विकासन्युज

मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

फाइल फोटो काठमाडौं । मिटरब्याजीले लिएको ७ कठ्ठा १३.५ धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर–२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद(मिटरब्याजी)विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो । कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा १ करोड ५० लाख रुपैयाँ र ४ स्थानका ५ वटा कित्ताको जग्गा लेनदेन गरेका थिए । उनका अनुसार पहिलो ३ महिनामा पीडितले १ करोड २० लाख रुपैयाँ रकम फिर्ता गर्ने र पीडकले ६ कठ्ठा १३.५ धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ । दोस्रो चरणमा पीडकले सहमति भएको ६ महिनाभित्र बाँकी रहेको ३० लाख रुपैयाँ र कानुनअनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी १ कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ । दुवै पक्षले सहमति कार्यान्वयनमा आएको जानकारी स्थानीय प्रशासनलाई दिनुपर्ने छ । यसअघि कार्यालयले पूर्वी चितवनका एकजना पीडितको २ कठ्ठा जग्गा छलफलमार्फत फिर्ता गराइएको थियो । कार्यालयमा विसं २०८० वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० वटा र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए । जसमध्ये २१ वटा उजुरीको छलफलमार्फत सहमतिमा टुङ्गो लगाइएको उनले जानकारी दिए । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका छन् । परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका छन् । पीडितले दृष्टिबन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उनले बताए । अधिकांशले जग्गा फिर्ता गरिदिन निवेदन दिएका छन् ।

लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन् : मुख्यमन्त्री चौधरी

काठमाडौं । लुम्बिनी प्रदेश प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको बताएका छन् । पश्चिम नवलपरासीको सुनवलमा बिहीबारदेखि सुरु तेस्रो सुनवल महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ता लगानी गर्न चाहेको बताएका हुन् । त्यसका लागि जग्गा व्यवस्थापनको काम भइरहेकाले निजी क्षेत्र र सरोकारवालासँग संवाद गरी वातावरण तयार गरिने उनको भनाइ छ । मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न प्रदेश सरकार तयार रहेको बताए । विश्वभरिका पर्यटकलाई लुम्बिनीमा भित्र्याई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको बातावरण तयार गर्न प्रदेश सरकार अघि बढेको उनको भनाइ थियो । मुख्यमन्त्री चौधरीले स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवले स्थानीय कला, संस्कृतिको पहिचानलाई प्रवद्र्धन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । “हामीले सधैँ ठूला उद्योगका मात्र कुरा गर्यौँ तर आफ्नै उत्पादनलाई चिन्न सकिरहेका छैनौँ, अब बजारमा गाउँका उत्पादन आउनुपर्छ, साना–साना लघुउद्यमले मात्र स्थानीय तहमा आर्थिक समृद्धि ल्याउन सक्छ, हामीले के सहयोग गर्नुपर्छ हामी तयार छौँ, तीन तहका सरकार र निजी क्षेत्र हातेमालो गर्न तयार हुनुपर्छ”, चौधरीले भने । पहाडमा उत्पादित सामग्री नाकासम्म ल्याउनका लागि पर्यटकीय स्थलमार्गको विकासमा जोड दिन सकेमात्र आर्थिक समृद्धिको बाटोमा हिँड्न सकिने उनको भनाइ थियो । लुम्बिनी प्रदेश सरकारले वार्षिक दुई लाख युवालाई रोजगारी दिनेगरी सोहीअनुरुपका योजनामा प्रदेश सरकार लागिरहेको मुख्यमन्त्री चौधरीले जानकारी दिए । बुद्ध सर्किटलाई जोड्ने गरी पर्यटन प्रवद्र्धनका लागिसमेत लगानीका लागि विश्व बैंक र एसियाली विकास बैंकसँग निरन्तर छलफल गरी ठूलो लगानीको योजना बनाएको चौधरीले उल्लेख गरे । उनले प्रदेश सरकारले पर्यटन प्रवद्र्धन, उद्योगको विकास र रोजगारी सिर्जनाको उद्देश्य अनुरुप काम गरिरहेको बताए ।

ग्लोबल आइएमई बैंकमा सरकारको पनि लगानी, यी हुन् १९ ठूला सेयरधनी

काठमाडौं । ग्लोबल आइएमई बैंकमा नेपाल सरकारको पनि लगानी देखिएको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार बैंकमा सरकारको ०.०८ प्रतिशत अर्थात् २ करोड ८१ लाख ७७ हजार रुपैयाँ लगानी देखिएको हो । ग्लोबल आइएमई बैंकमा १९ जना सेयरधनीहरूको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा १९ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको छ । कर्मचारी सञ्चय कोषको ४.७४ प्रतिशत अर्थात् १ करोड ६९ लाख ७१ हजार ५३५ कित्ता सेयर स्वामित्व छ । यस्तै, आइ.एम.ई होल्डिङ्गस प्रा.लि.को २.७८ प्रतिशत अर्थात् ९९ लाख ३८ हजार ८३८ कित्ता र आइ.एम.ई इन्भेष्टमेन्ट प्रा.लि.को २.५१ प्रतिशत अर्थात् ८९ लाख ६६ हजार ४११ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । यस्तै, विष्णु प्रसाद न्यौपानेको १.४१ प्रतिशत अर्थात् ५० लाख ३३ हजार ५७० कित्ता, सुमित कुमार अग्रवालको १.४० प्रतिशत अर्थात् ५० लाख ३ हजार ७८५ कित्ता, मङ्गल कलश इन्भेष्टमेन्ट प्रा.लि.को १.२४ प्रतिशत अर्थात् ४४ लाख ३० हजार ५४ कित्ता र कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रा.लि.को १.१५ प्रतिशत अर्थात् ४१ लाख २२ हजार ३११ कित्ता सेयर स्वामित्व छ । यस्तै, उत्तम कुमार नेपालको ०.९५ प्रतिशत अर्थात् ३३ लाख ९१ हजार ८५१ कित्ता, नागरिक लगानी कोषको ०.९२ प्रतिशत अर्थात् ३२ लाख ८५ हजार ७८८ कित्ता, रणबहादुर शाहको ०.७८ प्रतिशत अर्थात् २८ लाख ४ हजार १४५ कित्ता, निमिषा इन्भेष्टमेन्ट प्रा.लि. ०.७४ प्रतिशत अर्थात् २६ लाख ५५ हजार ७६४ कित्ता, होमल्यान्ड डेभलपर्सको ०.७३ प्रतिशत अर्थात् २६ लाख १ हजार ८२१ कित्ता सेयर स्वामित्व छ । यस्तै, हेमराज ढकालको ०.६७ प्रतिशत अर्थात् २४ लाख २ हजार ३२४ कित्ता, क्याबिनेट श्रेष्ठको ०.६४ प्रतिशत अर्थात् २२ लाख ७२ हजार ८४१ कित्ता, डम्बर बहादुर मल्लको ०.६३ प्रतिशत अर्थात् २२ लाख ४७ हजार १९७ कित्ता, कामधेनु इन्भेष्टमेन्टको ०.६२ प्रतिशत अर्थात् २२ लाख १९ हजार ७६१ कित्ता, रिता मल्लको ०.५६ प्रतिशत अर्थात् १९ लाख ९७ हजार ८३७ कित्ता, शारदा देवीको ०.५३ प्रतिशत अर्थात् १८ लाख ७८ हजार ८९२ कित्ता र सन्दीप अग्रवालको ०.५२ प्रतिशत अर्थात् १८ लाख ५३ हजार २३६ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । गत असारसम्म बैंकमा सर्वसाधारणको ४८.७६ प्रतिशत, अन्य संस्थाहरूको १४.७८ प्रतिशत, अन्यको ३६.३० प्रतिशत र नेपाल सरकारको ०.०८ प्रतिशत बराबरको स्वामित्व छ ।

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । साईबर ब्यूरोको टोलीले उक्त कार्यमा संलग्न चितवनको रत्ननगर नगरपालिका-१० स्थायी वतन भई हाल काठमाडौं जिल्ला बस्ने ४२ वर्षिय चतुर्मान महतोलाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल मार्फत चिनजान भई भेटघाटको क्रममा लिईएका तस्विर तथा श्रव्य-दृश्य सम्पादन गरी मेसेजिङ एप मार्फत पठाई चरित्रहत्या गर्नुका साथै वैवाहिक जीवनमा समेत असर पार्ने गरी दुःख हैरानी दिएको भन्दै उनलाई प्रकाउ गरिएको ब्यूरोले जानकारी गराएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा साईबर ब्यूरोबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

चीनले भरतपुर भ्रमण वर्ष २०२४ लाई पठायो उपकरण

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै साईडबोट उपकरण उपलब्ध भएकोे छ । मित्र राष्ट्र चीनको सिआन सिटीका प्रतिनिधिले बिहिबार महानगरपालिका आई पर्यटकीय पूर्वाधार साईडबोट उपलब्ध गराएको हो । साईडबोट भनेको एआई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा हो । यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको थियो । यो उपकरणले १० किलोमिटर टाढाका दृश्यहरुलाई सजिलै कैद गर्न सक्छ । एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सक्ने निर्माण कम्पनीले जनाएको छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ । चेम्बर अफ कर्मशका सेक्रेटरी डा उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्ने छ । बाँकी स्थानमा आवश्यक उपकरण ल्याउने जनाएको छ । भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्ने छन् । कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर भरतपुरको प्रसारप्रसार गर्न सकिन्छ । भरतपुरमा प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थानहरु रहेका छन् ।

आँबुखैरेनी अस्पतालमा जनशक्ति छन्, छैनन् उपकरण

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ । आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति भएको भन्दै उपकरण अभावका कारण सेवा सञ्चालनमा समस्या भइरहेको जानकारी दिए । ‘अस्पतालसँग तत्काल शल्यक्रिया सेवा सञ्चालन गर्न जनशक्ति तयारी अवस्थामा छन्’, उनले भने- ‘उपकरण अभावले सेवा सञ्चालन गर्न सकिरहेका छैनौं ।’ चुमानका अनुसार अस्पतालमा एपेन्डिक्स, हाइड्रोसिल, हर्निया र प्रसूतिको शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । चार वटा शल्यक्रिया सेवा सञ्चालनका लागि रू एक करोड बराबरको उपकरण आवश्यक पर्ने उनको भनाइ थियो । चुमानले भने- ‘शल्यक्रिया थिएटर र आवश्यक उपकरण व्यवस्थापन हुन सकिरहेको छैन । यसका लागि सरकारको ध्यानाकर्षण गराएका छौं ।’ गाउँपालिकाले विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको थियो । एक वर्ष पुगेको अवसरमा अस्पतालको गत यही मङ्सिर १ गते उद्घाटन गरिएको थियो । ‘गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो’, चुमानले भने- ‘वडा कार्यालय तथा गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएका हौं । पहिलाको स्वास्थ्य चौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छौं । इलाका वनको भवनलाई ल्याब बनाएका छौं । त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौं ।’ अस्पतालमा निकट भविष्यमा डायलायसिस सेवा समेत सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए । डायलायसिस सेवाका लागि तीन वटा उपकरण आइसकेको अध्यक्ष चुमानले जानकारी दिए । ‘पाँच वटा उपकरण भए मात्रै एउटा युनिट मान्ने र सरकारले व्यवस्थापन गर्ने निःशुल्क उपचार सुरु गर्न सकिने रहेछ । तीन वटा डायलायसिस उपकरण व्यवस्थापन भएको छ । बाँकी व्यवस्थापन गर्दैछौं’, उनले भने । अस्पताल सञ्चालनका लागि गाउँपालिका अप्ठ्यारो घडीमा रहेको बताउँदै अस्पताललाई दिगो बनाउने सपना रहेको चुमानको भनाइ छ । गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको भन्दै चुमानले अस्पतालबाट दिइने सेवालाई दिगो र गुणस्तरीय बनाउने लक्ष्य रहेको बताए । उनका अनुसार आँबुखैरेनी-१ स्थित सार्वजनिक र मित्रता माध्यमिक विद्यालयकोसमेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने छ । चुमानले भने- ‘तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमि दूरीमा एउटा पनि सरकारी अस्पताल छैनन् । कुनै दुर्घटना भयो भने ज्यान बचाउन चितवन वा काठमाडौं दौडिनुपर्छ । छिमेकी पालिकासँग अनुरोध गरेका छौं, एउटा ट्रमा सेन्टर बनाऔँ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सके धेरै जनाको ज्यान बचाउन सकिन्छ ।’ अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, शहीद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक एमडिजीपी, तीन मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् । अस्पतालमा एक्सरे सेवासमेत सञ्चालनको तयारी गरिएको छ । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौँडाबाट पाँच सय एमए एक्सरे मेसिन मर्मत गरी जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा डिबी क्षेत्रीले जानकारी दिए । अस्पतालमा एक्सरे मेसिन नहुँदा यस क्षेत्रका नागरिक सेवा लिनका लागि चितवनको भरतपुर वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । अस्पतालमै सेवा सुरु हुने भएपछि आँबुखैरेनीका अतिरिक्त छिमेकी जिल्ला गोरखाका केही पालिकाका सर्वसाधारणले सहज रुपमा सेवा पाउने छन् । रासस

एनसेलको सेयर बिक्री प्रकृया रोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री प्रकृया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले ऐनसलको सेयरहरु दर्ता किताबमा दर्ता नगर्न/नगराउन विपक्षी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ ।

ऋण दुरुपयोग गर्नेको धम्की : बैंक लुट्छु, कर्मचारीको घरमै बम पड्काईदिन्छु

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण लिई दुरुपयोग गरेका ऋणीले बैंक लुट्नेदेखि कर्मचारीको घरमा बम पड्काईदिनेसम्मका धम्की दिएका छन् । बैंकबाट कर्जा उपभोग गरिरहेका ऋणी श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को तर्फबाट राजेश बास्कोटाले विभिन्न सामाजिक सञ्जालहरुमार्फत बैंक तथा बैंकका कर्मचारीलाई उक्त धम्की दिएका बैंकले जनाएको छ । ऋणी बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिँदै आएको अनुदान रकमबाट बञ्चित गरिएको, बैंकले व्यवसायनै बन्द गराएको जस्ता अनेकौं आरोप लगाएको भन्दै बैंकले आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै बैंकले उक्त ऋणीले बैंक तथा बैंकका कर्मचारीलाई ज्यानै मार्नेदेखि बैंकनै लुट्नेसम्मको चेतावनी दिएकोमा आपत्ति जनाउँदै देशको अत्यावश्यकीय सेवा अन्तर्गत राखेको बैंकिङ्ग सेवा प्रवाहमानै अवरोध पुर्याउने जस्ता कार्य गरेको सम्बन्धमा ध्यानाकर्षण गरेको छ । यस्तो छ घटनाको वास्तविकता श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा श्री बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (तत्कालिन मेगा बैंक नेपाल लिमिटेड) बाट विभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको थियो । जसमध्ये श्री बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको छ भने श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. को नाममा स्वीकृत विभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने शर्त बमोजिम ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भईसकेको छ भने बाँकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुदाँ कर्जा स्वीकृत गर्दाको शर्तहरु मुतावित प्रवाह नभएको हो । ऋणीले आरोप लगाएअनुसार ऋणीलाई कर्जा स्वीकृत गरि चार महिनासम्म कर्जा प्रवाह नभएको भन्ने सम्बन्धमा ऋणीले बैंक समक्ष पेश गर्नुपर्ने सम्पूर्ण लिखत तथा कागजातहरु बैंकमा पेश गर्नासाथ ऋणीको नाममा स्वीकृत भएको कर्जा सुविधा प्रवाह गर्न शुरु भएको अवस्था हो जसको प्रमाण बैंकसमक्ष सुरक्षित छँदै नै छ । स्वीकृत गरे अनुसार कर्जा प्रवाहको सम्बन्धमा ऋणीको २ वटा कम्पनीमध्ये श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको र फनपार्क प्रा.लि.को हकमा स्वीकृत भएको दिएको ऋण स्वीकृति पत्रमा स्पष्ट रुपमा उल्लेखित भए अनुसार ऋणीलाई आंशिक रुपमा कर्जा प्रवाह भईसकेको र बाँकी कर्जा परियोजनाको प्रगति नभए पश्चात प्रवाह हुन नसकेको हो । श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को नाममा सहुलियतपूर्ण कर्जाका लागि नेपाल राष्ट्र बैकको व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि बमोजिम कर्जा स्वीकृत भएको तथा सोही कार्यबिधिमा उल्लेखित व्यवस्थामा ऋणीले बैंकलाई ब्याज अनुदान रकम बाहेकको किस्ता तथा ब्याज रकम चुक्ता भुक्तान गरेको अवस्थामा मात्र ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य हुने भन्ने व्यवस्था रहेको छ । ब्याज अनुदान सुविधा बैंकको स्वविवेकले नभई नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिबाट निर्देशित हुने हुदाँ सोहि बमोजिम ऋणीले उल्लेखित कार्यविधि बमोजिम ब्याज अनुदान रकम बाहेकको रकम चुक्ता भुक्तान नगरे पश्चात ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य नभएको अवस्था हो । ऋणीले प्रचारबाजी गरे अनुरुप बैंकले स्वीकृत गरे अनुसारको कर्जा प्रवाह नहुँदा व्यवसाय बन्द भएको भन्ने आरोपको सम्बन्धमा श्री बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत भए अनुरुप सम्पूर्ण कर्जा सुविधाको सीमा प्रवाह भई सकेको छ । बैंकको प्रतिनिधिले व्यवसायको निरीक्षण गर्दा व्यवसाय अस्तित्वमा नै नरहेको अवस्था पाइएको छ भने ऋणी खराब कर्जा अन्तर्गत समेत वर्गीकरण भईसकेको छ । त्यति हुदाँ हुदै व्यवसाय संचालनमा नरहेको तथा निर्माण भएका संरचनाहरु समेत जिर्ण हुन लागिसकेको श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. लाई पुनरुत्थान गर्ने उद्धेश्य स्वरुप यथाशिघ्र व्यवसाय संचालन गर्ने शर्तमा बैंकले हालसालै पेश्की सहित केहि कर्जा सुविधा चरणवद्ध रुपमा प्रवाह हुने गरि ऋण स्वीकृति पत्र जारी गर्दा समेत ऋणीले आवश्यक कानुनी कागजातहरु पुरा नगरी अनावश्यक रुपमा सामाजिक संजालमा बैंक विरुद्ध प्रचारबाजी गर्दै बैंकको कर्मचारीलाई निजी निवासबाटै अपहरण गर्ने जस्ता धम्की दिने कार्यले ऋणीको वास्तविक नियत आफ्नो व्यवसायको पुनरुत्थान गर्ने भन्दा पनि अन्य स्वार्थ पूर्ति गर्ने उद्देश्यले प्रेरित रहेको देखिन्छ । मिति २०८० मंसिर १९ गते बैंकसँग भद्र सहमति भई नियामकको नियमभित्र रहि ऋणीलाई बैंकले सक्ने जति सहयोग गर्ने प्रतिवद्वता भई ऋणीले समेत सहमति जनाईसकेको अवस्थाका बाबजुत ऋणीले आफ्नो मनोमानी ढंगले बैंकलाई आफूले भनेजति कर्जा दिन दवाव दिने उद्देश्यले ऋणीले परियोजना आफ्नो योजना अनुरुप संचालन गर्न नसके पश्चात ऋणी आफू स्वयमको गल्ति तथा कमजोरी ढाकछोप गर्न पुनः सामाजिक संजालहरुमा बैंक तथा बैंकका कर्मचारीका बिरुद्व बिभिन्न नकारात्मक अभिब्यक्ति दिने, कर्मचारी तथा निजका एकाघर परिवारका सदस्यहरुलाई गाली गलौज गर्ने, ज्यान मार्ने तथा बम पड्काईदिन्छु भनि धम्की दिने, बैंकको पैसा लुटेर बाँडिदिन्छु भन्ने र उल्टो बैंक तथा बैंकका कर्मचारी/पदाधिकारीको कार्यले आत्मदाह गर्नुपर्ने अवस्था आएको जस्ता निराधार कुरा तथा कार्यहरु कानुन सम्मत नरहेको समेत यसै विज्ञप्ति मार्फत सम्पूर्णमा स्पष्ट पार्न चाहन्छौ ।