक्षमा नियुक्त भएका गौतमसँग ललितपुर महानगरपालिकामा विभागीय प्रमुख, काठमाडौं उपत्यका मेयर्र फोरमको प्रमुख कार्यकारी अधिकृत (सीइओ), काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा प्रबन्ध निर्देशक, एडीबीको व्यक्तिगत परामर्शदाता लगायतका क्षेत्रमा काम गरेको अनुभव छ । खानेपानी मन्त्रालयले गत जेठ १५ गते खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्तिको लागि दरखास्त आव्हान गरेको थियो । मन्त्रालयको सोही आह्वानअनुरुप गौतम खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदमा नियुक्त भएका हुन् । कानूनअनुसार आयोगका पदाधिकारीको कार्यकाल ४ वर्षको हुनेछ । आयोगले देशभरीको खानेपानीको गुणस्तरको आधारमा मूल्य निर्धारण गर्ने र गुणस्तर समेत हेर्ने काम गर्छ ।

साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती

काठमाडौं । विश्वमै ट्रेकिङ (पदयात्रा)का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । नेपालमा ट्रेकिङको सम्भावना र महत्व देखेर नै विश्वका नागरिक यहाँ यसैका लागि आउने गर्दछन् । तर पनि यसको अस्तित्व जोगाउन भने हम्मेहम्मे परिरहेको देखिन्छ । अर्कातर्फ साहसिक पर्यटन भएकाले पनि व्यक्तिगत शारीरिक तथा स्वास्थ्य समस्या अर्को ठूलो चुनौती हो । जोखिम मोलेरै गर्ने यात्रा हो ट्रेकिङ । यसबाट प्राप्त हुने मजा भने हरेक व्यक्तिले फरकफरकरुपमा लिन सक्दछन् । प्रकृतिले दिएको अनुपम उपहारको फाइदा उठाइरहँदा त्यसको संरक्षणमा जुट्नु सम्बद्ध निकायको दायित्व हो । तर पनि यसको सट्टा पदमार्ग रुट एकपछि अर्को गरी खण्डहर बनउने काम जारी छ । यसका कारण नेपाली पर्यटनको मौलिकता हराइरहेको छ। सडक निर्माणका कारण अर्गानिक ट्रेकिङ रुट हराउँदैछन् । कतिपय स्थानमा न्यूनतम पूर्वाधारको पनि अभाव छ । जथाभावीरुपमा शुल्क उठाउने प्रवृत्ति र आधुनिकताका नाममा अघि सारिएका निर्माण र व्यवहारले ट्रेकिङ क्षेत्रको मानमर्दन गरिरहेको पनि देखिएको छ । त्यसमा पनि व्यवसायीका कतिपय नकारात्मक गतिविधिलेसमेत असर गरिरहेको त छँदैछ । जे भिल नेपाल ट्रेकिङ एण्ड एक्सपेडिसनका सञ्चालक होमनाथ भट्टराई शुुल्क तिरेअनुसार चाहिने खास पूर्वाधार नभएकाले पैसा उठाउने मात्रै नीतिले समस्या परिरहेको बताउँछन् । उनका अनुसार अन्नपूर्णमा परमिट लिन्छ। लाङ्टाङ, मनास्लु पनि छ ।  मुस्ताङमा त ५०० अमेरिकी डलर नै लिन्छ । डोल्पोमा पनि प्रतिदिन शुल्क लिने गरेको छ। त्यो सबै संरक्षण क्षेत्रले लिन्छ । तर पूर्वाधार केही नभएको उनले बताए । टानका सचिवसमेत रहेका उनले भने, ‘बाटो अलिअलि बनाएका छन् अरु केही छैन । अप्ठ्यारो पर्दा हेलीमा उठाएर लैजानेभन्दा अरु विकल्प नै छैन । त्यसरी पैसा लिने गरेपछि बीमा पनि गरे हुन्थ्यो । पर्यटनलाई केन्द्रित गरेर सहयोग गरौँ भन्ने नै देखिँदैन । सल्लाह दिन खोज्यो कुन पार्टीको मान्छे हो भनेर हेर्ने गरिन्छ ।’ उनका अनुसार मनास्लु जानुपर्यो भने त्यसको छट्टै कर छ, अलिकती अन्नपूर्ण छुन्छ, त्यहाँ छुट्टै लिन्छ । लजका आफ्नै मूल्य छन् । दुई लिटर पानी उमालेर दिएको रु पाँच सय तिर्नुपर्छ । एउटा अण्डाको रु पाँच सय तिरेर खानुपर्ने अवस्था पनि छ । उनले विदेशको अनुभव सुनाउँदै बाहिर पैसा लिने गरे पनि त्यहीअनुसारको पूर्वाधार राम्रो हुने गरेको र सुविधा दिने गरेको बताए । अहिले त धेरै ठाउँमा बाटो पुगिसकेकाले त्यो ठाउँमा ट्रेकिङ हुन्न । रुट पनि सकिने अवस्थामा छन् । नयाँ रुट खोज्नुपर्ने र गाडी हिँड्ने रुट फरकफरक हुनुपर्ने उनको सुझाव छ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अनुसार ट्रेकिङ नेपालको उत्कृष्ट गन्तव्य हो । धेरै पर्यटक यसैका लागि नेपाल आउँछन्। तर सम्भावना भएर पनि चुनौती थपिँदै गएको टानको भनाइ छ । यो मौसममा मनमोहक दृश्य देखिन्छ तर हिमपात सुरु भएकाले प्राकृतिक चुनौती पनि उत्तिकै छ। टानका महासचिव विनोद सापकोटाका अनुसार यसपाली अब ट्रेकिङको याम सकिने क्रममा छ । सेप्टेम्बर, अक्टोबर नोभेम्बर, मार्च, अप्रिल, मे मुख्य ‘सिजन’ हो । तर अहिले नजाने भन्ने होइन । विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटक बढी गइरहेका छन् । सावधानी अपनाउँदा भने ट्रेकिङ गर्नलाई जुनसुकै समयमा पनि समस्या नहुने उनी बताउँछन् । त्यसरी जाने पनि छन् । अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनोमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा बेसक्याम्प, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा क्षेत्र ट्रेकिङका लागि राम्रा गन्तव्य हुन् । नेपालमा अनुमानित दुई लाख बढीले ट्रेकिङ गर्ने गरेका बताइन्छ तर यकीन तथ्याङ्क भने छैन । नेपालमा ट्रेकिङ क्षेत्रमा पनि पर्यटक बढ्न थालेकाले व्यवसायी हर्षित भएका छन् । व्यवसायी संसारको सबैभन्दा राम्रो ट्रेकिङ गन्तव्य नेपाल भएको दाबी गर्छन् । नेपालमा अझै पनि दुई सय ५० जति सम्भावित ट्रेकिङ क्षेत्र रहेका बताइन्छ। त्यसमध्ये नौ/१० वटाबाट मात्र फाइदा लिन सकिएको छ । अन्नपूर्ण, सगरमाथा, लाङ्टाङ, मुस्ताङ अनि डोल्पालगायत आकर्षक गन्तव्यका रुपमा चिनिन्छ । केही नयाँ रुटको प्रचार हुन सकेको छैन । चिसोमा ट्रेकिङः मजा र जोखिम दुवै केही दिनदेखि हिमपात भएको र चिसो बढी हुन थालेकाले यो बेलामा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाले बताए । विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ। हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित छ भने कतिपय ठाउँमा यातायातसमेत अवरुद्ध हुन पुगेकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारहरुले बताउँछन् । यसपाली गत वर्षकोभन्दा चाँडो चिसो बढेकाले जाडो बढी नै हुने अनुमान गरिएको छ । तपाईमा बाक्लो हुस्सु लागेर चिसो बढ्ने क्रममा रहेको छ । देशैभरको मौसम चिसो हुँदा प्रत्यक्ष प्रभाव ट्रेकिङ क्षेत्रमा पनि हुन्छ । ट्रेकिङको मौसम करिब सकिएको भए पनि साहसिक पर्यटक नियमितजसो नै जाने गर्छन् । अहिले पनि सयौँ पर्यटक ट्रेकिङमा छन् । महासचिव सापकोटा हिमपात भएसँगै ठूला हिमालमा हिउँ थपिने र दिउँसो घाम लागेर हिमपहिरो आउने, हिमपात हुने बताउँछन् । यस्तो समयमा बढी जोखिम हुन्छ। त्यसैले त्यस्तो जोखिम क्षेत्र पहिचान गरेर हिँड्नुपर्छ। अनुभवी व्यक्ति विना ट्रेकिङ जानु हुन्न । हिमाली क्षेत्रबाहेक अन्य क्षेत्रमा जाँदा पनि चिसोबाट जोगिने उपायसहित जाँदा राम्रो हुन्छ। ‘यसरी जाँदा कपडा पनि क्षेत्रअनुसार सुहाउँदो लगाउनुपर्छ, हिउँ परेर बाटो पुरिएको हुनसक्छ, बाटो चिनेको मान्छेसँग हिँड्नुपर्छ । पर्यटक एक्लै पनि हिँड्ने गर्छन्, त्यसरी हिँड्नु थप जोखिम हुन्छ’, सापकोटा भन्छन्, ‘यतिबेला माथिल्लो लेयरमा हिउँ पर्छ । एउटा लेयर जमेर बसेको हुन्छ । त्यसमाथि नयाँ हिउँ गएर थपिन्छ, जब घाम लाग्छ, अनि पानी छिरेर लेयर छुट्याइदिन्छ र माथिल्लो भाग झर्नसक्छ त्यसकारण हिउँ खस्ने सम्भावित क्षेत्र हो भनेर पहिचान भएका व्यक्ति लिएर जानुपर्छ ।’ त्यहीअनुसार हिउँमा हिँड्न मिल्ने जुत्ता, हिउँबाट जोगिने कपडा लगाउनुपर्ने उनको सुझाव छ। नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य एवं कोरियन आल्पाइन फेडेरेशनका नेपाल प्रतिनिधि ङावा ङिमा शेर्पा मनोराम दृश्य हेर्ने पर्यटकका लागि अहिले उपयुक्त मौसम भए पनि जोखिम भने बढी हुने बताउँछन् । उनका अनुसार यस्तो बेलामा हिमपहिरो आउने सम्भावना हुनेहुँदा बिहानै घाम लाग्नुभन्दा पहिला नै गन्तव्यमा पुग्नुपर्ने हुन्छ। ‘बेलुका चिसोले हिउँ सेट भएको हुन्छ । दशदेखि ४ बजेसम्म हिउँ पग्लिँने हुँदा जोखिम बढी हुन्छ । त्यही भएर पथप्रदर्शकले ख्याल गर्नुपर्यो । अनुभवी पथप्रदर्शक ‘गाइड’को निर्देशनमा हिँड्नुपर्छ’, ट्रेकिङ क्षेत्रका अनुभवी शेर्पा भन्छन्, ‘अर्को जोखिम भनेको हिउँ परिहाल्यो भने बाटो भुल्न सक्छ, खाल्डोमा पर्न सकिन्छ । अनि हिउँ परिरह्यो भने चिसो बढेर विरामी बनाउन सक्छ । कपडा न्यानो लगाउनुपर्यो खाना त्यहीअनुसार तातो खानुपर्छ र बासस्थानको पनि सोहीअनुसार व्यवस्थापन गर्नुपर्छ।’ उनले यो समयमा होटल पनि बन्द गरिने भएकाले राम्रो अध्ययन गरेर होटल छन्, छैनन् सबै यकीन गरेर मात्रै पदमार्गमा जानुपर्नेमा जोड दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले चिसो बढेकाले विशेष गरी ट्रेकिङमा जानेहरुले सावधानी अपनाउनुपर्ने जनाएको छ । तराई क्षेत्रमा हुस्सु बढ्न थालेको छ। शीतलहरसमेत सुरु हुने भएकाले अब हिमाली क्षेत्रको हिमपात, तपाई क्षेत्रको शीतलहर र पहाडी क्षेत्रको उच्च चिसोबाट जोगिन विपद् व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ। प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाडो छल्न आगो ताप्ने क्रममा आगलागी हुने भएकाले त्यसतर्फ पनि ख्याल गर्न अनुरोध गरेका छन् । जनस्वास्थ्यविद्को सुझाव जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेका अनुसार ट्रेकिङमा जाँदा ठूलो कुरा अक्सिजनको अभाव हुन्छ । जति उचाइमा जान्छौँ अक्सिजनको मात्रा कम हुने गर्छ । जाडोमा चिसो पनि धेरै हुन्छ। त्यसकारण पर्याप्त तयारी गर्नुपर्छ । श्वाससम्बन्धी वा दीर्घ रोग छ भने पर्याप्त औषथि लैजान भुल्नु हुन्न । हिमपात, हिमपहिरा खस्ने र बाटो पुरिने पनि हुन्छ। यस्ता विषयमा पहिले नै ध्यान दिनुपर्छ। यस्ता ठाउँमा जाँदा हिमाल चढिरहेका विज्ञ पथप्रदर्शकसँगै जानुपर्ने हुन्छ । हिमाल चढ्दा धेरै दुर्घटना हुने गरको छन्। ‘चिसोले, अक्सिजनको कमीका कारण विभिन्न समस्या आउने, निलो भएर झमझमाउने, अचेत हुने, ‘सेन्स’ हराउने पनि हुन्छ । जति तापक्रममा जान्छौँ, त्यहीअनुसारका कपडा लगाउनुपर्ने हुन्छ । अक्सिजन पनि आवश्यकताभन्दा बढी लिएर जाँदा राम्रो हुन्छ’, डा पाण्डेले भने । हिमपात नहुने क्षेत्रमा तातोपानी र तातो खाना खानुपर्छ । रुघाखोकी लाग्ने हुँदा चिसोबाट जोगिने र औषधि लैजाने गर्नुपर्छ। श्वास फेर्न समस्या हुनसक्ने भएकाले त्यहीअनुसारको तयारी गर्नुपर्छ र चिप्लिने सम्भावना हुने भएकाले त्यहीअनुसारका कपडा र जुत्ता प्रयोग गर्नुपर्छ । यस्तो अवस्थामा एक्लै नभई समूहमा हिँड्न पनि उनले सुझाव दिन्छन् । यस्तो छ मौसम हाल नेपालमा पश्चिमी वायुका साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ्ग’ नामक सामुन्द्रिक आँधीकोसमेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, मधेस प्रदेश साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाइएको छ । कोशी प्रदेशका र मधेस प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । काठमाडौँको न्यूनतम तापक्रम यसपाली ७.४ सम्म झरिसकेको छ । जोमसोममा सबैभन्दा कम माइनस ५।५ डिग्रीमा तापक्रम झरेको छ । दोलखाको जिरीमा १ डिग्री, जुम्लामा माइनस ३.८ सम्म झरेको छ । मनाङमा दैनिक हेर्ने स्टेसन नभएकाले कति भनेर यकिन भन्न सकिने अवस्था नभएको विभागले जनाएको छ । चिसो बढ्ने क्रममा रहेको जनाइएको छ। रासस

सिसडोल ओखरपौवाको फोहोरलाई मोहरमा परिणत गरेर हरियाली बनाउनुपर्छ : मेयर महर्जन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर सधैँ सबैको टाउको दुखाईको विषय बनिरहेको छ । फोहोरको वैज्ञानिक व्यवस्थापनको पक्षलाई नजरअन्दाज गर्दाको परिणाम डम्पिङ साइटका जनता रोगका कारण मर्न बाध्य छन् । उपत्यकावासी कुनैपनि बेला फोहोर राकिने त्रासमा छन् । फोहोर व्यवस्थापनबारे सम्पूण अधिकार बोकेका काठमाडौं उपत्यकाका स्थानीय सरकार एक अर्कालाई देखाइदिने घमण्डले कुनैपनि बेला अप्रिय अवस्था आउनसक्ने अवस्था छ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरे डाँडामा विसर्जन गर्न थालिएको छ । यो स्थानमा फोहोरको वैज्ञानिक व्यवस्थापन र दीर्घकालीन समाधानको लागि संघीय सरकारको लगानी रहेको छ । यसको जिम्मा २०१८ मा नेपवेस्ट नामको निजी कम्पनीलाई सरकारले दिइसके पनि पूर्णरुपमा काम हुन सकेको छैन । पछिल्लो समय त काठमाडौं उपत्यकाका नगरपालिकाहरुको साझा भनिएको मेयर्स फोरममा विवाद देखिएको छ । यस विवादले फोहोरको व्यवस्थापन कार्य तत्काल नहुने देखिएको छ । यसै विषयमा मेयर फोरमका अध्यक्ष समेत रहेएका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग कुराकानी गरिएको छ । कुराकानीका क्रममा मेयर महर्जनले फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीलाई काम गर्न दिने वातावरण बनाउनुपर्ने बताए । काम नगराउने भए सम्झौता रद्ध गर्न सरकारसँग स्पष्ट भन्नुपर्ने बताए । अधिकार छ भनेर ल्याण्डफिल्ड साइट क्षेत्रका जनताको स्वास्थ्यमा खेलवाड गर्न नहुने उनको भनाइ छ । काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा देखिएको उदासिनताले कुनैपनि बेला फोहोर रोकिने अवस्था रहेको अध्यक्ष महर्जनले बताए । प्रश्ततु छ, मेयर महर्जनसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश : उपत्यकाको फोहोर व्यवस्थापन कसरी भइरहेको छ ? उपत्यकाको फोहोर व्यवस्थापन एकदमै मार्जिनल टाइपले भइरहेको छ । भरे पनि रोकिन सक्छ । भोलि पनि रोकिन सक्छ । केवल काम चलाउको रुपमा भइरहेको छ । यसलाई दिगोपन दिनुपर्छ । अहिले जुन तरिकाले यहाँहरुले फोहोर व्यवस्थापन गर्नुभएको छ, त्यो व्यवस्थापन कहिले सम्मलाई हो ? अहिलेको फोहोरको व्यवस्थापन कहिलेसम्म भन्ने प्रश्न निकै गौण छ । यसमा काठमाडौं उपत्यकाभित्र दुईवटा महानगरपालिका, १६ वटा नगरपालिकाहरु छन् । लगभग १८ वटै नगरपालिकाहरुको कसैको बढी, कसैको थोरै फोहोर त्यहाँ जाने गरेको छ । अहिले बञ्चरे डाँडा जाने गरेको छ । यो भन्दै गर्दा त्यहाँ लगभग दिनको १२ सय मेट्रिक टन फोहोर जान्छ । त्यो मध्येमा ६५ प्रतिशतभन्दा बढी काठमाडौं महागरपालिकाको पर्छ । ललितपुर महागरपालिकाको लगभग १८/१९ प्रतिशत छ । अहिलेको सन्दर्भमा हामीसँग विकल्प छैन । ललितपुर महानगरपालिका आफैँले यसको स्वतन्त्र रुपमा व्यवस्थापन गर्ने भन्ने हाम्रो मनशाय थियो । छ पनि । तर त्यसलाई कार्यान्वयन गर्नको निमित्त साह्रै गाह्रो परिरहेको छ । किनकी एक त ललितपुर महानगरपालिकाको जतिपनि क्षेत्र छ, त्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको रुटमा पर्छ । त्यसले गर्दा हाम्रो सानो भू–भाग भएको महानगरपालिकामा यसको व्यवस्थापन गर्न निकै हम्मेहम्मे परिरहेको छ । दोस्रो कुरा हामीले महांकाल गाउँपालिकामा पनि फोहोरमैला व्यवस्थापन गर्ने भनेर कोशिस ग¥यौँ । तर त्यहाँपनि सोसल इस्युहरु निस्कियो । त्यसले गर्दा त्यहाँ पनि सकिरहेका छैनौँ । दीर्घकालिनरुपमा समस्या समाधानको बारेमा के सोच्नुभएको छ ? हालसालैको कुरा मलाई भारतीय सरकारको निम्तोमा मेरो नेतृत्वमा ललितपुर महानगरपालिकाको एउटा डेलिगेशनले हामीले भारतको ६ वटा स्मार्ट सिटीहरुको अवलोकन भ्रमण ग¥यौँ । त्यो भ्रमण गर्दाखेरी त्यहाँ अहमदावाद र पुनेमा यहाँ हाम्रो ओखरपौवामा जस्तै फोहोरको डंगुर रहेछ । पचासौँ वर्ष पुरानो फोहोरको डंगुर, पहाड रहेछ । त्यसलाई हटाउने काम उहाँहरुले गर्दै हुनुहुन्छ । उहाँहरुले त्यो हटाएर त्यसमा लगभग ४८ एकड जमिन फिर्ता पाइसकेको छ । भनेपछि ४८ एकड जमिनमा उहाँहरुले त्यहाँ वृक्षारोपण गरेर हरियाली अभिवृद्धि गरेर नगरको सौन्दर्य बढाएको छ । अर्बन ग्रिनरी (शहरी हरियाली) भनेर राम्रो गरेको छ भने हामीले त्यही मोडेल ओखरपौवामा लगाउनुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई भेटेर भनेको छु । एउटा पत्रपनि लेखेर दिएको छु । तसर्थ यो एउटा समस्या समाधान भयो भने मलाई जहाँसम्म लाग्छ, बञ्चरेडाँडा ५० वर्षको निमित्त गरेको डिजाइन हो । तर अहिलेकै हिसावमा गयो भने त्यो ५० वर्ष होइन १० वर्षपनि टिक्दैन । ५० वर्षसम्म आयु टिकाउनकै निमित्त पनि ओखरपौवाको फोहोर सफा गरेर त्यहाँ निस्किएको सोसल इस्युलाई सम्बोधन गरेको खण्डमा यसको आयु बढ्छ । तसर्थ यो नगरी सुख छैन । यो गर्नुपर्छ । यो विषयमा प्रधानमन्त्री पनि गम्भिर हुनुहुन्छ । तपाई आफू बञ्चरेडाँडाँ पुग्दा अनुभुत गरेको कुरा के हो ? ओखरपौवा पछि अर्को बञ्चरेडाँडा भनेर बनाइएको हो । तर बञ्चरेडाँडा अर्को ५० वर्षको निमित्त भनिएको छ । तर अहिलेको हिसावले अहिलेकै रुपमा त्यहाँ फोहोर फ्याँक्ने हो भनेदेखि ५० वर्ष जाँदैन । छिट्टै भरिन्छ । तसर्थ अहिले त्यहाँको जुन अवस्था छ, एक त ओखरपौवाले गर्दा त्यहाँको जनजिवनलाई नै अस्तव्यस्त पारिएको छ । काठमाडौँ उपत्यकाको फोहोरले त्यहाँको स्थानीय जनतालाई दुःख दिन पाइँदैन । दुःख दिनु हुँदैन । त्यहाँ यस्तो चरम अवस्था छ कि हेर्दाखेरी हामीलाई लाज लाग्छ । अहिलेको जमानामा काठमाडौंको फोहोरले त्यहाँका जनताहरुलाई रोगब्याधिले आक्रान्त पार्ने, यो भनेको राम्रो कुरा होइन । तसर्थ यसमा काठमाडौं उपत्यकाको सबै नगरपालिकाहरु मिलेर र नेपाल सरकारको पहलकदमीमा त्यहाँको समस्या समाधान गर्नुपर्छ । त्यसको निम्ति १८ वटा नगरपालिकाहरुले त्यहाँ हुने खर्च दामासाहीले व्यहोर्नुपर्छ । त्यसका निम्ति ललितपुर महागरपालिका तयार छ । यस्तो सम्बोधन काठमाडौं महानगरपालिकाले पनि गर्नुप¥यो । यो गरेको खण्डमा मलाई लाग्छ, समस्या समाधान हुन्छ । केही समय अगाडी उपत्यका मेयर फोरमको बैठकमा यो विषयले असहज परिस्थिति पनि उत्पन्न भयो, खास के भएको थियो ? यो विषयमा असहज परिस्थिति निस्किनुपर्ने आवश्यकता थिएन । किमार्थ थिएन । यसमा नेपाल सरकारले २०११ जुन महिनामा ग्रिनलाइन र नेपवेस्ट भन्ने संस्थासँग काठमाडौं उपत्यकाभित्रको नगरपालिकाहरुमा फोहोर व्यवस्थापन गर्न एउटा सम्झौता गरेको थियो । त्यो सम्झौताको पहिलो चरणमा काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका र नागार्जुन नगरपालिका यि दुई, तीनवटा नगरपालिका त्यसमा पर्छ । सोही बमोजिम म काठमाडौं उपत्यका मेयर फोरमको अध्यक्षको हैसियतले हाम्रो सचिवालयले यो विषयवस्तुलाई उठान गरेर यो विषयलाई मुख्य विषयवस्तुमा प्रवेश गराएर हामीले बैठक आयोजना गर्यौँ । त्यो बैठक बुढानिलकण्ठमा गरेका थियौँ । त्यो बैठकको शुभारम्भ हुनासाथ बैठकको एजेण्डामा प्रवेश नै गर्न पाएको छैन काठमाडौैंको मेयरसापले चाहीँ म बोल्छु भन्नुभयो । मैले तपाईलाई म बोल्न दिन्छु, तर विषयमा त पहिले प्रवेश गर्नुपर्यो भन्ने कुरा राखेँ । त्यसपछि उहाँले होइन म बोल्छु भन्नुभयो, तपाईलाई म बोल्न दिन्छु तर एकैछिन पख्नुस् भने । अरुलाई दिन्न पहिला तपाईलाई नै बोल्न दिउँला भनेपछि उहाँ उठेर हिँड्नुभयो । र अन्टसन्ट कुरा गरेर, नचाहिने किसिमका कुरा गरेर, बकवास गरेर, सामाजिक सञ्जालमा नचाहिने किसिमका कुराहरुको उठान गर्नुभयो । यो चाहीँ निकै खेदजनक कुरा छ । र हामीले उहाँलाई च्यालेन्ज पनि गरेका थियौँ, उहाँले उल्लेख गरेका कतिपय आरोपहरुको एउटा अक्षरको मात्रै पुष्टि गरिदिनु भनेर हामीले च्यालेन्ज गरेका छौँ । अहिलेसम्म त्यसको जवाफ आएको छैन । फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि लगानी बोर्डमार्फत पनि केही प्रक्रियाहरु अगाडी बढेर, कम्पनी छनौट भएर काम अगाडी बढेको जस्तो देखियो, अहिले काठमाडौं महानगरपालिकाको अवरोधले गर्दा काम अगाडी बढ्न नसकेको हो ? नेपाल लगानी बोर्डमा यो फाइल पुग्यो । लगानी बोर्डले यसको पहिलो चरण फेजको कामको मुख्य पालिका भनेको काठमाडौं महानगरपालिका हो । तसर्थ काठमाडौं महानगरपालिकाको स्वीकृतिका निमित्त फाइल गएकोमा काठमाडौं महानगरपालिकाले यसको कुनैपनि किसिमले जवाफ दिएको छैन । तसर्थ यो फाइल त्यहीँ अड्किएर बसेको छ । जसले गर्दा बाँकी सबै कुरा लथालिङ्ग, भताभुंग भइरहेको छ । काठमाडौं महानगरपालिका एकातिर र अरु महानगरपालिका अर्कोतिर समस्या चाहीँ जहाँको त्यहीँ हुनेभयो नि ? लगभग अहिले त्यही अवस्था छ । तर त्यही अवस्था रहिरहनु भनेको किमार्थ राम्रो होइन । उदाहरणको निमित्त मैले अघि पनि भनेँ काठमाडौं उपत्यका भित्र लगभग १२ सय मेट्रिक टन प्रतिदिन फोहोर उत्पादन हुनेमा काठमाडौं महानगरपालिकाको ६५ प्रतिशत रहन्छ । भनेपछि अरु सबै सुतेको अवस्थामा पनि उसले जागा भएर समस्या समाधान गर्नुपथ्र्यो नि त । तर त्यसको विपरित उपत्यका मेयर्स फोरमले गर्छ यो काम, मैले गर्ने होइन भनेर जुन किसिमले पन्छिरहेको छ । यो ज्यादै खेदजनक छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सबै नगरपालिकाको बराबरी दायित्व हो कि ? काठमाडौं महानगरपालिकाको बढी हो ? भन्नेखालको काठमाडौं महानगरपालिकाले पहिलेदेखि व्यवस्थापन गरिरहेको भन्ने हिसावले उसले बढी हिस्सा खोजेको हो ? उसले कत्तिको हिस्सा खोज्यो त्यो त हामीलाई थाहा छैन । यो कुरामा चाहीँ हाम्रो बैठक भएको छैन । तर मेरो भनाई के त भन्दाखेरी त्यहाँ दिनको १२ सय मेट्रिक टन फोहोर जाँदाखेरी त्यसको ६५ प्रतिशत उसको पर्छ भने ६५ प्रतिशत जति आर्थिक दायित्व उसले वहन ग¥यो भने समस्या सुल्झिन्छ नि त । हाम्रो कति प्रतिशत हुन्छ त्यति प्रतिशत दायित्व हामी व्यहोरौँला । अन्य पालिकाहरुको थोर बहुत हुन्छ त्यो पनि व्यहोर्न उहाँहरु तयार हुनुहुन्छ । मलाई जहाँसम्म लाग्छ, यसको समस्या नहुनुपर्ने हो । तर ६५ प्रतिशत दायित्व वहन गर्नुपर्ने संस्थाले अरुलाई पन्छाएर आफूचाहीँ सुतिराख्नु राम्रो होइन नि त । ल्याण्डफिल साइट व्यवस्थापन सम्बन्धी कुराको अवस्था समाधानतिर भन्दापनि जटिलतातिर देखियो, अब समाधानको लागि कसरी अगाडी बढ्छ त ? अहिलेको समस्या निकै भयावह छ । भरे, भोलि जहिलेपनि बन्द हुनसक्छ । बन्द भएको अवस्थामा हामी महानगरपालिका, नगरपालिका अहिले सबै मेयरसापहरु काम गर्छौं भन्ने हिसाव, किताबमै उहाँहरु अग्रसर हुनुहुन्छ र काम पनि गर्दै हुनुहुन्छ । तर जतिसुकै राम्रो काम गरेको अवस्थामा पनि ८/९ दिन फोहोर उठेन भने त्यही फोहोरले हामीले गरेको कामलाई छोपिदिन्छ । तसर्थ हामी यो विषयवस्तुमा निकै संवेदनशील छौँ । यसलाई समाधान गर्नुपर्छ भन्ने हाम्रो भनाइ रह्यो । यही विषयमा हामीले अहिले दुईवटा कुरा छ, एउटा काठमाडौं उपत्यका मेयर्स फोरमको जुन हाम्रो निर्णय छ, त्यो निर्णय अब हामी नेपाल सरकारलाई सम्प्रेषण गर्छौं । सो बमोजिमको कारबाही नेपाल सरकारले गर्नुपर्यो । मैले सिसडोल ओखरपौवाको जुन फोहोर छ त्यसलाई अहमदावादले जस्तै सफा गरेर फोहोरलाई मोहरमा परिणत गरेर जुन जग्गा रिक्लिम हुन्छ त्यहाँ हरियालीमा परिणत गरेको खण्डमा त्यहाँको स्थानीय जनताको निमित्त उहाँहरुको घाउमा मल्हम लगाइदिए बराबर हुन्छ । र बञ्चरेडाँडाँमा काम गर्नको निमित्त पनि सहज हुन्छ भन्ने मेरो भनाई हो । सोही प्रकृतिको चिठी मैले प्रधानमन्त्रीलाई दिइसकेको छु । मलाई लाग्छ उहाँ निकै गम्भिर हुनुहुन्छ । यो बमोजिमको काम उहाँले गर्नुहुनेछ ।

सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न छन् : निर्वाण चौधरी

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं उद्योगी निर्वाण चौधरीले सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न रहेको आरोप लगाएका छन् । एनसेलको सेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा आफ्नो धारणा राख्दै उद्योगी चौधरीले उक्त आरोप लगाएका हुन् । ‘एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन्, सामाजिक सञ्जाल एक्समार्फत धारण व्यक्त गर्दै उनले भने- ‘आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ’त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’ त्यस्तै, उद्योगी चौधरीले सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि नेपाली कम्पनीलाई स्वीकृति नदिइएको गुनासो व्यक्त गरेका छन् । ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !?’ चौधरीले लेखेका छन् ।