विकासन्युज

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित आज बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउण्टेण्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो । बुधबार धरान आइपुगेको टोलीले उपमहानगरपालिकामा छलफल गरेपश्चात आज स्थलगत अध्ययन सुरु गरेको हो । अध्ययन टोलीका संयोजक थापाले विगतमा भएका अध्ययन प्रतिवेदनलाई नै आधार मानेर अध्ययन अघि बढाइएको बताए । सोही स्थानमा विमानस्थल निर्माणका लागि भनेर प्राधिकरणले पहिला पनि अध्ययन गरेको थियो । प्राधिकरणले २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्र पठाउँदै एटीआर ४२ सिट क्षमताको जहाजका लागि विमानस्थल निर्माण गर्न करिब ९३ दशमलव २५ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरेको थियो । अध्ययन टोलीका संयोजक थापाले हाल नेपालमा ७२ सिट क्षमताका जहाज प्रचलनमा रहेकाले उक्त जहाजका लागि विमानस्थल बनाउन अझै धेरै जग्गा आवश्यक पर्ने बताए । डाँडा घोपामा निजी कम्पनी यति इन्कर्पोरेट प्रालिले विमानस्थल निर्माण गर्ने भनेर २०६० सालमा करिब सात बिघा जग्गा खरिद गरेको थियो । निजी कम्पनीले विमानस्थल निर्माण गर्न पाउने स्पष्ट कानुन नरहेकाले विमानस्थल बन्न सकेको छैन । तत्कालीन समयमा विमानस्थलका लागि सस्तो मूल्यमा जग्गा बिक्री गरेका स्थानीय भने विमानस्थल नबन्ने भए आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । आज स्थलगत अध्ययनमा पुगेको टोली समक्ष पनि स्थानीयले विमानस्थल निर्माण गर्ने भए तुरुन्तै सुरु गर्न र नबन्ने हो भने जग्गा फिर्ता गर्न माग गरेका छन् । उपमहानगरपालिकाका प्रमुख राईले स्थानीयलाई सम्बोधन गर्दै यति इन्कर्पोरेटको नाममा रहेको जग्गा पनि उपमहानगरको नाममा ल्याएर विमानस्थल निर्माणको काम छिट्टै अघि बढाउने बताए । उनले भने,’प्राविधिक टोलीले नापजाँच गरेपछि कस्तो प्रतिवेदन आउँछ, त्यसअनुसार श्रमदान गरेर भए पनि विमानस्थल बनाउँछौँ ।’ रासस

ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन्। माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उनले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियान यो सरकार नरोकिएको बताए ।  ‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन’, प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।’ उनले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए। ‘नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पु¥याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन’, प्रधानमन्त्री दाहालले भने, ‘पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।’ मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उनले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिए।  मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तरक्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको प्रधानमन्त्री दाहालले बताए। पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको सुरुआत गरेको उनको भनाइ थियो ।  ‘यसअघि ससाना काम भए, अब ठूल्ठूला परियोजना निर्माणको थालनी गरिनेछ’, प्रधानमन्त्रीले भने । योसँगै कर्णाली चिसापानी, बूढीगण्डकीलगायत ठूला परियोजना निर्माण सुरु गरिने उनले जानकारी दिए। आज मात्रै बसेको मन्त्रिपरिषद् बैठकबाट बूढीगण्डकी आयोजनाका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त आयोजनाको छिट्टै शिलान्यास हुने विश्वास दिलाए । आफ्नो विदेश भ्रमणबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको गौरव बढेको उनको भनाइ थियो । 

नाडामा सहमतिको ‘च्याप्टर क्लोज’, कुनलाई कसको साथ ?

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन नजिकिएसँगै अटो व्यवसायीहरूको दौडधुप बढेको छ । यसअघि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने विषयमा व्यापक छलफल भएपनि सहमति हुन नसक्दा अन्ततः उम्मेदवारहरू चुनावी दौडधूपमा लागेका हुन् । नाडाको अध्यक्ष पदका सर्वसम्मतको प्रयास भएपनि उम्मेदवारहरूबीच कुरा नमिल्दा अन्ततः चुनाव हुने भएको हो । उनीहरू अहिले सदस्यहरूसमक्ष भोट मागिरहेका छन् । नाडाको अध्यक्ष बन्नका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा, सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्सका सञ्चालक करण चौधरीले र वर्तमान कार्यसमिति सदस्य प्रकाश कपुरीबिच प्रतिस्पर्धामा हुने देखिएको छ । यसअघि सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले पनि आफू अध्यक्षको दाबेदार भनेर प्रचार गर्दै आएका थिए । तर, चुनाव हुने संकेत देखिएपछि उम्मेदवार बन्नबाट पछि हटेका हुन् । अब श्रेष्ठले चौधरीलाई सघाउने चर्चा पनि बजारमा छ । चौधरीलाई अध्यक्षको बलियो उम्मेदवार बनाएर अगाडि बढ्ने योजना उनीहरूको छ । सीजी होल्डिङ्सका सञ्चालक करण चौधरी आफ्नो जित निश्चित भएर नै अगाडि बढेको बताउँछन् । ‘यसअघिको चुनावमा म पराजित भएको थिएँ, तर यस पटक जित्नका लागि आएको छु, जित सुनिश्चित भएर नै मैदान आएको हुँ,’ उनले भने । चौधरी आफूले सर्वसम्मतका लागि पहल गरेपनि अन्य उम्मेदवारले चासो नदेखाएको उनको भनाइ छ । ‘मैले यसअघि पनि चुनाव नगरौं नै भनेको हो । तर, चुनाव भयो, यसपटक पनि चुनाव नगरेर मिलेर जाने छलफल भइरहेको थियो, तर त्यसले सार्थकता पाएन, अब उम्मेदवारहरू चुनावको तयारी गरिरहनु भएको छ,’ उनले भने । आफूले उम्मेदवारी घोषणा गरिसकेकोले अब ब्याक नहुने उनको अडान छ । यस्तै, प्रबन्ध निर्देशक आकाश गोल्छा पनि निर्वाचन हुने संकेतले निर्वाचन तयारी जुट्न थालेका छन् । उनी पनि सर्वसम्मत भन्दै चुनावी गर्दा नै उपयुक्त हुने मनसायमा देखिन्छन् । गोल्छाले पनि आफू अध्यक्ष पदको आकांक्षी भएकाले अहिलेको अवस्थामा पछाडि हट्न नसक्ने बताउँछन् । निर्वाचनभए पनि सबैको साथ सहयोगले आफू अध्यक्षमा निर्वाचित हुने विषयमा विश्वस्त रहेको बताउँछन् । को कसको टिममा ? एक महिनापछि अर्थात् पुसको २० र २१ गते हुने नाडा चुनावमा अध्यक्षसँगै नयाँ कार्यसमितिको चयन हुँदैछ । अध्यक्ष पदका लागि उम्मेदवारहरूको चर्चा हुँदा कार्यसमितिमा को को अटाउने भन्ने विषय पनि चासोका साथ हेरिएको छ । अहिले अध्यक्षको टुङ्गो नलागेको कारण अन्य पदाधिकारी तथा सदस्यहरूको विषयले प्राथमिकता पाउन सकेको छैन । यद्यपि, चुनाव हुने चर्चाले सबै उम्मेदवारहरूले आ–आफ्नो निकटको व्यवसायीलाई साथमा लिन थालेका छन् । नाडाको निर्वाचनमा पहिला अध्यक्ष र सदस्यका लागि निर्वाचन हुने र निर्वाचन भएपश्चात् मात्र कार्यसमितिको छनोट हुने व्यवस्था छ । अब बन्ने कार्यसमिति १७ जनाको हुनेछ । अध्यक्षका उम्मेदवार चौधरीको टीममा लगभग पदाधिकारीहरुको टुङ्गो लागिसकेको छ । चौधरीलाई विभिन्न कम्पनीका अटो व्यवसायीहरूले साथ दिएका छन् । उनको टिममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, एमएडब्ल्यूका प्रबन्ध निर्देशक मिलनबाबु मल्ल, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुपकुमार बराल, आइएमई मोटर्सका निर्देशक निशान ढकाल, जेके ओटीआर टायरका सञ्चालक बिक्रमले साथ दिएका छन् । चौधरीको टिमबाट उनीहरूले नै पदाधिकारीका लागि चुनाव लड्ने बताइएको छ । यस्तै, उनको प्यानलबाट निल मणि पाठक, पंकज अग्रवाल, अभिक ज्योति, कपिल सिवाकोटी, निशान ढकाल, पंकज अग्रवाल, दिपेन्द्र मिश्र, मेगराज पौडेल तथा नवराज भुषालले सदस्यमा लड्ने बताइएको छ । यस्तै, गोल्छाको प्यानलबाट साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन ताम्राकार, प्रदीपमान शाक्य लगायत व्यवसायीले साथ दिएका छन् । गोल्छा आफ्नो टमि अझै फइनल भइनसकेको बताउँछन् । ‘अहिले हामीलाई धेरैले साथ दिन्छु भन्नु भएको छ । तर, अन्तिमसम्म को–को आउन चाहनुहुन्छ, त्यसको टुङ्गो भएको छैन, पदाधिकारीको टुङ्गो छिट्टै हुन्छ,’ उनले भने । हालसम्म अध्यक्षका उम्मेदवार प्रकाश कपुरीको टीमको भने टुङ्गो लाग्न सकेको छैन । नाडा स्रोतका अनुसार अन्तिमसम्म गोल्छा र चौधरीबीच नै प्रतिस्पर्धा हुने र कपुरीले एउटा उम्मेदवारलाई समर्थन गर्न सक्ने वातावरण बन्न सक्नेछ ।

विदेशको राम्रो जागिर छाडेर बाख्रा र माहुरीपालन, मनग्य आम्दानी

गलकोट । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन् । बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि रु १० लाख लागतमा बाख्रापालन थालेका थिए । पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने अठोट मात्रै गरेनन् विदेशको राम्रो जागिर छाडेर सात वर्षअघि स्वदेश फकिएका थिए । जागिरभन्दा उद्यममा सम्भावना द्खेका वनले बाख्रा र मौरीपालनबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । भारतमा पुगेर बजारीकरण विषयमा स्नातकोत्तर पास गरेका उनी बजारीकरण क्षेत्रबाटै मलेसियासमेत पगेका थिए । तीन वर्षको मलेसिया बसाइँ छाडेर गाउँमै कृषि गर्ने उद्देश्यले वन नेपाल फएका थिए । सात वर्षअघि मात्रै रु १० लाख लागतमा बाख्रा र मौरीपालन थालेका वन अहिले मनग्य आम्दानी गर्न सफल भएको बताउछन । धर्मराज बाख्रा फार्म र पुष्पा मौरी फार्म गरी दुई वटा नाममा फार्म सञ्चालन गर्दै आएका उनको बाख्रा फार्मममा एक सय ५० बाख्रा, बोका र पाठापाठी रहेका छन् भने ६० वटा मौरीका घार रहेका छन् । ‘बुबा भारतमै हुनुहुन्थ्यो, एसएलसी पासपछि भारत गए, उतै बजारीकरण विषयमा डिग्री हासिल गरे, उतैबाट मलेसिया पुगे’, वनले भने, ‘मासिक रु तीन लाख आम्दानी हुने जागिर मलेसियामा तीन वर्ष गरे, केही रकम जम्मा गरेर गाउँ फर्कने निधो गरे, सात वर्षअघि पुर्खाले परम्परागतरुपमा गर्दै आएको बाख्रापालन र मौरीपालनलाई व्यवसायीकरण गर्न थाले, अहिले वार्षिक रु १५ लाखसम्मको बाख्रा र मौरीबाट कारोबार गर्दछु ।’ उनले मौरीपालन र बाख्रा फार्म दर्ता गरेर दुई फार्मको मालिक बन्न सफल भएको जनाउँदै वार्षिक ६ देखि आठ लाखसम्म बचत गर्न सफल भएको बताए । पढेलेखेकाभन्दा नपढेकाले मात्रै गर्ने कृषि पेसालाई विस्तारै पढेलेखेकाले अगाल्दा बढी सफल हुने उनको भनाइ छ । उनले पढेलेखेकाले खाने सरकारी जागिरभन्दा मौरीपालन र बाख्रापालनबाट बढी रकम कमाउन थालेको र अन्य युवाले समेत उद्यममा लगानी गर्न आवश्यक रहेको बताए । ‘भारतमै ठूलो कम्पनीको मार्केटिङ जनरल म्यानेजेर थिए, मलेसिया पुगेर त मासिक रु तीन लाख कमाइ हुने जागिर खाए सात वर्षअघि तर नेपालमा नै केही गर्न पर्दछ भनेर लागी परे’, उनले भने, ‘बाख्रापालन व्यवसायभन्दा मौरीपालनबाट धेरै आम्दानी गर्न सकिने अनुभव सँगालेको छु, अहिले बाख्राबाट आफ्नो मेहनतसहित २० देखि ३० प्रतिशत र मौरीपालनबाट ६० प्रतिशत खुद नाफा गर्न सकिने रहेछ ।’ हाल पूर्वाधार, खोर, मौरीका घार र बाख्रासहित झण्डै रु ६० लाखको पुँजी जम्मा भएको उनको भनाइ छ । कमाइ भएको केही प्रतिशत पुँजी वृद्धिमा हाल्दै आएको र अन्य रकम बचत गर्ने गरेको वनले बताए । राज्यले अनुदान दिने नीति सुधार्न आवश्यक रहेको जनाउँदै वनले ५० प्रतिशत अनुदानले किसान झनै समस्यामा परेको बताए । उनले रु १० लाख लगानी गरेको खोरमा रु पाँच लाख राज्यले दिँदा आफ्नो लगानी उठाउन धेरै समय लागेको जानकारी दिँदै असली किसानलाई शतप्रतिशत अनुदान दिनुपर्ने बताए । उनले नेपाल सरकारबाट शून्य ब्याजदरमा रु १५ लाख ऋण ल्याएको जनाउँदै उक्त ऋणले आफूलाई ठूलो राहत पुगेको बताए । अहिले वनको फार्ममा यती सेरेना जातको मौरी रहेका छन् भने खरीजात, जमुनापारी, बोयर क्रसजातका बाख्रा रहेका छन् । उनले मौरीको महलाई प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएका छन् । उत्पादन भएको मौरी र बोकालाई बजारको अभाव भने नभएको उनले बताए । वनको फार्ममा बाबा, आमा, श्रीमतीले समेत सहयोग गरिरहनुभएको छ । बाख्रापालनका लागि स्थानीय घाँस एक सय रोपनीमा रहेको छ भने ३० रोपनी जग्गामा आधुनिक प्रजातिको घाँसखेती गरिएको छ । रासस

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं। सानिमा बैंकको १९ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न भएको  छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । बिहीबार बिहान ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे । सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

निःशुल्क सामूहिक विवाह : नगरपालिकाले नै दिन्छ जन्तीलाई भोजदेखि लत्ताकपडा

महोत्तरी । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ । नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको छ । नगर प्रमुख मोहन पाण्डेयले आफ्नो नगरक्षेत्रभित्र गरिब तथा विपन्न परिवारको बाहुल्यता बढी रहेकाले उनीहरुका छोराछोरीको विवाह लाग्ने खर्च नगरपालिकाले दिने गरी ‘सामूहिक विवाह’ को योजना ल्याइएको बताए । नेपाल सरकारले विवाह गर्न मान्यता दिएको उमेर (२० वर्ष) पुगेका, आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीलाई नगरपालिकाले निःशुल्क रुपमा विवाह गरिदिन उनको भनाइ थियो । मनरा शिसवा नगरपालिकाले ११ औंँ नगरसभाबाट नगरक्षेत्रका इच्छुक, उमेर पुगेका, गरिब तथा विपन्न परिवारका बरबधुलाई सामूहिक विवाह सम्बन्धी योजना नै पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधवेन्द्र चौधरीले जानकारी दिए । उक्त कार्यक्रमका लागि सोही सभाबाट १० पनि विनियोजन गरिएको उहाँले बताउनुभयो । मङ्सिर महिनाभित्र नगरपालिकाको प्रत्येक (१० वटै) वडामा विवाह गर्न इच्छुक परिवारलाई वडा कार्यालय वा नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन दर्ता गराउन अभियान चलाइएको चौधरीले बताए । निवेदन दर्ता भइसकेपछि पालिकाले विवाहको मिति तोकेर एक्कैचोटी एउटै मण्डपमा सबै दुलाहादुलहीको विवाह गरिदिने कार्यक्रम रहेको उनले जानकारी दिए । तराई–मधेशमा दाईजो प्रथाले जरो गाडेकाले न्यून आय भएका, आर्थिक रुपमा कमजोर, तथा विपन्न परिवारले छोराछोरीको विवाह गर्न सक्षम नभएको गुनासो आएपछि पालिकाको नगरसभा बैठकबाट सामूहिक विवाहसम्बन्धी योजना पारित गरिएको प्रमुख पाण्डेयको भनाइ थियो । उनका अनुसार यस विवाहमा नगरपालिकाले सबै दुलाहादुलही जोडीलाई एक/एक जोर लुगा, दुलहीलाई चुरा, पोते, शृङ्गारका आवश्यक सामान र जन्तीलाई भोजभतेर तथा बासको व्यवस्था मिलाउने कार्यक्रम रहेको छ । नगरपालिकाले विवाह गर्ने दुलही (केटी) अनिवार्य रुपमा यही नगरपालिका क्षेत्रभित्रको हुनुपर्ने शर्त राखिएको जनाउँदै विशेष गरी नगरक्षेत्रभित्रका केटीलाई लक्षित गरी यो कार्यक्रममा ल्याइएको नगर प्रमुख पाण्डेयले बताए । उनले पहिलो पटक नगरले यस्तो कार्यक्रम ल्याएको भन्दै यसले सकारात्मक सन्देश दिए प्रत्येक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिइने बताए । रासस

नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा, क्रुजभित्र रेष्टुरेन्टको सुविधा

नवलपुर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ । एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उनले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको जानकारी दिए । ‘दुई घण्टाको फरकमा क्रुजसिपबाट सेवा प्रदान गर्नेछौँ’, उनले भने, ‘क्रुजसिपबाट नियमित सञ्चालन गरिने सेवाका साथै ‘इभेन्ट क्रुज’ र ‘डिनर क्रुज’ पनि सञ्चालन गरिनेछ ।’ सेवाग्राहीको मागअनुसार इभेन्ट क्रुजको सेवा प्रवाह गरिने जनाउँदै उनले यसमा विवाहको पार्टी, जन्मदिन, बैठक तथा सेमिनारलगायतका लागि प्याकेज राखिएको बताए । ‘दुई घण्टाको फरकमा क्रुजसिपबाट सेवा प्रदान गर्नेछौँ’, उनले भने, ‘क्रुजसिपबाट नियमित सञ्चालन गरिने सेवाका साथै ‘इभेन्ट क्रुज’ र ‘डिनर क्रुज’ पनि सञ्चालन गरिनेछ ।’ सेवाग्राहीको मागअनुसार इभेन्ट क्रुजको सेवा प्रवाह गरिने जनाउँदै उनले यसमा विवाहको पार्टी, जन्मदिन, बैठक तथा सेमिनारलगायतका लागि प्याकेज राखिएको बताए । एकपटकमा एक सय ५० जनासम्मलाई ‘क्रुजिङ’को सेवा प्रदान गर्न सकिने भन्दै उनले म्युजिक भिडियो सुटिङ, फिल्म सुटिङ, फोटोसहितका विभिन्न सेवा पनि क्रुजसिीपबाट उपलब्ध गराइने जानकारी दिए । डिनर क्रुज तथा इभेन्ट क्रुजमा सेवाग्राहीको मागअनुसार सेवा सुविधा उपलब्ध गराइने जनाउँदै उनले नियमित क्रुजमा भने रेष्टुरेन्टको सुविधा रहेकाले यात्रुहरुले बजारकै मूल्यमा खाजा तथा पेयपदार्थ पाउने बताए । क्रुजसिप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले क्रुजले हिउँदे ‘अफर’ जारी गर्दै केही समयका लागि यात्रुलाई क्रुजिङको शुल्कसमेत घटाएको बताए । उनकाअनुसार क्रुजमा यात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क निर्धारण गरिएको छ भने पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि यो शुल्क रु दुई सय तोकिएको छ । ‘पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने क्रुजसिपले आफ्नो नियमति क्रुजिङमा निःशुल्क सेवा उपलब्ध गराउनेछ’, बस्यालले भने । विसं २०७९ माघ १ गतेदेखि सञ्चालनमा आएको क्रुजसिप नेपालकै पहिलो र एकमात्र क्रुजसिप भएको बस्यालको भनाइ छ । उनका अनुसार क्रुजसिप सञ्चालन भएकै वर्ष नेपालको पूर्वदेखि पश्चिमसम्मका यात्रुले सेवा लिएका छन् । गएको याममा प्रतिदिन सरदर एक सय ५० जनाले क्रुजसिपमा यात्रा गर्ने गरेको बस्यालले जानकारी दिए । दुई तला र एउटा तीन सय ६० डिग्री अवलोकन स्थल रहेको क्रुजको पहिलो तल्लामा कार्यक्रम गर्ने मञ्चसहितको ६० जना क्षमता रहेको बस्यालले बताए । उनका अनुसार क्रुजको दोस्रो तल्लामा ८० जना क्षमता तथा तीन सय ६० डिग्री अवलोकन स्थलमा १० जना अटाउने क्षमता रहेको छ । क्रुजसिप सञ्चालनका लागि कम्पनीले पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाएको भए पनि अहिले एकतर्फी एक किलोमिटर मात्रै सञ्चालन हुँदै आएको छ । नारायणी नदीमा बग्ने पानीले गरेको धार परिवर्तनका कारण तथा नदीजन्य पदार्थ उत्खनन्का लागि क्रुजसिपले आफ्नो पूरा क्षमतामा यात्रा गराउन नसकेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए । भरतपुर महानगरपालिका–१६ को काप्रेघाटमा स्टेशन रहेको क्रुजसिप सञ्चालनपछि नवलपुर र चितवनको पर्यटन प्रवद्र्धन हुँदै आएको होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले बताए । अहिले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष भनेर घोषणा गरिएको अवस्थामा पुनःसञ्चालनमा आएको क्रुजसिपले नवलपुरमा समेत पर्यटकलाई आकर्षण गर्न भूमिका खेल्ने उनको भनाइ छ । नारायणी नदीलाई एकै ठाउँबाट बग्ने वातावरण सिर्जना गरेर क्रुजसिपलाई देवघाटदेखि गोलाघाटसम्म नै सञ्चालन गराउने सकेमा नवलपुर, चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा कायापलट हुने चुकेको भनाइ छ । नवलपुरको गैँडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक वसन्त पराजुलीले क्रुजसिपका कारण नदी किनारका होटल व्यवसायमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए । ‘यसअघि क्रुज सञ्चालन हुँदा पनि क्रुजमा यात्रा गर्ने मानिस हाम्रा होटलमा आएर बस्ने गर्नुहुन्थ्यो’, उनले भने, ‘क्रुजसिप नारायणी नदीमा सञ्चालन हुने कारण यसले चितवनको मात्रै नभएर नवलपुरको पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याएको हामीले पाएका छौँ ।’ रासस

धितोपत्र बोर्डका अध्यक्षले गरे माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन

काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन सम्पन्न भएको छ । बिहीबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन गरेका हुन् । काठमाडौंको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे सेक्युरिटिजले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो । माछापुच्छ्रे सेक्युरिटिजको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको विकास र विस्तारको लागी माछापुच्छ्रे सेक्युरिटिजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा माछापुच्छ्रे सेक्युरिटिजलाई स्वागत गर्दै लगानिकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे । साथै, सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष एंव गैर आवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिजले माछापुच्छ्रे बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । त्यस्तै, माछापुच्छ्रे का अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पुर्वाधार तथा नियमन व्यवस्थाहरुको पुर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शि र विश्वसनिय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्रे सेक्युरिटिजले आफुलाई उभ्याउन सकोस भन्ने शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिजका संचालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिटका पदाधिकारीहरु, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।