काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं उद्योगी निर्वाण चौधरीले सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न रहेको आरोप लगाएका छन् । एनसेलको सेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा आफ्नो धारणा राख्दै उद्योगी चौधरीले उक्त आरोप लगाएका हुन् ।
‘एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन्, सामाजिक सञ्जाल एक्समार्फत धारण व्यक्त गर्दै उनले भने- ‘आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ’त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’
त्यस्तै, उद्योगी चौधरीले सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि नेपाली कम्पनीलाई स्वीकृति नदिइएको गुनासो व्यक्त गरेका छन् ।
‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !?’ चौधरीले लेखेका छन् ।