
काठमाडौं । सरकारले खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । साथै बैठकले आयोगको सदस्यमा सदस्यमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको छ ।
अध्यक्षमा नियुक्त भएका गौतमसँग ललितपुर महानगरपालिकामा विभागीय प्रमुख, काठमाडौं उपत्यका मेयर्र फोरमको प्रमुख कार्यकारी अधिकृत (सीइओ), काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा प्रबन्ध निर्देशक, एडीबीको व्यक्तिगत परामर्शदाता लगायतका क्षेत्रमा काम गरेको अनुभव छ । खानेपानी मन्त्रालयले गत जेठ १५ गते खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्तिको लागि दरखास्त आव्हान गरेको थियो ।
मन्त्रालयको सोही आह्वानअनुरुप गौतम खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदमा नियुक्त भएका हुन् । कानूनअनुसार आयोगका पदाधिकारीको कार्यकाल ४ वर्षको हुनेछ । आयोगले देशभरीको खानेपानीको गुणस्तरको आधारमा मूल्य निर्धारण गर्ने र गुणस्तर समेत हेर्ने काम गर्छ ।